Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माधव नेपाल रोएको खबरमा मिडियाले गरेको नयाँ ‘ट्विस्ट’

Posted on August 31, 2021August 31, 2021 by Salokya

केही दिनदेखि सामाजिक सञ्जालमा दुई वटा आँसु कथा भाइरल छन्। एउटा आँसु हो- कमेडी च्याम्पियनका बिक्की अग्रवालको। कमेडी सोमा समेत आँसु आवश्यक भएको बेला समाचारमा आँसु किन नचाहिने त? त्यसैले माधव नेपाल रोएको विवरणसहित फोटो भाइरल भएको थियो। यो फोटोको बारेमा नेपालफ्याक्टचेकमा हिजो एउटा फ्याक्ट चेक आएको छ- के हो माधवकुमार नेपाल रुँदै गरेको भाइरल फोटोको वास्तविकता? हिजै माइसंसारमा ब्लग पनि आयो- माधव नेपालको दुई वर्ष पुरानो आँसु बेचेर उल्लु बनाउन खोज्ने मिडिया।

रमाइलो त के भने, त्यसपछि मिडियाले नयाँ ट्विस्ट गरेको छ। यो हेर्न पनि बडा मज्जा आउने खालको छ। आउनुस् हेरौँ।

माधव नेपाल रुँदै गरेको फोटो भाइरल भएपछि नेपालप्लसमा एउटा भावुक खालको कमेन्ट्री आयो, शीर्षक थियो- ‘ए भाई अली चिटिक्क पारिदेउ है !’

तीन वटा फोटो थिए त्यसमा माधव नेपाल रुँदै गरेको। फोटोमा क्याप्सन स्याप्सन केही थिएन। लेखको पुछारमा थियो- ‘अस्ती मात्रै उनको एउटा कार्यक्रममा खिचिएको तस्वीर सार्वजनिक भयो । जहाँँ छोडेर जानेहरुलाई सम्झेर उनी भावुक बनेका थिए । त्यो तस्वीरले धेरैलाई भावुक बनायो होला । तर कमरेड, छोडेर जानेलाई सम्झेर के रुनु । छोडि जानेहरु त पराइ जस्ता हुन् । रुदै गरेको तस्वीर त चिटिक्क देखिएन । देश कस्तो बन्ला, नयाँँ पार्टी कस्तो बन्ला थाहा भएन । तर तपाईं भने चिटिक्क बन्नु होला कमरेड।’

कहानीमा ट्विस्ट

नेपालफ्याक्टचेकमा श्यामसुन्दर पुडासैनीले यो फोटो दुई वर्ष पुरानो- २०७६ साउन १९ गते संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकको बेलाको भएको खुलासा गरेपछि आँसु कहानीमा नयाँ ट्विस्ट आयो। नेपालप्लसले फोटोको मुन्तिर एउटा क्याप्सन लेखेको छ। हेर्नुस्-

अस्तिसम्म त्यो फोटोमा भएको ब्रेकएनलिङ्कसको लोगोसोगो पनि थाहा पाइएला कि जस्तो गरेर काटेको यो मिडियाले अहिले भने दोष जत्ति उसैलाई थोपर्न खोजेछ 🙂 माधव नेपालको फोटो सांकेतिक भएको त्यसमा स्वीकार गरिएछ, तर कहिलेको हो भनेर चाहिँ खुलाउन मन लागेनछ।

फोटो त सांकेतिक भयो ल, तर लेखको मुन्तिर भएको ‘अस्ति मात्रै उनको एउटा कार्यक्रममा खिचिएको…रुँदै गरेको तस्वीर त चिटिक्क देखिएन’लाई कसरी मिलाउने? त्यो मिलाइएको छैन।

किनभने त्यो रुँदै गरेको फोटो पुरानो थियो, एमाले भन्ने पार्टी नेकपा हुँदैको।

एउटा अनलाइनले राखेको समाचार र त्यसमा भएको फोटोलाई विश्वास गरेर कमेन्ट्री लेख्दा यो अवस्था आइलाग्यो। हतार नगरी अलि समय लिएर बुझेर गरेको भए यसरी अर्काको थाप्लोमा दोष पोख्न पर्दैन थियो होला।

मुख्य जिम्मेवारको ट्विस्ट

सामाजिक सञ्जालमा माधव नेपाल रोएको फोटो भाइरल बनाउने काम ब्रेकएनलिङ्कसको समाचारले गरेको थियो। नेपालफ्याक्टचेकले यो दृश्य दुई वर्ष पुरानो भएको खुलासा गरेपछि ब्रेकएनलिङ्कसले सुटुक्क त्यो फोटोको मुनितिर फाइल फोटो भनेर अङ्ग्रेजीमा लेखेको छ।

अर्थात् मुख्य जिम्मेवारले नै यो फोटो पुरानो अर्थात् फाइल फोटो हो भनेर स्वीकार गरेको छ। हिजोसम्म त्यसमा केही पनि लेखिएको थिएन। हेर्नुस् हिजोको स्क्रिनसट-

फाइल फोटो लेख्दैमा यो मिडियाको दायित्व पूरा हुने होइन। उसले यो फाइल फोटो कति बेलाको भनेर पनि स्पष्ट पार्नुपर्ने हो खासमा। अझ पुरानो रोएको फोटोलाई अहिलेको सन्दर्भमा अहिलेकै जस्तो प्रयोग गरेकोमा माफी पनि माग्नुपर्ने हो।

अझ यो भन्दा पनि गम्भीर कुरा- समाचारमा रोएको भनिएको छ, त्यसलाई पुष्टि गराउन पुरानो फोटो राखिएको छ। तर यो कार्यक्रमको भिडियोमा रोएको कतै पनि देखिँदैन।

ब्रेकएनलिङ्कसको समाचारमा पनि लेखिएको छ- ‘उनले पहिलाेपल्ट सार्वजनिक कार्यक्रममै अनुहार मलिन (रूदै) बनाएर भावुक हुँदै नेपालले भने’

अर्थात् ‘अनुहार मलिन बनाएर भावुक हुँदै’ लेखिएको वाक्यमा जबर्जस्ती ब्राकेटमा ‘रुँदै’ थपिएको छ। अनुहार मलिन बनाउनु र रुनु फरक कुरा हो। समाचार लेख्नेलाई रोएको हेर्न मन लाग्यो भन्दैमा ‘रुँदै’ भनेर समाचार लेख्न त भएन नि। कि कसो ?

अझ यो मिडियाले त सुरुमा धुरुधुरु रुँदै भनेर फेसबुकमा समाचार सेयर गरेको समेत भेटियो-

त्यसैगरी यो समाचारमा कोट पनि मिलेको छैन। समाचारमा माधव नेपालको कोट राखिएको छ- ‘मलाई धकेलेर अगाडि बढ भन्नेहरू नै पछाडि हेर्छु त कोही छैनन्।’

कोट चिह्न राखिसकेपछि जे बोलेको हो, त्यही राख्नुपर्छ। यसमा आफ्नो तर्फबाट केही थप्न पाइन्न। यो पत्रकारिताको नियम नै हो। तर ब्रेकएनलिङ्कस मात्र होइन, अरु धेरै मिडियाले पनि यसलाई खासै पालना गर्दैनन्। खासमा माधव नेपालले भनेको यस्तो हो- ‘मलाई धकेलेर अगाडि बढ भन्ने, पछाडि हेर्छु त कोही पनि छैन।’

तर समाचारको शीर्षक छ- ‘पछिबाट धकेल्ने साथीहरूले आँखै अघि छाेडे’

आँखै अघि छोडे त भनेको त मैले सुनिनँ। कोटभित्र राखेपछि आफूलाई मन लागेको कुरा लेख्न पाइयो र भन्या।

1 thought on “माधव नेपाल रोएको खबरमा मिडियाले गरेको नयाँ ‘ट्विस्ट’”

  1. Pingback: माधव नेपाललाई समाचारमा जबर्जस्ती रुवाउन खोजेको पोल खुल्दा परेको असर – MySansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme