पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान जोमसोम नपुग्दै हरायो। त्यो दिन जति खोज्दा पनि भेटिएन। भोलिपल्ट बल्ल विमान पहाडमा ठोक्किएर टुक्राटुक्रा अवस्थामा रहेको ह्रदयविदारक दृश्य सार्वजनिक भयो।
हराइरहँदा आएको विवरण खोज्ने क्रममा थाहा भइसकेको थियो, यो त्यही विमान रहेछ जसमा चढेर दुई वर्षअघि हामी विश्वकै सबैभन्दा डरलाग्दो एयरपोर्टमध्ये एक मानिने लुक्ला विमानस्थलमा अवतरण गरेका थियौँ।
त्यही विमान हो भनेर कसरी थाहा भयो भन्नुहोला।
थाहा हुन्छ। जसरी चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडीको नम्बर हुन्छ र त्यो नम्बरबाट कस्तो वाहन हो, सवारी धनी को हो सबै थाहा हुन्छ, त्यसैगरी विमानको पनि थाहा हुन्छ। गाडीको विवरण बरु यातायात व्यवस्था विभागमा गएर खोज्नु पर्ला, विमानको त इन्टरनेटमै हुन्छ। खोज्न जान्यो भने सबै नालिबेली निकाल्न सकिन्छ।
विमानको बारेमा खोज्नका लागि चाहिने चिज हो- कलसाइन। जस्तै यो विमानको कलसाइन थियो 9N-AET। हरेक विमानको बाहिर पट्टी देखिने गरी यस्तो रजिस्ट्रेसन कोड राख्नु पर्ने अन्तर्राष्ट्रिय सन्धि हुन्छ। नेपालका सबै विमानमा अगाडि पट्टी 9N हुन्छ। व्यवसायिक विमानका लागि 9N-AAA देखि 9N-ZZZ सम्मका कल साइन दर्ता गरिन्छ भने सरकारी विमानका लागि 9N-RAA देखि 9N-RZZ छुट्याइएको छ।
देश अनुसार यो फरक हुन्छ जस्तै भारतमा दर्ता भएको विमानमा VT हुन्छ भने पाकिस्तानको AP। ठूला र प्रभावशाली देशहरुले भने एउटा अक्षर लिन भ्याएका छन् जस्तै अमेरिकाको N, चीनको B, बेलायतको G।
कलसाइन थाहा भएपछि विमान कहिले बनेको, कुनै दुर्घटना भएको थियो कि थिएन सब जानकारी पाइन्छ।
दुई वर्षअघि कोरोना कहर अलि कम भएकोले बेला यति एयरलाइन्सले नाम्चेसम्मको सस्तो प्याकेज ल्याएको थियो। भर्खर कोभिड लागेर निको भए पनि अरु बेला त्यति सस्तोमा नपाइने भएकोले साथीभाइ र परिवारसहित जान रहर गरियो। विमानका सबै सिटमा हामी थियौँ- चार्टर गरे जस्तै।
मेरो बानी अलि खराब छ। चासो लागिहाल्छ र खोजी हालिन्छ। एक पटक जनकपुरमा एउटा होटलमा बस्दा होटलको नाम यसो गुगलमा सर्च गरी हेरेको त- केही वर्षअघि त्यही होटलमा हत्या भएको समाचार पो भेटिन्छ। त्यतिले भो र, हत्या भएको रुम नम्बर पनि आफू सुतिरहेकै कोठा पो रहेछ !
त्यो दिन पनि कल साइन 9N-AET देखेपछि गुगल गरियो। कुन विमान चढ्दैछु भन्ने कुरा चढ्न लागेपछि मात्र थाहा हुन्छ हाम्रो देशमा। चढ्नुअगाडिसम्म त एयरलाइन्सको फ्लाइट नम्बर मात्र थाहा हुन्छ।
खोज्दा झसङ्ग भएको थिएँ म। हामी चढेको जहाज नेपाली आकाशमा उड्ने सबैभन्दा पुरानो विमानमध्ये एक पो रहेछ। ४१ वर्ष पुरानो (दुई वर्षअघि) भए पनि ह्या, प्लेनको आयु हेर्ने होइन भनेर अरुले भनेको कुराले मन बुझाइयो।
क्यानाडाको डे हाभिल्यान्ड कम्पनीले बनाएको यो विमानले पहिलो उडान सन् १९७९ को २१ अप्रिलमा गरेको थियो। त्यसयता आठ पटक यसको स्वामित्व परिवर्तन भइसकेको थियो।
यसअघि पनि यो विमान एक पटक दुर्घटनामा त परेको रहेछ तर नेपालमा होइन दक्षिण अफ्रिकी देश लेसोथोमा ३८ वर्षअगाडि।
विमान पुरानो हुँदैमा दुर्घटना हुने होइन, नयाँ हुँदैमा दुर्घटना नहुने होइन। तारा एयरले ब्रान्ड न्यु किनेको 9N-AHH ट्विनअटर पोखराबाट जोमसोम उड्ने क्रममै म्याग्दीको दानामा दुर्घटना भएको थियो। त्यो प्लेन त एक वर्ष पुरानो पनि थिएन।
तर पनि पुरानो प्लेन त चढ्ने बित्तिकै थाहा भइहाल्छ। माइक्रोको जस्तो सिट थियो। अगाडि पट्टी बसेकोले पर्दा लगाएर नछेकिएको ककपिटको दृश्य पनि देखिएको थियो।
लुक्ला विमानस्थल, सानो रनवे, रनवे पनि अरु ठाउँको जस्तो सीधा समतल नभएको, मौसम बदलिरहने ठाउँ, अनि भर्खरै जहाजको कुण्डली हेरेको- डर नलागेको त कहाँ हो र। तर त्यो दिन मौसम एकदम राम्रो थियो। पाइलटले पनि एकदमै मजाले केही गाह्रो नहुने गरी अरु ठाउँमा जसरी नै सरल तरिकाले ल्यान्ड गरेका थिए। विश्वको डरलाग्दो एयरपोर्ट जस्तो त कत्ति पनि लागेको थिएन त्यतिबेला।
त्यही विमान हरायो भनेदेखि ला…सकुशल भेटिए हुन्थ्यो नि भन्ने भइरहेको थियो। क्षतविक्षत अवस्थामा फोटो देखेपछि त साह्रै नरमाइलो लाग्यो। त्यसमा चढेका चालक दलका सदस्य अनि यात्रुको परिवारमाथि परेको बज्रपात हामीले महसूस पनि कसरी गर्न सक्थ्यौँ र !
हामीले गरेको यात्राको भिडियो-
नेपाल आउनुअघि पाँच पटक किनबेच भइसकेको विमान
क्यानाडाको डे हाभिल्यान्ड कम्पनीले बनाएको यो विमान सबैभन्दा पहिला ब्रान्ड न्यु अवस्थामा दक्षिण अफ्रिकाको एयर बोत्सवानाले खरिद गरेको थियो। A2-ABL कल साइन रहेको यो विमानलाई शाशे नाम दिइएको थियो। त्यतिबेला जहाज यस्तो थियो-
दक्षिण अफ्रिकी एयरलाइन्सले चार वर्ष चलाइसकेपछि यो विमान लेसोथोको लेसोथो एयरवेजलाई सन् १९८३ को डिसेम्बरमा बेचिएको थियो।
लेसोथो एयरवेजले 7P-LAG कल साइनमा यो विमानलाई उडाएको थियो। यसै क्रममा लेसोथोको क्युथिङमा सन् १९८४ को अप्रिलद २ तारिखमा अवतरण गर्ने क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको थियो। विमान दुर्घटनामा चालक दलका सदस्य र यात्रुलाई केही नभए पनि बायाँ पखेटामा क्षति पुगेको थियो। त्यसलाई बनाएर यो विमान पुनः सञ्चालनमा आएको थियो। त्यतिबेला यो विमान यस्तो देखिन्थ्यो-
सन् १९८५ को १९ सेप्टेम्बरमा यो विमान लेसोथोले इथियोपियालाई बेच्यो। इथियोपियाको पुनर्स्थापना तथा उद्दार आयोगले त्यसपछि यो विमानलाई ET-AIW कल साइनमा उडायो। त्यतिबेला यो विमानको बाहिरी आवरण रङ्ग्याएर यस्तो बनाइएको थियो-
सन् १९९७ मा यो विमानलाई इथियोपियाको अदिसअबाबाबाट इरिट्रिया, इजिप्ट, ग्रिस, इटाली, युके, आइसल्यान्ड, ग्रिनल्यान्ड हुँदै अमेरिकाको फ्लोरिडामा लगियो।
C-GBQA कल साइनमा यसलाई क्यानाडाको बोरेक एन्ड बाइन्डर एयरो लिजिङ कम्पनीलाई बेचियो।
बनेको १९ वर्षपछि सन् १९९८ को मेमा बल्ल यो विमान नेपाली कम्पनीलाई बेचिएको थियो। (यसअघि नेपाल भित्रिएको लेखिएको गलत भएकोमा सच्याइएको छ) क्यानाडेली कम्पनीबाट यसलाई किन्ने एयरलाइन्स थियो गरुड एयर, जुन अहिले अस्तित्वमा छैन। ८ वर्षअघि यो एयरलाइन्सको उडान सञ्चालन अनुमति (एओसी) नागरिक उड्डयन प्राधिकरणले खारेज गरिसकेको छ।
गरुड एयरको स्वामित्वमा रहँदा यो विमानको कल साइन थियो 9N-AEM। अनि यसरी रङ्ग्याइएको थियो-
२४ जुलाई १९९८ मा गरुडबाट यो विमान लुम्बिनी एयरवेजले खरिद गर्यो। लुम्बिनी एयरवेजको स्वामित्वमा आएपछि यसको कल साइन 9N-AET कायम गरिएको थियो। २२ अगस्त १९९८ मा युकेको बिर्मिङघम हुँदै यो विमान पहिलो पटक नेपाली आकाशमा प्रवेश गरेको थियो।
सन् १९९९ मा लुम्बिनीले यो विमान यति एयरवेजलाई बेच्यो। त्यसपछि नौ वर्ष यो विमान यति एयरकै नाममा उड्यो। यति एयरको नाममा उड्दा यो विमान यस्तो थियो-
सन् २००४ देखि २००८ सम्म चार वर्षमा यति एयरका चार वटा विमान दुर्घटना भएर ३० जनाको ज्यान गएपछि यति एयरलाइन्सले दुर्गम र पहाडी क्षेत्रमा उडान गर्नका लागि तारा एयर नामको अर्को भगिनी संस्था खोलेको थियो। त्यसपछि यो विमानलाई फेरि तारा एयरको नाममा पेन्टिङ गरेर उडाउन थालियो।
र, २२ जनाको ज्यान सहित यो विमानको अन्त्य यस्तो गरी भयो-
फोटो र भिडियो सौजन्य : नेपाली सेना
Conflict on this report:
– बनेको १९ वर्षपछि सन् १९९८ को मेमा बल्ल यो विमान नेपाल भित्रिएको थियो।
– २२ अगस्त १९९८ मा युकेको बिर्मिङघम हुँदै यो विमान पहिलो पटक नेपाली आकाशमा प्रवेश गरेको थियो।
मे मा पहिलो पटक आईसकेपछी कसरि अगष्टमा फेरि “पहिलो पटक” हुनसक्छ?
नेपाली कम्पनीले किनेको अर्थमा नेपाल भित्रिएको लेखिएको थियो यसले दोहोरो र गलत अर्थ पनि लगाउने भएकोले माथि ब्लगमा सच्याइएको छ। धेरै धन्यवाद छ है, औँल्याइदिनुभएकोमा।