Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सबै पखालिदिने जी न्युजको अन्तर्वार्ता

Posted on January 13, 2021January 13, 2021 by Salokya

प्रधानमन्त्री केपी शर्मा ओली अस्ति नै एउटा भाषणमा भनेका थिए- डल्लाका डल्ला साबुन खर्च भयो। ट्यांकीका ट्यांकी पानी खर्च भयो। साबुन लगायो, पखाल्यो, जस्ताको त्यस्तै। प्रचण्डप्रति लक्षित थियो यो भाषण। जति गरे पनि सफा नहुने कस्तो ज्याद्रो रैछ प्रचण्ड ! ओलीबाट केही नसिक्ने।

अहिले चर्चामा छ भारतीय जी मिडियालाई प्रधानमन्त्री ओलीले दिएको अन्तर्वार्ता। यो यति खतरा अन्तर्वार्ता भयो कि दिने र लिने दुवै मज्जाले पखालिए। सामाजिक सञ्जालमा प्रतिक्रिया हेर्दै यो स्पष्ट  हुन्छ।

अन्तर्वार्ता लिने मान्छे र मिडिया कसरी पखालिए ?

अन्तर्वार्ता लिने पत्रकार थिए- सुधीर चौधरी। केही अघिसम्म भारत सरकारले आधिकारिक रुपमा बोल्न नमिल्ने तर मिडियाबाट बोलाउनु पर्ने सबै कुरा बोलिदिने मिडिया बनेको थियो जी मिडिया नेटवर्क।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतको बारेमा बिना आधार ‘बलिउड गसिप’ जस्तो समाचार बनाएर जी न्युजकै बिहार झारखण्ड च्यानलले एउटा आपत्तिजनक सामग्री तयार पारेको थियो। त्यो पत्रकारिता थिएन, समाचार थिएन, घृणा फैलाउन बनाइएको वाहियात सामग्री थियो। त्यो सामग्री सोसल मिडियामार्फत् फैलिएपछि नेपालमा सबैले त्यसको चर्को आलोचना भयो। मल्टी सिस्टम अपरेटरहरुले केही भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गरिदिनुपर्ने स्थिति आएको थियो।

अनि नेपाल भारतका न्युज एङ्करहरुदेखि नै डरायो, सेनासम्म जानै परेन भन्ने ट्विट गर्ने पनि यिनै सुधीर थिए (पछि उनले त्यो ट्विट डिलिट गरे)

त्यति मात्र होइन, चौधरी भारतीय पत्रकारितामा बदनाम नाम हो। सन् २०१२ मा उनी जेल समेत परेका थिए। कारण- व्यापारी तथा सांसद नवीन जिन्दलको उजुरी। कोलगेट काण्डमा जिन्दल ग्रुपको नाम हटाएर समाचार बनाउनका लागि १०० करोडको विज्ञापन आफ्नो कम्पनीलाई दिनुपर्ने भन्दै धम्की दिएको उजुरी परेपछि चौधरी र उनका सहकर्मी समीर आलुवालिया तिहार जेलमा १४ दिन बस्नुपरेको थियो। भिडियो नै प्रमाणका रुपमा सार्वजनिक भएको थियो

त्यसपछि भारतीय ब्रोडकास्टर्स एसोसिएसनले चौधरीलाई संस्थाको कोषाध्यक्ष पदबाट निलम्बित गरेको थियो। तर सन् २०१८ मा आएर जिन्दल ग्रुपले अनुसन्धान गरिरहेको संस्थालाई पत्रकारहरुविरुद्धको आफ्नो उजुरी फिर्ता लिने बताएपछि उनले राहत पाएका थिए।

जी न्युजले नेपाल र नेपाली विरुद्ध त पहिलेदेखि नै घृणा फैलाइरहेकै थियो। २० वर्ष अघि इन्डियन एयरलाइन्सको अपहरण हुँदा पनि त्यसमा रहेका निर्दोष नेपाली यात्रु गजेन्द्र ताम्राकारलाई आतंकवादी भन्दै त्यतिबेला समाचार फुक्ने जी न्युज नै थियो।

नेपालमा आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तर्वार्ता लिएर, प्रसारण गरेरै जी न्युज र सुधीर चौधरी हाम्रो राष्ट्रवादबाट पखालिए शायद्। चिनियाँ राजदूतसित जोडेर अपाच्य सामग्री प्रसारण गरेको विषय पनि प्रधानमन्त्रीको राष्ट्रवादी अन्तर्वार्ताले पखालियो नै त होला।

यो त भयो अन्तर्वार्ता लिने पखालिएको कुरा। अन्तर्वार्ता दिने पनि मज्जैसँग पखालिए। सामाजिक सञ्जालमा देख्नुभएकै होला अस्तिसम्म ओलीलाई धारे हात लाउनेहरुले समेत वाहवाह गरेका। आलोचकहरु एकाएक प्रशंसक बन्न पुगेका। प्रचण्डले त खासमा क्लासमा बसेरै सिक्नुपर्ने हो ओलीसँग। ओलीको प्रचार संयन्त्रसँग। उनीहरुलाई राम्रैसँग थाहा छ- नेपालमा राष्ट्रवाद बिक्छ। भारतले नाकाबन्दी लगाएका बेला ओलीका कडा राष्ट्रवादी भाषणले नै हो चुनावमा एमाले सबैभन्दा ठूलो दल बनेको। अब चुल्हो चुल्होमा ग्यासको पाइप किन पुगेन, इलेक्ट्रिक गाडी रिङरोडमा सरर किन कुदेन, केरुङबाट काठमाडौँ हुँदै पोखरा रेल किन आएन, पानीजहाज चढ्न दिएको निम्ता कता गयो भनेर सोध्ने काम आलोचकको हो।

हिन्दी सिरियल हेरेर दङ पर्ने नेपालीहरुलाई हिन्दी भाषामै दिएको अन्तर्वार्तामा हिन्दी भाषी पत्रकार चौधरीलाई केही पाठ पढाएपछि ओलीको राष्ट्रवादी डङ्का फेरि चलिहाल्यो नि। त्यसपछि त बहालवाला प्रधानमन्त्री भएर निवासमा भारतीय गुप्तचर संस्था ‘र’का प्रमुख सामन्त गोयललाई भेटेको कुरा पनि पखालियो। संसद जिउँदै छँदै अध्यादेश ल्याएर तत्काल प्रमाणीकरण गरेर त्यही अध्यादेशको नयाँ व्यवस्था अनुसार प्रधान न्यायाधीश र प्रमुख प्रतिपक्षी नेतालाई समेत भाग दिएर संवैधानिक नियुक्ति गरेको कुरा पनि पखालियो। आफ्नै पक्षका नेताहरु सुवास नेम्वाङ र अग्नि खरेलले प्रधानमन्त्रीले संसद (प्रतिनिधि सभा) भंग गर्ने व्यवस्था संविधानमै छैन भनेर अगाडि नै भनेको भिडियो सार्वजनिक भइसक्दा पनि हुँदै नभएको प्रावधान अनुसार प्रतिनिधि सभा भंग गरेको कुरा पनि पखालिहाल्यो।

यस्ता कुराबाट ध्यान मोडिएर गयो एउटै कुरामा- ओलीले खतरै कुरा गरे भारतीय मिडियासित। आजसम्मका कुनै प्रधानमन्त्रीले यसरी कुरा गर्न सकेका थिएनन्! स्यालुट ओली बा !!

बरु एउटा कुरा- नेपालीहरु साह्रै कन्स्पिरेसी थेउरीमा विश्वास गर्छन्। हिजोसम्म ओलीकी इश्किया भन्दै चिनियाँ राजदूतसँग हाम्रा प्रधानमन्त्रीको नाम जोडेर अन्टसन्ट बकेर भिलेन बनाउने भारतीय मिडिया एक्कासी किन हिरो बनाउन काठमाडौँ उत्रिए ? किन नेपालीलाई राष्ट्रवादको डोज पिलाए? यस्तोमा चाहिँ कसैले गफ दिइसकेका छन् कि छैनन् हँ?

5 thoughts on “सबै पखालिदिने जी न्युजको अन्तर्वार्ता”

  1. Raju Acharya Sharma says:
    January 14, 2021 at 11:10 am

    सौ चुहे खाकर बिल्ली हज कर्ने को चली !!

    Reply
  2. Pingback: अन्तर्वार्तामा मुखरित राष्ट्रवाद कालापत्थरमा गएर उदाङ्गियो त यसमा ओलीको के दोष? « Mysansar
  3. गौरव says:
    January 14, 2021 at 1:23 am

    यी उपरखुट्टीवाल अपराधमा जेल परेका पत्रुकार रहेछन|हाम्रा प्रधानमन्त्रीलाई हेपनी? त्यो बाहेक अरु पत्रकार छैन?
    हाम्रा प्रधानमन्त्रीले कुमाउनी भाषा बोलेका हुन कि राष्ट्रभाषा? हिन्दीलाई राष्ट्रभाषा बनाउने दक्षिण छिमेकीको बलमा हैँसे कसरत गर्दै आएकालाई होस्टे मिल्यो|शुरुमा दुईचार लाईन हिन्दीमा डाईलग दिएर बाँकी दोभाषे मार्फत गराए के बित्दो थियो र? बालुवाटारमा बलीवुडको फिल्म धेरै हेरिन्छ केरे| नारायणहिटीमा पनि यस्तै चलन थियो| परराष्ट्र मन्त्री भोली दिल्ली गएर पनि त्यही भाषा तिखारेर बोल्ने होला| अरु त हविगत भए पो? त्यसै भएर हेपने गरेका हुन| कि त हुनपर्‍यो हिन्दिमा पारंगत| त्यो पनि नाही|अङ्रेजी छिचोल्न सक्नेलाई परराष्ट्र मन्त्री बनाउन पर्‍यो कि त दोभाषे राखे हुन्छ|

    Reply
  4. Mahesh says:
    January 13, 2021 at 10:36 pm

    यथार्थ कूरा ।

    Reply
  5. krishna says:
    January 13, 2021 at 5:00 pm

    Nice Analysis! I can only say “Daal me kuch kala hai”

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme