Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘गोरखापत्र’देखि ‘रुटिन अफ नेपाल बन्द’सम्मले फैलाएको २ सय डलरको त्यो भ्रामक सूचना

Posted on July 22, 2022 by Salokya

‘अब विदेशमा घुम्न जाने नेपालीले दुई सय अमेरिकी डलर मात्रै साटेर लैजान पाउँछन्।’

नेपालका अनलाइन मिडिया र सोसल मिडिया हेर्ने गर्नुभएको छ भने तपाईँले पनि यो खबर पक्कै देख्नुभएको होला। कयौँले त्यसमा देखिएकै आधारमा आफ्नो विचार पनि बनाएर कमेन्ट ठोकिसक्नुभो होला, ‘जाबो दुई सय डलरले के आउँछ- यस्तो हावा नियम लगाउने’ भन्दै।

तर नझुक्किनुस्। सरकारी अखबार ‘गोरखापत्र’देखि किशोरकिशोरी र युवामाझ चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’सम्मले फैलाएको यो सूचना सही होइन, भ्रामक हो। यसबारे नेपाल फ्याक्ट चेकले तथ्य जाँच गरिसकेको छ। छुटाउनु भएको भए यहाँ क्लिक गरी हेर्न सकिन्छ। खासमा मनिचेन्जरले मात्र त्यति साटिदिन पाइने भनेको हो। कसरी झुक्याए त सबले ? आउनुस् बुझौँ विस्तारमा।

सबभन्दा पहिला गोरखापत्रले कसरी समाचार राख्यो त्यो हेरौँ-

गोरखापत्रमा २०७९ साउन ४ गते विदेश भ्रमणमा जानेलाई २०० अमेरिकी डलरको मात्रै सटही सुविधा शीर्षकमा समाचार राखिएको छ। सो समाचारमा लेखिएको छ-

के तपाई विदेश  यात्राको तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईले आफूलाई आवश्यक पर्ने जति अमेरिकी डलरको सटही सुविधा पाउन सक्नुहुनेछैन। नेपाल राष्ट्र बैंकले बुधबार एक निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २०० सम्मको सटही सुविधा प्रधान गर्ने व्यवस्था गरेको छ।

गोरखापत्र भनेको सरकारी अखबार हो। यसले लेखेको कुरामा धेरैले विश्वास गर्छन्। माथिको समाचारको अंश पढ्दा अब विदेश भ्रमणमा जाने सबै नेपालीले राहदानी वापत बढीमा २०० अमेरिकी डलरसम्म मात्र साट्न पाउने बुझिन्छ नि, हैन र ?

गोरखापत्र पुरानो मिडिया पर्‍यो। नयाँ पुस्ताले चाहिँ विश्वास गर्ने एउटा फेसबुक पेज छ- रुटिन अफ नेपाल बन्द जसलाई मायाले ‘रुटु’ अनि हेपेर ‘रुटिने’ भन्ने गरिन्छ। जे भने पनि यो फेसबुक पेज इन्फ्लुएन्सर चाहिँ हो। कतिले त अरुमा आएको विश्वास लाग्दैन, यसले लेखेको विश्वास गर्छु पनि भन्ने गर्छन्। मूलधार भनिने पुराना मिडियाले इर्ष्या गरेर हुँदै नभएको काठमाडौँ महानगरपालिकाको बजेटमा एक करोड यसलाई छुट्यायो भनेर समेत समाचार लेखे (हिमालय टिभी, नेपाल समाचारपत्र, देशान्तर)। खासमा इस्पोर्टसलाई छुट्याइएको रकम थियो त्यो। इस्पोर्टस् भनेकै रुटिनलाई बुझिदिए। धन्न कान्तिपुरले इस्पोर्टस के हो भनेर लामै लेखेर बुझाइदियो।

त्यही रुटिन अफ नेपाल बन्दले शुक्रबार यस्तो लेख्यो-

चार घण्टामा ११ हजारले रियाक्ट गरिसकेका थिए, ६२९ कमेन्ट थियो। पुराना मिडियाले भन्दा धेरैलाई भ्रम यसबाट भयो होला। पुराना मिडियामा आएकै कुरा थप भेरिफाइ नगरी राख्दा ‘रुटिन’ चुकेको हो। यस्तै गर्ने हो भने त पुरानो र नयाँमा के फरक भयो र!

अरु थुप्रै अनलाइनले पनि हालेका थिए यो समाचार। केही उदाहरण-

खासमा सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले यो समाचार लेखेको रहेछ सुरुमा। एजेन्सीकै समाचार धेरैतिर आएको रहेछ बिना सम्पादन। कतिले भने सम्पादन गरेर आफ्नै समाचार जस्तो बनाएर हाले।

राससको समाचारको स्क्रिनसट

इकागज : विदेश भ्रमणमा जानेलाई अब २०० अमेरिकी डलरको मात्रै सटही सुविधा

देशसञ्चार : विदेश भ्रमणमा जानेलाई अब २०० अमेरिकी डलरको मात्रै सटही सुविधा

नेपाललाइभ : विदेश भ्रमणमा जानेलाई अब २०० अमेरिकी डलरको मात्रै सटही सुविधा

फरकधार : अब विदेश भ्रमणमा जानेले २०० अमेरिकी डलर मात्रै साट्न पाउने

प्रशासन : विदेश भ्रमणमा जानेलाई डलर सटहीमा कडाइ , २०० डलर मात्र सटही सुविधा पाउने

नेपालप्रेस : विदेश भ्रमणमा जानेलाई डलर सटहीमा कडाइ

सगरमाथा टिभी : विदेश भ्रमणमा जानेलाई डलर सटहीमा कडाइ

क्यापिटल नेपाल : विदेश भ्रमणमा जानेलाई डलर सटहीमा कडाइ

के हो तथ्य ?

हामीले यसको तथ्य खोज्ने क्रममा नेपाल राष्ट्र बैँकको आधिकारिक वेबसाइटमा राखिएको यो व्यहोराको सूचना देख्यौँ- ०३/२०७९–८० : एकीकृत परिपत्र–२०७८ मा संशोधन गरिएको सम्बन्धमा (मनिचेञ्जरले प्रदान गर्न सक्ने राहदानीवापतको सटही सुविधासम्बन्धी) । मिति २०७९।०४।०४

त्यसमा राखिएको परिपत्र यस्तो छ-

उक्त परिपत्रमा एकीकृत परिपत्र-२०७८ मा संशोधन गरिएको उल्लेख गर्दै परिवर्त्य विदेशी मुद्रा बिक्री गर्ने इजाजत प्राप्त गर्ने मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी वापत अधिकतम अमेरिकी डलर २०० सम्मको सटही सुविधा प्रदान गर्न सक्नेछन् लेखिएको छ।

यसको अर्थ मनिचेञ्जरको हकमा मात्र यो लागू भएको हो।

एकीकृत परिपत्र-२०७८ मा के छ त ? हामीले नेपाल राष्ट्र बैँकको वेबसाइटमा खोज्ने क्रममा त्यसलाई यहाँ भेट्टायौँ।

२०७८ पुसमा जारी गरिएको यो परिपत्रको बूँदा नम्बर ७ मा परिवर्त्य विदेशी मुद्रा सटही सम्बन्धी व्यवस्थाबारे विस्तृत उल्लेख छ। (पेज नम्बर १०४)

परिपत्रमा उल्लेख भए अनुसार नेपाल राष्ट्र बैँक बैँकिङ विभाग लगायत प्रदेश स्थित कार्यालयहरु र इजाजत प्राप्त क वर्गका वाणिजय बैँकहरु अनि ख वर्गमा विकास बैँकहरु र इजाजत प्राप्त मनिचेन्जरहरुलाई यो परिपत्र जारी गरिएको थियो। यसमा मनिचेन्जरको हकमा माथिको अर्को परिपत्र लागू भएपछि बैँकहरुका लागि पुरानो परिपत्र कायम छ।

पुरानो परिपत्रमा राहदानी वापत सटही सुविधामा भारत बाहेक विदेश भ्रमणमा जाने नेपालीहरुलाई अमेरिकी डलर १५०० सम्म सटही सुविधा वर्षमा दुई पटकमा नबढ्ने गरी प्रदान गर्न सकिने उल्लेख छ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जानेलाई भने २०० अमेरिकी डलरसम्म मात्रको सुविधा दिने भनिएको छ।

नेपाल राष्ट्र बैँकले साउन ४ गते नै मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ मा संशोधन गरेको छ। यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ। त्यसमा यस्तो लेखिएको छ-

अर्थात् विदेशमा जाने नेपाली नागरिकहरुलाई विदेशी मुद्रा बेच्ने काम मनिचेन्जरहरुले अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र मात्र इजाजत पाएका हुन्छन्। यो समाचारमा उल्लेख भएको दुई सय डलर साट्ने कुरा त्यही एयरपोर्ट भित्रका मनीचेन्जरहरुमा मात्र लागू हुने हो।

तर सरकारी समाचार एजेन्सी रासस, सरकारी दैनिक गोरखापत्रदेखि निजी अनलाइन मिडिया र सोसल मिडिया इन्फ्लुएन्सर रुटिन अफ नेपाल बन्दले समेत विदेश जाने नेपालीले दुई सय डलर मात्र साट्न पाउने जस्तो गरी भ्रम फैलाए।

तथ्य जाँच

दावी : अब विदेश भ्रमणमा जाने सबै नेपालीले राहदानी वापत बढीमा २०० अमेरिकी डलरसम्म मात्र सटही सुविधा पाउँछन्।

तथ्य : भ्रामक सूचना । विदेश भ्रमणमा जाने नेपालीलाई इजाजतप्राप्त मनिचेञ्जरले प्रदान गर्ने सटही सुविधामात्रै अधिकतम २०० अमेरिकी डलरसम्म भनिएको हो। बैँकहरुबाट दिइने सटही सुविधामा पुरानै परिपत्र कायमै छ। अर्थात् पुरानो परिपत्रमा रहेको राहदानी वापत सटही सुविधामा भारत बाहेक विदेश भ्रमणमा जाने नेपालीहरुलाई अमेरिकी डलर १५०० सम्म सटही सुविधा वर्षमा दुई पटकमा नबढ्ने गरी प्रदान गर्न सकिने र श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जानेलाई भने २०० अमेरिकी डलरसम्म मात्रको सुविधा बैँकमार्फत् दिने व्यवस्था कायमै छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme