‘बूढीआमाले टमाटर साग किनेर डोकामा बोकेर ल्याएर बाटाका छेउमा बेच्न राखेको बाटाभरी छरेर क्रान्ति गर्न खोजियो। यही हो उहाँहरुको क्रान्ति। किसानका मुला फ्याँकिए, तरकारी फ्याँकियो। त्यही हो क्रान्ति उहाँहरुको !’
नारायणहिटी दरबारको अगाडि बनाइएको मञ्चमा उभिएर भाषण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधी समूहप्रति आफ्नो बोलीको अस्त्र प्रहार गरे। अघिल्लो दिन प्रचण्ड-माधव नेपाल समूहले गरेको बन्दविरोधी जनमतका बीच सोसल मिडियामा तरकारी फ्याँकेका फोटो छ्यापछ्याप्ती फैलिएका थिए। किसानले दुःख गरी फलाएको तरकारी बाटोभरी फ्याँकेको देखेपछि त जोकसैको पनि मन छोइहाल्छ। जब दिमाग र मुटुको द्वन्द्वमा भावनाले जित्छ, दिमागले कामै गर्न पाउँदैन। आम प्रयोगकर्ताहरुको के कुरा, पत्रकारदेखि डाक्टरसम्मले पनि ती फोटोहरु सेयर गरेका थिए। त्यसमाथि प्रधानमन्त्री तहबाटै यसो गरियो भनेपछि त्यही कुरामा अविश्वास गर्ने कसरी? तर यो सही सूचना थिएन। यो त मिथ्या सूचना थियो। तरकारी त्यसरी फ्याँकिएकै थिएन। हामीले नेपालफ्याक्टचेकबाट त्यही दिन भाइरल भएका विभिन्न फोटोहरुको बारेमा तथ्य जाँच गरी लेखेका थियौँ। त्यही दिन पनि प्रधानमन्त्रीले एउटा भाषणमा तरकारी फ्याँकेको कुरा गरेका थिए, भोलिपल्ट पनि त्यो क्रम जारी रह्यो।
हामीले त्यो दिन भाइरल भएका भिडियो र फोटोमध्ये अधिकांश पुरानो समयको भएको प्रमाणसहित खोजेर हालेका थियौँ। तरकारी फ्याँकेका फोटोहरु पनि कुनै भारतमा सन् २०१७ मा खिचेको, कुनै सर्लाहीमा तीन वर्षअघि खिचेको भेटेका थियौँ। यो तथ्य जाँच पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्।
त्यो दिन हामीले यो फोटोको वास्तविक स्रोत भने पत्ता लगाउन सकेका थिएनौँ।
तर पनि हामीले मिनभवनको त्यही ठाउँ पत्ता लगाएर त्यहाँ नजिकैको कृषि विकास बैँकका गार्डलाई सोधेर त्यहाँ तरकारी नफ्याँकिएको पत्ता लगाएका थियौँ।
भोलिपल्ट मलाई ट्विटरमा गोविन्द बानियाँले २०१६ डिसेम्बरमा अस्ट्रेलियामा बस्ने एक नेपालीले यही फोटो पोस्ट गरेको स्क्रिनसट पठाए। उनको त्यही स्क्रिनसटको आधारमा खोज्दा यो फोटोको वास्तविक स्रोत पत्ता लाग्यो। यो फोटो अहिलेको होइन रहेछ, चार वर्षअघि सन् २०१६ को डिसेम्बर १० तारिखमा कबवेब म्युजिक ब्यान्डका ब्यासिस्ट निलेश जोशीले पोस्ट गरेका रहेछन्।
दुई वटा फोटो र एउटा भिडियोसँगै उनले त्यतिबेला पोस्टमा लेखेका रहेछन्- ‘के यही हो विरोधको तरिका?? तरकारी बजार पाएन भनेर..सबै तरकारी बाटोमा फ्याँकेर..अलि धेरै मिलेन जस्तो लाग्यो…आज बिहान बानेश्वरको अवस्था यस्तो थियो…’
सो पोस्टमा भएको एउटा फोटो त्यही भाइरल भएको फोटो थियो। त्यसमा मुला पनि थियो। शायद् त्यही फोटो हेरेर प्रधानमन्त्रीले पनि आफ्नो भाषणमा किसानका मुला फ्याँकिए, तरकारी फ्याँकियो भनेका थिए। शायद् त्यही फोटो हेरेर उनले एउटी बूढीआमाले डोकामा बोकेर ल्याएर बाटाका छेउमा बेच्न राखेको तरकारी बाटाभरी छरेको भन्ठानेका थिए।
भाइरल नभएको अर्को फोटो यस्तो थियो-
निलेश जोशीले एउटा भिडियो पनि त्यही पोस्टमा राखेका थिए। भिडियो यस्तो थियो-
भिडियोमा सोधिन्छ- के टिपेर घर लान लागेको कि क्या हो?
हो भने जस्तो लागेपछि भनिन्छ- हैट, त्यसो गर्न हुन्छ, गरीबहरुको सामान। बिचराहरुले कमाएको सामान त्यसरी लान हुन्छ? लाज लाग्नु पर्छ नि !
इमेलमा पत्रकार युमाश शेर्पाले अर्को जानकारी पठाए- त्यतिबेला नागरिक लगानी कोषले तरकार बजार खाली गराउन डोजर चलाएपछि व्यापारीले नयाँ बानेश्वर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वी सडकमा तरकारी फालेर विरोध जनाएका थिए।
खोज्दै जाँदा रातोपाटीमा २०७३ मंसिर २५ गते प्रकाशित एउटा समाचार भेटियो। समाचारमा तरकारी फाल्नुको कारण यसरी उल्लेख छ-
उनीहरुले शनिबार बिहान ९ बजेदेखि बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वी भागको सडक अवरुद्ध गर्दै बिक्रीका लागि ठिक्क पारेको तरकारी सडकमा फालेर विरोध गरेका हुन्।
नागरिक लगानी कोषले तरकारी बजार खाली गराउन आज डोजर ल्याँउदै गरेको भन्ने सुनेपछि तरकारी व्यापारीहरु सडकमा आएका हुन्। यतिबेला तरकारी बजार आसपासमा दर्जनौ संख्यामा प्रहरी परिचालन गरिएको छ भने व्यापारीहरु सडकमा तरकारी फाल्दै नागरिक लगानी कोषको विरोध गरिरहेका छन्।
नागरिक लगानी कोषको खाली जग्गामा २ सय हाराहारीका तरकारी व्यापारीले तरकारी व्यापार आएका थिए। कोषले आफ्नो कार्यालय भवन बनाउन जग्गा खाली गर्न यसअघि नै तरकारी व्यापारीहरुलाई आग्रह गरेको थियो । तर व्यापारीहरुले भने वैकल्पिक व्यवस्था नगरी तरकारी पसल नहटाउने भन्दै अडान लिएर तरकारी पसल सञ्चालन गर्दै आएका थिए । व्यापारीहरुले अटेर गरेपछि जग्गा खाली गराउन कोषले बल प्रयोग गरेको हो ।
रातोपाटीको युट्युबमा एउटा भिडियो पनि भेटियो त्यतिबेलाको-
त्यसमा नाराबाजी र तरकारी फ्याँक्दै गरेको देखिन्छ। संयोगले त्यतिबेला केपी ओली भर्खर प्रधानमन्त्रीको कुर्सी छाडेर प्रतिपक्षमा बसेको बेला थियो। कांग्रेससित मिलेर प्रचण्ड प्रधानमन्त्री बनेका थिए। यो चुनाव हुनुभन्दा अघिको कुरा। यो बीचमा दुई नेताको फाटेको मन सिलाएर गठबन्धनमा चुनाव लडेर पार्टी एक भएर पनि अहिले फेरि मन फाटेर केले सिउने केले टाल्ने नै भेउ नपाइसकेको स्थिति हो।
अर्थात् तरकारी फ्याँकेको यो फोटोसित अस्तिको बन्दको कुनै सम्बन्ध थिएन। तर पनि दिमाग भन्दा भावनाले काम गरेपछि धेरैले यो फोटो पोस्ट गरे, रिट्विट गरे, लाइक गरे, कमेन्ट लेखे। वास्तवमा यो सब ऊर्जा एउटा मिथ्या सूचनामा प्रतिक्रिया जनाउन खर्च भइरहेको थियो।
उदाहरणका लागि यो डाक्टर सुधांशु केसीले गरेको ट्विटमा ८२ रिट्विट, ४२९ लाइक्स छ। त्यसमा उनले निमुखालाई कुटेर, लुटेर, सम्पति नाश गरेर आन्दोलन गर्नेलाई धिक्कार छ लेखेका छन्। जबकि यो फोटो चार वर्षअघिको हो। र वास्तवमा यो तरकारी फ्याँक्ने काम कसैले कुटेर, लुटेर नभई तरकारी बजार नपाएको विरोधमा पसलेहरु आफैले फ्याँकेर गरेको विरोध रहेछ।
अर्थात् मिथ्या सूचना – मिथ्या व्याख्या – मिथ्या ऊर्जा खर्च।
माथिको रोशन खड्काको ट्विटमा पनि यही फोटोको गलत व्याख्या छ। खड्का पत्रकार हुन्। काठमाडौँपाटीका सम्पादक।
चिकित्सक र पत्रकार जस्ता विशिष्ट पेशाका बौद्धिक व्यक्तिहरु नै मिथ्या सूचनामा फँसेपछि अरु सामान्य प्रयोगकर्ताको अवस्थामा हामी सहजै अनुमान गर्न सक्छौँ।
त्यसैले सामाजिक सञ्जालमा कुनै पनि कुरा आउँदा तत्काल भावुक भइ नहाल्नुस्। एकछिन रोकिनुस्। किन हतार?
मलाई पनि पहिले सक्रिय रुपमा पत्रकारिता गरिरहँदा यस्तो लाग्थ्यो- मानौँ सारा विश्वले म काम गरेकै मिडिया हेरिरहेको छ। एक सेकेन्ड पनि ढिला गर्न हुन्न। अहिले कुनै मिडियामा आवद्ध भई काम नगर्दाको अवस्थामा पो बुझिरहेको छु- किन व्यर्थको दौड गरिरहेको होला मैले त्यतिबेला?
अहिले पो थाहा भयो त मलाई- हतारको नाममा कस्ता अपरिपक्व र अधुरा जानकारीहरु पस्कँदा रहेछौँ हामी ! अहिले मलाई हरेक समय न्युजपोर्टलहरु हेर्नु पर्ने आवश्यकता बोध नै हुँदैन। आफूलाई चाहिएको बेलामा केही समय हेर्ने, सकियो ! बरु धेरै समय सामाजिक सञ्जालमा बिताइँदो रहेछ।
हो, यही सामाजिक सञ्जालमा संसार छ- सही सूचना पनि छन्, मिथ्या पनि। यो फेरि यस्तो ठाउँ हो, जहाँ कसैले मिथ्या सूचना नियतवश फैलाउन खोज्दा तपाईँ उसको सहयोगी बन्न सक्नुहुन्छ- भलै तपाईँको नियत त्यस्तो नहोस्। तर तपाईँले अन्ततः मिथ्या सूचना फैलाइरहनुभएको हुन्छ।
त्यसैले मन र मस्तिष्कमा मन हावी हुँदा हात नचलाइहाल्नुस्। एकछिन चुप बस्नुस् र मनको कुरा सुनेर मस्तिष्कलाई काम दिनुस्। त्यो सूचना गलत पनि हुनसक्छ कि भनेर सचेत हुनुस्। आफूले सकेको खोज्नुस्। आफूले नसके अरुलाई सोध्नुस्।
गलत भनेर थाहा भइसक्यो भने पनि त्यसमुनि कमेन्ट लेख्ने, लाइक गर्ने, सेयर गर्ने, रिट्विट गर्ने काम पटक्कै नगर्नुस्। त्यसो गर्दा त्यो मिथ्या सूचना झन् फैलन सक्छ। बरु उसलाई अरु माध्यमबाट थाहा दिनुस्। स्क्रिनसट राखेर यो कुरा गलत हो भन्न पनि सकिन्छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकारले हिजको न्युज 24 मा एकनारायणजीले लिनुभएको अन्तर्वातामा कुलमान घिसिङ पुनर्नियुक्ती सम्बन्धमा तालुकदार मन्त्रीबाट क्याबिनेटमा प्रस्ताव आउंदै नआएको भनेर किटानी गरेका छन| महिनौ अघि नै तत्कालिन उर्जा मन्त्री वर्षमान पुनले उक्त प्रस्ताव मन्त्री परिषद बैठकमा राखिएको र प्रधानमन्त्री सँग पनि यो कुरा उठाएको खुलासा मेडियामा आएको थियो| तैपनी जश बटुलने कार्यमा जुटेकाहरुका जोशमा प्रधानमन्त्रीले पुनर्नियुक्ती रोके भन्ने मेडियामा छायो|
लौ न, गोएबल्स शैलीमा प्रस्तुत हुनेहरु धेरै देखिए, यो FACT CHECK गर्न पर्ने भयो|
धन्यबाद सालोक्य जि, फेसबुक भरि जता ततै येस्तै फोटो छरपस्ट थिये । मैले नि जबसम्म तपाईंको ब्लग आउँदैन तब सम्म येस्ता फोटा हेरेर भावनामा बग्नु कुनै अर्थ रहदैन भनेर चुपो लागेर बसेको थिए । तपाईंको सच्चा पत्रकारिताले गर्दा सहि समाचार पढ्न पाईन्छ । धन्यवाद ।
great blog about Nepali news