Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समानुपातिक अपडेट : जनमतले थप्यो एक सिट, एमाले र कांग्रेसबीच एक सिटको अन्तर

Posted on November 30, 2022December 3, 2022 by Salokya

अपडेट : बुधबार साँझ ७:३० बजे

समानुपातिकतर्फको मतगणना पनि अब अन्तिम चरणमा पुगेको छ। बुधबार साँझ साढे ७ बजे निर्वाचन आयोगको वेबसाइटमा राखिएको विवरण अनुसार १ करोड १ लाख ७१ हजार २७३ सदर मतको गणना भएको छ। त्यसमध्ये कानुन अनुसार तीन प्रतिशतको थ्रेसहोल्ड कटाएर सात वटा पार्टीले सिट पाउने देखिएको छ। आज बिहानको हाम्रो अपडेट भन्दा साँझ सिके राउत नेतृत्वको जनमत पार्टीले धेरै भोट ल्याएर एक सिट थपेको छ भने माधव नेपाल नेतृत्वको नेकपा एसले अझै थ्रेसहोल्ड कटाउन सकेको देखिन्न।

तपाईँहरुले हाम्रो समानुपातिक भोट अपडेट हेरिरहनुभएको भए याद गर्नुभएको होला, हरेक दिन केही लाखको संख्यामा मत गनिन्छ तर सिट संख्यामा भने थोरै मात्र हेरफेर हुन्छ।

त्यही अनुसार अब कुनै दलले भोट संख्या एकदम बढाएर अरु दलसँगको अन्तर ठूलो बनाए मात्र एक दुई सिटको हेरफेर हुन सक्ला। नत्र लगभग यस्तै सिट पाउने देखिन्छ। बदर मतको पनि हिसाब गर्दा अब लगभग समानुपातिकको मतगणना सकिन लागेको छ।

नेकपा एसले थ्रेसहोल्ड कटायो भने शीर्ष स्थानमा रहेका सबै दलको सिट संख्या हालको भन्दा घट्नेछ।

हालसम्मको विवरण अनुसार कसले कति सिट पाउँछ त ?

जनमतले थप्यो एक सिट
जनमत पार्टीले एक सिट थप पाएको छ। योसँगै जनमत पार्टीले समानुपातिकमा ५ सिट पाउने भएको छ। उसले एक सिट प्रत्यक्षमा पनि जितेको हुनाले पहिलो पटक प्रतिनिधि सभाको चुनाव लडेको यो पार्टी अब राष्ट्रिय दल हुने निश्चित भएको छ।

एमाले र कांग्रेस बीच एक सिटको अन्तर

गणना अनुसार पार्टी विभाजनका बावजुद एमालेले सबैभन्दा धेरै भोट ल्याएर सबैभन्दा बढी सिट जितेको छ। एमालेले ३३ सिट पाउनेछ। बिहानको अपडेट भन्दा अहिले एक सिटको अन्तर भएको छ। एमालेको सिट जनमतले लगेको छ। योसँगै कांग्रेस र एमालेको सिट अन्तर एक मात्र भएको छ। कांग्रेसले हालको गणना अनुसार ३२ सिट मात्र पाउनेछ।

माओवादी भोट संख्यामा राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा थोरै अघि भए पनि सिट संख्या भने दुवैको बराबर हुनेछ। दुवैले १४-१४ सिट पाउनेछन्।

राप्रपाले ७ सिट पाउनेछ भने जसपाले ५। जनमत र जसपाको समान सिट भएको छ।

माधव नेपालको अझै भोट पुगेन

माधव नेपालको पार्टीले २,९०, १९६ भोट ल्याएको छ। जबकि थ्रेसहोल्ड कटाउन गणना भएको सदर मत अनुसार ३ लाख ५ हजार १३८ मत ल्याउनु पर्थ्यो। अर्थात् अझै १४ हजार ९४३ मत नपुगेर थ्रेसहोल्ड पार गर्न सकेन।

गणना भएको कूल सदर मत अनुसारको तीन प्रतिशत ल्याउनु पर्ने हुनाले ल्याउनु पर्ने मत संख्या अझै बढ्दै जान्छ।

त्यसैले माधव नेपालको पार्टीले अन्य स्थानमा ल्याएको थोरै मत हेर्दा यो संख्या पुर्‍याउन सक्नेमा शंका छ। तर दोलखाका १० मतदान केन्द्रमा यही मङ्सिर १५ गते हुन लागेको पुनः मतदानमा कलममा एक छाप हानेर गठबन्धनले नेकपा एसलाई सघाउने सम्भावना होला त? हेरौँ अन्तिम समयसम्म के हुने हो?

हामीले यो गणना कसरी गर्‍यौँ ?

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ मा समानुपातिक सिटका लागि यस्तो प्रावधान छ-

मत परिणाम विभाजक सूत्र अनुसार प्रत्येक दलको लागि खसेको मतलाई भाग गर्ने पद्वतिले श्रृङ्खलावद्ध रुपमा भाग गरिनेछ । यस अनुसार प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई धेरै भाजकहरुले भाग गरिन्छ । (उदाहरण: १, ३, ५, ७, ९ आदि) त्यसरी भाग प्राप्त हुने नतिजालाई दलको भागफल (क्योसेन्ट) भनिन्छ । भागफल प्राप्त भएपछि सीट सङ्ख्याहरु ठूलो भागफलबाट सानोलाई बाँडफाँट गर्दै सीट नसकिँदासम्म बाँडफाँट गरिनेछ । यसरी बाँडफाँट गर्दा कुनै दलले जतिसुकै मत प्राप्त गरेको भए तापनि त्यस्तो दलले बन्दसूचीमा सूचीकृत गरेको उम्मेदवार सङ्ख्यामा सीमित रही त्यस्तो राजनीतिक दलले प्राप्त गर्ने सीटको बाँडफाँट गरिनेछ ।

यही मतपरिणाम विभाजक सूत्र प्रयोग गरी समिर केसीले यो गणनाका लागि सघाएका हुन्। यसमा गणना भएको मतको तीन प्रतिशतलाई हामीले थ्रेसहोल्ड मानेका छौँ।

हामीले यसअघि पहिलो संविधान सभा, दोस्रो संविधान सभा निर्वाचन र अघिल्लो निर्वाचनमा पनि यस्तो गणना गरेका थियौँ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme