हाम्रा पत्रकारहरुले बाइलाइन समाचार लेख्दा पनि कस्तोसम्म गर्छन् भन्ने एउटा उदाहरण फेला परेको छ।
कुरा बतास समूहको हो। सुरुमा मिडियाले एकोहोरो खेदेका थिए बतासलाई। त्यसपछि लो प्रोफाइलमा बस्ने बतास आफै मिडिया-मिडिया धाएर अन्तर्वार्ता दिएर माहौल आफ्नो पक्षमा ल्याए। हाम्रो मिडिया उही हो फेरि, बोल्न खप्पिस बतासलाई मिडियाले राम्रोसँग प्रश्न सोध्न पनि सकेन। बतास त व्यापारी हो, उसले त नाफा हेरी हाल्छ नि, दिने पो दोषी भन्ने धारणा बनाउन उनी सफल भए। तर उनको पनि कमजोरी के-केमा रह्यो, त्यो बारे अलग्गै ब्लगमा लेखौँला। यहाँ भने पत्रकारकै कुरा गरौँ।
निकै सक्रिय भएर मिडिया क्याम्पेनिङमा लागेका बतासले केही सम्पादक र निकट पत्रकारहरुलाई ४३ पेजको १२ एमबीको एउटा फाइल पठाएका थिए।
ती मध्येकै एक जनामार्फत् मैले पनि त्यो फाइल हेर्न पाएँ। यहाँ क्लिक गरी त्यो फाइल हेर्न सक्नुहुन्छ।
त्यो फाइलको सुरुमा पशुपति धर्मशालाबारे बतासको ८ बूँदे ‘नोट’ थियो।
माघ १२ गते सेतोपाटीमा खिलानाथ ढकाल र युवराज श्रेष्ठको संयुक्त बाइलाइनमा एउटा समाचार राखियो। ‘बतासमाथि कारबाही, धर्मशाला ठेक्का दिने पदाधिकारीलाई भने पुरस्कार’ शीर्षकको यो समाचारको अर्काइभ हेर्न यहाँ क्लिक गर्नुस्।
समाचार पढ्दै जाँदा ‘यसरी लगाइयो भाडा’ सबहेडिङमा राखिएका सबै समाचार बतासको ८ बूँदे नोटको हुबहु सारिएको रहेछ। तर समाचारमा ‘बतासका अनुसार’ नलेखी ‘पशुपति क्षेत्र विकास कोषका अनुसार’ लेखिएको रहेछ। यसरी बतासले दिएको जानकारीलाई कोषले दिएको जानकारी भनेर किन लेख्नु? बतासले नै भनेको भनेर लेखे के बिग्रने रहेछ? कुरो बुझिएन।
यस्तो छ सेतोपाटीमा छापिएको अंश। माथि बतासको नोट पनि छ, भिडाएर हेर्नुस्-
पशुपति क्षेत्र विकास कोषका अनुसार शंकराचार्य पशुपतिनाथ दर्शन गर्न आउँदा धर्मशालामा बस्न चाहे। गौशाला धर्मशालामा बस्न खोज्दा दुर्गन्धित, फोहोर र अव्यवस्थित देखे। उनले पशुपति क्षेत्रमा एउटा उच्चस्तरीय, शाकाहारी, लागूपदार्थरहित धर्मशाला निर्माण गर्न भारत सरकारलाई आग्रह गरे।
शंकराचार्यकै आग्रहअनुसार भारतले तिलगंगामा कोषले उपलब्ध गराएको १९ रोपनी जग्गामा नेपाली कलाकौशल झल्कने भवन बनाइदियो। त्यहाँ ८२ वटा सुत्ने कोठा, चारवटा भिआइपी स्विटरूम, दुईवटा मिटिङ हल र योग हल लगायत संरचना छन्।
धर्मशाला निर्माणपछि २०७५ भदौ १५ गते तत्कालीन प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरे। त्यसपछि धर्मशाला पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरे।
उद्घाटन भएको १८ महिनासम्म धर्मशाला प्रयोगविहीन रह्यो। तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीले धर्मशाला सञ्चालनका लागि मोडालिटीसहितको अध्ययन प्रतिवेदन बुझाउन नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) लाई जिम्मा दियो। नाथमले २०७५ कात्तिक ४ गते मन्त्रालयमा प्रतिवेदन बुझायो।
प्रतिवेदनले धर्मशाला सार्वजनिक-निजी साझेदारीमा २० वर्षका लागि वार्षिक ९५ लाख रूपैयाँ भाडा तिर्ने गरी निजी क्षेत्रलाई दिन सुझाएको थियो। नाथमको प्रतिवेदनमा धर्मशाला सञ्चालन गर्न आवश्यक संरचना बनाउन थप १० करोड लगानी गर्नुपर्ने, सबै कोठामा बाथरूम राख्ने, कोठाहरूमा एसी जडान गर्ने, आन्तरिक सजावट, अग्नि नियन्त्रक, सिसिटिभी, पानी शुद्धीकरण, इन्टरकम लगायत सुविधा राख्न भनिएको छ।
धर्मशालालाई प्रिमियम स्तरमा सञ्चालन गर्न र प्रतिबेड ४५० देखि ५ हजार ५ सय रूपैयाँसम्म दर निर्धाण गर्न सकिने समेत प्रतिवेदनम उल्लेख छ।
त्यही प्रतिवेदनका आधारमा पशुपति क्षेत्र विकास कोषले धर्मशालामा होटल चलाउन २०७५ मााघ २० गते गोरखापत्रमा सार्वजनिक बोलपत्र आह्वान गरेको थियो। बोलपत्र छापिएपछि बतास समूहअन्तर्गतको होटल आनन्ददेखि अर्का व्यवसायी आङछिरिङ शेर्पा लगायत चारवटा कम्पनीले प्रस्ताव पेस गरेका थिए।
उक्त बोलपत्रका आधारमा परेका प्रस्तावमा प्राविधिक र आर्थिक दृष्टिले मूल्यांकन गर्दा बतास समूहअन्तर्गत होटल आनन्दले धर्मशाला हात पारेको कोषले जनाएको छ।
बतास समूहको होटल आनन्दले प्रस्ताव गरेअनुसार वार्षिक १ करोड ५ लाख ४१ हजार रूपैयाँ भाडा बुझाउने गरी १० वर्षका लागि सम्झौता भएको थियो।
कोषका अनुसार धर्मशालाको डोरमेट्री हलमा प्रतिबेड ३५० रूपैयाँ, बाथरूम, वाइफाई र इन्टरकम जडान गरिएको कोठाको १ हजार रूपैयाँ, टिभीसमेत राखिएको कोठाको २ हजार ९ सय, उल्लिखित सुविधाका साथै सोफा, ठूलो भिआइपी कोठालाई ५ हजार ५ सय रूपैयाँ शुल्क तोकिएको छ।
भारतीय दूतावासले धर्मशाला छिटो सञ्चालन गर्न ताकेता गरेकाले तत्कालीन पर्यटनमन्त्री अधिकारीको मौखिक आदेशमा टेन्डर प्रक्रिया अघि बढेको कोषले जनाएको छ।
बतासकै नोट सारेर बाइलाइनमा समाचार लेखिएछ त। कति रमाइलो !
त्यसो त बतासले पुस २८ गते विज्ञप्ति निकालेर आफूविरुद्ध समाचार लेख्ने पत्रकारलाई कानुनी कारबाही नगर्न सरकार समक्ष र स्पष्टीकरण नलिन, दबाब नदिन मिडियाका सञ्चालक, प्रकाशक र सम्पादकहरुलाई अनुरोध गरेको थियो।
पत्रकारहरुले आफूहरुलाई यति विधि माया गरेको देखेर बतासको ८ बूँदे नोट जस्तातस्तै सारेर उनलाई कतै बात नलागोस् भनेर अझ माया गरेर ‘कोषका अनुसार’ लेख्दै समाचार छापिदिएका पो हुन् कि ! कुरो बुझिएन। यो देशमा धेरै कुरा नबुझेरै आधा जिन्दगी खेर जाने भो।