Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

को हुन् ‘मिस्टर एक्सवाई’ जसले नेपालमा टेलिकम लाइसेन्स लिन घुस खुवाएको आरोप छ

Posted on October 5, 2021October 6, 2021 by Salokya

पान्डोरा पेपर्सका खुलासाहरु रोचक भइरहेका छन्। बेलायतको गार्डियन र बीबीसी पानोरामाले गरेको एउटा संयुक्त अनुसन्धानमा त्यहाँका प्रधानमन्त्री बोरिस जोन्सनको पार्टीलाई नै फन्डिङ गर्ने एक धनाढ्यको कुकृत्य खुलेका छन्। उज्बेकिस्तानका तत्कालीन राष्ट्रपतिकी छोरीलाई टेलिकमको लाइसेन्स लिन २२ करोड अमेरिकी डलर घुस खुवाउने कामको सल्लाह दिने यिनै रहेछन्। टेलिया नामको त्यो टेलिकम कम्पनीसित केही अघिसम्म नेपालको एनसेलको स्वामित्व थियो। नेपालमा पूँजिगत लाभकर नतिरी टेलिया एनसेल मलेसियाको एक्जियटालाई बेचेर हिँडेको थियो।

गार्डियनको एउटा खोजमूलक समाचारमा नेपालको पनि प्रसंग जोडिएको छ। र त्यहाँ नाम आउँछ मिस्टर एक्सवाईको।

उज्बेकिस्तानको इस्युले ठूलै रुप लिएको थियो। टेलियाको कार्यालय रहेको स्वीडेनमा पनि यो विषयले हलचल ल्यायो। नहोस् पनि किन, टेलिया कम्पनीमा स्वीडेन सरकारको झण्डै ४० प्रतिशत सेयर छ। भ्रष्टाचारको विषयमा एकदमै संवेदनशील हुने देश स्वीडेन। त्यतिबेलै नेपालमा मोबाइलको लाइसेन्स लिन पनि यस्तै हत्कण्डा अपनाएको विषय स्वीडिस मिडियामा आएको थियो।

टेलियाले यो विषयमा छानबिन गर्न आन्तरिक समिति बनाएको थियो। त्यसमा उज्बेकिस्तानका अलावा कजाखस्तान र नेपालको लाइसेन्स लिने क्रममा अपनाइएका विषय छानबिन गर्न भनिएको थियो।

गार्डियनको समाचार अनुसार टेलियाले आफ्ना सेयरहोल्डरहरुलाई अन्तर्राष्ट्रिय ल फर्म नोर्टन रोज फुलब्राइटको रिभ्यु सार्वजनिक गरेको थियो जसमा यी देशहरुमा कम्पनीले अनैतिक र सम्भवतः आपराधिक गतिविधि गरिएको खुलाइएको थियो।

टेलियाले यो रिपोर्ट सार्वजनिक गरेको छैन। तर गार्डियनले यसको मुख्य अंश हेरेको रहेछ। त्यसमा थप छानबिन हुनुपर्ने भनिएको रहेछ। साथै त्यसमा नेपालमा कारोबार गर्ने सल्लाह दिने व्यक्तिको बारेमा प्रश्नहरु उठाइएका छन्। यो नाम नखुलाइएका एक्सटर्नल कन्सलटेन्टलाई रिपोर्टमा मिस्टर एक्सवाई लेखिएको रहेछ।

मिस्टर एक्सवाईलाई टेलियाले सल्लाहकारका रुपमा ६ वर्षमा साढे ६ करोड डलर भुक्तान गरेको थियो। त्यसमध्ये केही घुस खुवाउन प्रयोग भएको भनिएको छ। मासिक मात्र हैन उनलाई ५ लाख डलर सक्सेस फीका रुपमा पनि बुझाइएको रहेछ अनि २ लाख डलर कर्पोरेट इन्टरटेनमेन्टका रुपमा बुझाइएको रहेछ।

यसमध्ये नेपालमा कसले कति पाए वा नेपालमा कति घुस खुवाइयो भन्ने बारे छुट्टै खोज गर्नु पर्ने हुन्छ।

गार्डियनले मिस्टर एक्सवाई भनेका मोहम्मद आर्मेसी भएको विभिन्न स्रोतलाई उद्‍‍धृत गर्दै ठोकुवा गरेको छ। अब यिनको सम्बन्ध नेपालमा कोसित रहेछ, बुझौँ।

काठमान्डु पोस्टमा सन् २०१४ मा प्रकाशित यो समाचार हेर्नुस् जहाँ नेपाली कम्पनी मुक्तिश्रीले इन्क्लुसिभ भेन्चर्स लिमिटेडसित साझेदारीको घोषणा गरेका छन्। इन्क्लुसिभ भेन्चर्सका अध्यक्ष उनै मोहम्मद आर्मेसी हुन् भने मुक्तिश्री ग्रुपका अध्यक्ष अजेयराज सुमार्गी हुन्।

आर्मेसी तत्कालीन टेलिकम मेरो मोबाइलको सञ्चालक स्पाइस नेपाल प्राइभेट लिमिटेडका बोर्ड मेम्बर रहेको र सुमार्गीसँगै अफसोर कम्पनीका साझेदार रहेको सिआइजेको रिपोर्टमा उल्लेख छ।

माओवादी अध्यक्ष प्रचण्ड लामो समयसम्म सुमार्गीकै लाजिम्पाटस्थित घरमा बसेका थिए। छोरा प्रकाश दाहालको मृत्युपछि मात्र उनले त्यो घर छाडेर अहिले खुमलटारमा शारदाप्रसाद अधिकारीको घरमा बस्न थालेका हुन्।

राजाको प्रत्यक्ष शासनकालमा राजाका ज्वाइँ राजबहादुर सिंहलाई प्रयोग गरी स्पाइस नेपाल (मेरो मोबाइल) लाई टेलियासोनेराले आफ्नो हातमा लिएको थियो, ठीक त्यसैगरी माओवादी शासनकालमा अजय सुमार्गीलाई प्रयोग गरेर हेलो नेपाललाई आफ्नो हातमा लिएको थियो।

जनआन्दोलन २०६२/६३ पछि राजा फ्यालियो, संविधान सभाको निर्वाचनले माओवादीलाई सबैभन्दा ठूलो दल बनायो। प्रचण्ड प्रधानमन्त्री बने। त्यसै बेला कृष्णबहादुर महरा सञ्चारमन्त्री थिए। उनकै कार्यकालमा प्रचण्ड निकट व्यापारी अजय सुमार्गीलाई निकै सस्तोमा नेपाल स्याटेलाइट कम्पनीको नाममा मोबाइल सञ्चालन गर्ने लाइसेन्स दिइएको थियो। यसले हेलो नेपाल नाममा मोबाइल सञ्चालन गर्दै आएको थियो। सस्तोमा मात्र नभई यो कम्पनीलाई आवश्यकताभन्दा बढी फ्रिक्वेन्सी पनि दिइएको थियो। फ्रिक्वेन्सी होल्ड गर्नका लागि पनि यसलाई यति धेरै फ्रिक्वेन्सीको अनुमति दिइएको थियो। जसरी एनसेलले लाइसेन्स पाएपछि यसका वास्तविक मालिकहरुको अनुहार पर्दापछाडिबाट खुल्दै गयो, हेलो नेपालको पनि त्यस्तै भएको थियो।

सुमार्गीलाई हेलो नेपाल खोल्न लगानी भने उपेन्द्र महतोले गरेको भनिएको छ। टेलियासोनेराले हेलो नेपालको ७५ प्रतिशत सेयर किनेर आफ्नो बनाएको थियो। पछि क्रस होल्डिङ गर्न नपाउने भएपछि टेलियाले यसलाई फेरि सुमार्गीलाई बेच्न परेको थियो।

(माथि कभरमा मोहम्मद आर्मेसी र सुमार्गीको कोलाज फोटो)

यससम्बन्धी पुराना ब्लगहरु
एनसेलमा टेलियासोनेरा कसरी आयो? कसरी जाँदैछ?
एनसेल साहु भ्रष्टाचार फन्दामा, स्विडेनमा छानबिन हुँदै
तीन प्रश्नको जवाफ दिन एनसेल मालिकलाई चुनौति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme