जीवनमा धेरै कुराको अनुभव हुनुपर्छ। विश्वमै हलचल मच्चाउने ‘कुख्यात’ रोग लाग्नुको अनुभव चाहिँ जतिसक्दो नभएकै राम्रो। तर त्यसो भनेर के गर्नु, नलागोस् भन्दाभन्दै लागि त गो। जम्मा १५ महिनाकै अन्तरमा दोस्रो पटक कोरोना भाइरसले शरीरमा आक्रमण गर्यो। त्यो पनि ‘लाग्यो होला नि त’ भन्ने मात्र नभई पीसीआर परीक्षणबाटै पुष्टि भएकोवाला।
पहिलो लहरका बेला सन् २०२० को अक्टोबरमा पहिलो पटक यो भाइरस जिउमा छिरेको पुष्टि हुँदा के हो, कसो हो- नयाँ रोग भएकोले आशंका थिए। यो पटक त्यस्तो भएन। तर पहिलेकै कुरा दोहोरिएला भनेर चिन्तासँगै सतर्कता अपनाउनु पर्ने अवस्था आयो। धेरैलाई यो अहिलेको नयाँ भेरियन्टले खासै गाह्रो पार्दैन भन्ने लागेको देखियो। तर यो त्यसरी हलुका र खेलाँची गर्ने चिज पनि होइन। तर्सेर आतंकित नै हुनुपर्ने विषय नभए पनि सतर्क त हुनै पर्ने रहेछ। अस्पतालमा भर्ना हुनु, आइसियुमा जानुलाई मात्र गाह्रो भएको भन्ने होइन। एक जना मान्छे सामान्य जीवनमा फर्कन लाग्ने समय लम्बिनु पनि गाह्रै हुनु हो। अब मलाई नै हेर्नुस् न, शारीरिक रुपमा त दुई दिन सुतेँ, अरु लक्षणहरु हराए तर अझै कमजोरी छ। मानसिक रुपमा यति थकान हुन्छ कि, केही गर्नै सकिन्न। पोजिटिभ देखिएको एक हप्ता नाघिसकेपछि बल्ल यति लेख्न सक्ने भएको छु, त्यो पनि दुई दिन लगाएर। सामान्य अवस्था हुँदो हो त दुई घण्टा पनि लाग्ने थिएन यति लेख्न।
कसरी सर्यो ?
पहिलो लहरमा पहिलो पटक कोरोना लाग्दा इन्क्युबेसन पिरियडले झुक्याएको थियो हामीलाई। अर्थात् कसैको जिउमा भाइरस पसिसके पनि लक्षण देखाउन केही समय लाग्छ र त्यो अवधिमा पीसीआर गरे पनि नेगेटिभ नै देखाउँछ।
त्यतिबेला मैले लेखेको थिएँ- कहाँ गरेँ मैले गल्ती : कोरोना भाइरसले ‘झुक्यायो’ कि म झुक्किएँ ?
कहाँ गरेँ मैले गल्ती : कोरोना भाइरसले ‘झुक्यायो’ कि म झुक्किएँ ?
त्यतिबेला घरबाहिरै आइसोलेसनमा बसियो। नेगेटिभ रिपोर्ट आएपछि मात्रै घर फर्कियौँ।
सुरुमा त प्राकृतिक रुपमा नै एन्टिबडी बन्यो, अब भाइरसले केही गर्न सक्दैन भन्ने भएको थियो। तर बिस्तारै पुनः संक्रमण पनि हुँदो रहेछ भन्ने तथ्य खुल्न थाले। अनि बाहिर जाँदा मास्क अनिवार्य हुन थाल्यो। खल्तीमा स्यानिटाइजर पनि हुन्थ्यो। कोभिशिल्ड खोपका दुई डोज पनि लगाइयो- गएको फेब्रुअरी र अप्रिलमा। दोस्रो लहरले ठूलो मानवीय क्षति पुर्याउँदा संक्रमणबाट जोगिन सफल भइयो।
तेस्रो लहरमा भने थाहा पाउने गरी संक्रमित भइयो।
ओमिक्रोन विश्वभर तीव्र गतिमा फैलिरहेको थियो। छिमेकी भारतमा संक्रमितको संख्या उकालो लागेको लाग्यै थियो। नेपालमा पनि त्यसको असर पर्ने निश्चित त थियो तर सुरु भइसकेको देखिएको थिएन। म खासै बाहिर भीडभाडमा जान्नँ। तर जनवरी ६ र ७ मा एउटा ट्रेनिङका लागि धुलिखेल जानु पर्ने अवस्था आयो।
जनवरी ६ को साँझ म त्यहाँ पुगेको थिएँ मास्क लगाएरै। त्यो साँझ खुला आकाशमुनि स्न्याक्स खाँदै गर्दा नजिकै एक जनाले खोक्दा मेरो मनमा ‘अहो, यो मान्छेसँग भाइरस भए त सार्ने भयो’ भन्ने त मनमा लागेको थियो। खाने बेलामा मुखमा मास्क हुने कुरा पनि आएन। त्यो रात डिनरमा पनि धेरै जनासँगै बसेर खायौँ।
मलाई लाग्छ, त्यही दिन मेरो शरीरमा भाइरस पस्यो।

भोलिपल्टको कार्यक्रममा पनि मास्क र स्यानिटाइजर प्रयोगमा अलि लापरवाही नै गरिएछ कि के हो भन्ने लाग्छ अहिले सम्झी हेर्दा। त्यही दिन नेपालभर र्यान्डम स्याम्पलिङबाट ल्याइएका नमूनाहरुमध्ये एस जीन नेगेटिभ भएका २४ वटा स्याम्पलको जिन सिक्वेन्सिङ गरी हेर्दा २४ वटै ओमिक्रोन भेरियन्ट पुष्टि भएको। अर्थात् नेपालमा ओमिक्रोन भेरियन्ट फैलिसकेको देखियो।
के-के लक्षण देखिए?
पेट दुख्नु : यदि मैले अनुमान गरे अनुसार जनवरी ६ बिहीबारको साँझ भाइरस मेरो शरीरमा पसेको भए पहिलो लक्षण पेट दुख्ने २४ घण्टा नहुँदै देखिन थालेको थियो।
सुरुमा हल्का कटक्क काटे जस्तो दुखेको पेट २४ घण्टा पुगेर नाघ्दै गर्दा डायरियाको रुप लिन पुग्यो। शुक्रबार राति निद्रा खुलेर ट्वाइलेट पस्नु पर्ने बनाएको थियो। तारन्तार ट्वाइलेट गइराख्नु पर्ने त होइन तर सामान्य भन्दा धेरै पटक गइराख्नुपर्ने।
रुघा : दोस्रो दिन शनिबार हल्का रुघा लाग्यो। नाकबाट सिङ्गान बगिरहने खालको त होइन, तर नाक चाहिँ बन्द हुने खालको असजिलो हुन थाल्यो।
निद्रा नलाग्ने : त्यसपछि शनिबारदेखि निद्रा नलाग्ने हुन थाल्यो। रुघा लागेकोले डीकोल्ड खाइदिएँ। त्यसले पनि एक किसिमको झुम्म लाग्ने बनाइदियो। अघिल्लो पटक कोरोना लाग्दा निद्रा नलाग्ने खालको समस्या थिएन। यो पटक धेरै दिनसम्म यो समस्याले सतायो।
एकदम जाडो लाग्ने : चौथो दिन सोमबारदेखि शरीर काम्ने गरी, जिउमा काँडा उम्रे जस्तो हुने गरी जाडो लाग्न थाल्यो। चीसो त यति लाग्यो कि भनिसाध्य छैन। भ्याक्सिन लाउँदा पनि अलि चीसो लाग्ने त भएको थियो। त्यसैले जिउले यस्तो प्रतिक्रिया दिन थालेपछि भाइरस पसेकोले एन्टिबडीले काम गर्न थालेको हो कि के हो भन्ने त लाग्न थालिसकेको थियो।
टाउको दुख्ने : पहिलो पटक कोरोना लाग्दा टाउको धेरै नै दुखेको थियो। रातदिन टाउको दुखेको दुख्यै, औषधी खाँदा पनि कम नहुने। यस पटक पनि टाउको दुख्यो। तर दुई दिन मात्रै।
घाँटी खसखसाउने : अघिल्लो संक्रमणमा घाँटी खसखसाउने समस्या खासै भोगिएको थिएन। तर यो पटक सुरुका दुई दिन राति सुत्न समेत नसक्ने गरी घाँटी अजिब किसिमले खसखसाएर गाह्रो बनायो। माउथवासले घाँटी कुल्ला गरेर बस्नु परेको थियो।
ज्वरो : धेरै लक्षण देखिसकेपछि मलाई कोरोनाको शंका त लागिसकेको थियो। विशेषगरी एकदम जाडो लाग्ने लक्षणले मेरो शंकामा बल पुर्याएको थियो। ह्या हैन होला भन्ने चाहिँ मनमा हुने रहेछ। ज्वरो नापिरहेको थिएँ। सुरुमा नाप्दा ९९ देखायो। पछि नाप्दा १०१ पुगेपछि चाहिँ कोरोना नै हो भन्ने भयो। चौथो दिन ज्वरोसँगै चीसो हुने भए पनि त्यो रात जिउ भिज्ने गरी खल्खल्ती पसिना पनि आउने भयो। अघिल्लो पटक पनि ज्वरो त एक दिन आएको थियो तर यसरी पसिना आएको थिएन।
ज्वरो आउँदाआउँदै म परीक्षणका लागि स्वाब दिन गएँ। त्यतिबेला पनि पसिनाले निथ्रुक्कै भइयो। ल्याबले दिउँसो रिपोर्ट तयार भएको मेसेज एसएमएसमा पठाउँदासम्म म मोबाइल हेर्न सक्ने अवस्थामा थिइनँ। ओछ्यानमा पल्टिरहेकै थिएँ। इमेलमा आएको रिपोर्ट हेर्दा जे नहोस् भन्ने लागेको, त्यही रहेछ- पोजिटिभ।
जिउ दुख्ने : अघिल्लो पटक कोरोना लाग्दा एकदम जिउ दुखेको थियो। खुट्टा त ट्रेकिङ गएको बेला दिनभर हिँडेर राति सुत्ने बेलामा दुखे जसरी दुख्थ्यो। यस पटक चाहिँ त्यस्तो साह्रो दुखेको महसूस भएन। खुट्टाका मांसपेशी हल्का दुखेको अनुभव चाहिँ भयो।
तिर्खा लाग्ने : यो लक्षण चाहिँ अघिल्लो पटक अनुभव गरेको थिइनँ। यसपालि एकदम प्यास लाग्ने हुन्थ्यो। मुख सुकेको हुन्थ्यो। आइसोलेसनमा बसेको एक रात त दुई गिलास पानी घटघट पिउँँदा पनि प्यास लागिरहेकै थियो। धेरै पानी खाएर पेटै फुल्ने जस्तो हुन लागेपछि एकैचोटी धेरै पानी नखाएर थोरै थोरै पिएर मुख भिजाइराख्न थालेँ। मुखमा अरु चिजहरु चपाइराख्दा पनि सहयोग हुने रहेछ।
खोकी : पहिलो पटक कोरोना लाग्दा सबैभन्दा लामो समयसम्म र धेरै सताएको यही खोकी थियो। कोरोना भाइरस शरीरमा प्रवेश गर्नुभन्दा अघिदेखिको समस्यालाई यसले झन् बल्झाइदिएको थियो। तीन/साढे तीन महिनामात्रै भयो होला मैले औषधी खान छाडेको। नत्र लामो समय चिकित्सकको सल्लाहमा औषधी खाइरहनु पर्ने बनाएको थियो। मलाई खोकी फेरि बल्झिएला भन्ने डर थियो। अहिलेसम्म थोरै खोकी बाहेक पहिले जस्तो समस्या पारिसकेको छैन।
पहिलो पटक लाग्दा पहिलो लहरले पिक लिँदै गर्दाको बेला थियो। त्यसैले स्वाब दिएको चार दिनपछि बल्ल रिपोर्ट आएको थियो। आएपछि पनि कहीँ कतैबाट फोन आएको थिएन। यसपालि भने स्वाब दिएको अस्पताल र स्वास्थ्य सेवा विभागबाट फोन आएर सुझाव दिए, कुन भ्याक्सिन लगाएको, कता जानुभएको थियो आदि जानकारी लिए। तीन तीन दिनमा फलोअप फोन आउँछ भनेका थिए, त्यो भने शायद अहिले केस बढेकोले हो कि, आएन।
मानसिक असर : पहिलो पटक रिपोर्ट नेगेटिभ आएपछि मात्र घर फर्केको थिएँ। यस पटक भने घरमै आइसोलेट भएँ। यसरी परिवारसँगै भएर पनि अलग बस्दा बाहिर बस्नुभन्दा गाह्रो हुने अनुभव भयो।
त्यसबाहेक पहिलो पटक कोरोना लागेको निकै समयपछिसम्म पनि म सामान्य हुन सकिनँ। पोस्ट कोभिड असरहरु धेरै महिना रह्यो। यसबारे मैले ब्लग पनि लेखेको थिएँ त्यतिबेला- कस्तो ज्याद्रो कोरोना, अझै सताइराछ !
केही गर्न मन नलाग्ने, थोरै केही गर्दा पनि थाकेको जस्तो हुने। न किताब पढ्न सक्ने, न टिभी हेर्न मन लाग्ने, न केही लेख्न नै सक्ने। केही लेखौँ भन्ने लाग्यो भने जाँगरै नचल्ने। ह्या आज होस्, भोलि गरौँला भन्ने लाग्ने।
अनि concentrate गर्न नसक्ने। त्यसैले यो ज्याद्रो भाइरसले नेगेटिभ देखाए पनि दीर्घकालीन असर पारिरहने रहेछ भन्ने भएको थियो।
यो बीचमा मे २०२१ मा विपश्यना ध्यान जाँदा पनि केही दिन त दिमाग कुहिरोमा हराए जस्तो महसूस भएको थियो।
फेरि कोभिड-१९ लाग्यो भनेपछि मलाई सबैभन्दा डर नै यही लागेको थियो। फेरि यो भेरियन्ट त कमजोर खाले हो, त्यस्तो खालको असर नहोला भनेर पनि आफूलाई सम्झाएँ। तर पारा उही छ। उस्तै समस्या दोहोरिरहेको छ। एक्लै बस्नुपर्दा मज्जाले किताब पढ्ने र फिल्म हेर्ने गरौँला भन्ने सोचेको थिएँ। न किताब पढ्न सकेँ, न फिल्म हेर्न। केही गर्नै सकिरहेको छैन मैले। मेडिटेसन गरेर ध्यान केन्द्रित गर्ने प्रयास जारी छ। त्यो पनि लामो समय गर्न गाह्रो भइरहेको छ। यो चाहिँ अब नलम्बिए दिए हुन्थ्यो।
लागिहाले के गर्ने- सुझाव
लक्षणसहितको कोभिड-१९ संक्रमण भइहालेमा केही दिन आराम गर्नुस्। यो नयाँ रोग भएकोले यसको असर कस्तो हुन्छ भन्ने खासै थाहा भएको छैन। मान्छे अनुसार फरक-फरक असर पर्न सक्छ। मलाई भएको कुरा तपाईँलाई हुनुपर्छ भन्ने छैन। तपाईँलाई मलाई नभएको कुरा पनि हुनसक्छ। अधिकांशका लागि यो अरु रुघाखोकीज्वरो जस्तै सामान्य हुन्छ। तर खोप नलगाएका, वृद्धवृध्दा, रोगका कारण इम्युनिटी कम भएकाहरुलाई सरेमा घातक हुनसक्छ। आफ्नो कारणबाट अरुलाई नसरोस् भन्नेमा हामी सचेत हुनुपर्छ। अरुका अगाडि पर्दा मास्क लगाउनु पर्छ।
यो लागिहालेमा आत्तिहाल्नु पर्दैन। रुघाखोकी जस्तै यो पनि सामान्य रुपमा नै निको हुनसक्छ। तर नयाँ रोग भएको कारण अलि सचेत भने हुनुपर्छ। ह्या केही हुन्न भन्ने हेलचक्र्याइँ गरीहाल्नु हुन्न। अक्सिजन लेभल नापिरहने, श्वास फेर्न गाह्रो भए-नभएको याद गर्ने, ज्वरो कति दिनसम्म आउँछ याद गर्ने, तागतिलो खानेकुरा खाने, झोल पदार्थ र पानी प्रशस्त पिउने गर्नुपर्छ।
पहिलो पटक लाग्दा कमजोर भएको अनुभवले होला, यस पटक पहिले झैँ मन नलागी नलागी औषधी ठानेर खसीको खुट्टीको सुप र बट्टाइँको अण्डा खाने क्रम जारी छ। निको भएपछि फेरि शाकाहारी आहारमा फर्कन्छु, के भो र।
खोपले संक्रमण भइहाले पनि जटिल अवस्थामा पुग्नबाट जोगाउँछ। त्यसैले हल्लाहरुको भरमा नपरेर खोप लगाएर सुरक्षित पनि बनौँ।
Umesh je, hope you have recovered by now. Best regards .
I hope you feel better soon Umesh!
Salokya ji, Khuttiko soup chai nakhanu hola, boso ko maatra huncha tesma, jworo ani virus ma esai pani liver lai pressure huncha, jhan tesmathi khuttiko soup le sajilo gardaina hai, mero 2 jana aafanta dosro variant taaka bessari khuttiko soup ra khasiko maasuko jhol khayera, liver ma hwattai garo bhayera bitnu bhayo, daaju bahini karib 40 ko umer ko.
Get-well soon Salokya Jee!!