Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्वर्णिम वाग्लेको नछापिएको समाचारको स्क्रिनसट र बङ्ग्याइएको भनाई भाइरल

Posted on April 5, 2023 by Salokya

के तपाईँले पनि सामाजिक सञ्जालमा डा. स्वर्णिम वाग्लेले ‘रवि लामिछाने भनेको बि.पी हो भन्ने ठानेर मैले नेपाली काँग्रेस छाडे’ भनेको भनेर लेखिएका पोस्टहरु देख्नुभएको छ?

एउटा भाइरल सामग्रीमा त अनलाइनखबरको भेरिफाइड फेसबुक पेजमा प्रकाशित समाचार जस्तो पनि देखिन्छ।

यो विषयमा नेपालफ्याक्टचेकले फ्याक्ट चेक गरेको छ। हाम्रो तथ्य जाँचका क्रममा यस्तो पोस्ट अनलाइनखबरमा प्रकाशन भएको देखिएन। स्वर्णिमको भनाई भनेर सामाजिक सञ्जालमा राखिएका पोस्टमा पनि उनको भनाईलाई तोडमोड गरेर भ्रामक बनाएको देखियो। उनले बीपी र रविको ऊर्जा र भिजनममा तुलना गर्न मिल्छ त भनेका हुन् तर उनले भन्दै नभनेका कुरालाई पनि सामाजिक सञ्जालमा भाइरल बनाइएको छ। थप पढ्नुस् यो फ्याक्टचेकमा

के छ भाइरल सामग्रीमा ?

ट्विटरमा शर्मिला आचार्य नामकी प्रयोगकर्ताले अप्रिल २ मा गरेको ट्विटमा अनलाइनखबरको भेरिफाइड फेसबुक पेज जस्तो देखिने स्क्रिनसट राखिएको छ। यसको सुरुमा बोल्ड अक्षरमा ‘डा. स्वर्णिम वाग्लेको खुलासा : रवि लामिछाने भनेको बि. पी हो भन्ने ठानेर मैले नेपाली काँग्रेस छाडे’ लेखिएको छ भने मुनि ‘डा. स्वर्णिम वाग्लेको खुलासा : मेरो लागि रवि लामिछाने भनेको बि. पी हो भन्ने ठानेर मैले नेपाली काँग्रेस छाडेको हो’ लेखिएको छ।

अप्रिल ५ सम्म यो ट्विट ४० हजारभन्दा बढी पटक हेरिएको छ भने १८६ रियाक्सन, ३६ रिट्विट र १७६ रिप्लाइ देखिन्छ।

हेर्नुस् अर्काइभ लिङ्क

अरु थुप्रै फेसबुक प्रयोगकर्ताहरुले पनि यो स्क्रिनसट सेयर गरेको देखिन्छ। हेर्नुस् भिडियो-

के हो तथ्य ?

यो भाइरल स्क्रिनसटको तथ्य जाँच गर्ने क्रममा हामीले ‘डा. स्वर्णिम वाग्लेको खुलासा : रवि लामिछाने भनेको बि. पी हो भन्ने ठानेर मैले नेपाली काँग्रेस छाडे’  हेडलाइन राखेर गुगलमा सामान्य र अनलाइनखबरमात्र राखेर एडभान्स सर्च पनि गर्‍यौँ। तर कुनै नतिजा फेला परेन।

स्क्रिनसट अनलाइनखबरको समाचार जस्तो देखिने भएकाले हामीले अनलाइनखबरका प्रधानसम्पादक शिव गाउँलेसँग यस बारे जिज्ञासा राख्यौँ।

उनले यस किसिमको सामग्री अनलाइनखबरमा प्रकाशित नभएको बताए। ‘त्यो फोटोसप गरेको सामग्री हो । हामीले त्यस किसिमको सामग्री प्रकाशित गरेका छैनौँ,’ उनले भने।

हामीले स्क्रिनसटको सूक्ष्म अध्ययन गर्‍यौँ। स्क्रिनसटमा अनलाइनखबरको लोगोसँगैको गोलो घेरा मेटिएको छ। यसले त्यहाँ अर्कै सामग्री अन्यत्रैबाट ल्याएर राखेको जस्तो देखिन्छ।

हामीले सोही हेडलाइन राखेर फेसबुकमा सर्च गर्दा भाइरल स्क्रिनसटसँगै ‘मेचीकाली खबर’ नामको पेजबाट अप्रिल २ (२०७९ चैत १९ गते) पोस्ट गरेको एउटा भिडियो सामग्री फेला पार्‍यौँ। उक्त पोस्टमा पनि ‘डा. स्वर्णिम वाग्लेको खुलासाः मेरो लागि रवि लामिछाने भनेको बि.पी कोइराला हो भन्ने ठानेर मैले नेपाली काँग्रेस छाडेको हो’ लेखिएको छ। सो भिडियोलाई मंगलबार साँझसम्म १ लाख ८९ हजार पटक हेरिएको छ भने भिडियोलाई २१ हजार वटा रियाक्सन ४७८ वटा कमेन्ट र ५२१ पटक सेयर गरिएको छ।

लिंक

मेचीकाली खबरको फेसबुक पेजबाट गरिएको पोस्टलाई हामीले क्राउडट्याङ्गलबाट विश्लेषण गर्दा उक्त सामग्री १६ लाख ६ हजार भन्दा बढी फलोअर भएका विभिन्न १२ फेसबुक पेज तथा ग्रुपमा सेयर गरेको पाइयो।

क्राउडट्याङ्ग तथ्यांक लिंक

भिडियोमा स्वर्णिम वाग्लेसित पत्रकारले कुराकानी गरेका छन्। त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई पनि देख्न सकिन्छ ।

फेसबुकमा राखिएको ४ मिनेट ८ सेकेन्डको भिडियोमा वाग्लेले भन्दै गरेको सुनिन्छ, ‘नेपाली कांग्रेसमा म अट्न सकिनँ, हैन? त्यो जुन किसिमले विकृत अभ्यास त्यहाँ भैराख्याछ, र जस्तो खालको एउटा.. चाहिँ… असाध्यै नराम्रो.. होइन, त्यो बीपी कोइरालाको कांग्रेस त्यो अब रहेन। त्यसैले अबको यो नयाँ, अहिले म, वास्तवमा तुलनै गर्ने हो भने, रवि जी, यो १५ सालको विपी कोइरालाले नेतृत्व गरेको त्यो भिजन भएको, ऊर्जा भएको, एउटा आदर्श बोकेको यो देशलाई एउटा निश्चित समय सीमाभित्र यहाँ पुर्‍याउँछु भन्ने हुटहुटीका साथ, त्यो तपाईको नेतृत्वमा, त्यो ऊर्जा र भिजन देखिराख्याछ नि, तुलना गर्न मिल्छ त्यता, त्यो ड्राइभ। त्यसैले त्यो बीपी कोइरालाको क्षयीकरण भो । एक मानेमा यो चाहीँ तरुण, त्यतिबेलाको, हैन, क्रान्ति गरेर आएको…’

पत्रकारले प्रश्न सोध्छन्- तपाईँले वीपी कोइरालासँग तुलना गर्नुभो रविजीलाई ?

वाग्ले भन्छन्, ‘हैन, मैले त्यो ऊर्जा र स्पिरिटमा, त्यो हुटहुटी र एम्बिसनका हिसाबले देश बनाउनु पर्छ भनेर त्यो भिजन र त्यो उर्जा र एउटा महत्वाकांक्षा, हैन, देशलाई यहाँ पुर्‍याउँछु भन्ने त्यो मिसनमा चाहीँ केही तुलना गर्न मिल्छ।’

सँगै रवि लामिछानेले पनि बोल्दै गरेको सुनिन्छ- ‘भावनाको कुरा हो, कहाँ वीपी…तुलना गर्ने कुरै भएन।’

हेर्नुस् भिडियो-

मेचीकाली खबरको फेसबुक पेजमा दावी गरिएजस्तो र अनलाइनखबरको जस्तो देखिने स्क्रिनसटमा दावी गरिए जस्तो ‘मेरो लागि रवि लामिछाने भनेको बि.पी कोइराला हो भन्ने ठानेर मैले नेपाली काँग्रेस छाडेको हो’ भनेर स्वर्णिम वाग्लेले भनेको देखिँदैन।

यद्यपि वाग्लेले बीपी र रवि लामिछानेको तुलना भने गरेका छन्। उनकै शब्दमा उनले ‘ऊर्जा र स्पिरिटमा, हुटहुटी, महत्वाकांक्षा र  देशलाई यहाँ पुर्‍याउँछु भन्ने मिसनमा केही तुलना गर्न मिल्छ’ भनेका छन्।

तथ्य जाँच

दावी : डा. स्वर्णिम वाग्लेले मेरो लागि रवि लामिछाने भनेको बीपी कोइराला हो भन्ने ठानेर मैले नेपाली काँग्रेस छाडेको हो भनेको।

दावीकर्ता : सामाजिक सञ्जाल, मेचीकाली खबर

तथ्यः भ्रामक सूचना। अनलाइनखबरका प्रधान सम्पादक शिव गाउँलेले भाइरल सामग्रीमा जस्तो शीर्षकमा समाचार नै प्रकाशित नै नगरेको दावी गरे। हामीले खोज्दा पनि अनलाइनखबरमा यस किसिमको समाचार प्रकाशित भएको फेला पारेनौँ। स्क्रिनसटको सूक्ष्म अध्ययन गर्दा अनलाइनखबरको लोगोमुनिको सामग्री तोडमरोड गरेको संकेत भेट्यौँ। मेचीकाली खबरको फेसबुक पेजमा भिडियो सहित राखिएको पोस्टमा पनि स्वर्णिम वाग्लेले बोलेको कुरालाई बंग्याएर भ्रामक हिसाबले प्रस्तुत गरिएको छ। स्वर्णिमले वीपी र रविबीच ऊर्जा र भिजनमा तुलना गर्न मिल्छ त भनेका हुन् तर भाइरल सामग्रीमा दावी गरिए जस्तो ‘मेरो लागि रवि लामिछाने भनेको बीपी कोइराला हो भन्ने ठानेर मैले नेपाली काँग्रेस छाडेको हो’ भनेका हैनन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme