Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

क्राइम बिटका पत्रकारको नछापिएको एउटा ‘ डेन्जर कथा’

Posted on April 30, 2022April 30, 2022 by Salokya

क्राइम बिटका पत्रकारले समाजमा भएका साना-ठूला क्राइमका घटनाहरुको समाचार लेख्छन्। क्राइम भनेको अपराध, त्यही भएर यो बिटको समाचार लेख्नेलाई ‘अपराधी पत्रकार’ भनेर साथीहरुले जिस्काएर हैरान बनाएपछि अचेल उनीहरु आफूलाई क्राइम बिटको हैन सेक्युरिटी बिटको पत्रकार भन्न रुचाउँछन्। सुरक्षा बिटको भन्दा असुरक्षित कोही हुँदैन भने ठीकै हो। तर, भर्खरको एउटा घटनामा सुरक्षा बिटका पत्रकारका कारण ‘असुरक्षा’ भएछ। धन्न त्यो क्राइम, इन्भेस्टिगेसनको तहमा नपुगी गुपचुप सल्टाइएछ। सुरक्षा बिटका पत्रकारहरुले आफ्नै साथीको सुरक्षाका खातिर हो कि किन हो, यो खबर कतै लेखेनन् पनि। तर एउटा साप्ताहिक जनआस्थाले भने छुस्स लेख्न भ्याइहाल्यो।

जनआस्थाको त्यो समाचार रोचक छ। त्यसमा महानगरीय प्रहरी वृत्त, बानेश्वरका इन्चार्ज मिमबहादुर लामाले भनेका छन्- हामीले कुनै पत्रकार समातेका छैनौँ। सही हो, समातिएको हैन। राति नै छाडेको हो।

तर घटना नै नभएको भने होइन। केही पक्कै भएको थियो, जुन अरु कतै समाचारमा आएन।

घटनामा संलग्न थिए नेपालका चलेका अनलाइन न्युज पोर्टल भन्ने बित्तिकै तपाईँको दिमागमा आउने केही अनलाइनमध्येका एकमा काम गर्ने क्राइम पत्रकार।

त्यो दिन बेलुकातिर ती पत्रकार एक डिएसपीसित थिए। क्राइम बिटका पत्रकारहरुको प्रहरीसित निकै नजिकको दोस्ती हुने गर्छ। कोही कोही त आइजी नै आफूले बनाउने सरहको फूर्तीफार्ती गर्दै हिँड्छन्। एक पूर्व आइजीले मलाई सुनाएका थिए- पत्रकारहरु पुलिसको सरुवा, बढुवा गर्ने कुरा लिएर खुब आउँछन्।

खैर, उनीहरुको समाचारको स्रोत नै प्रहरी हुने भएकोले प्रहरीसँगको निकटतालाई त्यस्तो खराब अर्थमा बुझ्नु नि हुन्न। राजनीतिक बिटका पत्रकारहरुको नेतासँग निकटता हुन्छ, अर्थ बिटका पत्रकारहरुको व्यापारीसँग। त्यस्तो निकटताले समाचारको ब्यालेन्सलाई प्रभावमा नपारोस् र उनीहरुको स्वार्थको कुरामात्रले अर्को पक्ष छायामा नपरोस् भन्ने मात्र मुख्य कुरा हो।

अँ त म भन्दै थिएँ, त्यो दिन बेलुकातिर ललितपुरको कुनै ठाउँमा ती डिएसपी र क्राइम बिटका पत्रकार बसेर ‘झोल पदार्थ’समेत सेवन गरेछन्।

ती डिएसपीले उनलाई कोटेश्वरमा ल्याएर छाडिदिएछन्। झोल पदार्थले शरीरमा प्रभाव पार्दै गर्दा ऊ केही मान्छेसहित त्यहीँको एउटा बारमा छिरेछ।

एउटा खुब चलेको गीत छ नि शिव परियारको, बेहोसपछि त होसमा आउँदा क्या दामी भो, यहाँ पिउने म पिलाउनेको पो त क्या बदनामी भो।

ती पत्रकारलाई चाहिँ उल्टो भएछ- होसमा आउँदा बरु झुर भएछ, बेहोसीमा दामी फिल भएछ।

त्यही दामी फिल गर्दैगर्दा के के बोलिएछ होस भएन कि, के के गरिएछ होस भएन कि।

मान्छेहरुले भकुरेपछि बल्ल अलि अलि होस आएछ। क्राइम बिटका पत्रकार पो त ! फोन गरेर पुलिस बोलायो। पुलिसले केही मान्छे र उसलाई थानामा लग्यो।

ती पत्रकारले डान्स बारमा अपशब्द बोलेको र युवतीमाथि दुर्व्यवहार गरेको आरोप थियो। थानामा पुग्दासम्म रक्सी धेरै नै उत्रिसकेको रहेछ। अनि उसलाई भोलिपल्ट हाजिर हुन आउने गरी छाडिदियो।

दुर्व्यवहार भोगेकाहरु यसै छाड्ने पक्षमा थिएनन्। भोलिपल्ट केस कोटेश्वरले नसकेपछि बानेश्वर पुर्‍याइयो।

बानेश्वरमा पनि महिलाले घेरे। ‘डेन्जर’ नै हुने देखियो।

अन्ततः जोसँग दुर्व्यवहार गरिएको आरोप लागेको थियो, उनै युवतीको खुट्टा ढोगेर माफी मागेपछि केस टुङ्गिएछ।

अनि घटना पनि गुपचुप भएछ। पत्रकार नभएर ती व्यक्ति अरु पेशाका सार्वजनिक व्यक्ति भएको भए र यो सूचना तिनै पत्रकार सामु आएको भए उनले के गर्थे होला, एक पटक कल्पना गरौँ।

ती पत्रकारको यस्तो घटना पहिले सुनिएको थिएन। पहिलो घटना भएकोले यसबाट शिक्षा लिएर सुध्रिए त ठीकै हो। नत्र सधैँ खुट्टा ढोगेर माफी पाउने स्थिति पनि त नबन्ला नि। कि कसो?

(फोटो प्रतीकात्मक हो, घटनासँग यसको सम्बन्ध छैन)

5 thoughts on “क्राइम बिटका पत्रकारको नछापिएको एउटा ‘ डेन्जर कथा’”

  1. gopal lama says:
    March 9, 2024 at 4:02 pm

    को होला त यस्तो क्राइम बिटको पत्रकार ? बानेश्वर प्रहरीले किन लुकाएको होला

    Reply
  2. Khemlal says:
    May 3, 2022 at 1:05 pm

    Name lekhne himmat Mysansar lai pani bhayana?

    Reply
  3. Shailaputra says:
    May 2, 2022 at 10:53 am

    यत्रो खबर थाहा पाइसकेपछि चर्चित अनलाइनको सूचीमा आउने नाम , नाम चलेका क्राइम बिटका पत्रकार भन्नुको सट्टा फलानो अनलाइनका सम्पादक / पत्रकार ….. भन्ने हिम्मत चाहिँ देखिएन कसैको । यस्तो किन होला ? उनले माफी पनि मागेका रहेछन् ट्विटरतिर । परिचय गोप्य राख्नुपर्ने ‘पत्रकार आचारसंहिता ‘ यता चाहिँ क्या मज्जाले प्रयोग भएछ ।

    Reply
  4. chandra khaki says:
    May 1, 2022 at 10:11 am

    अनि घटना पनि गुपचुप भएछ। पत्रकार नभएर ती व्यक्ति अरु पेशाका सार्वजनिक व्यक्ति भएको भए र यो सूचना तिनै पत्रकार सामु आएको भए उनले के गर्थे होला, एक पटक कल्पना गरौँ।
    माइसंसारकाे टिप्पणी ।
    मेराे पुरक टिप्पणी: ती सार्वजनिक व्यक्तिकाे हुर्मत काडिन्थ्याे । भए-नभएका कथाहरु कथिन्थे । गुण्डाकाे विशेषणले सुशाेभित गरिन्थ्याे । सातपुस्तालाई थाङ्नामा सुताउने काेशिश हुन्थ्याे ।
    पत्रकारले “इम्युनिटी” पाए । निर्भिक र सत्यतथ्य उजागार गर्न सदैव अग्रणी माइसंसारले पनि त्याे अनलाइन र पत्रकारकाे नाम छाप्न सकेन । उता ट्वीटरकाे स्पेशकाण्डकाे खबर त प्रकाशित हुन बाँकी नै छ सायद । सायद पत्रकार भएकै कारण प्रकाशित पनि हुन्न हाेला 😜😜😜

    Reply
    1. Dinesh Yadav says:
      May 2, 2022 at 10:43 am

      kura thik lagyo, yeti lekhi name pani lekhnu paryo ni, ani स्पेशकाण्ड k ho tyasko pani update chaiyo ni.. natra mysanasarle pani सत्यतथ्य उजागार garna nasakeko thaharincha

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme