मिडियाले गरेका अपत्यारिला दावीहरुको फलोअप हामी यो शृङ्खलामा गर्नेछौँ। आज प्रस्तुत छ- २०७१ सालमा नेपाली मिडियामा ‘संसारमा अहिलेसम्म नभएको काम’ भन्दै खुबै प्रचार भएको एउटा विषय।
२०७१ सालमा सेतोपाटीमा एउटा फिचर छापिएको थियो जसको शीर्षक थियो- पृथ्वीको गुरूत्वाकर्षणले तानेको एउटा युवा। ‘राम्ररी काम गर्न पाए एक वर्षभित्र गुरुत्त्व बलबाट बिजुली बाल्न सकिन्छ’ भनेर त्यसमा उनकै भनाई लेखिएको थियो। त्यस्तै साप्ताहिक पत्रिकामा पनि उनले भनेका रहेछन्, ‘तैपनि यति लेखेर राख्नुहोस्, २०७३ सालभित्रमा म गुरुत्वाकर्षणबाट बिजुली निकालेरै छाड्छु।’ पत्रिका, टिभीमा उनको यति कभरेज भयो कि सरकारले उनलाई युवा प्रतिभा पुरस्कार पनि दियो २०७२ सालमा। तर आज २०७८ साल भइसक्दा कुनै पनि मिडियाले यसको फलोअप गरेका छैनन्- के भयो त गुरुत्वबलबाट निकालिने बिजुली।
बरु उतिबेला माइसंसारमा विज्ञान बाले एउटा ब्लग लेखेका थिए यो विषयमा। यस्तो छ ब्लग-
-विज्ञान बा-
विज्ञानलाई खासै महत्व नदिने नेपालमा विज्ञानका लेख मिडियामा आउने बित्तिकै खुसी भइन्छ। तर अफसोस १-२ लाइन पढेपछि त्यो खुशी छियाछिया परेर जान्छ। किनकि मिडियाले विज्ञानलाई प्रोत्साहन गर्ने मनसाय नै राखे पनि खोक्रो, अतिरन्जित दावीलाई मात्र बढाइ-चढाइ गर्ने गर्छन्। बेला-बेलामा विज्ञानका ठूलाठूला सिद्धान्तलाई चुनौती पनि नेपालका ठूलै पत्रिका मार्फत दिने गरिएको छ। यस्तै लेख हिजो नाम चलेको अनलाइन ‘सेतोपाटी’मा पढ्ने अवसर पाइयो – जसमा लेखिएको थियो, ‘पृथ्वीको गुरुत्त्व बलबाट बिजुली निकाल्ने। संसारमा अहिलेसम्म नभएको यो काम’।
कमेन्ट गर्ने धेरैलाई लाग्दो हो गुरुत्वबलबाट बिजुली निकालेकै छैन, अब नेपालीले केही चमत्कार गर्ने भयो। दिनमा १८ घण्टासम्म लोडसेडिङ् भएर पनि होला (२०७१ सालको कुरा यो, अहिले त लोडसेडिङ छैन) अलि अलि मात्र आउने बिजुली कसरी निकालिएको हो भनेर वास्ता नभएर पनि होला त्यत्रो विज्ञान सम्बन्धि लेखमा जल-विद्युत कसरी निकालिन्छ भनेर कसैले भनेनछ। नत्र त थाहा भैहाल्थ्यो कि जलविद्युत उत्पादन पनि गुरुत्वबलबाटै भएको हो भनेर।
केही फोटोभोल्टाइक सोलार प्यानल या रसायनले बनाइने ब्याट्री बाहेक संसारमा खपत हुने धेरैजसो बिजुली टर्बाइन या मोटर घुमाएर गरिन्छ। खासमा तारलाई फन्का फन्का गरी बेरिएको क्वाइललाई चुम्बकको नजिक घुमाउँदा तारमा बिजुली बहन्छ। क्वाइल या चुम्बकलाई एक-अर्काबीच धेरै किसिमले चलाउन सकिन्छ। पानीलाइ अग्लो ठाउँ बाट खसालेर मोटर घुमाएर चलाए जलविद्युत भयो, हावाको बहाब प्रयोग गरेर घुमाए विन्ड-विद्युत भयो, न्युक्लिअर प्रतिक्रिया गराई पानी तताएर घुमाए न्युक्लियर विद्युत भयो, ग्यास या इन्धनको इन्जिनले घुमाए बोलीचालीको जेनेरेटर विद्युत भयो।
गोरुलाई दाइँ हाल्दा झैँ दिनभर घुमाएर मोटर घुमाई बिजुली निकाले गोरु-बिजुली भने पनि भयो। साइकल चलाउँदा निस्कने बिजुली पनि त्यही हो, तपाइँको खुट्टाको सक्तिले पाङ्ग्रा घुमाउँदा मोटर घुम्छ, बिजुली निस्कन्छ। गाडीको ब्याट्री पनि त्यसरी नै निस्केको बिजुलीले चार्ज हुने हो।
आफ्नो आवश्यकता हेरी “माटो सुहाउँदो” आइडिया आउनु राम्रो हो। जस्तो कि अफ्रिकामा आजकल गुरुत्व-लाइट (GravityLight) भनेर रु ५०० मै बत्तिको प्रयोग शुरु भएको छ।
यसमा एउटा बत्तिलाई पुग्ने सानो मोटर (त्यही साइकलको डाइनामो मोटर जस्तै) खुट्टाले हैन गुरुत्वले घुमाइन्छ। जलविद्युत निकाल्न गुरुत्व प्रयोग गरी टर्बाइन घुमाए जस्तै यसमा ढुंगा बाधेर माथिबाट तल झर्दा मोटर घुमाइन्छ। मोटर कसरी घुमाइञ्छ भन्ने मात्रै हो, बिजुली त आखिर उही हो। जलविद्युतमा त पानी लगातार झर्छ र टर्बाइन घुमिरहन्छ, तर ढुंगा त एकपटक तल झरे पछि आफै माथि जाँदैन। त्यसैले हरेक आधा घण्टा जस्तोमा तल पुगेको ढुंगालाई उचालेर माथि लानु पर्यो। खासमा तपाइँले जुन शक्ति खर्च गर्नु हुन्छ उचालेर माथि लान, त्यसैको केही भाग बिजुलीमा परिवर्तित भएको हो यहाँ। भात खाएको शक्ति बत्तिमा लगाएको हो। गोरुलाई लगाएर घुमाउने हो भने घाँसबाट निकालेको भने पनि भयो रमाइलोको लागि।
मुख्यसचिव ज्युलाई समेत भावुक बनाएको “गुरुत्वबाट बिजुली” निकाल्ने तरिका कुन हो, लेखमा उल्लेख समेत गरिएको छैन तर “नेपाली भूमिबाट विश्वलाई नौलो लाग्ने आविष्कार दिने” वाचा भने गरिएको छ। यी युवाले आखिर के गर्न खोजेका हुन् त केही लेखिएको छैन। त्यसैले उनको ९०% सकिएको भनिएको काम कतिको सहि या उपयोगी छ भनेर निष्कर्ष निकाल्न सकिने कुरा भएन। तर “संसारमै नभएको, गुरुत्वबलबाट बिजुली” भन्ने दाबी चाही सही हैनन्। वैकल्पिक ऊर्जा सम्बन्धि अनुसन्धानमा आफ्नो समय र पैसा खर्च गर्ने युवाको प्रयास सराहनीय छ – यदि यसमा भविष्य छ भने कुनै कम्पनीले लगानी गर्न सक्ला। सरकारले विज्ञानमा काम गर्ने युवालाई अवश्य प्रोत्साहन गर्नुपर्छ, तर त्यसको लागि एउटा पद्धति बसाल्नु पर्छ। अन्तराष्ट्रिय स्तरको सोध नेपालमै गर्ने कतिपय बैज्ञानिकलाई राम्रो प्रयोगशालाको त कुरै छोडौ, घरभाडा पनि तिर्न नसक्ने अवस्था छ। यो स्थिति सुधार गर्ने हो भने हाम्रो चिन्तनमै परिवर्तन गर्नु पर्ने हुन्छ र विज्ञानलाई देश-विकासको अपरिहार्य अंग भनेर स्वीकार गर्नुपर्छ।
देशले विज्ञानमा लगानी नगरेकाले नै हो हाम्रो यो हालत भएको अहिले (यसका बारेमा अर्को ब्लगमा लेखौला) । विज्ञानमा लगानी गर्ने राम्रो पद्दति अवलम्बन गर्नु पर्यो । जनताको पसिनाबाट तिरेको पैसाबाट अनुसन्धानमा अनुदान गर्दा नास्टमा प्रोपोजल हालेर विज्ञहरुको छनोट पछि मात्र पैसा लगाउनु पर्छ। हावाका तालमा तोक लगाउँदै यताउता चारो हालेर विज्ञानको प्रोत्साहन गरेको देखाउने हो भने नेपालमा विज्ञानको विकास कहिलै हुने छैन।
[लेखक सम्बन्धित बिषयमा अनुसन्धान गर्नुका साथै विश्वविद्यालयमा पढाउने एक प्राध्यापक हुन्। उनले माइसंसारमा विज्ञान सम्बन्धी ब्लग लेख्ने गर्छन्। उनका पुराना ब्लग यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ।]
Gravity bata electricity nikalna sambhab chhaina kinaki gravity ko pull ekhoro hunchha. yedi gravity bata bijuli nikalna sakinchha bhane spring bata pani bijuli nakalna sakinchha. gravity force ho energy hoina. energy nikalnako lagi hamilai energy kai jarurat parchha. ahile sammako hamro bujhai ani jankari anusar ani tehako kaam garai saili herda yo kaam ko sambhabana dekhdina. huna ta asambhab bhanne kei chhaina bhaninchha tara result naaune kaam laai samrthan garne kunai point dekhiyana.