Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राम,राम ! साउनको सोमबार के पढ्न पर्‍यो यो दर्तावाला अनलाइन मिडियामा !!

Posted on July 18, 2022July 18, 2022 by Salokya

डिस्क्लेमर : तपाईँ १८ वर्ष पुग्नुभएको छैन भने यो ब्लग नपढ्नुहोला। यो ब्लगमा राखिएको लिङ्क पनि क्लिक नगर्नुहोला। १८ वर्ष पुगिसक्नुभएको भए पनि यो ब्लगको विषय र यसको एक्सटर्नल लिङ्कमा explicit content भएको जानकारी गराउन चाहन्छु।

आज साउन महिनाको पहिलो सोमबार। सधैँ झैँ बिहान मोबाइल हातमा लिएर यसो देशदुनियाँको भ्रमण गरिरहेको थिएँ, फेसबुकको अल्गोरिदमले यो चिज हेर्छस् कि भनेर फिडमा देखायो।

राजनीतिक समाचारको बाहुल्य हुने जनताटाइम्स अनलाइनमा यो शीर्षक र सानो अक्षरमा रहेको विवरण देखेर अचम्म लाग्यो। कसैले नक्कली पेजमा हालेको हो कि जस्तो लागेर फेरि चेक गरेँ। होइन रहेछ। असली जनताटाइम्स नै रहेछ।

तपाईँहरुलाई जानकारी होस् कि यो अनलाइन सूचना विभागमा दर्ता भएको आधिकारिक अनलाइन हो। यसका अध्यक्ष पनि सुपरिचित पत्रकार नै हुन्। कथंकदाचित कसैले नचिनेमा हिमालखबरको यो समाचार पढ्न यता क्लिक गर्नुहोला।

जनता टाइम्सको ट्यागलाइन पनि खतरै छ- तथ्यको आधारमा सत्य स्थापित गर्ने नेपालको डिजिटल पत्रिका ! गज्जब छैन त ट्यागलाइन ?

यस्तो तथ्यको आधारमा सत्य स्थापित गर्ने डिजिटल पत्रिकामा कामुक कथा शीर्षकमा सामग्री देखेरै अचम्म नलागेको होइन। भित्र पढ्छु त रामराम ! साउन महिनाको पहिलो सोमबार नै अपवित्र बन्ला भन्ने डर भो। धन्न मोबाइलमा हेरेछु, कसैको अगाडि डेस्कटपमा हेरेको भए त चरित्रमा नै दाग लाग्ने खालको रहेछ।

सरकारले पोर्न कन्टेन्ट भएका वेबसाइटहरु नेपालमा नखुल्ने बनाएको सन् २०१८ मा नै हो। तर जान्नेले जसरी पनि हेरिहाल्छन्। नजान्नेका लागि चाहिँ यस्तै वेबसाइटहरु रहेछन्।

सूचना विभागमा दर्ता हुने वेबसाइटमा ‘न्युज कन्टेन्ट’ हुनुपर्छ। त्यही भएर यस्ता अनलाइन मिडियाका लागि सूचना विभागले प्रेस पास पनि जारी गर्छ। तर यस्तो पोर्न कन्टेन्ट दर्ता भएको अनलाइन मिडियामा ? आम्मामा !

साहित्य होला नि त, कथा पनि राख्न नपाउनु भन्ने हुन्छ? त्यसो भन्नेहरुलाई म यो कन्टेन्टमा क्लिक गरेर पढ्न आग्रह गर्छु। तर फेरि पनि सावधान गराउँछु- यसमा explicit content छ, १८ वर्षमुनिकाले नहेर्नुहोला। अर्काइभ लिङ्क यता क्लिक गरी पढ्नुस्।

कथा भए त कथा लेख्ने लेखक पनि हुनुपर्‍यो। त्यसमा त लेखक को हो पनि खुलाइएको रहेनछ। अस्ति असार ३० गते प्रकाशित यो सामग्री यो अनलाइन मिडियाको फेसबुक र ट्विटरमा समेत सेयर गरिएको रहेछ। अर्थात् ह्याक भएकोले त्यस्तो सामग्री गएको भन्न पनि नपाई ! ह्याक भएको भए फेसबुक र ट्विटरमा पनि कसरी सेयर हुन्छ?

तथ्यको आधारमा सत्य स्थापित गर्ने नारा बोकेको अनलाइनले राखेको सामग्रीमा भने बोकाबाख्री र कुकुरको उदाहरण दिएर चर्तिकलाको वर्णन रहेछ। मिडियालाई चौथो अङ्ग किन भनिन्छ भन्ने थाहा नपाएकाले समेत सरल भाषामा स्पष्ट बुझिने गरी अङ्ग प्रत्यङ्गको वर्णन रहेछ यसमा।

यस्तो मौलिक बयान कसरी जनताटाइम्सले लेखेको होला भनेर खोज्ने क्रममा अझ अनौठो कुरा पत्ता लाग्यो। यो त कपिपेस्ट रहेछ। एउटा तोरीलाउरे अश्लील सामग्री राख्ने वेबसाइटको कपिपेस्ट रहेछ।

अश्लील वेबसाइटको स्क्रिनसट

त्यसैबाट कपिपेस्ट गरिएको जनताटाइम्सको सामग्री।

अनलाइन मिडियाहरु क्लिक पाउनका लागि केसम्म गर्छन् भन्ने पनि यसले प्रष्ट पारेको छ। यो त एउटा उदाहरण मात्र भयो। सेमी पोर्न खालका कन्टेन्ट त अरु अनलाइन मिडियाहरुमा पनि प्रशस्तै देख्न पाइन्छ। यस्तो विकृतिलाई हटाउन अनलाइन पत्रकारहरु आफै लाग्नु पर्छ। यही कारण मान्छेले अनलाइन पत्रकारलाई गलत हिसाबले बुझ्न थालेका छन्। अनलाइन पत्रकारिताका राम्रा पक्षहरु छायाँमा पर्नुको कारण पनि यस्तै हर्कत हो।

पहिले पनि यस्तै

यो मैले अनलाइन पत्रकारिताको तालिमहरुमा देखाउँदै आएको एउटा उदाहरण हो। यो पनि दर्ता भएकै अनलाइन मिडिया थियो। र, यसमा पनि जनताटाइम्सकै जस्तो पोर्न कन्टेन्ट राखिएको थियो। यसलाई प्रेस काउन्सिलले कारबाही पनि गरेको थियो।

के भएको थियो कारबाही ?

प्रेस काउन्सिलको वार्षिक प्रतिवेदन २०७६ मा यस्तो लेखिएको छ-

रमाइलो चाहिँ के भएछ भने  सुरुमा काउन्सिलले पत्र काट्दा प्राविधिक त्रुटिवश भूल भएको भनेर क्षमायाचना गर्दै आगामी दिनमा यस्तो भएमा कानुनबमोजिम कारबाही भोग्न तयार छौँ भनेका रहेछन्। तर फेरि अर्को पनि त्यस्तै राखेको भेटियो।

अहिले पनि यो अनलाइन चलिरहेकै छ। खास केही कारबाही भएन।

त्यो त खासै नाम चलेको अनलाइन पनि थिएन। अहिले त नाम चलेकै पत्रकारले चलाएको अनलाइन मिडियामा यस्तो कन्टेन्ट आएको छ। अब केही होला त ?

उत्तर आफै खोज्नुस् है !

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme