Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘कागले कान लग्यो’ भन्दा भूषण दाहालसहितका मान्छे कागका पछिपछि दौडेका?

Posted on September 16, 2021September 16, 2021 by Salokya

आज एउटा रमाइलो दृश्य देखियो सामाजिक सञ्जालमा- कान्तिपुर टेलिभिजनमा वर्षौँ नेतृत्व तहमा रहेका भूषण दाहाल जस्ता सञ्चारकर्मी एउटा फेक स्क्रिनसटलाई विश्वास गरेर कान्तिपुरका प्रधान सम्पादकलाई मेन्सँदै गरेको। कत्रा ठूलाठूला नेताहरुको अन्तर्वार्ता लिइसकेका व्यक्ति त त्यसरी ‘कागले कान लग्यो’ भन्दा कान नछामी कागका पछि पछि दौड्दै गरेको देखियो भने अरु सामान्य मान्छेको के होला हालत ?

भएछ के भने सामाजिक सञ्जालमा आज एउटा समाचारसहितको फेसबुक स्क्रिनसट भाइरल भयो, जसमा ‘चोरिएको ६२ वर्षपछि पाटनको उमामहेश्वर मूर्ति अमेरिकाबाट घर फर्कँदै’ शीर्षकको कान्तिपुरको समाचार देखिन्छ। तर सो समाचारसँगै इकान्तिपुरको फेसबुक पेज जस्तो देखिने स्क्रिनसटमा लेखेको देखिन्छ- ‘पुर्व राजा ज्ञानेन्द्र लगायत तात्कालिन राजपरिवारका केहि सदस्यका मिलेमतोमा दशकौ पहिले बेचबिखन गरिएको मुर्ति लोकन्त्रमा फिर्ता ल्याईदै’।

यसो हेर्‍यो, कान्तिपुर लेखिएको छ। भेरिफाइडको निलो टिक पनि छ। उहाँहरुलाई लाग्यो होला- पक्कै कान्तिपुरले नै यस्तो लेखेछ। हैट, यस्तो पनि लेख्ने हो? चित्त दुख्यो। अनि सुरु भयो सामाजिक सञ्जालमा कान्तिपुरलाई गाली गर्ने क्रम।

कतिले हिसाब पनि निकाले- ज्ञानेन्द्रको उमेर अहिले ७५ वर्ष हो। ६२ वर्षअघि चोरिएको मूर्ति भनेको रहेछ। अब ७५ बाट ६२ घटाउँदा १३ आउँछ, कसरी १३ वर्षको बालकले मूर्ति चोर्न सक्छ?

अँ त नि। फेरि रिस उठ्यो- यस्तो झुटो लेख्ने कान्तिपुरले ?

त्यसरी गाली गर्नेहरुलाई कान्तिपुरले साँच्चिकै के लेखेको छ त्यो समाचारमा वा त्यो स्क्रिनसट सही हो कि गलत हो भनेर खोज्ने, सोच्ने फूर्सद र समयसम्म भएन। आ…, कसले दुःख गरिरहोस्।

भूषण दाहालले सेप्टेम्बर १६ बिहीबार कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्मालाई मेन्सन गर्दै ट्विट गरेका छन्– ‘यो त अलि अति नै भयो कि? अपुष्टताको पराकाष्ठ…’

उनले कोट ट्विट गरेको ट्विट भने हामीले स्क्रिनसट लिँदासम्म डिलिट भइसकेको थियो। तर त्यसको स्क्रिनसट यस्तो थियो-

दिनेश पराजुली नामका ट्विटर प्रयोगकर्ताले सेयर गरेको यो स्क्रिनसटमा ३८ रिट्विट, १७ कमेन्ट र ९३ लाइक देखिन्छ।

सीताराम आचार्यले फेसबुकमा राखेको यही स्क्रिनसटसहितको स्टायटसमा बिहीबार साँझसम्म ७९ कमेन्ट र २४ सेयर देखिन्छ।

नेवार राजन नामका अर्का फेसबुक प्रयोगकर्ताले यही स्क्रिनसट राखेर कान्तिपुरप्रति नकारात्मक टिप्पणी लेखेका छन्। यसमा १६ कमेन्ट र १४ सेयर देखिन्छ।

फेसबुकमा अरु पनि थुप्रैले यो स्क्रिनसटसहितका टिप्पणी सेयर गरेका छन्। 

के हो तथ्य ?

हामीले फेसबुकमा यो समाचार खोज्दा कान्तिपुरको आधिकारिक भेरिफाइड फेसबुक पेजमा १४ सेप्टेम्बर २०२१ मा मध्याह्न १२ बजेर २१ मिनेटमा अपडेट भएको भेट्टायौँ।

यो फेसबुक पोस्ट इडिट गरिएको छैन र यसमा भाइरल भएको स्क्रिनसटमा जस्तो लेखेको देखिन्न।

कान्तिपुरका सम्पादक उमेश चौहानले ‘फोटोसप गरिएका नक्कली स्क्रिनसट सेयर गरेर भ्रमित नबनौँ, नबनाऔँ’ लेख्दै ट्विट गरेका छन्।

इकान्तिपुरका सम्पादक दुर्गा खनालले पनि फेक ट्विटको पछि नलाग्न अनुरोध गर्दै ट्विट गरेका छन्।

इकान्तिपुरमा प्रकाशित समाचार पूरै पढ्दा त्यसमा कतै पनि भाइरल भएको स्क्रिनसटमा लेखिए जस्तो पूर्व राजा ज्ञानेन्द्र वा उनको परिवारलाई जोडेर केही लेखेको भेटिएन। हेर्नुस् अर्काइभ लिङ्क।

त्यसबाहेक भाइरल भएको स्क्रिनसटमा प्रयोग गरिएको भाषामा पनि प्रशस्त गल्ती छन्, कान्तिपुर जस्तो मिडियाको सोसल मिडियामा यति धेरै गल्ती हुनु असामान्य देखिन्छ। यसले पनि स्क्रिनसट नक्कली भएको भन्न मिल्ने आधार छ।

भाइरल भएको स्क्रिनसटमा एक वाक्यमा देखिएका ६ गल्ती।

यसबाहेक सम्बन्धित पेजबाटै पोस्ट भएको स्ट्याटस जस्तो देखिने गरी फेक स्क्रिनसट बनाउन फोटोसप नै गरिरहन जरुरी छैन। सामान्य एचटिएमएल जानेको व्यक्तिले वेब ब्राउजरबाटै सजिलै त्यस्तो नक्कली स्क्रिनसट बनाउन सक्छन्।

हेर्नुस् उदाहरण

तथ्य जाँच

दावी : कान्तिपुरले आफ्नो सामाजिक सञ्जालमा पूर्व राजा ज्ञानेन्द्र र पूर्व राजपरिवारलाई मुछेर मूर्तिचोरी सम्बन्धी समाचारको लिङ्कसहित स्टायटस पोस्ट गरेको छ।

तथ्य जाँच : मिथ्या सूचना। कान्तिपुरको फेसबुक वा ट्विटरमा यस्तो स्टायटस पोस्ट भएको कुनै प्रमाण छैन। लिङ्कमा रहेको समाचारमा पनि त्यसबारे केही उल्लेख छैन।  भाइरल भएको स्क्रिनसटमा प्रयोग गरिएको अशुद्ध भाषा र रातो लगाएको बाहेक उही देखिने एउटै स्क्रिनसट मात्र फैलिएको देखिन्छ। यस्तो स्क्रिनसट सहजै बनाउन सकिने हुँदा यो स्क्रिनसट मिथ्या भन्न सकिन्छ।

हामीले के गर्न सक्छौँ ? केही सुझाव

सामाजिक सञ्जालमा देखिने सबै कुरा सही हुँदैनन्। आँखाले देखेका र कानले सुनेका कुरा पनि गलत हुनसक्छन्। त्यसैले सामाजिक सञ्जालमा कुनै कुरा सेयर भएको देख्ने बित्तिकै त्यसमा प्रतिक्रिया व्यक्त गर्न हतार नगर्नुस्। पहिला त्यो सही हो त, गलत त होइन भनेर आफैले खोज्ने प्रयास गर्नुस्। यति गर्नुभयो भने पछि लज्जित हुनुपर्ने अवस्था आउँदैन।

  1. कुनै पनि सामग्री पढेपछि तुरुन्तै विश्वास नगर्नुहोस्, प्रकाशित सामग्री मिथ्या हुन सक्छन् भनेर सचेत हुनुहोस् ।
  2. समय छ भने सामग्री सही छन् कि छैनन् भनेर परीक्षण गर्नुहोस्।
  3. शङ्कास्पद सामग्रीमा तथ्यजाँचका लागि हामीलाई यहाँ सुझाव दिनुहोस्।
  4. कुनै पनि सामग्री आफ्नो सोसल मिडियामा सेयर गर्न वा त्यसका सूचनाका आधारमा आफ्नो विचार राख्न हतार नगर्नुहोस् ।
  5. सोसल मिडियामा कतिपय अवस्थामा प्रयोगकर्ताले पढेका आधारमा समाचार धेरैमा देखिने हुँदा शीर्षकमा शङ्का लागेका वा गलत साइटमा प्रकाशित सामग्री पढ्न खोजेर समय खेर नफाल्नुहोस् ।
  6. सोसल मिडियामा सेयर गरिएका विचार वा सामग्री को र कति जनामा पुग्छ भन्ने कुराको अनुमान गर्न कठिन हुन्छ । यसर्थ अनावश्यक कुरा वा गलत सूचना रमाइलो वा अन्य कुनै कारणले पनि लेख्ने वा सेयर गर्ने नगर्नुहोस् ।
  7. मिथ्या समाचार हो भन्ने थाहा पाउनेबित्तिकै आफ्नो सोसल मिडियामा त्यो मिथ्या समाचार हो भनेर जानकारी गराउनुहोस् । तर यसरी जानकारी गराउँदा त्यो समाचारको लिङ्क भने नराख्नुहोस् ।
  8. कुनै पनि सामग्री सोसल मिडियामा सेयर गर्दा वा लेख्दा त्यो सामग्री सही र तथ्यपरक छ भन्ने पूर्ण विश्वस्त भएपछि मात्रै राख्नुहोस् । अलिकति पनि शङ्का छ भने कुनै पनि अवस्थामा (यो के हो भनेर सोध्नसमेत) त्यो सामग्री सेयर नगर्नुहोस् ।
  9. कुनै पनि सामग्री सेयर गरेपछि त्यसमा आएका प्रतिक्रिया हेर्नुहोस् र कसैको भनाइले शङ्का उत्पन्न गरेमा तुरुन्तै सच्याउनुहोस् । अरु कसैले सेयर गरेको सामग्री मिथ्या भएको थाहा भए कमेन्टमार्फत जानकारी गराउनुहोस् ।
  10. कुनै सामग्री मिथ्या भए त्यो प्रकाशित सोसल मिडियामा रिपोर्ट गर्न सकिन्छ । भाषागतरूपमा नेपाली भाषामा प्रकाशित सामग्रीका लागि यो त्यति उपयोगी नभए पनि गलत फोटो प्रयोग गरेको अवस्थामा उपयोगी हुन सक्छ ।

 

सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो हामीलाई निम्न बमोजिम पठाउन सक्नुहुन्छ-

 

  • भाइबर वा ह्वाटस एपमा (भाइबरमा पठाउन क्युआर कोड, ह्वाटसएपमा पठाउन क्युआर कोड)
  • इमेल [email protected] वा [email protected]
  • फेसबुक पेज :  माइसंसारको फेसबुक पेज
  • वेबसाइटबाट सीधै : नेपालफ्याक्टचेकको वेबसाइट
  • भाइबर ग्रुप : भाइबर ग्रुपमा जोडिन यहाँ क्लिक गर्नुस्।

2 thoughts on “‘कागले कान लग्यो’ भन्दा भूषण दाहालसहितका मान्छे कागका पछिपछि दौडेका?”

  1. Praveen says:
    September 23, 2021 at 2:02 pm

    यदि भूषण दाहाल दिपेन्द्र / निरञ्जन वा राजपरिवारको को नजिकको मानिस भएको भए कान्तिपुर टिभीमा पत्रकार त के, toilet cleaner भएर पनि छिर्न पाउनेथिएन् । कान्तिपुर टिभी वा Kantipur Media Group भित्र काम पाउन सबै भन्दा ठुलो आवश्यकता भनेको Active anti-monarchy of Nepal हुन जरुरी छ । अरु बाँकि भनेको सबै nepotism ले नै काम गर्ने हो । हैन भने दाहाल एक opportunist हुन् जस्तो लाग्छ ।

    Reply
  2. Anil says:
    September 17, 2021 at 12:30 am

    यस्तो disinformationले देशमा कलह निम्त्याउन सक्ने हुनाले share गरिएको link check गर्ने बानी बसालौं भनेर campaign नै गर्नुपर्छ। अनि भुषणजी चाहिं यो राजा साजाको मामिलामा बढि Emotional हुनु भएन (भलै उनी Dipendra/Nirajanका निकटका मित्र हुन र यो disinformation ज्ञानेन्द शाहको मानहानि गर्न बनाईएको हो)। Media personnel भएकाले उनले objective भएर समाचार हो कि असमाचार पत्ता लगाएर हामी नेपाली सबैलाई सचेत गर्नुपर्छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme