Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रचण्डलाई विराटनगरमा हैन, फेसबुकमा मात्रै हानिएको रहेछ जुत्ता

Posted on February 1, 2021February 1, 2021 by Salokya


प्रचण्डलाई विराटनगरमा जुत्ता प्रहार गरियो भन्ने खबर फेसबुकमा निकै भाइरल भएको रहेछ। मलाई त थाहा पनि थिएन। यो बारेमा फ्याक्ट चेक गर्ने अनुरोध आएपछि मात्रै यसो खोजेर हेरेको त प्रचण्डको एउटै फोटोसहित टन्नै ग्रुप र पेज अनि व्यक्तिगत फेसबुक प्रोफाइलहरुमा पनि रहेछ। सयौँ सेयर, हजारौँ रियाक्सनहरु रहेछन् ती पोस्टहरुमा।

एउटा अचम्म चाहिँ के रह्यो भने अरु बेला भए हावा समाचारहरु पनि कुनै वेबसाइटमा राखेको देखिन्थ्यो। यो प्रचण्डलाई विराटनगरमा जुत्ता प्रहारको भने कुनै पनि वेबसाइटमा समाचार थिएन। विश्वसनीय, प्रोफेसनल मिडियामा त हुने कुरै भएन। तर कुनै पनि मिडियामा नआए पनि फेसबुकमा लेखेकै भरमा यो ‘समाचार’ बनेको रहेछ र यसलाई पत्याएर सयौँ सेयर भएका रहेछन्।

प्रचण्ड-माधव नेपाल समूहको विराटनगरमा विरोध सभा शुक्रबार भएको थियो। तर प्रचण्डको फोटोसहितको जुत्ता प्रहार भनेर सोसल मिडियामा आउन थालेको भने भोलिपल्ट दिउँसो लगभग एकै समय सवा एक बजेको हाराहारीमा देखिन्छ। थुप्रै फलोअर भएका ग्रुपहरुबाट एक साथ यो खबर फैलाइएको रहेछ। जतिबेला यो फैलाइएको थियो, त्यतिबेला भने त्यो समूहले धनगढीमा विरोध सभा गर्दै थियो।

फेसबुकमा साढे १६ लाखभन्दा बढी फलोअर रहेको फेसबुक ग्रुप “Maya माया” मा यही फोटोसहित ‘प्रचण्डमाथि विराटनगरमा जुत्ता प्रहार भएको’ दावी शनिबार दिउँसो १ बजेर १३ मिनेटमा राखिएको छ। यो पोस्टलाई आइतबार दिउँसोसम्ममा ६६८ पटक सेयर गरिएको छ भने २ हजार कमेन्ट छन्। त्यसैगरी १३ हजारभन्दा बढी रियाक्सन छन्। हेर्नुस् अर्काइभ लिङ्क

फेसबुकमा “प्रचण्ड” र “जुत्ता प्रहार” शब्द राखी सर्च गर्दा यही फोटोसहित प्रशस्तै पोस्टहरु भेटिए-

एउटा फेसबुक पोस्टमा त सबै मिडिया ओली विरोधी भएकोले यो समाचारलाई लुकाइएको दावीसमेत गरिएको रहेछ। लौ न, के अचम्म। ओली समर्थक मिडिया पनि त छन् नि। नाम चलेकै अनलाइन मिडियाहरु छन्। त्यसमा पनि केही न केही त आउँथ्यो होला नि यदि यो सही भएको भए।

हुँदाहुँदा पूर्व राजपरिवार सदस्य कृतिका शाहको नाममा खोलिएको ट्विटर ह्यान्डलमा समेत यही फोटोसहितको यो हल्लालाई हालियो। त्यसो त यो ट्विटर ह्यान्डल आफै फेक हुनसक्छ। कृतिका इन्स्टाग्राम त चलाउँछिन् तर ट्विटर चलाएको पुष्टि कतै भएको छैन। तर नाम चलेका सम्पादकहरु समेत यो ह्यान्डललाई फलो गर्छन्। अझ पूर्व  राजा ज्ञानेन्द्रले चलाउने ट्विटर भन्ठानेर त कति झुक्किएका छन् कति। कति मिडियामा त ज्ञानेन्द्रले यसो भने भनेर ट्विटरमा लेखेको कुरालाई नै आधार मानेर समाचार समेत आउँछ। हामीले गएको अप्रिलमा नै फ्याक्ट चेक गरेका थियौँ। छुटाउनु भएको भए पढ्नुस्- नझुक्किनुस्, पूर्वराजा ज्ञानेन्द्रको ट्विटर र फेसबुक अकाउन्ट फेक हो

कृतिका शाह नाम राखिएको ह्यान्डलबाट जनवरी ३०, शनिबार दिउँसो फोटोसहित ‘गणतन्त्रका नाइके प्रचण्डलाई विराटनगरमा जुत्ता प्रहार गरिएको’ दावी गरिएको छ। आइतबार दिउँसोसम्म यो ट्विटमा ५३ रिट्विट, १७ कोट ट्विट र ७५३ लाइक छन्। हेर्नुस् अर्काइभ लिङ्क

‘सरकारलाई साथ र समर्थनको लागि सरकारका विकासका योजना जनतासम्म लैजानको लागि लाइक गर्नुहोस्’ लेखिएको CPN.NEPAL1 युजरनेम रहेको तर ‘युथ्स भ्वाइस’ नाम रहेको फेसबुक ग्रुपमा शनिबार दिउँसो १ बजेर २५ मिनेटमा सोही फोटो राखी ‘प्रचण्डलाई जुत्ता प्रहार’ गरिएको दावी लेखिएको छ। तर त्यसमा भने ‘विराटनगर’ नभई ‘धनगढी’ लेखिएको छ।  शनिबार प्रचण्ड-माधव नेपाल समूहको धनगढीमा सभा थियो।

शुक्रबार विराटनगरमा भएको प्रचण्ड-माधव नेपाल समूहको विरोध सभा फेसबुकका विभिन्न पेजहरुबाट लाइभ गरिएको थियो। कुनैमा पनि जुत्ता प्रहार भएको वा होहल्ला भएको देखिँदैन/सुनिँदैन।

हामीले विराटनगरमा रहेर लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकार अनन्तराज न्यौपानेलाई सोध्यौँ। उक्त सभामा अगाडिको पंक्तिमै रहेर समाचार संकलन गरेका रहेछन् न्यौपानेले। उनले भनेको अडियोसहित मैले यता टिकटकमा अपलोड गरेको छु-

@salokyaa##NepalFactCheck ##Factcheck ##Prachanda

♬ original sound Umesh Shrestha

 

अनलाइनखबर र नयाँ पत्रिकामा प्रचण्डलाई जुत्ता प्रहार गरिएको समाचार त छ, तर त्यो झण्डै एक वर्षअघि (मार्च, २०२०- फागुन २०७६) को हो। काठमाडौँको राष्ट्रिय सभागृहमा नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट जुत्ता प्रहार भएको थियो। जुत्ता प्रहार गर्ने व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको थियो।

विराटनगरबाट फेसबुक लाइभ गरिएका भिडियोहरुको पृष्ठभूमि हेर्दा सामाजिक सञ्जालमा भाइरल भएको प्रचण्डको फोटो विराटनगरकै सभाको भएको पुष्टि हुन्छ। सो फोटोका आधारमा खोज्ने क्रममा हामी विराटनगरबाट सञ्चालित अनलाइन मिडिया कोशीअनलाइनले फेसबुकमा राखेको भिडियोमा पुग्यौँ। भाइरल भएको फोटो सोही भिडियोको स्क्रिनसट रहेको प्रष्ट छ।

२२ सेकेन्डको सो भिडियोमा प्रचण्ड मञ्चबाट झर्दै गरेको देख्न सकिन्छ। यहाँ जुत्ता प्रहार भएको देखिँदैन। बरु भिडियोमा पृष्ठभूमिबाट ‘फोटो खिच्न पाउनु पर्‍यो’ भनेको सुनिन्छ।

कोशीअनलाइनले जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काको भनाईसहितको समाचार पनि राखेको छ। खड्काले समाचारमा भनेका छन्, ‘कहीँकतै प्रहार भएको छैन हल्ला मात्रै हो।’

यी सबबाट थाहा हुन्छ, प्रचण्डलाई मान्छेले हैन, फेसबुक चलाउनेले जुत्ता हानेका रहेछन्। अनि विराटनगरमा हैन फेसबुकमा मात्रै हानिएको रहेछ जुत्ता।

अहिले चर्को राजनीतिक ध्रुवीकरणका बीच आफूलाई मन नपर्ने नेताको बारेमा समाचार बनाएर वा हल्ला फैलाएर नभएको कुरा हो हो बनाउने रहेछन्। अर्को पक्षको बारेमा झुटै भए पनि हल्ला फैलाउन उद्दत हुने रहेछन्। अनि फेक न्युज फैलाउन कुनै मिडियाले समाचार लेख्न पनि नपर्दो रहेछ। बढी फलोअर भएका पेजहरुले यस्सो लेख्दिए हुने रहेछ।

त्यही भएर नेपालफ्याक्टचेकमा यो जानकारीलाई मिथ्या समाचार (फेक)को वर्गीकरण गर्दै फ्याक्ट चेक राखियो। यहाँ क्लिक गरी पढ्नुस्।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेज अथवा नेपालफ्याक्टचेकको वेबसाइट मार्फत् पठाउन सक्नुहुन्छ।)

1 thought on “प्रचण्डलाई विराटनगरमा हैन, फेसबुकमा मात्रै हानिएको रहेछ जुत्ता”

  1. कृष्ण says:
    February 1, 2021 at 12:54 am

    फोटोमा त प्रचन्ड चारपेग ब्लु लेभलले थाम्नु नसकेर कार्यकर्ताले डोहोर्याएको जस्तो पो देखिन्छ|
    जुत्ता हान्ने होइन, अब यस्ता नेताहरुलाई जुत्ताको माला लगाएर मोसो दलेर रानीपोखरी घुमाउने बेला आयो| यो अशोभायात्राका भागीरदारहरुमा सबैभन्दा पहिले पंक्तिमा चै विश्वासको मत लिन सुराल छेरेर प्रतिनिधी सभा विघटन गर्ने दुष्साहस गर्ने ब्यक्ति र उनका मतियारहरु पर्छन| अहिलेसम्म जनताको सेवा गर्छु भनेर ढाटदै आर्जन गरेका सम्पत्ति नेपाली जनतालाई बुझाउन वाध्य बनाईन पर्छ| ककसलाई धनी बनाए, जागिर नियुक्ती दिए, उनीहरुलाई पनि कार्वाही गरिन पर्छ| क्रमश सातवटा नियुक्ती पाउने ओलीका दाहिनेहात ईश्वर पोखरेलका शम्धीको पनि सम्पती आर्जन खर्च नेपाली जनताले अनुसन्धान गरेर जन अदालतमा पेश गर्नपरने दिने आउँदैछ| रेलको ठेक्का कसरी दिइयो? प्रचन्डको निवास र विलासी जीवनको खर्च कँहाबाट आउछ? माकुनेले कसरी कती खर्चले ७० भन्दा बढी बिदेश यात्रा गरे, नारायणथा दरवारको पैसा कँहा बाट आयो? नेताहरुले समाजको रुपान्तरण गर्छु भनेर राज नीतीमा लागेका होइनन? कसरी आफ्नो उपल्लो ढंगमा आर्थिक स्तरोन्नती गरे?
    वामदेवलाई चुनावमा हारेर पनि पत्नीलाई समानुपातिकबाट सांसद बनाएर पनि पुगेन|आफु पनि सांसदै बन्नपरने, मन्त्री प्रधानमन्त्री नै बन्नपरने ‘रे| अहिलेको दुई समुहको त्यान्द्रोको एउटा जड् वामदेवको स्वप्निल महत्वाकांक्षा र पदलोलुपपनले सिर्जना गरेको हो|
    ओलीलाई शिलान्यास र उदघाटनको नाउमा सरकारी खर्च र साधनको दुरुपायोग गरेर जान रोक्न पर्छ|
    मोसो र जुत्ताको मालाले मात्र होइन, वहिष्कारै गर्नपर्छ यस्तालाई|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme