Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मिडियाले ‘फेसबुक सर्च’ गरेर हचुवामा तस्कर घोषणा गरिदिएका मेरा एक मित्र

Posted on March 23, 2022 by Salokya

नागरिक दैनिकमा केही वर्ष सँगै काम गरेका मेरा एक मित्र रामचन्द्र भट्ट एक दशकदेखि अमेरिकामा छन्। तर आज एउटा मिडियाले उनलाई ‘सुपारी तस्कर’ पो बनाइदिएछ !

फेसबुक स्क्रोल गर्दैगर्दा एउटा समाचारमा आँखा गयो। ‘खोजमूलक पत्रकारिता’ नारा रहेको नेपालबहस डट कममा ‘यस वर्ष सुपारी आयात खुला गर्दा ६० करोडको डिल’ शीर्षकको समाचार राखिएको रहेछ। त्यसमा सुपारीसँगै तीन जनाको फोटो कोलाज रहेछ। त्यसमध्ये एक जना उनै भट्ट थिए। हैट, अमेरिकामा भएका मान्छेले कस्तो डिल गरेछन् भनेर समाचार खोलेर पढियो।

समाचारमा लेखिएको रहेछ- सुपारी आयात खुलाउने चाँजोपाँजो भने कांग्रेसका पूर्वसांसद तथा व्यवसायी अनिल रुङ्टा र प्रधानमन्त्रीकै गृहजिल्ला डडेलधुरा घर भएका विवादस्पद पूर्वप्रशासक रामचन्द्र भट्टले गरेको बताइन्छ । हाल भट्ट विदेशमा रहेका छन् ।

हैट, कहाँका पत्रकार रामचन्द्र भट्ट, कहाँका पूर्वप्रशासक भट्ट।

जसको फोटो राखियो, उनको घर नुवाकोट हो। समाचारमा भने डडेलधुरा घर भएकाको कुरा छ।

हाल भट्ट विदेशमा रहेका छन् भनेको चाहिँ मिलेछ फेरि। विदेशमा रहेरै सुपारी आयात चाँजोपाँजो मिलाउने भनेपछि त खतरै कनेक्सन भएका मान्छे पर्‍यो। तर फोटो चाहिँ यी बिचरा मेरा मित्र रामचन्द्र भट्टको पर्‍यो।

उनले फेसबुकमा दुखेसो पोखे पनि- हिजो राति सारसौदो सुतेको । तर बिहान ब्युँझिँदा नेपालको एउटा मिडियाले सुपारी तस्करमा सूचिवद्ध गरिदिएछ। भेरिफाई गर्नु पनि नपर्ने, फेसबुकमा नाम खोज्यो जो पहिले भेटिन्छ त्यसैको फोटो टाँसेर समाचार हालिदियो । क्या सजिलो भएको छ फेसबुकले गर्दा ।

भएको यही होला। खोजमूलक पत्रकारिताको नारा भए पनि खोज चाहिँ फेसबुकमा भएछ। रामचन्द्र भट्ट टाइप गरेर खोजेपछि जुन पहिलो प्रोफाइल देखायो, त्यही भन्ठानेर हाल्दियो !

अलिकति खोज प्रोफाइलमा पनि गरेको भए यस्तो बिजोग हुन्न थियो होला। किनभने उनले आफू नुवाकोटको भएको प्रोफाइलमा स्पष्टै लेखेका छन्। अनि समाचारमा डडेलधुराको लेखेपछि हेर्न त पर्‍यो नि यो मान्छे डडेलधुराको हो कि हैन भनेर। अहँ खोज भएनछ।

हेर्नुस् अर्काइभ गरिएको रामचन्द्र भट्टको फोटोसहितको यो समाचार यहाँ क्लिक गरी।

अहिले यो ब्लग लेखिरहँदा भने समाचारको फोटो फेरिएको छ। अहिले भट्टको फोटो हटाइएको छ। हेर्नुस् यहाँ क्लिक गरी।

तर यति ठूलो गल्ती गर्दासमेत यो मिडियाले आफूले गल्ती गरेको स्वीकारेको छैन। असम्बन्धित व्यक्तिको फोटो राखेकोमा रामचन्द्र भट्टसित व्यक्तिगत रुपमा माफी मागेर सार्वजनिक रुपमा पनि गल्ती गरेकोमा माफी माग्नु पर्ने हो मिडियाले। तर सूचना विभागमा दर्ता गरेर लाइसेन्स पाएको यो अनलाइन मिडियाले त्यति पनि नगरेर आफूलाई झन् नङ्ग्यायो।

यो घटनाले झण्डै १२ वर्षअघिको अर्को घटना याद दिलायो। त्यतिबेला मेरा अर्का मित्र सुन्दर खनाल (हाल आयोमेल डट कमका प्रधान सम्पादक) को फोटो साँघु साप्ताहिकमा छापिएको थियो। उतिबेला फेसबुकमा यस्तो लेखेको रहेछु-

साँघुले धन्न अर्को हप्ताको अङ्कमा भूल सुधार गरेको थियो। यहाँ त अनलाइनले त्यति पनि गरेनछ। नेपाली पत्रकारिताको भलो होस् !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme