Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एकै पटक चार जना युट्युबर पक्राउ, पीडित महिलाको चरित्र हत्या गरेको आरोप

Posted on September 29, 2021September 29, 2021 by Salokya

फेसबुक हेर्दै गर्दा साइबर ब्युरोको एउटा विज्ञप्तिमा आँखा गयो। एकै पटक चार जना युट्युबरलाई प्रहरीले अदालतको अनुमतिबाट पक्राउ गरी अनुसन्धान गरिरहेको त्यसमा उल्लेख छ। ठ्याक्कै कुन घटनाको भिडियोका कारण हो भन्ने नखुले पनि विज्ञप्तिमा ‘पीडित महिलाको तस्विर सहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुऱ्याई नीजप्रति घृणा वा द्वेष फैलाउने सामाग्रीहरु प्रसारण गरेको’ आरोप लगाइएको छ। यस्ता भिडियो त युट्युबमा प्रशस्तै हुन्छन्। नाम चलेका युट्युबरहरुसमेत यस्ता खालका भिडियो राखेर भ्युज कमाउनमा व्यस्त देखिन्छन्। पक्राउ परेका युट्युबरहरु र उनीहरुका च्यानल कस्ता रहेछन्, यसो खोजेँ।

पक्राउ नम्बर १ : दैनिकखबर


पक्राउ परेका पहिला व्यक्ति हुन्- प्रदीप भण्डारी। उनी युट्युबमा दैनिक खबर नामको च्यानल चलाउँथे। यो युट्युबको भेरिफाइड च्यानल हो। यसका १ लाख ७९ हजार सब्सक्राइबर्स छन्।

प्रहरीका अनुसार २१ वर्षका भण्डारीको घर दाङको तुलसीपुर उप-महानगरपालिका वडा नं. १७ मिमुवा हो। अहिले भने उनी काठमाडौँको गोकर्णेश्वर बस्ने गर्थे।

सेप्टेम्बर २५ मा उनले एउटा भिडियो अपलोड गरेका छन् जसमा उनले भनेका छन्, ‘…म बिचल्लीमा परेँ, म अन्यायमा परेँ भनिसकेपछि हामीले भिडियो सार्वजनिक गरेका थियौँ र केटीको एउटा तस्बिर पनि सार्वजनिक गरेका थियौँ। तर बुझ्दै जाँदा खेरी ती केटीको फोटो कसैले गलत तरिकाले प्रयोग गरेर फेसबुकमा हाल्दिएको रहेछ। र ती फोटोमा देखिएकी युवती पैसा खाने व्यक्ति हैनन् भनेर यतिबेला प्रमाणित भएको छ… ‘

अर्थात् उनले निर्दोष केटीको फोटो ठग भनेर भिडियो बनाएका रहेछन्। उनको अर्को भिडियोको शीर्षक रहेछ, ‘आमाजुले बुहारीलाई फिल्मी शैलीमा गायब पारिन्, भेट्ने वित्तिकै पर्याे हानाहान, बेच्न लागेको…हेर्नुस्’

पक्राउ नम्बर २ : हरेकपलको खबर

यो युट्युब च्यानलको सब्सक्राइबर्स सार्वजनिक रुपमा देखिने बनाइएको छैन। प्रहरीका अनुसार यो च्यानलका सञ्चालक २७ वर्षका शिशिर अधिकारी हुन्। उनको घर नुवाकोट सुर्यगढी गाँउपालिका वडा नं. २ चोकदे हो भने हाल उनी राजधानीको नेपालटार बस्ने गर्थे।

यो च्यानलमा पछिल्लो समय विष्णु माझीका भिडियोहरु अपलोड गरेको देखिन्छ। केही शीर्षक यस्ता छन्- बिष्णु माझी अब इन्द्रेणी जादै, इन्द्रेणीमा यसरि लैजाँदै ?, भर्खरै बाहिरियो Bishnu majhi र सुन्दर अधिकारिको सोच्नै नसक्ने सन्सनिपूर्ण वास्तविक खुलासा, बिष्णु माझिले दुईओटा जुम्ल्या छोरा पाए पछी मिडियामा, खुशी हुदै भाईले गरे बिस्णुको शन्सनीपुर्ण खुलाशा, अन्तत: बिष्णु माझिका बुबाको मृ”*त्यु || आखिर किन सुन्दरमणिले लुकाए यतिठुलो यथार्थ ? अर्को एउटा भिडियोको शीर्षक छ- दाजु पर्नेले छिमेकी कै बुढि भगाएपछि पयाे लफडा ।। श्रीमती नाठाे सग राति रगेहात भेटेपछि कुटाकुट……।

तर कुन भिडियोको कारण उनी पक्राउ परेका हुन् चाहिँ पत्ता लगाउन सकिएन।

पक्राउ नम्बर ३ : सिराइचुली मिडिया

पक्राउ पर्ने तेस्रो युट्युबर हुन् सिराइचुली मिडिया नामको युट्युब च्यानलका सञ्चालक पिङ्कला कार्की। पक्राउ परेका युट्युबर मध्ये उनी एक्ली महिला हुन्। प्रहरीका अनुसार ३५ वर्षीया कार्कीको स्थायी घर मोरङ बेलबारी नगरपालिका र हाल काठमाडौँको पेप्सीकोला बस्दै आएकी थिइन्।

उनको युट्युब च्यानलमा एक हप्ताअघि ‘हे भगवान के भयो यस्तो अचम्म ४ बर्षको बच्चालाई छाडेर श्रीमती बेपत्ता श्रीमानको चल्यो रुवाबासी’ शीर्षकको भिडियो छ। यसको भ्युज हजार पनि पुगेको छैन। त्यसबाहेक पछिल्लो समय उनले सीता भण्डारी मृत्यु प्रकरणका भिडियोहरु बनाएको देखिन्छ। एउटा भिडियोको शीर्षक छ- बुटवलका डिएसपी परे संकाको घेरामा आक्रोसित जनताले प्रहरी चौकी माथि गरे हमला

पक्राउ नम्बर ४ : मोर्डन अनलाइन टिभी

प्रहरीले पक्राउ परेका युट्युबरहरु मध्ये सबैभन्दा बढी सब्सक्राइबर भएको युट्युब च्यानल हो मोर्डन अनलाइन टिभी। यसका ३ लाख ७४ हजार सब्सक्राइबर्स छन्। यसका सञ्चालक हुन् २४ वर्षका रोधन तामाङ। दोलखा मेलुङ गाउँपालिका वडा नं. ४ स्थायी घर भएका तामाङ हाल  काठमाडौँको गोकर्णेश्वर बस्थे।

पछिल्लो समय उनको च्यालनमा बुहारी बेचेको भनी आमाजुलाई दोषी देखाउँदै बनाइएका भिडियोहरु देख्न सकिन्छ।

एक वर्षअघि पुसअप काण्डका रुपमा चर्चित भिडियो पनि यही च्यानलमा अपलोड गरेको देख्न सकिन्छ। वर्ष दिनअघि त्रिपुरेश्वरको एउटा अस्पतालमा बिरामीको मृत्यु हुँदा युट्युब च्यानलहरुले त्यसलाई सनसनीपूर्ण रुपमा प्रस्तुत गरेका थिए। नर्सले सिपिआर दिएकोलाई ‘पुसअप’ गरेको भन्दै भ्रम सिर्जना गर्ने बाइटहरु राखेर घाँटी रेटेर हत्या गरेको शीर्षक बनाई भिडियो अपलोड गरिएको थियो।

के होला कारबाही ?

पक्राउ परेका व्यक्तिहरुलाई युट्युब च्यानलहरुमार्फत् पीडित महिलाको तस्विर सहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुऱ्याई निजप्रति घृणा वा द्वेष फैलाउने सामाग्रीहरु प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको आरोप लगाइएको छ।

विद्युतीय कारोबार ऐन खासमा इकमर्सलाई व्यवस्थित गर्न बनाइएको ऐन थियो। तर यसको एउटा दफालाई साइबर क्राइममा प्रयोग गर्ने गरिएको छ। युट्युब च्यानलसँग सम्बन्धित यस्ता मुद्दा पहिले पनि परेका हुन्।  एउटा उदाहरण हेर्नुस्- युट्युबे हेडलाइन र भिडियो : अपलोड गर्ने अदालतसम्म तानिएको यो केस।

चार चार जना युट्युबरलाई एकै पटक पक्राउ गरेर मुद्दा चलाइएको भने यो नौलो घटना नै हो। युट्युबरहरुले पत्रकारिताको मूल्यमान्यता नाघेको, व्यक्तिगत गोपनीयताको सीमा पार गरेको भनेर आलोचना चुलिँदै गर्दा यस्तो भएको छ। यद्यपि कुन घटनाका कारण यी युट्युबरहरु पक्राउ परेका हुन् भन्ने चाहिँ खुलेको छैन। अदालतमा गइसकेपछि हरेक घटनाको छुट्टाछुट्टै रुपमा गहन छलफल हुने नै छ। अब प्रहरीले गर्ने अनुसन्धान अवधिभर कम्तिमा अब २१ दिन यी युट्युबरहरु हिरासतमै रहनेछन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme