Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘मिसफायर’ भएको नारायण वाग्लेको भाषण

Posted on January 26, 2021January 27, 2021 by Salokya


हिजोको नागरिक समाजको आन्दोलनमा सम्बोधन गर्दै नारायण वाग्ले। फोटो साभार : रोजन श्रेष्ठ/पहिलोपोस्ट

नारायण वाग्ले हिजोदेखि लगातार चर्चामा छन्। हिजो भएको नागरिक समाजको आन्दोलनमा भएको प्रहरी हस्तक्षेप, उनले गरेको भाषण चर्चामा थियो नै। आज बिहानदेखि उनले ‘संविधानमा धर्म निरपेक्षता लेखिएको छ। त्यसैले मन्दिर बनाउने पूजा गर्ने काम बन्द हुनुपर्छ। धर्म निरपेक्षताका लागि मन्दिरहरु भत्काउनु पर्छ। पूजापाठ बन्द गरिनु पर्छ’ लेखिएको उनको फोटोसहितको भनाई भाइरल भयो। आज त्यही विषयमा नेपालफ्याक्टचेकमा फ्याक्ट चेक गरियो। हामीले यसलाई ‘गलत’ लेखेनौँ, ‘भ्रामक’ अर्थात् misleading का रुपमा वर्गीकरण गर्‍यौँ। फ्याक्ट चेक  गर्दा कुनै कुरा तथ्य तर केही मिथ्या कुरा भएका सामग्रीहरूलाई हामी त्यस्तो वर्गीकरण गर्छौँ। यो क्रममा उनको भाषण यसो सुन्दा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी गरेको प्रहार  ‘मिस’ भएर आफैविरुद्ध लक्षित भएको देखियो।

भाइरल गरिएको फोटोमा नारायण वाग्लेलाई लेखक, अभियन्ता भन्दै उनको भनाईको रुपमा लेखिएको छ – संविधानमा धर्म निरपेक्षता लेखिएको छ। त्यसैले मन्दिर बनाउने पूजा गर्ने काम बन्द हुनुपर्छ। धर्म निरपेक्षताका लागि मन्दिरहरु भत्काउनु पर्छ। पूजापाठ बन्द गरिनु पर्छ।

योसँगै उनलाई ट्विटर र फेसबुकमा गालीगलौज प्रशस्तै भयो। उदाहरणका लागि यो ट्विटरमा

मन्दिरहरु भत्काउनु पर्छ भने यो शैतानलाई सनातन पुन्यभुमीबाट लखेटिनु पर्छ नत्र आस्थाका धरोहरमाथी यी डलरे स्यालहरुले बारम्बार प्रहार गरिरहने छ। अब त अत्ति गर्न थाले!? pic.twitter.com/Xc86jTT57w

— डा. गोथे??? (@Dr_Gothe) January 26, 2021

र यो फेसबुकमा

यो दुई वटा त उदाहरण मात्रै लिएको मैले। अरु पनि प्रशस्तै छन्।

खासमा उनले भनेका के थिए भनेर खोज्दै जाने क्रममा शिलापत्रले राखेको यो भिडियोमा पुगियो। यसको ४ मिनेट ४० सेकेन्डपछि वाग्लेले धर्म निरपेक्षताको सन्दर्भमा यस्तो बोलेको देखिन्छ-

“अब जो बालुवाटारमा बस्या छन्, यिनले देशभरी पहिला मन्दिर बनाउँछु भन्दै हिँडे, अब पूजाआरती गर्दै हिँड्दैछन्। यिनले संविधान पढेका छन् कि छैनन्? त्यो संविधानमा के लेखेको छ? त्यो संविधानमा लेखेको छ- धर्म निरपेक्षता। यिनले त खल्बल्याउन खोजेको संघीयता, धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्वसहितको लोकतन्त्र नै हो। त्यसकारण उनी मन्दिर मन्दिर जाउन्, यो माघको महिना हाम्रो शहिदहरुको महिना हो, ९७ सालका शहिदहरुलाई सम्झनलाई। नागरिक आन्दोलनले अबको कार्यक्रम शहिदहरुको कार्यक्रम गर्नेछ। शहिदहरुलाई जहाँ झुण्ड्याएको थियो, हामी त्यहीँ गएर समर्पण गर्छौँ।”

सोमबार प्रधानमन्त्री केपी शर्मा ओली पशुपति मन्दिरमा गएर सवा लाख बत्ती बाली संकल्प पूजा गरेको समाचार आएका थिए। त्यसैलाई व्यङ्ग्य गर्ने क्रममा उनले गरेको भाषण मिसफायर मात्र भएन, ‘बुमर्‍याङ’ भएर उनैप्रति लक्षित भयो।

बुमर्‍याङ भन्या थाहा छ नि तपाईँलाई?

यस्तो क्या –

एकातिर हुत्याएर फाल्ने तर घुमेर आफैतिर आइलाग्ने एक किसिमको खेलौना हुन्छ।

ठ्याक्कै त्यस्तै भयो। खासमा मन्दिर गएर पूजापाठ गर्न थालेका ओलीलाई प्रहार गर्न खोजेको, बुमर्‍याङ भएर आफैतिर पो आयो।

धर्म एकदमै संवेदनशील हुनुपर्ने विषय हो। धर्मकै कारण विश्व इतिहासमा के केसम्म भएको छ भन्ने कुरा तपाईँहरुलाई थाहा होला। उनको भाषणलाई अर्थ लगाउँदा संविधानमा धर्म निरपेक्ष लेखिएको छ, त्यही भएर प्रधानमन्त्रीले मन्दिर बनाउँछु भन्नु वा पूजाआरती गर्दै हिँड्नु गलत भनेको जस्तो बुझिन्छ।

धर्म सम्बन्धी यही संवेदनशील कुरालाई पक्रेर उनले भन्दै नभनेको कुरा समेत राखेर दुष्प्रचार गरियो। उनले ‘संविधानमा धर्म निरपेक्षता लेखिएको छ’ त भनेकै हुन्। तर ‘त्यसैले मन्दिर बनाउने पूजा गर्ने काम बन्द हुनुपर्छ। धर्म निरपेक्षताका लागि मन्दिरहरु भत्काउनु पर्छ। पूजापाठ बन्द गरिनु पर्छ’ चाहिँ भनेका थिएनन्।

कुनै प्रधानमन्त्री मन्दिर जानु, पूजा गर्नु आपत्तिको कुरा होइन। यो भाषणमा उठाउनु पर्ने इस्यु थिएन। यसलाई इस्यु बनाउने भए अरु तिर मोड्न सकिन्थ्यो। जस्तै कम्युनिस्टहरु धर्म मान्दैनन् भनेर भनिन्छ। कार्ल मार्क्सले त धर्म भनेको मान्छेका लागि अफिम हो भनेका थिए। त्यही भएर कम्युनिस्ट प्रधानमन्त्रीहरुले शपथ लिँदा ‘ईश्वरको नाममा’ शपथ लिँदैनन्। शपथ लिने क्रममा ‘ईश्वरको नाममा’ भनेर उच्चारण गरिँदा उनीहरु चुप बस्छन्, स्किप गर्छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटक प्रधानमन्त्री बन्दा विद्या भण्डारीले शपथ खुवाउँदा र अघिल्लो पटक प्रधानमन्त्री बन्दा रामवरण यादवले शपथ खुवाउँदा ‘ईश्वरको नाममा’ शपथ खाएका थिएनन्। हेर्नुस् दुवै पटकको शपथ ग्रहणको भिडियो-

@salokyaa

ईश्वर र शपथ

♬ original sound – Umesh Shrestha

शपथ खाँदा ईश्वरको नाम लिन नहुने, अहिले चाहिँ मन्दिर मन्दिर धाएर पूजापाठ गर्ने भनेर भाषण गरेको भए एउटा इस्यु हुन्थ्यो। तर यो इस्यु हाल ओलीको विपरीत ध्रुवमा रहेका प्रचण्ड, माधव नेपाल, झलनाथ खनालहरु वा उनीहरुका समर्थकहरुले उठाउन सक्दैनन्। किनभने उनीहरुले पनि शपथ ग्रहण गर्दा ईश्वर उच्चारण गरेका थिएनन्।

“जो बालुवाटारमा बस्या छन्, यिनले देशभरी पहिला मन्दिर बनाउँछु भन्दै हिँडे, अब पूजाआरती गर्दै हिँड्दैछन्। यिनले संविधान पढेका छन् कि छैनन्? त्यो संविधानमा के लेखेको छ? त्यो संविधानमा लेखेको छ- धर्म निरपेक्षता” भन्दा त धर्मनिरपेक्षता भएकोले पूजाआरती गर्दै हिँड्न नहुने भने जस्तो अर्थ आयो।

जबकि नेपालको संविधानमै ‘धर्म निरपेक्ष’ बारे स्पष्टीकरणमा यसो भनिएको छ-

हिजो तेस्रो जनआन्दोलन सुरु भएको घोषणा गरेका नारायण वाग्लेप्रति लक्षित गर्दै अहिले अर्को एउटा फोटो पनि भाइरल बनाइएको छ।

यो फोटो चाहिँ तीन वर्षअघिको रहेछ। सन् २०१८ मा उज्यालो रेडियो नेटवर्कका संस्थापक गोपाल गुरागाइँले ट्विट गरेका थिए-

सम्बन्धित फ्याक्टचेक
के नारायण वाग्लेले मन्दिर भत्काउनु पर्छ भनेका हुन् ?

1 thought on “‘मिसफायर’ भएको नारायण वाग्लेको भाषण”

  1. कर says:
    January 27, 2021 at 12:37 am

    ओली अहंकारी, आडम्बरी र सुशासन दिन असक्षम छन| भ्रष्टचार मौलाउन दिन ओलीकै हात छ|उच्चतम नेत्रित्वमा रहेका ब्यक्तिले भ्रश्टचारी पोषे पछी अरुको के कुरो रह्यो र? ओलीले धर्म मानून वा नमानून, त्यो नेपाली जनताका ला गि ठुलो चासोको बिषय होइन| तर यँहा प्रश्न के भने ओलीको कन्स्सिसटेन्सीको| त्यो पदको मान्छेले हिज त्यो भन्ने र आज जे पायो त्यही गरने अनि हावा जतातिर बहन्छ क्षण क्षणमै त्यतैतिर प्रधानमन्त्री पनि परिवर्तन गर्न थालेपछी नेपाली जनता पनि हावाकै पछि लाग्ने हो?
    प्रचन्ड, माकुने, झलनाथ पनि त्यही ड्याङका मुला हुन| बामदेव त झन हावाको वेगमा उढीरहने प्राणी हो|
    मुख्य कुरो कसैले नउठाएको के भने ओलीले आफ्नो पदको चरम दुरुपयोग गरिरहेका छन| यो काम चलाऊ सरकार हो भने यसले काम चलाऊको परिधी भित्र रहेर काम गर्नपर्छ| होइन भने प्रधानमन्त्रीका कुर्सीमा यो घडीमा बस्ने अधिकार छैन| बिपक्षी खडा गरेर उनीहरु सँग जुध्न सरकारको कुर्सीमा बस्ने हो कि सरकार चलाऊन? दाङमा सरकारी हेलिकप्टर चढेर गएर बिपक्षीलाई गाली गरने?अरु केही नपाएर रानीपोखरी बनाए भनेर उपलब्धी बताउने? तुइनको कुरा किन गर्नुभएन? भ्रष्टचार ब्याप्त छ, किन उल्लेखसम्म गर्नु हुन्न?
    तपाईंकै मन्त्रीले फोन मै करोडौ रुपैयाँको घोटाला बारे कुरा गर्दा पनि उल्टो तपाईं नै वचावमा उत्रनुहुन्छ? यती समुहको कुरा के हो? भोली त तपाईंले भिडनुपर्छ| तपाईं प्रधान मन्त्री भएर आफ्नो मान्छे र वरिपरिकालाई मात्र नियुक्ती दिने? समावेशीलाई किन पोली खाएको?
    ओलीले पहिले कुर्सी छाडन पर्छ अनि त्यसपछी देखिन्छ आसेपासेहरुको हालत| अहिले ओलीलाई चम्काउने यिनै आसेपासेहरु हुन जसलाई सरकार सन्चालन सँग कुनै मतलब छैन| कोरोना ब्यवस्थापना सँग चासो छैन जत्तिको बिपक्षीलाई तह लगाउनसँग छ|
    जोडदार आन्दोलन त त्यो बेला हुन्छ जब बिघटन सदर हुन्छ| ओली र रामबहादुरको समयमा चुनाव गराउने नियत छ छैन भन्न सकिन्न तर तोकेको समयमा चुनाव हुँदैन, एक हुँदैन, दुई हुँदैन, तीन हुँदैन|
    नारायण वाग्ले सर, उर्जा त्यो बेलालाई संचय गरेर राख्नुहोला|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme