Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रम देउवा आलोचित भएपछि मन्त्रालयबाट फोटो तोडमरोड, ‘अनलाइनखबर’बाट फोटो नै डिलिट

Posted on July 21, 2021July 22, 2021 by Salokya

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी पहिलो सार्वजनिक कार्यक्रमको सामाजिक सञ्जालमा निकै आलोचना भयो। २०७८ साउन ४ गते उनी अमेरिकाले अनुदान दिएको खोप दिन थाल्ने कार्यक्रममा सहभागी थिए। पछाडि ब्यानरमा असार ४ लेखिएको थियो। असार ४ मा त उनी प्रम नै भइसकेका थिएनन्। तर त्यही दिन स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भने सोही कार्यक्रमको ब्यानरमा ‘श्रावण ४’ लेखेको देखिन्छ। कुन चाहिँ फोटो सही हो त? फ्याक्ट चेकका लागि पाठकहरुको अनुरोध आयो। त्यही अनुसार नेपालफ्याक्टचेकमा तथ्य जाँच प्रकाशन भइसकेको छ। यहाँ क्लिक गरी हेर्नुस्। फ्याक्ट चेक गर्दा भेट्टाएको रमाइलो कुरा भने यो ब्लगमा सेयर गर्दैछु।


सामाजिक सञ्जालमा भाइरल भएको मध्ये एउटा ट्विट।

यो फोटोको पछाडि ब्यानरमा ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा हुने कोभिड १९ विरुद्धको Janssen खोपको शुभारम्भ समारोह, मिति २०७८ असार ४ गते लेखिएको छ। फोटोको दायाँ छेउमा मुनितिर कपिराइटको चिह्नसहित अनलाइनखबर डट कम लेखिएको छ। भनेपछि यो अनलाइनखबरमा छापिएको फोटो भन्ने बुझ्नुपर्‍यो।

कतिले त Janssen नामलाई पनि उडाए जोन्सन एन्ड जोन्सन हुनुपर्ने भनी। तर खासमा यो खोपको नाम जान्सेन नै हो।

तर सोही दिन स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा सोही कार्यक्रमको दुई वटा फोटो राखिएको थियो। मन्त्रालयको आधिकारिक फेसबुक पेजमा राति ९ बजेर १८ मिनेटमा सो विज्ञप्ति पोस्ट गरिएको छ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा रहेको फोटोमा ब्यानरमा ‘श्रावण ४’ लेखेको देखिन्छ-

अनलाइनखबरले किन हटाएछ कुन्नि फोटो ?

कुन सही पत्ता लगाउन सबैभन्दा पहिला अनलाइनखबरमा खोज्यौँ। हुनत ब्यानर प्रधानमन्त्रीले राख्ने होइन, आयोजकले राख्ने हो। तर पनि यो घटनामा प्रम देउवाको निकै आलोचना भयो ट्विटरमा। यद्यपि देउवा आलोचित भए भन्दैमा अनलाइनखबरले छापिसकेको फोटो नै हटाउनु पर्ने के बाध्यता आइलाग्यो, बुझ्न सकिएन।

इन्टरनेट अर्काइभको वेब्याक मेसिनमा गएर हेर्दा अनलाइनखबरले ‘कोरोनाविरुद्धको अमेरिकी खोप लगाउन शुरु, प्रधानमन्त्रीबाट उदघाटन’ शीर्षकको समाचारको पहिलो फोटो ब्यानरमा ‘असार ४’ लेखिएको र सामाजिक सञ्जालमा भाइरल भएकै फोटो राखेको देखियो।

हेर्नुस् वेब्याक मेसिनले १९ जुलाई ५:१६:५९ जिएमटीमा अर्काइभ गरेको अनलाइनखबरको लिङ्क

तर अहिले तपाईँले त्यो लिङ्कमा गएर क्लिक गर्नुभयो भने त्यो फोटो गायब छ। हेर्नुस् त्यो समाचारको अहिलेको लिङ्क  यसमा ८ वटा फोटो छ। तर सामाजिक सञ्जालमा भाइरल भएको ब्यानरमा ‘असार ४’ लेखिएको फोटो भने त्यसमा देखिन्न।

हेर्नुस् यहाँ क्लिक गरी अनलाइनखबरको समाचार

समाचारबाट सो फोटो हटाइए पनि अनलाइनखबरको सर्भरमा भने यो फोटो कायमै देखिन्छ। हेर्नुस् लिङ्क

बुधबार दिउँसो १ बजे गरिएको अर्काइभ लिङ्क

अनलाइनखबरले हटाएर के भो त, अरु मिडियामा छन् नि

अनलाइनखबरले हटाए पनि अरु मिडियामा भने असार ४ गते ब्यानरमा भएको फोटो नै हालेका छन्। केही उदाहरण हेर्नुस्

इकागजमा प्रकाशित यो समाचारका  तीन वटा फोटोमा ब्यानरमा असार ४ गते लेखेको प्रष्ट देखिन्छ।

लोकान्तरले सोही दिन (जुलाई १९ मा) मा युट्युबमा अपलोड गरेको भिडियोमा प्रम शेरबहादुर देउवाले बोल्दै गर्दा पृष्ठभूमिमा ब्यानरमा असार ४ गते नै देखिन्छ।

हेर्नुस् भिडियो

नेपाललाइभले सोही दिन युट्युबमा अपलोड गरेको भिडियोमा पनि ब्यानरमा असार ४ गते नै लेखेको देखिन्छ।

हेर्नुस् भिडियो

त्यसैगरी कान्तिपुर टेलिभिजनमा साउन ४ गतेको समाचारमा पनि ब्यानरमा पूरै अक्षर नदेखिए पनि साउन नभई असार नै लेखेको स्पष्ट हुन्छ।

हेर्नुस् भिडियो 

त्यसैगरी गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले भूल सुधार विषय राखी जारी गरेको सूचनामा ब्यानरमा  श्रावण ४ हुनुपर्नेमा भूलवश अन्यथा भएको उल्लेख छ।

मन्त्रालयले मिति फेरेर हाल्यो फोटो

प्रम देउवा आलोचित भएपछि स्वास्थ्य मन्त्रालयले फोटोलाई तोडमरोड गरी मिति सम्पादन गरेर असारको ठाउँमा श्रावण हाली  विज्ञप्तिमा पठाएको रहेछ।

यसरी ब्यानरलाई फोटोसपबाट सच्याउनुको साटो मिति नदेखिने खालको अर्को फोटो राखेको भए भइहाल्थ्यो !  धन्न विज्ञप्तिमा अलि मिलाएर फोटोसप गरेका रहेछन्, स्वास्थ्य मन्त्रालयको साउन ४ गतेको सिचुएसन रिपोर्टमा रहेको फोटोमा यस्तो सम्पादन गरिएको झन् प्रष्ट देखिन्छ (अक्षरको रङ्ग गाढा छ)-

 

कार्यक्रम भएको ठाउँ गोकर्णेश्वर नगरपालिकाले ब्यानरमा गल्ती भएको भनी माफी मागिसक्यो, अनलाइनखबरलाई चाहिँ फोटो नै डिलिट गर्नुपर्ने के त्यस्तो बाध्यता भयो- बुझ्न सकिएन। गलत फोटो भएको त एउटा कुरा, फोटो सही नै हो। फेरि त्यसमा डिलिट गर्दैमा सत्य लुक्ने त होइन !

1 thought on “प्रम देउवा आलोचित भएपछि मन्त्रालयबाट फोटो तोडमरोड, ‘अनलाइनखबर’बाट फोटो नै डिलिट”

  1. G. Nepali says:
    July 22, 2021 at 6:16 am

    जसले यो गल्ती गर्‍यो, कुनै कार्वाही त गरिनै पर्छ| स्वास्थ्य मन्त्रालयमा त्यस्तै लापरवाही भईरहेको छ| कुनै accountability नै छैन|यो त एउटा उदाहरण मात्र हो|
    प्रधानमन्त्री र बिदेशी कुट्नैतीक पाहुना लगायत उपस्थित हुने समारोहमा यस्तो भुल गर्नु सानो कुरो होइन| हिज पनि “ए.. यस्तो पो भएछ!..” भन्दै छाडिदिएकोले यस्तो गल्ती हुनगएको हो| जसले यो पोस्टर लेखाउने जिम्मेवारी लिएको थियो र जसले चेक गर्न पर्ने थियो, उनीहरुलाई त्यस्सै छाडिदिने हो भने भोलि पनि यस्तै भईरहन्छ, सतर्क हुनेछैनन|
    यति कुरो पनि समयमा निरिक्षण नगरेर लाजमर्नु भएन र भन्या? फोटोमा देखिएकोले भुलवश भनेर गल्ती नस्वीकारी धरै थिएन तर त्यतिले मात्र पुगेन| some heads must roll.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme