Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रकाश सपुतको ‘पिर’ले अइय्या अइय्या हुनेहरुलाई चार टिप्स

Posted on March 13, 2022March 14, 2022 by Salokya

एमसीसीपछि पल शाहको पालो आएको थियो। पलपछि अब प्रकाश सपुतको ‘पिर’ अहिले राष्ट्रिय बहसको विषय बनेको छ। ‘पिर’ एउटा सामान्य गीतको म्युजिक भिडियो मात्र रहेन, यो ठीक छ कि ठीक छैन भन्ने पिर गर्दै देशै लागेपछि यो अब गम्भीर मुद्दा बन्न पुग्यो। माओवादी नेता तथा कार्यकर्तालाई पिरले पर्नु पिर पारेको छ। माओवादी र उनीहरुको सशस्त्र विद्रोहले स्थापित गरेका मुद्दा मन नपर्नेहरुलाई भने पिर पार्न पाएकोमा खुशी लागेको छ। माओवादी नेताहरुको परिवर्तनको भाषणमा लागेर ज्यानको बाजी लगाएर हिँडेका तर आफूहरुको नभई नेताहरुको स्थिति मात्र परिवर्तन भएको देखेकाहरुलाई पनि पिर परेकै छ। गीतमा गायक र गायिकाले अइय्या अइय्या भनेर गाए पनि चोट भने गीत हेर्नेहरुलाई पो परेको देखिएको छ त, युट्युबबाट गीतै हटाउन धम्कीसमेत आइसकेको छ।

खासमा यो एउटा सिर्जनात्मक कला हो। यसलाई त्यही रुपमा बुझे ठूलो समस्या हुँदैन थियो। यसले आफूलाई नराम्रै पार्ने लागेको भए माओवादीले पनि काउन्टर दिए हुन्थ्यो त्यो गीतले स्थापित गर्न खोजेको न्यारेटिभ्स विपरीत आफ्नै अर्को कला तयार पारेर। थिए त माओवादीसित त्यत्रा जनवादी कलाकारको मोर्चा। उनीहरुकै गीतले जुरुक-जुरुक उठाएर मर्न मार्न तयार हुन्थे मान्छेहरु।

पछिल्लो पटक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा..’ बोलको गीतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका नेता तथा कार्यकर्ताहरुले शब्दमै आपत्ति जनाएका थिए। गीत युट्युबबाट हटाउन धम्की दिएका थिए। गायकले फेसबुकमा स्टायटस लेखेर दबाबमा गीत हटाए पनि। तर एउटामा हटेर के गर्नु, अरु १० ठाउँमा अपलोड भयो। झन् गीत चर्चित भयो।

अहिले पनि माओवादी नेता तथा कार्यकर्ताहरुले गीत हटाउनु पर्ने दबाब दिएका छन्। उनीहरुको खास आपत्ति भने गीतको शब्दमा हैन, गीतको म्युजिक भिडियोको स्टोरीटेलिङमा रहेछ। गीतमा एक महिला पूर्व लडाकुले देह व्यापार गरेको देखाइएकोमा आपत्ति देखियो।

पिरको विरोध गर्नेमा माओवादी एक्लिएका छन्। आफू सत्तामा हुँदा पशुपति शर्मालाई थर्काएको बिर्सेर एमालेहरु प्रकाश सपुतको समर्थनमा देखिएका छन्। माओवादीले युद्ध लड्दाका शीर्ष नेतामध्येका एक बाबुराम भट्टराई पनि समर्थनमै देखिएका छन्। अझ उनले आफूले हिजो बन्दूक बोक्नेहरु पेट पाल्न देह बेच्दै गरेको अनुसन्धानको क्रममा प्रत्यक्ष बुझेको पनि दावी गरेका छन्।

धेरैले बिर्से पनि बाबुराम भट्टराई सत्तामा रहँदा ‘बाबुराम नयाँ नेपाल कुन चराको नाम’ बोलको तीज गीत नेपाल टेलिभिजनमा प्रतिबन्ध लगाइएको कुरा सबैले बिर्सेका छैनन्।

कांग्रेसीको त के कुरा गराई भो र। उनीहरुको छाला त गैँडा भइसक्यो। यस्ता गीत सीतले उनीहरुलाई छुँदैन।

बिचरा माओवादी एक्लै पारेर झन् ‘पिर’ थप्दिए। यो गीत हटाउन अब माओवादीले आन्दोलनै गर्नुपर्ने देखिन्छ। त्यसको लागि महिला छापामारको देह व्यापार एउटा मात्र मुद्दा भएर पुग्दैन। चौतर्फी मुद्दा उठाउनु पर्छ। सजिलोको लागि केही टिप्स दिएको छु। केही टिप्स सामाजिक सञ्जालबाट प्रभावित हुन् भने केही मौलिक।

 

टिप्स नम्बर १ : हावा शब्दको आलोचना गर्न लाउनुस्

यो गीतमा जनतालाई छुने शब्दहरु छन्। जस्तै

आफ्नै विचार वैरी भयो
कहाँ जाम् कता भागौँ
ज्यानकै बाजी थापेको थिएँ
कल्लाई हिसाब मागौँ ?

तर चिन्ता नगर्नुस्, मान्छे गीतको शब्द हैन, म्युजिक भिडियोको दृश्यमा झुम्मिएका हुन्छन्। बारम्बार गाइएका (स्थायी) बोलहरुमा मात्र मान्छेको ध्यान जान्छ। त्यसैले त्यसैमा आलोचना हान्दिनुस्। जस्तै गीतमा बारम्बार गाइएको छ- तिम्रो मयाँले मलाई पिर दियो, अइय्या-अइय्या…अइय्या-अइय्या।

यो कुरा उठाउन लगाउनुस् कार्यकर्तालाई- यस्तो पनि शब्द हुन्छ? अइय्या अइय्या रे। मायाले दिने पिर त मानसिक पो हुन्छ- अइय्या अइय्या भनेर कराउँछन् र? शारीरिक पीडामा पो अइय्या अइय्या भनिन्छ। मायाले पिर दिँदा अइय्या अइय्या भनिने भए त कलेज, युनिभर्सिटीतिर अइय्या अइय्या बाहेक केही शब्द सुनिँदैन थियो होला। बाटोमा हिँड्दा आधा युवायुवतीहरु अइय्या अइय्या भन्दै हिँड्थे होला। फोन उठाउँदा पनि हेलो नभनेर मान्छेहरु अइय्या अइय्या भन्थे होलान्। दुनियाँको कुन चाहिँ साहित्यमा मायाले दिएको पिरमा अइय्या अइय्या भनेर कराएका छन् मान्छेले?

टिप्स नम्बर २ : मासु व्यापारीलाई उचाल्नुस्

प्रकाश सपुतको गीत विरुद्ध आफूहरुको एकल विरोधलाई बृहत् बनाउन माओवादीहरुले मासु पसलेहरुलाई उचाल्नु पर्छ। किनभने गीतको म्युजिक भिडियोमा मासु बेचेर कहिले उँभो लाग्ने हो भन्ने डायलग राखिएको छ। मासु पसल बेचेर ट्याक्सी किन्ने हो कि भन्ने डायलगसमेत छ। यो गीतले मासु पसलेहरुको मानमर्दन गरेको छ। मासु पसलेले कमाउनै सक्दैनन् भन्ने भाष्य बनाएर अपमान गर्न खोजिएको छ। त्यसैले  देशभरका मासु व्यापारीहरुलाई संगठित रुपमा विरोध गर्न लगाउनु पर्छ। (यताबाट प्रभावित)

टिप्स नम्बर ३ : पुरुष कमरेडहरुबाट विरोध गर्न लाउनुस्

गीतको म्युजिक भिडियोमा  सानी छोरीलाई छाडेर बाउ कमरेड पैसा तिरेर ‘सुरुङ युद्ध’ गर्न पुगेको देखाइएको छ।

बाध्यताको देहव्यापारमा कुनै लडाकु महिला लाग्ने परेको अवस्थालाई देखाउन त्यस्तो सेवा खरिद गर्ने ग्राहकको रूपमा मुट्ठी उठाउने मनोविज्ञान जस्ताको तस्तै भएको पूर्वलडाकुलाई प्रयोग गर्नु चाहिँ किमार्थ सही भएन। (यताबाट प्रभावित)

यसले त्यत्रो महान् जनयुद्ध लड्ने पुरुष कमरेडहरुको मात्रै अपमान भएको छैन, पत्नी विदेशमा भएका सबै पतिलाई नैतिक रुपमा पतित देखाएको छ। त्यसैले सक्नुहुन्छ भने विदेशमा श्रीमती पठाएर आफू स्वदेशमा रहने पतिहरुको संघबाट नभए आफ्नै पार्टीका पुरुष कमरेडहरुबाट भए पनि संयुक्त विरोध विज्ञप्ति निकाल्न लगाउनुस्।

त्यस्तै चिनी, नूनका बट्टामा कागतको चिर्कटो टाँसिदिएको चाहिँ किन र कसलाई? त्यसको मतलब पुरुषले भान्साको काम जान्दैन भन्ने बताउन? त्यो पनि अस्वाभाविक भयो। अरू दुःख कष्ट त उनीहरूको नियन्त्रणमा नभएकोले आइपर्‍यो होला भन्न सकिन्छ। (यताबाट प्रभावित) त्यसैले पुरुषको यो हदको अपमानको विरोधमा सबै पुरुषलाई उतार्नु पर्छ।

टिप्स नम्बर ४ : शिवमको हैन पुँजीवादी शैलीको विरोध गर्न लाउनुस्

गीतमा शिवम् सिमेन्टको खुबै विज्ञापन गरिएको छ। मासु पसलको सटरदेखि बच्चाको पानीको बोतलसम्म शिवम् सिमेन्टको विज्ञापन छ। तर जोशमा होश गुमाएर शिवम् सिमेन्टको विज्ञापनको विरोध नगर्नुस् नि फेरि।

किन भनेर सोध्नुभएको?

किनकि शिवम सिमेन्टको एउटा कम्पनीमा चीनको होङ्सी सिमेन्ट कम्पनीको लगानी छ। चीन अर्थात् माओको देश। माओवादीले माओको देशको कम्पनीको लगानी रहेको कम्पनीको विरोध गर्न कहाँ मिल्छ र? चीन रिसाउँदैन?

कोही कोहीले नपत्याएकोले एजिएम रिपोर्टको टुक्रो टाँसेको छु, तल हेर्नुस्-

त्यही भएर बरु भिडियोमा देखिने अरु कम्पनीहरुको विज्ञापनलाई मुद्दा बनाउनुस्। गीतमा विज्ञापनै विज्ञापन देखाएर विकृत बनाइयो भनेर गीतमा पूँजीवादी शैलीको आक्रमण भनेर विरोध गर्न लाउनुस्।

बोनस टिप्स : दाह्री ग्याङलाई उचाल्नुस्

ब्लग लेखेर पोस्ट गरिसकेपछि एउटा पोस्टमा आँखा गएकोले बोनस टिप्स थपेको छु। दाह्री ग्याङ नामको फेसबुक ग्रुपको एउटा पोस्ट लिक भएको छ। त्यसमा दाह्रीवालाहरुको असन्तुष्टि झल्किएको छ। यही झिल्कोलाई समातेर दाह्री ग्याङलाई उचाल्नुस् र विरोधमा उत्रन लाउनुस्।

5 thoughts on “प्रकाश सपुतको ‘पिर’ले अइय्या अइय्या हुनेहरुलाई चार टिप्स”

  1. गगने says:
    March 16, 2022 at 6:40 pm

    हैट् मलाई चै निकै राम्रो लाग्यो हो! देश, राजनिति, समाज, सरकार, मान्छे, मानवताको सबैले देखेका बुझेका तर भित्र लुकेका कुरालाई कस्तो मीठो मनछुने गरि शब्द र चित्रमा प्रस्तुत गरिदिएको छ्!  

    Reply
  2. Raj says:
    March 14, 2022 at 6:04 am

    What is Satire! Hats off.

    Reply
  3. Bishwamitraa says:
    March 14, 2022 at 2:36 am

    Another tips: Deha byaaparma laagne mahilako naak thepcho, raamri ani gori dekhaiyako chha. So, sabai gori, raamri, naak thepcho bhaki keti harulai pani uchalnu paro…

    Reply
  4. Mukti Aryal says:
    March 13, 2022 at 10:38 pm

    कहिले काँहि मान्छेहरू अंश(part) र पूर्ण (whole) छुट्टाउन सक्दैनन् र भयङ्कर गल्ति गर्छन् !
    गीतले देखायो देह ब्यापार गर्ने एक महिला थिइन । यसलाई गलत बुझ्ने हो भने अर्थको अनर्थ लाउने हो भने सबै आधा आकाश ढाक्ने सबै महिलालाई देह ब्यापार गर्छन भन्यो भनेर भन्न सकिन्छ । केहि महिलाहरू देह ब्यापार गर्छन सत्य हो । यसो भन्दा सम्पुर्ण महिलाको अपमान सम्झनु मुर्खता हो । महिलाहरू देह ब्यापार गर्छन् भनेको हैन – देह ब्यापार गर्नेहरू पनि महिला हुन भनेको हो ।
    त्यसै गरी गीतले देखायो देह ब्यापार गर्ने महिला पूर्व लडाकु थिइन । तर पूर्व लडाकु महिलाहरू सबैले देह ब्यपार गर्छन भनेर गीतले कतै पनि भनेन । सबै पुर्ब लडाकुलाई देह ब्यापार गर्छन भन्यो र अपमान गऱ्यो भनेर बुझ्नु मुर्खता हो । गणितको भाषामा पूर्व लडाकु महिला सेट (Set) हो, पूर्व लडाकु देह ब्यापार गर्ने महिला त्यसको सब -सेट (sub set) हो । पूर्व लडाकु महिला फेरि सम्पूर्ण महिलाको सब-सेट हो । त्यसैले उफ्रनु को कुनै तुक छैन । अगुल्टाले हानेको कुकुर विजुली देखि चम्केको मात्र हो ।
    के पूर्व लडाकु कुनै पनि महिला देह ब्यापार गर्दैनन् ? के राज्यले पूर्व लडाकु र घाइते महिलाको उपचार र आधारभुत आबस्यकताको ग्यारेन्टि गरेको छ ? पुर्ब लडाकुलाई कसैले पनि देह ब्यापार गर्दैनन् भने त्यो सुन्दरता हो । यसो हो भने प्रकाश सपूत लाई कार्बाहि गर हैन भने बिरोध गर्नु को तुक छैन ।

    Reply
    1. surendra says:
      March 14, 2022 at 1:48 pm

      राम्रो बिचार !

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme