Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मिडिया अवार्ड-अग्रजले माने, अनुजले हाने : १७ जनाको नाम बोलाउँदा १३ अनुपस्थित

Posted on January 9, 2022January 9, 2022 by Salokya

गएको हप्ता मिडिया जगतमा सबैभन्दा चर्चाको विषय बन्यो : नेपाल मिडिया अवार्ड २०७८। ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन’ नारा राखिएको यो अवार्ड यति विवादास्पद भयो कि ‘अग्रजले माने,अनुजले हाने’ हुन पुग्यो। पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पनि विवादमा पर्‍यो। तीन जना अग्रजलाई लाइफटाइम एचिभमेन्ट सम्मान प्रदान गर्ने घोषणा गरिएको थियो। उनीहरुले केही भनेनन्। शनिबार भएको कार्यक्रममा सम्मान पनि थापे। तर ‘अनुज’हरुले एकल र सामूहिक रुपमा सामाजिक सञ्जालमा लेखेरै अवार्ड बहिस्कार गरे। सामाजिक सञ्जालमा बहिस्कार गर्नेहरु मात्र हैन, अरु पत्रकारहरु पनि अवार्ड लिन शनिबार भएको कार्यक्रममा नआएपछि बिजोग देखियो।

पारदर्शी भएन

पत्रकारहरुलाई यस्तो किसिमको अवार्ड दिने काम नेपालमा पहिलो पटक हुन लागिरहेको थियो। तर यो काम मिडियासम्बन्धी संस्था नभएर फिल्म अवार्ड आयोजना गर्ने संस्थाले गरेको थियो। एकाएक १८ विधामा ५ जना र १ विधामा चार जना गरी ९४ जना पत्रकारको नाम सार्वजनिक गरियो।

कुन मापदण्ड, कस्तो समाचारको आधारमा उनीहरु मनोनयनमा परे, त्यो केही पनि खुलाइएको थिएन। कसले उनीहरुलाई छानेका थिए- निर्णायक को थिए, त्यो पनि खुलाइएको थिएन। अवार्डका लागि आवेदन माग पनि गरिएको थिएन।

पत्रकारहरुले नै यसबारे कुरा उठाउन थाले र सोसल मिडियामा यसलाई बहिस्कार गर्ने लहरै चल्यो।

सबैभन्दा पहिला सेतोपाटीकी शोभा शर्माले यसबारे ट्विटरमा लेखेकी थिइन्-

पुरस्कारको नोमिनिमा परेको र नाम सार्वजनिक गर्नुअघि सोध्न भन्दै बिहान कमल जिसिले फोन गर्नुभाथ्यो। मैले पुरस्कारसँग जोडिन चाहन्न लिन पनि चाहन्न भनेँ।अनि उहाँले मेरो नामको ठाउँ खाली पठाउँछौँ भन्नूभयो। कि मेरो इच्छा सोध्न हुन्थेन कि यसरी नाम प्रकाशित गर्न हुन्थेन। कति गैरजिम्मेवार!

— दोस्रो दर्जाकी शोभा (@SharmaShova) January 4, 2022

त्यसैमा हिमालका रमेश कुमार र कान्तिपुरका कृष्ण आचार्य पनि जोडिए

समाचारमा बिहान देखेँ, मेरो नाम पनि उक्त पुरस्कारको सम्भावित सूचिमा रहेछ । कस्तो, कहाँको, कुन उदेश्यको भन्ने जानकारी नभएको उक्त पुरस्कारका लागि म प्रतिस्पर्धामा छैन । रुचि छैन । https://t.co/XkwCF7mSt0

— Ramesh Kumar (@Raw_Ku) January 5, 2022

मलाई त कमल जिसिले भर्खरै फोन गर्नुभयो । मेरो नाम सार्वजनिक गर्नु अघि किन सोध्नु भएन ? भनेर प्रश्न गरे । उहाँले जवाफ दिन सक्नु भएन । त्यसपछि मैले पुरस्कार लिन चाहान्न, म कार्यक्रममा आउदिन भने । कति गैरजिम्मेवार काम ! https://t.co/fI7KkTASQg

— KRISHNA ACHARYA (@KrishnaAcharyaG) January 5, 2022

यो क्रम जारी रह्यो। कान्तिपुरकै जनकराज सापकोटा र हिमालका सागर बुढाथोकीले पनि आफू सहभागी नहुने बताए-

पत्रकारको गुणवत्ता उसका समाचारहरु र पाठकको विश्वासबाट झल्किन्छ । यो मनोनयनको सुचीमा मेरो नाम किन राखियो ? कसले राख्यो ? म जानकार छैन । म यो प्रतिस्पर्धामा पनि छैन् । किनकी पुरस्कार पाउन लायक काम म बाट भएकै छैन । धन्यवाद ।

— Janakraj Sapkota (@janakrasa) January 5, 2022

समाचारबाट मिडिया अवार्डकाे मनाेनयनमा मेराेपनि नाम राखिएकाे थाहा पाएँ । कस्ले र कुन उदेश्यले आयाेजना गरेकाे हाे, जानकारी नदिएकाे उक्त अवार्डमा आफ्नाे रुचि नभएकाे जानकारी गराउँदछु। म उक्त अवार्डकाे प्रतिस्पर्धामा छैन्, आयाेजकलाई मेराे नाम हटाउन अनुराेध गर्दछु।

— Sagar Budhathoki (@sagarb1996) January 5, 2022

अनि फेरि थपिए अनलाइनखबरका कृष्ण ज्ञवाली-

नेपाल मिडिया अवार्डको मनोनयनमा मेरो नाम परेको रहेछ । अवार्डका लागि म आफू योग्य नभएको महशुस गरेकाले त्यसबाट मेरो नाम हटाउन र चयन नगरिदिनुहुन आयोजकहरुसामु अनुरोध छ ।

— Krishna Gyawali (@krishnaktm) January 5, 2022

बहिस्कार गर्नेहरु सबै विधाबाट देखिन थाले। कुनै विधामा त ५ जना मनोनीत मध्ये एक जना मात्र पनि देखिने स्थिति आयो।

यतिन्जेल एकल घोषणा भइरहेको थियो। कान्तिपुरका नौ जना पत्रकारले सामूहिक हस्ताक्षरसहित अवार्ड बहिस्कार घोषणा गरे। यसमा कुन कुन समाचार, कस्तो निर्णायक समिति र के मापदण्डका आधार नखुलेको, अपारदर्शी इभेन्टमा आफूहरुको नाम समावेश भए सहमति नरहने र नाम नराख्न भनिएको थियो-

कान्तिपुर पछि अर्को मिडिया हाउस नयाँ पत्रिकाबाट पनि त्यस्तै सामूहिक विज्ञप्ति आयो-

नागरिकबाट पनि त्यस्तै सामूहिक विज्ञप्ति आयो-

सामूहिक विज्ञप्ति आउनेमा थपियो शिलापत्र पनि।

बहिस्कारको एकल घोषणा पनि जारी थियो-

केहि समाचारहरुमा मिडिया अवार्ड नाेमिनेसन भन्दै मेरो नाम पनि समावेस भएको देखियो। मेरो नाम समावेस कसरी, के का आधारमा गरिएको भन्ने कुराको समेत मलाई जानकारी छैन। के आधारमा नोमिनेसन गरियो? केही जानकारी प्राप्त नभएकाले उक्त एवार्डमा म आफ्नो सहभागिता नरहने जानकारी गराउँदछु।

— Bhisha kafle(भिषा) (@BHISHA1) January 6, 2022

मेरो नाम मनोनयनमा परेको उल्लेख गर्दै सार्वजनिक भएको मिडिया अवार्डमा आफ्नो रुची नभएको र कार्यक्रममा सहभागि नहुने तथा कार्यक्रम हुनुअघि नै मेरो नाम हटाउनका लागि आयोजकलाई अनुरोध गरिसकेको जानकारि गराउँछु । धन्यवाद !

— Ramu Sapkota (@ramusapkota) January 5, 2022

‘एलआईसी नेपाल मिडिया अवार्ड २०७८’ प्रतिस्पर्धामा म नरहेको कुरा जानकारी गराउँदछु ।

— Nimesh Banjade (@NimeshBanjade) January 5, 2022

पत्रकार महासंघ तानियो विवादमा

पत्रकार महासंघकै पदाधिकारीको किर्ते हस्ताक्षर तयार गरी आर्थिक सहयोगका लागि याचना गरिनु र हस्ताक्षरको दुरुपयोग हुने पत्रकारले ती निकायमा फोन गरीगरी आर्थिक सहयोग रोकिदिनुस् भन्नुपर्ने अवस्था आउनु विडम्बना हो । https://t.co/2CAX3vVzxH

— Janakraj Sapkota (@janakrasa) January 7, 2022

मिडिया अवार्ड आयोजनाका लागि नेपाल पत्रकार महासंघको लेटरप्याडमा नेपाल आयल निगम, टेलिकम, वायुसेवा नियम, काठमाडौं महानगर लगायतका निकायमा आर्थिक सहयोगका लागि पत्र पठाइएको, महासंघका महासचिवको हस्ताक्षर दुरुपयोग भएको, साइबर ब्युरोमा कीर्ते हस्ताक्षरको मौखिक उजुरी परेको लगायतका कुरा सामाजिक सञ्जालमा आए-

मिडिया अवार्डको निमन्त्रणापत्रका नाममा पत्रकार महासंघका महासचिवको हस्ताक्षर दुरुपयोग भएको छ । महासचिव रोशन पुरीका अनुसार त्यसमा उहाँको सहमती र पूर्वस्विकृती छैन रे ।

यस्तो पनि हुन्छ ? https://t.co/aO42Kfevt5 pic.twitter.com/WgrsjBykXp

— कृष्ण ज्ञवाली (@kisungktm) January 7, 2022

पत्रकार महासंघबाट प्रहरीको साईबर व्यूरोमा किर्ते हस्ताक्षरका वारेमा मौखिक उजुरी परेको थियो ।

व्यूरोका एक प्रहरीका अनुसार, उच्च शक्तिकेन्द्रको फोनका कारण छानविन अघि बढेन ।

पत्रकार महासंघका पदाधिकारी नै आफ्नो हस्ताक्षर किर्ते भएर पिडित हुन्छन् भने अरुको के हालत होला ? https://t.co/aO42Kfevt5

— कृष्ण ज्ञवाली (@kisungktm) January 7, 2022

अध्यक्ष चुप, वरिष्ठ उपाध्यक्षले क्षमा मागे

यो विवादमा पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल चुप बसे। वरिष्ठ उपाध्यक्ष रमेश विष्टले भने सामाजिक सञ्जालमा लामो धारणा राख्दै क्षमा मागे-

मिडिया अर्वाड वारे बोल्नै पर्ने भयो :
केहि दिन देखि पत्रकार महासंघ समेत जोडिएको भनिएको मिडिया अर्वाड सम्बन्धी समाचार, सामाजिक संजालका पोष्ट र फोन कलले मथिङ्गल हल्लाएको छ ।
केहि पत्रकारलाई पुरस्कृत गर्ने, महासंघको कोभिड कोषमा सहयोग गर्ने र पुरस्कार वितरणमा महासंघले सामान्य संयोजन गरिदिने अनौपचारिक छलफल भएको हो । जुन कुरा सामान्यन्यतया महासंघले अस्वीकार गर्नु पर्ने कारण देखिदैन ।
आर्थिक संकलन वा सहयोग संकलनमा कुरामा महासंघ कहि कतै संलग्न हुँदैन र त्यस्तो कामको महासंघ पक्षमा हुँदैन भन्ने कुरामा हामी पहिले नै प्रष्ट थियौं र छौं ।
पुरस्कार छनोटमा कसैले महासंघको प्रतिनिधि मागे वा महासंघलाई नै छनोट गरिदिन आग्रह गरे सहयोग गर्ने महासंघको स्थापित मान्यता र परम्परा जस्तो बनिसकेकाले अन्यथा लिने कुरा भएन ।यसमा पनि महासंघको प्रतिनिधि पाठाईएको जानकारी मैले पनि पाएको छु ।
पुरस्कार वितरण अवार्डमा बदलियो !
मैले बुझेको पत्रकार पुरस्कृत गर्ने र मिडिया अवार्ड गर्ने कुरा फरक रहेछ ।
कुनै व्यक्ति ,गुठी वा संस्थाको सहयोगमा पुरस्कृत गर्ने कुरा सामान्य प्रचलन र अभ्यासमै हुँदै आएको हो । त्यसलाई पुरस्कार वितरणको स्रोत व्यवस्थापनका रूपमा बुझिदै आएको छ ।
तर व्यापारीक घराना ,वैंक तथा वित्तिय संस्था, स्थानिय तह सरकारी संस्थाहरुसंग रकम तोकेरै चन्दा माग्ने, महासंघको नाम ,लोगो, पदाधिकारीको हस्ताक्षार प्रयोग गरेर दवाव दिने काम भएको गुनासो व्यापक रुपमै आएको छ । यदि यस्तो भएको हो भने यो अक्षम्य अपराध हो
यसो गर्ने अधिकार केन्दीय समितिलाई त छैन भने सामान्य सहकार्य गरेको निजि कम्पनीलाई हुने कुनै भएन / हुनै सक्दैन ।
पत्रकार महासंघ फस्नै नपर्ने विवादमा फस्यो । महासंघका आफ्नै एजेण्डा र प्राथमिकतामा थुप्रै कामहरु गर्न सकिएको छैन । अवार्ड माफियाहरुले १३ हजार बढी पत्रकारहरुको छाता संस्थालाई सडकमा पुऱ्याएकोमा पीडा बोध भइरहेको छ ।
महासंघका कुनै पदाधिकारीको नियत माथी मलाई शंका छैन । तर मानिसहरुको नियतलाई बुझ्न नसक्नु र महासंघलाई नै सहि ढंगवाट बुझ्न र चिन्न नसक्नु हाम्रो ठूलो कमजोरी हो ।
पत्रकार महासंघ प्रति सद्भाव राखेर आलोचना गर्ने र सुझाव दिने सबैलाई धन्यवाद दिदै महासंघको प्रतिष्ठा र ख्यातिमा आँच आएको प्रति क्षमा चाहन्छु।

‘चल्लाहरुको बहिस्कारले केही हुँदैन’

आरोपहरु बढ्दै गए- पत्रकारलाई अवार्ड दिने भनेर थुप्रै संस्थासित आर्थिक सहयोग मागेको, तपाईँहरुको बारेमा नेगेटिभ लेख्दैनन् भनेर प्रायोजकहरुलाई फकाएको, पारदर्शी रकम नभएकोले पत्रकारलाई देखाएर आर्थिक सहयोग लिएर नाफा गर्ने नियत राखेको…अनेक।

अनलाइन मिडियाहरुले यसबारे समाचार पनि बनाउन थाले। नेपालखबरको समाचारमा आयोजक संस्थाका प्रमुख कमल जीसीले भने- होटल सोल्टीमा गर्न लागेको अवार्ड पत्रकारलाई पचेन, चल्लाहरुको बहिष्कारले केही हुँदैन।

समाचारमा लेखिएको छ- ‘मुख्यगरी ७ वटा कम्पनीले अवार्ड वितरणमा आर्थिक सहयोग गरेको जिसीले बताए। एलआईसी नेपाल, ब्लु चिप, बराह ज्वेलरी, होटल हिल्टन, आईएमई, कोकाकोला लगायत कम्पनीको सहयोग छ। आयोजकले पत्रकार अवार्डका नाममा बूढानीलकण्ठ, कागेश्वरी, टोखा, चन्द्रागिरि, गोकर्णेश्वर, चाँगुनारायण नगरपालिकाबाट समेत सहयोग उठाएको छ। तर कहाँबाट कति सहयोग लिएको भन्ने खुलिसकेको छैन।’

विवादका कारण प्रमुख अतिथि भनेर आयोजकले प्रचार सामग्री नै बनाइसकेका माओवादी अध्यक्ष प्रचण्ड पनि नजाने खबर आयो। त्यसो त कार्यक्रम हुने दिन बिहानै उनलाई कोरोना पोजिटिभ भएको खबर पनि आयो।

आयोजकको भनाई

विवाद बढ्दै गएपछि आयोजक संस्थाले पनि विज्ञप्ति आफ्नो फेसबुकमा राख्यो। उसले ९ सदस्यीय प्रि सेलेक्सन कमिटी र अर्को मुख्य जुरी बनाइएको बतायो। तर ती को हुन् भन्ने खुलाइएन। एक महिना लगाएर गरेको अनुसन्धान, अध्ययन र थुप्रैसँग अन्तर्क्रियापछि नोमिनेसन तयार पारिएको भनियो तर पत्रकारहरु कुन समाचारका आधारमा मनोनयनमा परेका हुन् भन्ने चाहिँ खुलाइएको थिएन।

कार्यक्रम हुने दिनमा महासंघको वक्तव्य

संस्थागत निर्णय बिना नै यो कार्यक्रममा जोडिएको आरोपका बीच नेपाल पत्रकार महासंघको लेटरप्याडमा कार्यक्रम हुने दिन शनिबार विज्ञप्ति जारी भयो।

सचिव सृजना अर्यालले जारी गरेको विज्ञप्तिमा ‘सहकार्य कुनै आर्थिक लाभ वा अन्य कुनै स्वार्थका लागि नभएको दावी गर्दै आयोजकले दिने रु. ३ लाख रकम महासंघले नलिने र कार्यक्रम सम्पन्न गर्ने क्रममा भएका गतिविधिको बारेमा केन्द्रीय कार्य समिति बैठकमा छलफल गरी आवश्यक निर्णय लिइने’ उल्लेख थियो।

भद्रगोल कार्यक्रम

घोषित अवार्डको बिजोग कार्यक्रम हुनुअगाडि नै देखिसकिएको थियो। नोमिनेसनमा परेकाहरु मध्ये कुनै कुनै विधामा त एक जना मात्रै बहिस्कार नगरेका बाँकी थिए।

त्यसैले सोल्टी होटलमा गरिएको कार्यक्रममा नोमिनीहरुको नाम लिइएन। सीधै यो क्याटेगोरीमा यो अवार्ड भनियो। त्यही पनि लिन आउनेहरु भएनन्।

कार्यक्रम चलाएका थिए दिनेश डीसीले। तर उनले बिजोग पारा देखाए। अगाडि घोषणा नगरिए पनि मोस्ट पपुलर जर्नलिस्ट अवार्ड पाउने ऋषि धमलालाई नै डीसीले खादा लगाउन, पुरस्कार दिन सहयोग गर्न बोलाए।

प्रमुख अतिथि थिए- उमेश श्रेष्ठ। ह्या, म हैन के, राज्यमन्त्री 🙂

लाइफ टाइभ अचिभमेन्ट अवार्ड पाउनेहरुका लागि  अवार्डसँगै पुरस्कार रकम पनि थियो- नगद रु ५१ हजार १११। आयोजककै भाषामा ‘चल्ला’ पत्रकारहरुलाई भने रकम थिएन।

डीसीले के के गरे। न्युज एजेन्सी नेपालको यो लाइभ भिडियोको रेकर्डिङमा केही नमूना हेर्नुस्-

नानीहरु फास्ट हुनुपर्‍यो, भाइ तपाईँ पनि निर्देशनमा बस्नुपर्‍यो, मलाई बहुत गाह्रो भयो

यो गीत एकदम राम्रो छ, तर उहाँहरु यसमा नाच्दिनँ भन्नुभयो (अब नृत्य भनेर उद्घोषण गरेर म्युजिक बजिसकेपछि)

फेरि अर्को नृत्यको घोषणा, सुष्मा कार्कीको। एक छिन शान्त भएपछि म्युजिक बज्छ। तर स्टेजमा कोही आउँदैन। अनि डीसी भन्छन्- स्वयंसेवक साथी उहाँलाई लिएर आउनु पर्‍यो।

‘मैले दशैँ अगाडि नै यसको पारिश्रमिक लिइसकेको मेरो उद्घोषण कलाबाट पारिश्रमिक काटिएला भन्ने डर मलाई कतै छैन।’

एकदम रिस उठिराछ। ब्लड प्रेसर…अबदेखि रिसाउन्न जनवरी १ देखि मोर्डन बुद्ध बन्छु भनेको बेला बेलामा झनक झनक हुन्छ।

क-कसले पाए, को-को आएनन्?

बेस्ट राइजिङ रिपोर्टर- अनिश भट्टराई (इकागज) उपस्थित भएनन्।

बेस्ट फोटो जर्नलिस्ट- वर्षा शाह (देशसञ्चार) उपस्थित भएनन्।

बेस्ट कार्टुनिस्ट- बासु क्षितिज (अन्नपूर्ण पोस्ट) उपस्थित भएनन्।

बेस्ट आर्ट एन्ड इन्टरटेनमेन्ट जर्नलिस्ट- विजय आवाज (अनलाइनखबरका उनी भने अवार्ड लिन उपस्थित भए)

बेस्ट स्पोर्टस् जर्नलिस्ट- सरिता श्रेष्ठ (ग्यालेक्सी फोरके) उपस्थित भएनन्।

बेस्ट हेल्थ जर्नलिस्ट- बिनेश गौतम (खासमा दिनेश हुनुपर्ने नाम चाहिँ बिनेश देखाइयो) अन्नपूर्ण पोस्ट उपस्थित भएनन्।

बेस्ट सोसल स्टोरी जर्नलिस्ट- नारायण अधिकारी (नेपाललाइभ) उपस्थित भएनन्।

बेस्ट बिजनेस जर्नलिस्ट- रन्जु काफ्ले (द राइजिङ नेपाल) उपस्थित भएनन्।

बेस्ट युट्युब क्रियटर-विद्या चापागाइँ (हेर्ने कथा) उपस्थित भएनन्।

बेस्ट युट्युब च्यानल- ओएसआर डिजिटल उपस्थित भए।

बेस्ट रेडियो जर्नलिस्ट- अर्जुन पोखरेल (उज्यालो) उपस्थित भएनन्, दाजुले लिए।

बेस्ट टिभी प्रोग्राम होस्ट- रीमा विश्वकर्मा (कमेडी च्याम्पिएन) उपस्थित हुने मात्र हैन, विनिङ स्पिच समेत दिन भ्याइन्।

बेस्ट टिभी रियालिटी सो- कमेडी च्याम्पियन (कान्तिपुर टिभी) उपस्थित भए।

बेस्ट टिभी जर्नलिस्ट- नारायण किलम्बु (कान्तिपुर टिभी) उपस्थित भएनन्।

बेस्ट इन्भेस्टिगेटिभ जर्नलिस्ट- प्रकाशबहादुर सिंह (टिएचटी) उपस्थित भएनन्।

बेस्ट टिभी न्युज प्रिजेन्टर- अनिता बिन्दू (नेपाल टिभी) उपस्थित भएनन्।

बेस्ट प्रिन्ट जर्नलिस्ट- सुरेन्द्र काफ्ले (अन्नपूर्ण पोस्ट) उपस्थित भएनन्।

अगाडि नै नोमिनेसन सार्वजनिक गरिएका मध्ये बेस्ट टिभी टक शो होस्ट र बेस्ट अनलाइन जर्नलिस्टका त सबैले बहिस्कार गरे कि के हो, घोषणा नै भएन।

जसका लागि गरिएको हो, उनीहरुले नै आफूले नलिने भनेर कार्यक्रमअघि नै भनेको र नभन्नेहरु पनि कार्यक्रममा उपस्थित नै नभइदिएर मिडिया अवार्डलाई पत्रकारहरुले नै असफल बनाइदिए। बिचरा अवार्ड दिन भनेर स्टेजमा डाकिएका अतिथिहरु पत्रकारहरुलाई कुरेर बसे, कोही लिनै आइदिएनन्।

हुन पनि निर्णायक र छनौट प्रक्रिया र मापदण्ड नै प्रष्ट नभएको अवार्ड नामको लिस्नु लिएर गर्ने के! पैसा नै पाउने भए एउटा कुरा। एउटा पत्रकारलाई अवार्ड भनेको राम्रो समाचार वापत् पाठकले गर्ने प्रशंसा र स्याबासी नै हो। पहिलो गाँसमै ढुङ्गा। आइन्दा मिडिया अवार्ड यही पाराले त के गर्नु !

तर कलाकारहरुमा भने अवार्डप्रतिको गजब मोह देखियो। रीमा विश्वकर्माले विनिङ स्पिच दिन भ्याइन्, फेसबुकमा पनि अवार्ड पाएकोमा लामै स्टायटस लेखिन् धन्यवाद भन्दै। रियालिटी सोको पुरस्कार केकी अधिकारीसहितको टिमले फिल्म अवार्ड शैलीमा नै लिए।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme