‘कोरोना गार्ड : कोरोनालाई नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने भन्दै बिक्रीमा ल्याइएका विद्युतीय यन्त्रहरु नकिन्नु होला। विज्ञापन गरिए जस्तो यस्तो यन्त्रले कोभिड-१९ भाइरसलाई निस्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउनु नपर्ने भन्ने कुरा भ्रामक र तथ्यविहीन छ।’
स्वास्थ्य मन्त्रालयले बुधबार आफ्नो फेसबुक र भाइबर ग्रुपमा राखेको सन्देशको अंश हो यो।
तर त्यसको भोलिपल्ट अर्थात् बिहीबार बिहान छापिएको ‘नयाँ पत्रिका’ दैनिकमा भने ‘कोरोना गार्डले सहज बनाउँदै कार्यालय सञ्चालन’ शीर्षकको सामग्री पहिलो पेजमै छापिएको छ। सानो अक्षरमा विज्ञापन लेखिए पनि झट्ट हेर्दा यो समाचार जस्तो देखिन्छ। समाचार जस्तो शैलीमा नै लेखिएको छ। मान्छे मज्जाले झुक्किन सक्छन्।
२०७८ असार ३१ गतेको नयाँ पत्रिका दैनिकको पहिलो पेजको दायाँ पट्टीको छेउमा छापिएको छ विज्ञापन।
दुई गल्ती गरेको छ नयाँ पत्रिकाले यसमा।
एक, यसरी समाचार जस्तो गरी झुक्याएर विज्ञापन राख्न पाइँदैन।
पत्रकार आचार संहिता, २०७३ को ‘पत्रकार र सञ्चारमाध्यमको कर्तव्य’ मा भ्रम वा संशय नहुने गरी समाचार र विज्ञापनबीच स्पष्ट अन्तर हुने गरी सम्प्रेषण गर्नु पर्ने उल्लेख छ-
(७) समाचार, विचार र विज्ञापन छुट्टिने गरी सम्प्रेषण : (१) पत्रकार तथा सञ्चारमाध्यमले पाठक, श्रोता वा दर्शकमा भ्रम वा संशय उत्पन्न नहुने गरी समाचार, लेख, विचार र प्रायोजित सामग्री वा विज्ञापनबीच स्पष्ट अन्तर हुनेगरी सम्प्रेषण गर्नु, गराउनुपर्दछ ।
(२) पत्रकार तथा सञ्चारमाध्यमले विज्ञापनलाई विज्ञापन कै रुपमा र समाचारलाई समाचारकै रुपमा प्रस्तुत गर्नुपर्दछ ।
भन्नलाई त विज्ञापन लेखेकै छ भनेर तर्क गर्न पाइयो। तर यसले सामान्य पाठकलाई भने समाचारको शैलीमा भ्रम पार्नै खोजेको देखिन्छ।
दोस्रो, यो विज्ञापनले भ्रम छरेको छ।
पैसाकै लागि जनस्वास्थ्यमा असर पार्ने यस्ता तथ्यविहीन सामानको विज्ञापन जिम्मेवार सञ्चार माध्यमले नछापेको भए हुन्थ्यो।
यसबारे स्वास्थ्य मन्त्रालयले नै यस्तो भनिसकेको छ-
स्वास्थ्य मन्त्रालयले नकिन्नू भनेको सामान नयाँ पत्रिकाले किन्नु किन्नु भने जस्तै गरी विज्ञापन छापेर उक्साउनु हुन्छ त?
यस्ता सामान नेपालमा बनेका हैनन्। सरकारले यसलाई नेपालमा आयातै गर्न नदिएको भए झन् राम्रो हुने थियो।
भारतमा कोरोना गार्डको नाममा यही उपकरणले ९९.९ प्रतिशत कोरोना भाइरस मार्ने दावी गर्दै विज्ञापन दिएपछि नोभेम्बर २०२० मा त्यहाँको एडभर्टाइजिङ स्ट्यान्डर्ड काउन्सिल अफ इन्डियाले यस्तो दावी फिर्ता लिन निर्देशन दिएको थियो। खासमा यो मान्छे झुक्याउने सामान भएको बारे द वायरमा रिपोर्ट पढ्न सकिन्छ।
तपाईँहरुले बिर्सनु भएको छैन होला, वर्षदिनअघि नेकपा स्थायी समितिको बैठकमा र संसदमा पनि सांसदहरुले कोरोना भगाउने कार्ड घाँटीमा झुण्ड्याएर आएका थिए। यो बारे कान्तिपुरमा समाचार पनि छापिएको थियो
अब अहिले फेरि त्यस्तै हावादारी दावी गर्ने सामान आएको छ, मिडियामा समाचार आउला भनेर कि के हो, सुरु मै मिडियामा विज्ञापन छापेर मुख बन्द गराउन खोजेको? नयाँ पत्रिकाले पनि पैसाको मात्र मुख नहेरेर यस्ता विज्ञापन छाप्नुअघि धेरै पटक सोच्नु पर्ने होइन र। हावादारी सामानको विज्ञापन समाचार जस्तै गरेर छाप्दा पाठकले समाचार पनि हावादारी ठान्देलान् है !
अपडेट : यो विज्ञापन नयाँ पत्रिकामा भन्दा अघि कान्तिपुरमा पनि छापिएको रहेछ। मैले नदेखेको रहेछ। केही साथीहरुले भनेपछि पो देखेँ। हेर्नुस् कान्तिपुरको २०७८ असार २९ गतेको पत्रिकाको पहिलो पेजमा छापिएको समाचार शैलीको विज्ञापन-
1 thought on “‘कोरोना गार्ड’को नाममा नयाँ पत्रिकाले यस्तो ‘तथ्यविहीन हल्ला’ किन छाप्या होला?”