Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नझुक्किनुस्, निर्मला प्रकरणमा प्रहरीले केही नयाँ गरेको छैन

Posted on January 4, 2022January 4, 2022 by Salokya

साढे तीन वर्षपछि एकचोटी फेरि निर्मला प्रकरण चर्चामा आएको छ मिडियामा। समाचारहरु यसरी आउँदैछन्, मानौँ यो प्रकरणका दोषी पक्राउ परिसके। अझ केही युट्युब च्यानलहरुको हेडलाइन हेर्ने हो भने त दोषी सार्वजनिकै गरिसके प्रहरीले। केहीले फाँसीसमेत दिन भ्याइसके। अनलाइन मिडियाहरुले शंकास्पद एक भारतीय पक्राउ परेको समाचार दिइरहेका छन्। त्यो पढ्नेहरुलाई लाग्न सक्छ, केही नयाँ प्रगति भएको हो?

तर मान्नुस्, केही नयाँ प्रगति भएको छैन। यो केसलाई पहिलेदेखि फलो गरिरहेको भएकोले अनि अहिलेको घटनाबारे प्रहरीकै केही अधिकारीहरुको अनौपचारिक कुराकानीको आधारमा भन्दैछु- त्यस्तो उल्लेखनीय केही भएकै छैन। हो, केही शंकास्पदलाई नियन्त्रणमा लिएका हुन्। तर यस्तो काम त पहिलेदेखि भइरहेकै हो।

अहिले एक भारतीयलाई शंकाको आधारमा पक्राउ गरेर अनुसन्धान गरिएको हो। तर केही कुरा मिलेकै छैन। केटी जिस्काएको आधारमा वा फोनको लोकेसन देखिएको आधारमा अनुसन्धान गरेका मात्र हुन्। अनि यो अहिले यो भारतीयलाई मात्र होइन, पहिले पनि निकैलाई गरिसकेका हुन्।

केही अघि मात्रै निरौला थरका एक जनालाई शंकाको आधारमा अनुसन्धान गरी डिएनए परीक्षण गरिएको थियो। त्यसैगरी दुई जना स्कूले विद्यार्थीमाथि पनि अनुसन्धान गरिएको थियो।

त्यतिबेलातिरै हो भागरथी प्रकरण ‘सुल्झाएको’ भन्दै प्रशंसा पाइरहेका तत्कालीन सुदूरपश्चिम प्रहरी प्रमुख उत्तम सुवेदीले निर्मला प्रकरणका दोषी अब केही दिनमा नै पक्राउ पर्ने कुरा सार्वजनिक रुपमा बोलेको। अहिले देख्नुभयो होला, खै त ?

पछि पनि केही शंकास्पद माथि निगरानी गरिएको भन्ने कुरा आएको थियो।

अहिले पनि भारतीयलाई शंकास्पद भनेर पक्रेपछि आइजी शैलेश थापा क्षेत्रीले एआइजी प्रद्युम्न कार्कीलाई के रहेछ कुरा बुझ्न भनी कन्चनपुर पठाएकोसम्म होला। अनुसन्धानमा त्यस्तो खासै प्रगति भइसकेको हैन।

लोकेसन देखिएको आधारमा मात्रै अनुसन्धान गर्ने हो भने अझै केही वर्षसम्मलाई मान्छे समात्दै अनुसन्धान गर्ने समय छ। किनभने घटना भएको दिन बिटिएसमा ठोक्किएका एनसेलका ८२ सय र एनटिसीका १९ सय फोन नम्बरहरु रेकर्डमा छन्। अब तपाईँ आफै भन्नुस्, घटनास्थल नजिकै लोकेसन देखियो भनेर अनुसन्धान गर्ने हो भने के हालत होला।

त्यहाँमाथि अहिलेका सबै अनुसन्धान डिएनएमा गएर टुङ्गिएका छन्। जबकि रिपोर्टमा भेटिएको पुरुष डिएनए वीर्यको हो कि होइन भन्ने नै निश्चित नभएको प्रतिवेदन गृह मन्त्रालयले गठन गरेको विज्ञ समितिले दिइसकेको छ। यदि त्यो वीर्य होइन भने दूषण (contamination) को नतिजा हुनसक्छ। तर पनि प्रहरी त्यही डिएनएलाई अन्तिम सत्य मान्दै भएभरका शंका लागेकालाई समात्दै डिएनए गर्दै छाड्दै गरिरहेको छ।

त्यहाँमाथि युट्युबरहरुले घटना भएकै बेलादेखि गिजोल्न थालेका अहिलेसम्म पनि त्यो क्रम जारी छ। उतिबेला फलानो नै दोषी भनेर किटान गरिरहेकाहरु अहिलेसम्म पनि त्यही गरिरहेका छन्। केही उदाहरण हेर्नुस्-

दुई वर्ष अगाडिको हेडलाइन : अब एक दिन बाँकी। तर त्यो एक दिन आउन बाँकी नै रह्यो-

आठ महिनाअघि : निर्मलाको हत्यारा पत्ता लाग्यो..केही समयमा सार्वजनिक गरिँदै

उत्तम सुवेदीको भनाईपछिको युट्युबकारिता थियो यो। त्यसमा भएको फोटो भने साढे ३ वर्षअघि दीलिपसिंह विष्टलाई सार्वजनिक गर्दैगर्दाको थियो।

तर सार्वजनिक भएन अनि ८ महिनापछि आजको खबर : दोषी प्रहरीले सार्वजनिक गर्‍यो (गरेकै छैन) यो युट्युबरले प्रहरीलाई सलाम पनि गर्न भ्यायो

हेर्नुस् त थम्बनेलको फोटो त्यही छ। उनीहरुलाई के लाज, जवाफदेही हुनु पनि परेन। बस चाहियो भ्युज। भ्युज अर्थात् डलर। ८ महिनाअघि केही समयमा सार्वजनिक लेख्दा पनि लाज भएन। अहिले सार्वजनिकै नगर्दै सार्वजनिक गर्‍यो लेख्दा पनि लाज छैन।

अनि यो युट्युबरले भारतीय नागरिक नै हत्यामा संलग्न भएको ठोकुवा गरीवरी फाँसी समेत दिन भ्यायो (नेपालमा फाँसीको प्रावधानै छैन)

तीन वर्षअघि पहिलोपोस्टमा हुँदा #WhoKilledNirmala सिरिज अन्तर्गत १६ ‍‍औँ भागमा स्वेच्छा र मैले एउटा स्टोरी लेखेको थिएँ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै अझै पनि स्थिति उही रहेछ। मनमा लागेको कुरा ‘समाचार’को रुपमा दिने। साँचो कुरा जेसुकै होस्।

1 thought on “नझुक्किनुस्, निर्मला प्रकरणमा प्रहरीले केही नयाँ गरेको छैन”

  1. Pingback: निर्मला प्रकरणमा भारतीय नागरिकको फण्डा पनि फुस्सा, आधार नभेटिएपछि भए रिहा – MySansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme