Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बच्चा चोर भन्दै भाइरल भएको भिडियो हल्लामात्रै, आफ्नै छोरी रहेछ महिलाको

Posted on September 13, 2022September 13, 2022 by Salokya

तपाईँले सामाजिक सञ्जालमा ‘बच्चा चोर’ भन्दै भाइरल भएको फोटो र भिडियो देख्नुभएको छ?

भिडियोमा अपरिचित महिलाले एक बच्चा झाडीको बाटो लगिरहेको देखेर रोकेर सोधपुछ गर्दा भाग्न खोजेको र तुरुन्त मंगलापुर पुलिसलाई खबर गरी पक्राउ गरेको अनि महिला इन्डियाको हैदरवादको  बच्चा बुटवलको, ममी ड्याडी घरै भएको र चाउमिन खुवाउने भनी फकाई फुलाई भगाएको दावी गर्दै आह्वान गरिएको छ- यस्ता चोर तपाईं हाम्रो घर आँगनमा पनि आउन सक्छन, सचेत हौँ।

यो फोटोसहितको पोस्ट फेसबुकमा हजारौँ पटक सेयर भएको छ। यसको भिडियो लाखौँ पटक हेरिएको छ। तपाईँको मनमस्तिष्कलाई हल्लाइदिने भएकोले यो पोस्ट सेयर गरौँ गरौँ लाग्न सक्छ। तर नझुक्किनुस्, फेसबुकमा लेखिएका कुरा सही होइनन्। यसबारे नेपाल फ्याक्ट चेकले तथ्य जाँच गरिसकेको छ। छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ।  खासमा त्यो भाइरल पोस्टमा देखिएकी बालिका त्यही महिलाकै छोरी रहेको प्रहरीले पुष्टि गरेको छ।

कसरी भयो भाइरल ?

खासमा यो हल्ला भारतबाट आयातित हो। भारतका विभिन्न राज्यहरुमा यसै गरी बच्चा चोरको हल्ला मच्चिएको छ। नेपालमा पनि सीमावर्ती क्षेत्रमा त्यस्ता हल्ला चलिरहेका थिए। हल्लाकै असर स्वरुप यो घटना भएको थियो। केही फेसबुक पेजहरुले यो हल्लालाई फैलाउन सघाए।

रानीमहल नामको फेसबुक पेजले आइतबार ११ सेप्टेम्बर २०२२ राति अपलोड गरेको केही फोटोसहितको पोस्ट २४ घण्टामा १४ सय पटक सेयर भएको छ भने १६ सय रियाक्सन र १७६ कमेन्ट देखिन्छ।

रानीमहल फेसबुक पेजबाट भाइरल भएको पोस्ट। बालिकाको फोटोलाई हामीले नचिनिने बनाएका छौँ। 

त्यसैगरी यही कुरा इटहरीखबर मा १७ सय पटक सेयर भएको थियो। तिलोत्तमा सिटी न्युज नामको फेसबुक पेजमा सोमबार रातिसम्म ६५९ सेयर थियो र मिडिया अनलाइनखबर नाम राखिएको अर्को फेसबुक पेजमा उही फोटो र विवरणसहितको पोस्ट ९५४ सेयर थियो।

फेसबुकमा अरु थुप्रै पेज, ग्रुप र व्यक्तिहरुले समेत यो विवरणसहितको पोस्ट सेयर गरेका छन्।

उक्त पोस्टमा भएको विवरण यस्तो छ-

आज करिब ७ बजे साँझ पूर्व मंगलापुर टोलमा इभिनिङ वाक गर्ने क्रममा एक अपरिचित महिलाले एक बच्चा झाडीको बाटो लगिरहेको देखेर रोकेर सोधपुछ गर्दा भाग्न खोजेको र तुरुन्त मंगलापुर पुलिसलाई खबर गरी पक्राउ गरेको छ।
महिला इन्डियाको हैदरवादको भएको र बच्चा बुटवल, ममी ड्याडी घरै भएको र चाउमिन खुवाउने भनी फकाई फुलाई भगाएको जानकारी भयो। यस्ता चोर तपाईं हाम्रो घर आँगनमा पनि आउन सक्छन, सचेत हौँ।
त्यसैगरी उही विवरण राखिएको भिडियो पनि फेसबुकमा भाइरल भएको छ। रुटिन अफ बुटवल बन्द नामको फेसबुक पेजमा राखिएको यो भिडियो सोमबार रातिसम्म २ लाखभन्दा बढीले हेरिसकेका छन्।
भाइरल भिडियोको स्क्रिनसट
भिडियोमा अधवैँशे महिला सडकमा अनुहार झुकाएर बसिरहेकी देखिन्छिन् भने बालिकालाई महिला प्रहरीले बोकेर विभिन्न प्रश्न सोधिरहेकी छिन्। एक पुरुषले बालिकालाई तिम्रो मामु हो भनेर सोध्छन्। भिडमा आवाज सुनिन्छ, हैन होला भए नि हो भन्ला। 
त्यसमा कुन ठाउँको घटना भनेर समेत प्रष्ट उल्लेख छैन। प्रहरीसहितको भिडियो त राखिएको छ, तर प्रहरीसित खासमा के भएको हो भनेर सोधिएको छैन। हल्लैहल्लामा फोटो र भिडियो भाइरल बनाइएको छ।

खासमा भएको के हो ?

भाइरल पोस्टमा ठाउँ प्रष्ट नखुलाइए पनि नेपाल फ्याक्ट चेकका लागि बुटवलबाट सीपी खनालले गरेको तथ्य जाँच अनुसार  यो फोटो र भिडियो खिचिएको स्थान रुपन्देहीको तिलोत्तमा मंगलापुरको भएको पुष्टि प्रहरीबाट भयो।

मंगलापुर प्रहरी चौकीका सई लक्ष्मण डाँगीका अनुसार भिडियो र फोटोमा देखिएकी अधवैँशे महिला पाल्पा तानसेन ७ लामिडाँडा बस्ने ज्योति रञ्जन रहिछिन्। त्यसमा देखिएकी ५ वर्षकी बालिका ज्योतिकै छोरी रहेको आफन्तले प्रमाणित गरेपछि कागज गरेर जिम्मा लगाइसकिएको रहेछ।

भारत माइती भएकी ज्योतिलाई नेपाली भाषा राम्रोसँग बोल्न नआउने रहेछ। भाषा बोल्न नजानेकैले उनले अरुको बच्चा अपहरण गरेर भारत लैजान लागेको आरोप स्थानीयले लगाएका रहेछन्। तर प्रहरीले अनुसन्धान पछि उनी र बच्चालाई आफन्तको जिम्मा लगाइसकेको उनले जानकारी दिए।

प्रहरीले ज्योति र उनकी छोरीलाई नवलपरासी पश्चिम सुनवल नगरपालिका १ बस्ने उनकी नन्द सुनिता थापाको जिम्मा लगाएको थियो। सुनिता थापाले हामीसँग कुरा गर्दै आफ्नी भाउजु ज्योति र भतिजी दिप्ती आफूसँगै रहेको र पाल्पाबाट लिन आएपछि पाल्पा नै पठाउने बताइन्। 

भदौ ७ गते बिहान स्कूल गएका ज्योतिका छोराहरु जेठो १७ वर्षीय दिनेशराज सिंह गन्धर्व, माइलो १४ वर्षीय चनराज सिंह गन्धर्व र कान्छो १२ वर्षका समिरराज सिंह गन्धर्व हराएका थिए। उनीहरुले भदौ ११ गते प्रहरी चौकी प्रवासमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले उनीहरुको खोजीका लागि प्रयत्न गरिरहेको भएपनि उनीहरु फेला परेका छैनन्। 

‘बच्चाहरु स्कुलबाट नफर्किएको भन्दै भदौ ११ गते प्रवास प्रहरीमा निवेदन आएको थियो, हामीहरु खोजतलासका लागि सबैतिर जानकारी पठाएका छौं’, प्रहरी चौकी प्रवासका सई भरत थापा भन्छन्,‘यिनीहरुको परिवारभित्र पनि झैझगडा भएको रहेछ, त्यसपछि छोराहरु खोज्न भनेर आमा घरबाट हिँडेको रहेछ।’ 

जिल्ला प्रहरी कार्यालय पाल्पा, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी इन्चार्ज विष्णु न्यौपाने हराइरहेका उनीहरुको खोजीका लागि बुटवलसम्म जानकारी पठाइएको र मामाघर भारत गएको हुनसक्ने अनुमानका आधारमा भारतमा समेत खोजीका लागि परिवारलाई अनुरोध गरिएको बताइन्। 

“नेपाली बोल्न नआउँदैमा मनपरी बोल्ने? अपहरणकारी भन्ने?”

भाइरल भएको भिडियोमा देखिएकी महिलाकी नन्द सुनीता थापा भन्छिन्-

“आफ्ना ३ जना छोरा हराएर भौँतारिइरहेकी आमामाथि आफ्नै छोरी अपहरण गरेको आरोप लगाएर सडकमा त्यस्तो व्यवहार गर्दा कस्तो हुन्छ होला आफै कल्पना गर्नुस्। 

उहाँलाई नेपाली बोल्न आउन्न। नेपाली बोल्न आउन्न भन्दैमा अपहरण गरेको भनेर मनपरी गाली गर्न पाइन्न।  यो अपहरणकारी हो भनेर भिडियो खिचेर फेसबुक, टिकटकमा राखेका छन् । यसरी नेपाली बोल्न जान्दैन, सोझो मान्छे छ भनेर जे मन लाग्यो त्यो गर्न पाइन्न होला।

बच्चा अपहरण गरेर लैजान लागेको भनेर जे मन लाग्यो त्यो भन्ने र भिडियो र फोटो फेसबुकमा राख्नेलाई कारबाही गर्नुपर्छ। सानो गरीब परिवारको मान्छे होला, तर जे मन लाग्यो, त्यो गर्न त पाइन्न नि । मेरो भाउजु अहिले पनि पीडामा हुनुहुन्छ, ती सबै भिडियो र फोटो हटाउन लगाउनुस् भनेर प्रहरीलाई पनि भनेका छौं।

 

साइबर ब्युरोको चेतावनी

सोमबार राति नेपाल प्रहरीको साइबर ब्युरोले पनि विज्ञप्ति जारी गर्दै बच्चा चोरीको सामाजिक सञ्जालमा फैलाइएको प्रचार भ्रामक भएको भनिएको छ। त्यस्ता प्रचारमा उल्लेख भए झैँ देशभर रहेका कुनै पनि प्रहरी कार्यालयहरुमा हालसम्म कुनै पनि माध्यमबाट कुनै पनि उजुरी/सूचना प्राप्त नभएको त्यसमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि आफ्नो फेसबुकमा सामाजिक सञ्जालमा उल्लेख भए झैँ घटनाका सम्बन्धमा उजुरी तथा निवेदन नपरेको र त्यस्तो कुनै पनि प्रकारको गतिविधि भएको नपाइएको भन्दै हल्ला र अफवाहको पछि नलाग्न अनुरोध गरिएको छ।

तर हल्ला फैलाउन चाहिँ स्थानीय तहसमेत लागेको देखिन्छ। तिलोत्तमा नगरपालिकाले सोमबार जारी गरेको विज्ञप्ति यस्तो छ-

स्थानीय तह जस्तो जिम्मेवार निकायले सत्य तथ्य के हो पत्ता लगाएर हल्ला शान्त बनाउने कि सामाजिक सञ्जालहरुमार्फत् जानकारी आएको भन्दै अपुष्ट हल्ला अझ फैलाएर त्रास बढाउने ? तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले यो ठीक काम गरेनन्।

सामाजिक सञ्जालमा आएका अप्रमाणित विषयलाई तथ्यका आधारमा रिपोर्टिङ गरेर सुसूचित गराउनु पर्ने जिम्मा बोकेको मिडिया भने हल्ला फैलाउँदै व्यस्त। प्रेस काउन्सिल र सूचना विभागमा दर्ता नम्बर राखेको तिलोत्तमासिटीन्युज डट कमको फेसबुक पेजमा पनि यो भाइरल फोटो र पोस्ट राखिएको छ।

त्यति मात्र होइन, अर्को पोस्टमा प्रहरीलाई प्रश्न समेत सोधिएको छ-

भारतमा पनि फैलिएको छ हल्ला

नेपालमा भारतबाट आएका मान्छेले बच्चा चोर्दैछ भनेर हल्ला फैलिएको भए पनि भारतमा समेत यस्तो हल्ला नेपालमा भन्दा अघि फैलिएको हो।

छिमेकी देश भारतका विभिन्न राज्यहरुमा पनि फैलिएको भारतीय मिडियाहरुका समाचारमा देख्न सकिन्छ। हेर्नुस् नमूना-

भारतको उत्तर प्रदेश, बिहार, उत्तराखंड, मध्य प्रदेश, राजस्थान, गुजरात, महाराष्ट्र, हिमाचल प्रदेश समेत १० भन्दा बढी राज्यमा यस्तो हल्ला फैलिएको छ। यो हल्लाका कारण के भइरहेको छ त ? त्रास फैलँदो छ। मान्छेले शंका गरिरहेका छन्। शंका गरिएकाहरुमाथि हमला भइरहेको छ। एक ठाउँमा त गोली हानेर मान्छे समेत मारिदिएका छन्। अरु ठाउँमा कुटपिट गरिएका छन्।

पिटाइ खानेहरुमा मानसिक रोगी, कतै गएका नयाँ कर्मचारीहरु आदि परेका छन्।

भारतीय प्रहरी पनि यस्तो हल्लाले दिक्क भइसकेको छ। अब त्यहाँको प्रहरीले हल्ला फैलाउनेहरुमाथि कारबाही गर्ने तयारी गरेको छ।

नेपालमा यस्तो हल्ला भारतबाटै आएको हो। हल्ला फैलिएपछि त्यसैको प्रभावले जसलाई पनि शंका गर्ने स्थिति उत्पन्न भएको हो। त्यसैको मारमा परेकी हुन्- आफ्नै छोरी बोकेर हिँडेकी ती महिला।

यस्तो हल्ला फैलनुभन्दा अघि पनि बालबालिका हराउँथे। बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपका अनुसार आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६ मा देशभरबाट १ हजार ४ सय ८३ बालक र ३ हजार ५ सय ७२ बालिका हराएका उजुरी परेका थिए। हराएका मध्ये ७ सय १२ बालक र १ हजार २२ बालिका मात्र फेला परेको र ७ सय ७१ बालक र २ हजार ५ सय ५० बालिका बेपत्ता अवस्थामै रहेको तथ्यांकले देखाएकाे छ।

अहिले पनि बालबालिका हराइरहेका त छन् तर सामाजिक सञ्जालमा भाइरल भएको पोस्टमा जस्तो गरी हराएको उजुरी नपरेको प्रहरीले बताएको छ। बालबालिका हराएको भए र कसैले बालबालिकालाई कतै लग्न खोजे जस्तो शंका भए प्रहरीलाई खबर गर्नु नै उत्तम उपाय हुन्छ। सामाजिक सञ्जालमा आएका कुरालाई आँखा चिम्लेर विश्वास नगर्नुहोला। तपाईँले त्यस्ता कुरा सेयर गर्दा बित्थामा एक निर्दोषले दुःख पाउने अवस्था आउन सक्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme