Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नाम चलेका ५ अनलाइन एकैसाथ रवि लामिछानेको नाममा कसरी झुक्किए? गन्दै नगनेका मतको संख्या अपडेट

Posted on November 21, 2022 by Salokya

चुनाव सकिएपछि मतगणनाको चटारो हुन्छ। यतै अपडेट उतै अपडेट- जताततै छ्यापछ्याप्ती अपडेट भेटिन्छ फेसबुक, ट्विटरतिर। कुन पत्याउने कुन नपत्याउने। वास्तविक मतगणनाको अपडेट मतगणना अधिकृतले मत गन्ने ठाउँबाट गर्नुपर्ने हो। त्यसको जानकारी निर्वाचन आयोगले आफ्नो वेबसाइटमा दिनुपर्ने हो। तर त्यसमा ढिला हुँदा मतगणना हैन आ-आफ्नो मनगणना अर्थात् मनले जति मन लाग्यो त्यति लेखेर अपडेट गर्ने क्रम बढेको हुन्छ। यस्तो अवस्थामा विश्वासिलो समाचारका लागि पाठकले खोज्ने भनेको स्थापित मिडिया हुन्। तर सोमबार बिहान ५ वटा नाम चलेका अनलाइनले राखेको समाचार हेर्दा उनीहरु पनि फेसबुककै हावाका भरमा समाचार अपडेट गर्दा रहेछन् भन्ने देखियो। नत्र यतिसम्म त नहुनुपर्ने।

कसरी झुक्किए ५ नाम चलेका अनलाइन

नेपाल रिपब्लिक मिडियाद्वारा सञ्चालित राष्ट्रिय दैनिक नागरिकको अनलाइन संस्करण र अङ्ग्रेजी अनलाइन रिपब्लिका दुवैमा चितवन २ मा रवि लामिछानेको अग्रतासम्बन्धी समाचार छापिएको थियो।

नागरिकको अनलाइनमा सोमबार बिहान प्रकाशित समाचारमा लामिछानेले १०२ मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२ मत पाएको दावी गरिएको थियो।

पछि उसले त्यो समाचार सुटुक्क डिलिट गर्‍यो। गल्ती भएकोमा माफी मागेर हटाउनु पर्नेमा डिलिट गरेर आचार संहिता विपरीत अर्को काम भयो। तर इन्टरनेटमा एक पटक राखिसकेको सामग्री त्यति सजिलै कहाँ डिलिट हुन्छ र। के समाचार छापिएको थियो हेर्नुस् अर्काइभ संस्करण

त्यसैगरी माइरिपब्लिकाको बिहान ८ बजेर २७ मिनेटमा अपडेट गरिएको National Independent Party candidate Ravi Lamichhane leads by a wide margin in Chitwan-2 शीर्षकको समाचारमा लामिछानेले पाएको भोट संख्या नागरिकको भन्दा बढी थियो। लामिछानेले ९७८ भोट, उमेश श्रेष्ठले २११ भोट र कृष्णभक्त पोखरेलले २१९ भोट पाएको दावी गरिएको थियो त्यसमा। माइरिपब्लिकाले यो समाचार पनि आचार संहिता विपरीत डिलिट गर्‍यो। गलत समाचारका लागि माफीका दुई शब्द पनि लेखेन। के छापिएको थियो हेर्नुस् अर्काइभ संस्करण

त्यसैगरी रातोपाटीले पनि चितवनमा मतगणना सुरु, राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता शीर्षकको समाचारमा लामिछानेले १०२ मत प्राप्त गरिसकेको उल्लेख गरेको छ। हेर्नुस् अर्काइभ संस्करण रातोपाटीले पछि यो समाचार हटाएर अर्कै समाचार राख्यो र यसअघिको समाचार अन्यथा भएकोले सच्याइएको छ लेख्यो। तर के गल्ती भएको थियो भन्ने स्पष्ट पारेन र माफीसमेत मागेन।

यस्तै अर्को अनलाइन लोकान्तरले चितवनमा मतगणना सुरु, रवि लामिछानेको अग्रता शीर्षकको समाचार राखेको थियो। हेर्नुस् अर्काइभ संस्करण उसले पनि यो समाचार हटाएर अर्कै समाचार राख्यो तर माफी मागेन।

अर्को अनलाइन नेपाललाइभले पनि चितवन- २ अपडेट : रवि लामिछानेको अग्रता, पछ्याउँदै उमेश श्रेष्ठ शीर्षकमा समाचार सोमबार बिहान राखेको थियो। हेर्नुस् अर्काइभ संस्करण उसले यो समाचार हटाएर माफी समेत माग्यो।

भएको के हो ?

लामिछानेले अग्रता लिँदै गरेको समाचार आउँदा चितवन २ मा सर्वपक्षीय बैठक समेत बसेको थिएन। बैठकका लागि बिहान ८ बजेको समय निर्धारण गरिएको थियो।

चितवन २ मा निर्वाचन अधिकृतको कार्यालयले गरेको सर्वपक्षीय बैठकले दिउँसो १ बजेदेखि मात्रै मतगणना गर्ने निर्णय गरेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक फेसबुक पेजले पनि दिउँसो १ बजेदेखि मात्रै मतगणना गर्ने निर्णय गरेको उल्लेख गरेको छ।

पत्रकार प्रतिमा सिलवालले बिहान १०:३४ सम्म चितवनका तीन वटै क्षेत्रमा मतगणना भइनसकेको भन्दै चितवन १ को ११ बजेबाट र २ को १ बजेबाट मतगणना सुरु हुने जानकारी दिएकी छिन्।

अर्थात् यी पाँच नाम चलेका अनलाइनले मत गन्दै नगनी यति गनियो भनेर समाचार राखे। यति गम्भीर गल्ती गर्दा पनि ती मिडियाले माफी समेत मागेनन्। यसले ती अनलाइनहरुले मतगणनाको अपडेट हावा र सुनेको भरमा गर्दा रहेछन् भन्ने प्रष्ट भयो। नत्र गन्दै नगनेको मतको संख्याको अपडेट कसरी हुन्छ।

सावधान रहनुस्, मिडियाकै अपडेट त यस्तो हुन्छ भने फेसबुकमा बिना कुनै स्रोत जथाभावी गरिएका अपडेट कति सही होलान्। सही सूचना खोजौँ, मिथ्या सूचनाबाट बचौँ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme