Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के साँच्चै एमाले महाधिवेशनबारे बीबीसी, रोयटर्स, अलजजिरा, न्युयोर्क टाइम्सले लेखेका हुन्? भाइरल पोस्टको तथ्य यस्तो

Posted on November 29, 2021November 29, 2021 by Salokya

अहिले एउटा पोस्ट सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेको देखिन्छ। विषय हो- नेकपा एमालेको १० औँ महाधिवेशन बारे अन्तर्राष्ट्रिय मिडियामा भएको कभरेज। बीबीसी, रोयटर्स, अलजजिरा, न्युयोर्क टाइम्स आदिले महाधिवेशन र ओलीको प्रशंसामा विभिन्न कुराहरु लेखेको दावी गरिएको छ ती भाइरल पोस्टमा। सामान्य कार्यकर्ताहरु मात्रको के कुरा, वागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले नै यो सेयर गरेका रहेछन्। तपाईँको फेसबुक वालमा पनि पक्कै यो आयो होला। किनभने थुप्रैले यो पोस्ट फेसबुकमा सेयर गरेको देखिन्छ। धेरैले हामीलाई यसबारे फ्याक्ट चेक गर्न आग्रह गर्दै सम्पर्क गर्नुभएको छ। के साँच्चै दावी गरिएको जस्तै अन्तर्राष्ट्रिय मिडियाले लेखेका हुन्? यसबारे हामीले नेपालफ्याक्टचेकमा फ्याक्टचेक गरेका छौँ।

वागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले गरेको यो पोस्टमा सोमबार रातिसम्म १११ कमेन्ट, ६३ सेयर र साढे नौ सय भन्दा बढी रियाक्सन छन्।

पौडेलबाहेक अरु थुप्रैले पनि फेसबुकमा यो पोस्ट सेयर गरेका छन्। 

के देखियो तथ्य जाँचमा ?

१) ठाउँ कब्जा गरेको हिसाबले  एमाले महाधिबेशनमा १० लाख भन्दा बढी मानवसागर उर्लिएको  देखियो  – बिबिसी 

भाइरल भएको पोस्टमा पहिलो दावी बीबीसीको उल्लेख छ। तर हामीले सर्च इन्जिन गुगलमा “१० लाख” र “एमाले” राखी बीबीसी नेपालीमा पछिल्लो एक हप्तामा प्रकाशित सामग्री खोज्दा दावी गरिएको समाचार भेटिएन। गुगलमा सर्च गर्दा कुनै साइट विशेष र समय विशेषको पनि सर्च गर्न मिल्छ। त्यही उपाय अपनाएर हामीले सर्च गरेका हौँ। 

त्यसैगरी अङ्ग्रेजीमा UML र General Convention कीवर्ड राखी सर्च गर्दा बीबीसी अङ्ग्रेजीमा पनि कुनै समाचार भेटिएन। 

२) कार्ल मार्क्स पछि विश्वमा कम्युनिस्ट धार अब कस्तो रहने भन्नेमा एमालेले तय गर्नेछ – अलजजिरा

भाइरल भएको दोस्रो पोस्टमा अलजजिराको समाचार उल्लेख छ। हामीले अलजजिराको वेबसाइटमा नेपालसम्बन्धी के के समाचार राखिएको छ भनी खोज्यौँ। पछिल्लो पटक ११ नोभेम्बरमा अलजजिराले स्वास्थ्य मन्त्री विरोध खतिवडाले सबै वयस्कलाई अप्रिल मध्यसम्ममा खोप लगाइसक्ने बताएको खबर प्रकाशन भएको देख्यौँ। त्यो भन्दा अघि २० अक्टोबरमा बाढीपहिरोका समाचार छन्। एमाले महाधिवेशनसम्बन्धी कुनै खबर अलजजिराको वेबसाइटमा देखिन्न। 

३) नेपालमा देखिएको कम्युनिस्ट पार्टी र केपी ओलीको क्रेज अन्तर्राष्ट्रियस्तरकै रहेको प्रारम्भिक अनुमान – आजतक 

भाइरल भएको पोस्टमा तेस्रो दावी भारतीय टेलिभिजन च्यानल आजतकको रहेको छ। हामीले आजतकको वेबसाइटमा खोज्दा पछिल्लो एक सातामा केपी ओली उल्लेख गरिएको एउटा समाचारमात्र भेट्यौँ। शुक्रबारको न्युज फ्ल्यासमा आजतकले ओलीले सत्तामा फर्किए भारतसँग कालापानी, लिम्पियाधुरा, लिपुलेख वार्ता गरेर फिर्ता लिने बताएको उल्लेख छ।

४) नेकपा एमाले महाधिवेशनलाई लिएर दक्षिणी एसियामा कम्युनिस्टको दरिलो उपस्थिति रहेको र चिनियाँ कम्युनिस्ट पार्टीले यसको उच्च मूल्यांकन गरेको  सि जिङ्पिङ्गज्युको भनाइ बाहिर आएको छ- सिन्ह्वा

भाइरल पोस्टहरुमा चौथो दावी चिनियाँ समाचार एजेन्सी सिन्ह्वाको गरिएको छ। हामीले गुगल सर्च मार्फत् पछिल्लो सातामा प्रकाशित नेपालसम्बन्धी समाचार सिन्ह्वाको वेबसाइटमा खोज्दा दावी गरिए जस्तो समाचार भेटेनौँ। 

५) नेपालमा आगामी केही समय भित्रै कम्युनिस्ट सरकार बन्ने  र त्यस्को नेतृत्व केपी ओलिले गरिरहने स्थिति बनेको छ – रोयटर्स 

भाइरल पोस्टहरुको पाँचौँ दावी बेलायती न्युज एजेन्सी रोयटर्सको छ। हामीले रोयटर्समा पछिल्लो एक सातामा प्रकाशित समाचारहरु गुगल सर्चमार्फत् खोज्यौँ। तर केपी ओली उल्लेखित कुनै समाचार त्यहाँ भेटेनौँ।

६) मान्छेहरु महाअधिवेशन भन्नाले एमालेको कार्यक्रमलाई सम्झिनेछन्  – द न्युयोर्क टाइम्स  

भाइरल पोस्टहरुको छैटौँ तथा अन्तिम दावी न्युयोर्क टाइम्सको रहेको छ। न्युयोर्क टाइम्सले नेपालसम्बन्धी प्रकाशित समाचारलाई छुट्टै पेजमा पनि देखिने बनाएको छ। त्यसमा हेर्दा नेपालसम्बन्धी पछिल्लो समाचार अक्टोबरमा नेपालबाट हराएका मूर्तिहरुबारे देखिन्छ। नोभेम्बर महिनामा नेपालसम्बन्धी कुनै समाचार त्यसमा देखिन्न। त्यसैगरी एमाले महाधिवेशनबारे पनि कुनै समाचार त्यहाँ देखिन्न। 

 

तथ्य जाँच

दावी : विभिन्न अन्तर्राष्ट्रिय मिडियाले एमाले महाधिवेशनबारे लेखेका छन्।

तथ्य : मिथ्या सूचना। भाइरल पोस्टमा उल्लिखित मिडियाले त्यसमा दावी गरिए जस्तो विषय लेखेको भेटिएन। तसर्थ त्यसमा गरिएका दावी गलत छन्।

 

सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो हामीलाई निम्न बमोजिम पठाउन सक्नुहुन्छ-

  • भाइबर वा ह्वाटस एपमा (भाइबरमा पठाउन क्युआर कोड, ह्वाटसएपमा पठाउन क्युआर कोड)
  • इमेल [email protected] वा [email protected]
  • फेसबुक पेज :  माइसंसारको फेसबुक पेज
  • वेबसाइटबाट सीधै : नेपालफ्याक्टचेकको वेबसाइट
  • भाइबर ग्रुप : भाइबर ग्रुपमा जोडिन यहाँ क्लिक गर्नुस्।

2 thoughts on “के साँच्चै एमाले महाधिवेशनबारे बीबीसी, रोयटर्स, अलजजिरा, न्युयोर्क टाइम्सले लेखेका हुन्? भाइरल पोस्टको तथ्य यस्तो”

  1. deshbandhu Khadka says:
    December 1, 2021 at 11:17 am

    साइबर स्याल हरुको बिग्बिगि

    Reply
  2. dip narayan dahal says:
    December 1, 2021 at 6:49 am

    तपाइँले “तपाईं” नभने पनि म मपाइँ नि हुँ क्यारे ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme