Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्रकारिता कि अनुमानकारिता : समाचारको नाममा जे लेखे पनि हुने ?

Posted on November 28, 2021November 28, 2021 by Salokya

एमालेको चितवनमा भइरहेको महाधिवेशनका बेला एउटा समाचार अहिले सामाजिक सञ्जालतिर भाइरल बनेको छ। “चितवनमा इतिहासमै सबैभन्दा बढी गर्भनिरोधक अस्थायी साधनको माग” शीर्षकको यो समाचार सबैभन्दा पहिला शनिबार, ११ मङि्सर २०७८ गते नेपाल आज नामको अनलाइनमा प्रकाशित भएको हो। त्यसपछि अरु अनलाइनहरुले पनि यसलाई जस्ताको तस्तै कपिपेस्ट गरेका छन् भने फेसबुकमा एउटा छापा माध्यममा समेत यो समाचार छापिएको झैँ देखिएको छ। पत्रकारिताका विद्यार्थीहरुलाई समाचारको के के अङ्ग पुगेको छैन भनेर हेर्न र कक्षाकोठामा उदाहरण दिन काम लाग्ने खालको समाचार रहेछ यो। आउनुस् यो हावा समाचारको यसो चिरफार गरी हेरौँ।

समाचारको लिडलाइनमा लेखिएको छ- नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा गर्भनिरोधक अस्थायी साधनको बिक्री बढेको छ।

लिडलाइन स्पष्ट छ- यसमा कारण र परिणाम लेखिएको छ। परिणाम- चितवनमा गर्भनिरोधक अस्थायी साधनको बिक्री बढ्यो। कारण- नेकपा एमालेको महाधिवेशन।

तर यति लेख्दैमा समाचार हुँदैन। अब यसको पुष्टि विभिन्न प्रमाणहरु जस्तै तथ्याङ्क, बाइट (सम्बन्धितको भनाई) आदिबाट गरिनु पर्छ। समाचारमा त्यसो गरिएको छ त? आउनुस् हेरौँ।

दोस्रो वाक्यमा लेखिएको छ- ‘बजार क्षेत्रका औषधी पसल, अस्पताल रोडका नीजि अस्पतालहरुमा अस्थायी साधन खरिदविक्रि वढेको वताईएको छ। अप्रत्यासित रुपमा अस्धायी साधनको माग वढेपछि औषधी ब्यवसायीहरु आस्चर्यमा परेका छन्।’

यसमा अस्थायी साधन खरिदबिक्री बढेको बताइएको लेखिएको छ। तर बताउने को हो चाहिँ खुलेको छैन। अप्रत्याशित रुपमा माग बढेपछि औषधी व्यवसायीहरु आश्चर्यमा परेको लेखिएको छ। तर को को औषधी व्यवसायी आश्चर्यमा परेका हुन्- त्यो पनि खुलाइएको छैन।

बढेको भए कुन स्तरमा बढेको हो- थोरै बढेको हो कि धेरै बढेको हो? यसको तुलना गर्न अन्य सामान्य समयमा कति माग हुन्थ्यो र अहिले कति माग भयो, त्यो भरपर्दो तथ्याङ्क खुल्नुपर्थ्यो। समाचारमा त्यो पनि खुलेको छैन। भनेपछि बढेको हो कसरी भन्न सकियो?

अर्को लाइनमा लेखिएको छ- ‘यसअघि समान्य रुपमा माग हुने अस्थायी साधनको माग वढेपछि औषधी पसलदेखि पान पसल, केहि होटलको काउन्टर तथा किराना पसलमा पनि गर्भनिरोधक साधन पाउन थालेको छ। विशेष गरी कण्डम, गर्भ निरोधक चक्कीहरु पिल्स, एस्ट्रोजेन, मिनिपिल तथा केही सुईहरुको माग बढेको औषधी ब्यवसायीहरु वताउँछन्।’

यसमा पनि न माग कति बढेको हो खुलाइएको छ, न कसले त्यो कुरा बताएको हो वा पत्रकार आफैले देखेको हो भन्ने खुलाइएको छ। सामान्य रुपमा ‘औषधी व्यवसायीहरु बताउँछन्’ लेखिएको छ। को हुन् ती औषधी व्यवसायीहरु, कति जना हुन् त्यो पनि खुलाइएको छैन।

अर्को लाइनमा लेखिएको छ- ‘जथाभावी कण्डम तथा पिल्स विक्रि हुन थालेपछि औषधी पसले भने रुष्ट छन्। जथाभावी अस्थायी साधन विक्रि हुँदा समेत नियन्त्रण गर्ने निकायले वेवास्ता गरेको उनीहरुको गुनासो छ।’

यो लाइन अचम्मको छ। ‘जथाभावी अस्थायी साधन विक्रि हुँदा समेत नियन्त्रण गर्ने निकायले वेवास्ता गरेको उनीहरुको गुनासो छ’ लेखिएको छ। अस्थायी साधनको बिक्रीलाई किन नियन्त्रण गर्नु र! अस्थायी साधनको प्रयोगलाई त स्वास्थ्य मन्त्रालयले प्रवर्द्धन पो गरेको छ त।

त्यसपछि आउँछ झन् अचम्मको वाक्य- ‘एमालेको अधिवेशनका कारण अहिले चितवनका सवै होटलहरु खचाखच भरिएका छन् । जसमा प्राय जोड़ी, प्रेमी र धेरै जसो दम्पत्तिहरु नै सहभागी छन् । त्यसैले पनि अस्थायी साधनको माग वढेको हुन सक्ने औषधी ब्यवसायीहरुको अनुमान छ।’

यसमा एमालेको अधिवेशनलाई लिङ्क गरिएको छ। तर त्यस्तो लिङ्कका लागि कुनै भरपर्दो स्रोत वा तथ्याङ्क नभई कोरा ‘अनुमान’लाई आधार बनाइएको रहेछ।

एमालेको अधिवेशनमा जोडी, प्रेमी र दम्पति मात्रै छन् भन्ने आधार के हो? त्यो खुलेको छैन। त्यही नखुलेको आधारमा औषधी व्यवसायीले गरेको अनुमानलाई लिएर समाचार बनाइएको रहेछ। पूरै समाचारको जग त्यही अनुमान रहेछ। अनुमानबाट पनि कहीँ समाचार बन्छ ? बन्दैन भनेर कसैले भन्यो भने यही समाचार देखाउनु पर्ने अवस्था आइलाग्यो।

समाचारको अन्तिम वाक्य यस्तो छ- ‘एक ब्यवसायीका अनुसार चितवनमा इतिहाँसमै पहिलो पटक यति धेरै अस्थायी साधनको माग भएको हो। अस्थायी साधनमा पनि कण्डमको माग अधिक छ। गर्भ रोक्ने र एचआईभीलगायतका यौन प्रसारित संक्रमणहरुवाट पनि वचाउने हुनाले पनि कण्डमको माग वढेको हुनसकने उनी वताउँछन् ।’

लौ, शीर्षक कसरी बन्यो भनेको त नाम नखुलेको एक व्यवसायीको दावी रहेछ। इतिहासमै पहिलो पटक धेरै अस्थायी साधनको माग भन्नका लागि पहिले कति माग थियो र अहिले कति भयो भन्ने तथ्याङ्क चाहिएन? तथ्याङ्क बिना इतिहासमै पहिलो पटक धेरै माग कसरीट साबित हुन्छ र?

अन्तिम लाइनमा लेखिएको छ- ‘गर्भ रोक्ने र एचआईभीलगायतका यौन प्रसारित संक्रमणहरुवाट पनि वचाउने हुनाले पनि कण्डमको माग वढेको हुनसकने उनी वताउँछन्।’

लौ यो पनि हुनसक्ने भन्नु पर्छ र कण्डमको कामै गर्भ रोक्ने र यौन रोगबाट बचाउने हो नि। यसमा किन शंका फेरि?

समग्रमा यो समाचार तथ्यमा आधारित छैन। इतिहासमै सबैभन्दा बढी अस्थायी साधनको माग भएको पुष्टि गर्न तथ्याङ्क आवश्यक हुन्छ। त्यसको अभावमा समाचार मनगढन्ते भएको छ। समाचारमा कसैको पनि कोट छैन। अस्थायी साधनको बिक्री बढेको पुष्टि गर्न बिक्रेता, डिलर आदिको तथ्याङ्क र उनीहरुको भनाई आवश्यक हुन्छ। गैरकानुनी सामग्री बन्दूक, गोली बेचेको भए पो यति बेचेको भनेर मान्छेले भन्दैनन्, अस्थायी साधनको बिक्री त पारदर्शी नै हुन्छ नि। यसमा कसैको भनाई नराख्नुको नियत ठीक छैन।

यस्तो समाचार त कोठामा बसेर जसले पनि लेख्न सक्छ नि। यो त पत्रकारिता भएन, अनुमानकारिता भयो। जे मन लाग्यो, त्यही लेख्नु समाचार कसरी हुन्छ र?

तर भयो। नेपालमा हुँदो रहेछ। सूचना विभागमा दर्ता भएकै अनलाइन मिडियाले यस्तो लेख्दा रहेछन्।

अब के राम राम भन्नु? हे ठोरी (माडी) का राम, रक्षा गर पत्रकारितालाई !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme