Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के मेस्सीले विश्वकप विजेता टोलीका सहकर्मीलाई ३५ वटा गोल्डेन आइफोन उपहार दिएका हुन्?

Posted on March 6, 2023March 6, 2023 by Salokya

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले विश्वकप विजेता टोलीका सहकर्मी र स्टाफहरुलाई आफ्नो तर्फबाट ३५ वटा गोल्डेन आइफोन उपहार स्वरुप दिए।

के तपाईँले पनि यस्तै खबर पढ्नु भएको छ। अहिले सामाजिक सञ्जालमा यो खबर भाइरल भएको छ।

भाइरल खबरमा मेस्सीले विश्वकप २०२२ को उपाधि विजेता टिममा रहेका सहकर्मीहरुलाई उनीहरुको नाम र अर्जेन्टिनाको झण्डासमेत कुँदिएको करिब २ लाख युरो बराबरका गोल्डेन आइफोन १४ प्रो उपहार स्वरुप दिएको दाबी गरिएको छ। तर हाम्रो तथ्य जाँचमा त्यस्तो देखिएन। के देखियो त ? आउनुस् पढौँ पूरा विवरण

कसरी भयो समाचार भाइरल ?

‘मेस्सीले दिए विश्वकप विजेता टिमका सहकर्मीलाई गोल्डेन आइफोन उपहार’ शीर्षकमा रातोपाटीले मार्च २, २०२३ मा समाचार प्रकाशन गरेको छ।

मेस्सीले दिएको आइफोनमा खेलाडीको नाम र नम्बरसहित अर्जेन्टिनाको लोगो पनि राखिएको दावी गरिएको सो समाचारमा रातोपाटीले ‘दि सन’लाई उद्‍‍धृत गर्दै टिमका सहकर्मी र स्टाफहरुलाई गरी ३० जनालाई आइफोन उपहार दिएको लेखेको छ। हेर्नुस् अर्काइभ लिङ्क।

यही खबरलाई अरु विभिन्न फेसबुक पेजहरुले पनि सेयर गरेका छन्। हेर्नुस् स्क्रिनसट

के हो तथ्य ?

यो खबरको तथ्य खोज्न हामीले बेलायतको ट्याब्ल्वाइड पत्रिका दि सनको वेबसाइट हेर्‍यौँ। रातोपाटीले ३० वटा आइफोन दिएको समाचार लेखे पनि NOT MESSI-NG Lionel Messi splashes out £175,000 on 35 gold iPhones for his World Cup-winning team and staff शीर्षकको दि सनको समाचारमा ३५ वटा गोल्ड आइफोन दिएको दावी गरिएको छ।

समाचारमा मेस्सीले १ लाख ७५ हजार पाउन्ड खर्च गरेर २४ क्यारेटको आइफोन ती सहकर्मीहरुको पेरिसको अर्पार्टमेन्टमा डेलिभर गरिसकेको दावी गरिएको छ। यद्यपि समाचारमा एउटा नाम नखुलाइएको स्रोत र आइडिजाइन गोल्डका सिइओ बेनको नाम मात्र राखिएको छ। दि सनले प्रकाशित गरेको समाचार अर्काइभ लिंक

इन्स्टाग्राममा आफूलाई आइरिस उद्यमी र आइडिजाइन गोल्डका संस्थापक भनेर चिनाएका बेन्जामिन लियोन्सले मेस्सी र अन्य खेलाडीको नाम कुँदिएको सुनौलो आइफोनको फोटोसहित मेस्सीलाई अंगालो मारेको फोटो पनि राखेका छन्। इन्स्टाग्राम लिंक

आइडिजाइन गोल्डको इन्स्टाग्राममा पनि बेन्जामिन लियोन्सले मेस्सीलाई अंगालो हालेको तस्वीर राख्दै मेस्सीको टिम र स्टाफलाई विश्वकप फाइनल जितेकोमा उपहार स्वरुप गोल्ड आइफोन १४ मेस्सीलाई हस्तान्तरण गरिएको उल्लेख गरिएको छ ।
 इन्स्टाग्राम लिंक 

त्यसमा मेस्सी र उनका टिममेट र स्टाफका लागि उपहारका रुपमा ३५ वटा गोल्ड आइफोन १४ डेलिभर गरिएको दावी गरिएको छ। तर त्यसमा मेस्सीले त्यसका लागि खर्च गरेको लेखिएको छैन।

उक्त गोल्ड आइफोनको फोटोमा आइडिजाइनका अतिरिक्त प्याट्रिक ग्रुपको लोगोसहित नाम पनि राखिएको छ। प्याट्रिक ग्रुपले आफ्नो इन्स्टाग्राममा यो अर्जेन्टिनी च्याम्पियनसिप एडिसन फोन मेस्सीको सम्मानमा विश्व कप विजयलाई स्मरणीय बनाउन आइडिजाइन गोल्ड र प्याट्रिक ग्रुपको संयुक्त प्रयासमा बनाइएको दावी गरेको छ।

यसको वेबसाइटमा उल्लेख भए अनुसार प्याट्रिक ग्रुप थाइल्यान्डमा कार्यालय भएको लाइफस्टाइल सर्भिस बिजनेस हो।

हामीले यो विषयमा कसैले तथ्य जाँच गरे/नगरेको खोज्न फ्याक्ट चेक एक्सप्लोररमा खोज्दा इटालीको बुफाले डट नेटमा प्रकाशित एउटा तथ्य जाँच भेट्टायौँ।

फ्याक्ट चेक एक्सप्लोररमा खोज्दा भेटिएको एउटा तथ्य जाँच

हामीले गुगल ट्रान्सलेटबाट इटालियनलाई अङ्ग्रेजीमा अनुवाद गरी हेर्‍यौँ। बुफालेले दि सनले उद्‍धृत गरेको स्रोतले मेस्सीले उक्त आइफोन किन्न खर्च गरेको भनेर कतै नभनेको बरु एक व्यापारीले मेस्सी र उनको टिममेटलाई उपहार दिने दावी गरिएको उद्‍धृत गरेको छ।

अर्जेन्टिनाबाट प्रकाशित हुने स्पेनी भाषाको पत्रिका क्लारिनको अनलाइन संस्करणमा मार्च १, २०२३ मा यसै विषयमा विस्तृत समाचार प्रकाशित छ- La historia de los Iphone de oro para los jugadores de la Selección: qué hay detrás del costoso regalo que involucra a Lionel Messi हामीले यसलाई पनि गुगल ट्रान्सलेटर प्रयोग गरी अङ्ग्रेजीमा अनुवाद गरी हेर्‍यौँ।

आइडिजाइन गोल्ड कम्पनीले फुटबल सेलिब्रिटीहरुसित काम गर्ने गरेको र जुलाई २०२२ मा पनि यो कम्पनीका संस्थापक बेन्जामिनले मेस्सीको नाम रहेको स्पेसल गोल्ड केस भएको आइफोन देखाएको त्यसमा उल्लेख छ।

क्लारिनमा स्पेनबाट प्रकाशन हुने स्पोर्ट म्यागेजिनको समाचार बारे पनि उल्लेख छ। स्पेनी भाषामा प्रकाशन हुने स्पोर्टको अनलाइन संस्करणमा यो प्रकरणलाई ‘होक्स’ अर्थात् ‘धोका’ भनिएको छ। गुगल ट्रान्सलेटबाट अनुवाद गरी हेर्दा त्यसमा प्रकाशित समाचारमा ‘मेस्सीले आफ्ना विश्वकपका टिममेटहरुलाई उपहार दिएको भनिएको कुरा झुट भएको’ लिडलाइनमै उल्लेख गरेको छ। यो हल्ला गोल्डेन मोबाइल सम्बन्धी सेवा दिने कम्पनीको साहुबाट फैलिएको उक्त मिडियाले दाबी गरेको छ।

स्पोर्टमा प्रकाशित समाचारको अंश गुगल ट्रान्सलेट गरी हेर्दा

स्पोर्ट लेख्छ- यो आइफोन उपहार न मेस्सीले दिएका हुन्, न अर्जेन्टिनी खेलाडीहरुले नै यस्तो आइफोन पाएका छन्।

उसका अनुसार यो कम्पनीले अक्सर आफ्ना उत्पादनहरुको प्रवर्द्धनका लागि सेलिब्रिटीहरुको फोटो प्रयोग गर्ने गर्छ। उनले यसअघि नेमार, रोनाल्डिन्हो, कोनोर म्याकग्रेगोरको प्रयोग गरिसकेको छ। स्पोर्टको समाचारको अर्काइभ लिंक

अर्जेन्टिनाको टिवाइसी स्पोर्टसका पत्रकार गेस्टोन इडुले पनि मेस्सीले गोल्डेन आइफोनका लागि खर्च नगरेको उल्लेख गरेका छन् । अर्जेन्टिनाको राष्ट्रिय टिमको रिपोर्टिङ गर्दै आएका उनले आफ्नो भेरिफाइट एकाउन्टमार्फत विहीबार एउटा ट्वीट गर्दै एक जना व्यवसायीले अर्जेन्टिनाको राष्ट्रिय टिमका लागि गोल्डेन आइफोन दिएको तर त्यसमा मेस्सीले कुनै खर्च नगरेको बताएका छन्।


ट्विटर लिंक

तथ्य जाँच

दावी : अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले विश्वकप विजेता २०२२ का सहकर्मीलाई गोल्डेन आइफोन उपहार दिए ।

दावीकर्ता : रातोपाटी, दि सनसहित अन्य।

तथ्यः अपुष्ट सूचना। मेस्सीले आइफोनका लागि खर्च व्यहोरेको बारे कतैबाट पनि पुष्टि हुन्न। अर्जेन्टिनी र स्पेनी मिडियाले यसलाई झुट भनेको छ। अर्जेन्टिनी खेलाडीले त्यस्तो आइफोन पाएको/नपाएको बारे पनि कतै खुलेको छैन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme