Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माधव नेपालको दुई वर्ष पुरानो आँसु बेचेर उल्लु बनाउन खोज्ने मिडिया

Posted on August 31, 2021 by Salokya

के तपाईँले दोस्रो पुस्ताका नेताहरुले धोका दिएको भन्दै एमाले फुटाएकोमा पछुतो मानेर नेता माधवकुमार नेपाल रोएको फोटो कुनै मिडियामा वा सामाजिक सञ्जालमा देख्नुभएको छ? त्यो सही होइन है। माधव नेपाल रोएका पक्कै हुन्, तर त्यो दुई वर्षअगाडिको भिडियोको कुरा हो। दुई वर्ष पुरानो आँसु बेचेर मिडियाले उल्लु बनाउन खोजेको मात्रै हो। यो बारेमा नेपालफ्याक्टचेकमा प्रकाशित तथ्यजाँच- के हो माधवकुमार नेपाल रुँदै गरेको भाइरल फोटोको वास्तविकता?


यो गएको साता सेन्टर फर मिडिया रिसर्च नेपालले आयोजना गरेको फ्याक्ट चेक सम्बन्धी ट्रेनिङको फोटो हो। यसमा साउथ एसिया चेकका सम्पादक दीपक अधिकारी र मैले फ्याक्ट चेक कसरी गर्ने भन्ने बारे सैद्धान्तिक तथा व्यवहारिक ज्ञान बाँडेका थियौँ। त्यसैका एक सहभागी श्यामसुन्दर पुडासैनीले यो फ्याक्टचेक गरेका हुन्।

गएको शनिबार (२८ अगस्त २०२१) पेशागत महासंघले ललितपुरमा एउटा कार्यक्रम आयोजना गरेको थियो। यही कार्यक्रमको समाचारसँगै पूर्व प्रधानमन्त्री तथा नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको रुँदै गरेको फोटो भाइरल भएको हो।

भाइरल समाचारको मुख्य स्रोत

भाइरल समाचारको मुख्य स्रोत ब्रेकएनलिङ्कसको नेपाली संस्करणमा राखिएको यो समाचार हो- ‘माधव नेपालले रुँदै भने: ‘पछिबाट धकेल्ने साथीहरूले आँखै अघि छाेडे’

यो समाचारमा अध्यक्ष नेपाल रोएको जस्तो देखिने तीन वटा फोटो एकै फ्रेममा जोडेर ब्रेकएनलिङ्कसको लोगोसहित राखिएको छ। पहिलो फोटोमा नेपालले माइकमा बोल्दै गर्दा एक हात टेबलबाट थोरै माथि उठाएका छन्। उनी झुकेको देखिन्छ। साथै उनले मुख बिगारेर रोएको जस्तै देखिन्छ। दोस्रो फोटोमा हातले नाक पुछेको जस्तो देखिन्छ। तेस्रो फोटोले पनि अघिल्ला दुई फोटोको जस्तै आफूले रोएको अरूले नदेखुन् भनेर शिर निहुराएर हातले अनुहार छोपेको जस्तो देखिन्छ।

समाचारमा लेखिएको छ-

अन्तिम अवस्थामा आएर आफ्नो साथ छाडेका नेताहरूलाई व्यंग गर्दै उनले भने, ‘मलाई धकेलेर अगाडि बढ भन्नेहरू नै पछाडि हेर्छु त कोही छैनन्।’

उनले पहिलाेपल्ट सार्वजनिक कार्यक्रममै अनुहार मलिन (रूदै) बनाएर भावुक हुँदै नेपालले भने, ‘दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म खुशी-खुशी तयार छु। आउनुहोस्, अध्यक्ष बन्नुहोस्। बलियो नेतृत्व गरेर पार्टीलाई उचाइमा लग्नुहोस्। मैले पदको लागि विद्रोह गरेको होइन्, वैचारिक सत्यको लागि विद्रोह गरेको हुँ।’

ब्रेकएनलिङ्कसको चलाखी यहीँबाट देखिन्छ। अनुहार मलिनलाई ब्राकेटमा रुँदै लेखेर समाचार बनाइएको छ। अनि रोएको जस्तो देखिने फोटो राखिएको छ।  यही फोटोलाई सामाजिक सञ्जालमा धेरैले पार्टी फुटाएकोमा नेता माधवकुमार नेपालले पछुतो मानेको अर्थमा प्रयोग गरेका छन्। अरु केही अनलाइनहरुले पनि यही फोटो र समाचार साभार गरेका छन्।

एमाले बौद्धिक केन्द्र नामको फेसबुक ग्रुपमा यो फोटोसहितको समाचारमा ४७ कमेन्ट र ३२ सेयर छन्।

टुडेखबरको फेसबुक पेजमा यही फोटोसहितको समाचारमा ३२२ रियाक्सन, ९० कमेन्ट र ४१ सेयर छन्।

खुलाकुराले पनि यही फोटो र समाचार साभार गरेको छ।

के हो वास्तविकता?

शनिबार नेता नेपाल पेशागत महासंघले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उपस्थित थिए। समाचारमा भनिएजस्तै उनले आफूलाई दोस्रो तहका नेताले धोका दिएको बताएको विषय अनलाइनखबरले पनि लेखेको छ। अनलाइनखबरको समाचार शीर्षक छ-मलाई अगाडि घचेटे, पछाडि हेर्छु त कोही छैन

यो बारे समाचार इकान्तिपुर, नयाँ पत्रिका र सेतोपाटीमा पनि छ। तर कुनै पनि समाचारमा माधव नेपाल रोएको उल्लेख छैन।

कार्यक्रममा माधव नेपालले सम्बोधन गरेको भिडियो यो युट्युब च्यानलमा हेर्न सकिन्छ जहाँ उनले ‘मलाई घचेटेर अघि बढ भन्ने, पछाडि फर्केर हेर्छु त कोही छैन’ भनेको पनि हेर्न सकिन्छ। भिडियोमा उनी रोएको देखिन्न।

रोएको फोटो कहाँ बाट आयो ?

माधवकुमार नेपाल रोएको फोटो भने दुई वर्ष पुरानो हो। त्यतिबेला एमाले नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री भएका थिए । उनी मन्त्री भएपछि पहिलो पटक संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक नेता नेपाल रोएका थिए।


२०७६ साउन १९ गते प्रकाशित रातोपाटीको समाचार

२०७६ साउन १९ गते बिहान सिंहदरबारमा बसेको उक्त बैठकमा सांसदहरूले मन्त्री भट्टराईलाई बधाई दिएका थिए। बधाई पाएपछि बोल्ने क्रममा भट्टराई भावुक बनेका थिए। उनको गला अवरुद्ध भएको थियो। भट्टराईको कुरा सुनिरहेका नेता नेपालले पनि मन थाम्न सकेका थिएनन्। उनी पनि भक्कानिएका थिए। सोही समयमा खिचिएको भिडियोको स्क्रिनसट नै अहिलेको समाचारमा राखिएको हो।


हेर्नुस् रातोपाटीले राखेको भिडियो

अनलाइनखबरले पनि त्यतिबेलाको भिडियो राखेको छ-


दुई वर्ष पुरानो भिडियोको स्क्रिनसट।

तथ्य जाँच

दावी :  ब्रेकएन्डलिङ्कससहित अन्य अनलाइन र सामाजिक सञ्जालमा राखिएको दोस्रो पुस्ताका नेताहरुले धोका दिएको कुरा गर्दै माधव नेपालले रोएको खबर र रोएको फोटो।

तथ्य जाँच : भ्रामक। माधव नेपाल रोएको समाचार सो कार्यक्रमको भिडियोमा देखिएन। सो समाचारमा राखिएको फोटो भने सोही कार्यक्रमको नभएर दुई वर्ष अगाडि २०७६ साउन १९ गते संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकको हो।

अर्थात् दुई वर्ष पुरानो भिडियोको स्क्रिनसट राखेर मिडियाले पाठकलाई उल्लु बनाएछ।

सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो हामीलाई निम्न बमोजिम पठाउन सक्नुहुन्छ-

  • भाइबर वा ह्वाटस एपमा (भाइबरमा पठाउन क्युआर कोड, ह्वाटसएपमा पठाउन क्युआर कोड)
  • इमेल [email protected] वा [email protected]
  • फेसबुक पेज :  माइसंसारको फेसबुक पेज
  • वेबसाइटबाट सीधै : नेपालफ्याक्टचेकको वेबसाइट
  • भाइबर ग्रुप : भाइबर ग्रुपमा जोडिन यहाँ क्लिक गर्नुस्।

2 thoughts on “माधव नेपालको दुई वर्ष पुरानो आँसु बेचेर उल्लु बनाउन खोज्ने मिडिया”

  1. Pingback: माधव नेपाललाई समाचारमा जबर्जस्ती रुवाउन खोजेको पोल खुल्दा परेको असर – MySansar
  2. Pingback: माधव नेपाल रोएको खबरमा मिडियाले गरेको नयाँ ‘ट्विस्ट’ – MySansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme