Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओलीलाई जिस्क्याउने दुई वर्षअघिको आफ्नै भाषण

Posted on January 6, 2021January 6, 2021 by Salokya

कुनै एक पक्षका नेता/कार्यकर्तालाई भक्कु रिस उठिरहन्छ होला अहिले। हामीलाई भने एकले अर्काको उछित्तो काढेर भाषण गरेको सुन्दा हाँसो लाग्छ। प्रधानमन्त्री केपी शर्मा ओलीको त भाषणमा बोली पिच्छे कार्यकर्ताहरु हाँसेर हुटिङ गर्छन्। भाषण हेर्नुभयो भने कमेडी नाइट्स हेर्नुपर्दैन- हाँस्दिनँ भन्दा पनि हाँसो उठ्छ। अस्ति प्रमको एउटा भाषण हेरिरहेको थिएँ क्या सिरियस भएर, उनकै मुखबाट म्याउँ सुन्ने बित्तिकै हाँसो थाम्न सकिएन। एक्लै हाँसियो। फेरि अर्को पटक माधव नेपालले रिसाएर केपी बा भनेको सुन्दा पेट दुख्ने गरी हाँसियो। देउवाले रुन पाइँदैन यिनीहरुको शासन आए भनेका थिए। त्यही भएर किन रुनु, बरु हाँस्ने नि मज्जाले। तर अहिले सोसल मिडियामा प्रधानमन्त्रीले दुई वर्षअघि गरेको भाषणको समाचार हेर्दा भने रुनु न हाँस्नु बनाएको छ।

दुई वर्षअघि अर्थात् २०७५ सालमा प्रधानमन्त्री ओलीले काठमाडौँमा आयोजित कार्यक्रममा भाषण गरेका रहेछन्- ‘दुई वर्षभित्रमा काठमाडौंलाई स्वच्छ बनाउँछु। त्यसपछि विश्वका मान्छेहरु सास फेर्नका लागि काठमाडौं आउँछन्।’

क्या गज्जब छैन त भाषण। यस्ता भाषण धेरै सुनियो।

दुई वर्षपछि २०७७ सालमा यो भाषणको समाचार सामाजिक सञ्जालका पुरातत्वविद्हरुले फेरि उत्खनन् गरिरहँदा एउटा गम्भीर समाचार पनि आइरहेको छ। खासै कहिले समाचार नबन्ने वातावरण विभागको एउटा सूचनाले मंगलबार सबैलाई सतर्क गरायो।

वायु प्रदूषणबारे बल्ल आयो सरकारी विज्ञप्ति । pic.twitter.com/B3uAUqK56W

— salokya (@salokya) January 5, 2021

विज्ञप्तिमा काठमाडौँ उपत्यकाको वायु प्रदुषण धेरै बढेकोले विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं दमखोकी जस्ता श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरुलाई सकेसम्म घर बाहिर ननिस्कन र सबै नागरिकले घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउन भनिएको थियो।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले राति जारी गरेको विज्ञप्ति अझ स्पष्ट थियो।

त्यसमा त मर्निङ वाक र घर बाहिर गएर शारीरिक व्यायाम केही दिनलाई रोक्नमात्र होइन घर बाहिर नै ननिस्कन भनिएको छ। निस्कनै पर्ने भए मास्कको प्रयोग गर्नर अत्यावश्यक नभई सवारी साधन नचलाउन पनि भनिएको छ।

छिमेकी देशहरुमा सुनिए पनि नेपालमा अहिलेसम्म यसरी वायु प्रदुषणको बारेमा सूचना नै निकालेर सतर्क गराउनु पर्ने स्थिति यसअघि आएको मलाई याद छैन। वास्तवमा यो सरकारले गत वर्ष फागुनमा पारित गरेको काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजनाअनुसारको सूचना हो। एयर क्वालिटी इन्डेक्स ३ सय भन्दा बढी भएमा विपद्को रुपमा लिने त्यसमा उल्लेख छ। अहिले जारी भएको सूचना त्यही अनुसार हो।


कार्ययोजनामा विपद्को समयमा हप्ताको दुई दिन छुट्टी दिनेदेखि स्कूल बन्द गर्ने र उपत्यकाबाहिरबाट माल गाडी आउन रोक लगाउनेसम्मका सूचना जारी हुन सक्छन्। पूरा कार्ययोजना यहाँ क्लिक गरी पढ्नुस्।

ल भो त अब, प्रधानमन्त्रीले दुई वर्षअघि दुई वर्षभित्र काठमाडौंलाई स्वच्छ बनाएर विश्वका मान्छेहरु सास फेर्नका लागि काठमाडौं आउने बनाउँछु भनेर भाषण गरेका थिए। तर अहिले विश्वका त कुरै छाडौँ, काठमाडौँकै मान्छे पनि घर बाहिर निस्केर सास फेर्न नहुने पो भएछ। यस्तो भाषण सुनेर कसरी हाँस्नु? हाँस्न सत्तापक्षले दिएन, रुन पाइँदैन भनेर विपक्षी (देउवा)ले रोकेका छन्। अब घरभित्र मुख लुकाएर बस्ने त होला नि हामीले, कि कसो?

2 thoughts on “ओलीलाई जिस्क्याउने दुई वर्षअघिको आफ्नै भाषण”

  1. Jivan Bhattarai says:
    January 7, 2021 at 11:11 pm

    क्या सहि लेख्नु भो नारद मुनी ज्यू। यो के.पी. भन्ने मानव एउटा जोकर बाहेक केहि होईन। अरिङ्गालहरु बोली पिच्छे हा हा हा गर्छन। ओलीका पछाडी कोही ७० घुस्याहा, कोही पानी टंक्की, कोहि अपहरणकारी, कोहि बन तस्करी, कोहि ओम्नी, वाईडबडी को त अब के कुरा गराई भयो र, यस्ता यस्ता मान्छे छन्। फेरि केपी आँफै १४ वर्ष ज्यानमारा केशमा जेल बसेको ज्यानमारा । अपराधीको सम्बन्ध अपराधी संगै हुन्छ, त्यसैले केपीको सोच पनि अपराधी खालकै छ। झुट माथी झुट। दुनियाको लाजसरम छैन। के बोल्दै छु मतलब छैन। यस्ता मान्छे बाट हाम्रो देश चल्नु पर्ने । ओ माई गड।

    Reply
  2. नारदमुनी says:
    January 7, 2021 at 1:31 am

    केपीले के बोले र बोल्दैछन ती सब बकवास हुन| चुनावी घोषणापत्र हेर्नुस न|प्रधानमन्त्री पदमा हुँदा, दुईतिहाईनिकट वहुमत रहदा, राष्ट्रपति, प्रदेश प्रमुख र छ वटा प्रदेशका मुख्य मन्त्री आफ्नै खल्तीमा हुँदा, न्यायपालिकाको कुरा भनम कि नभनम? अख्तियारमा तातो न छारोको वरको सिन्को पर नसारने र हुकुम कुरेर बस्ने हाकिम हुँदा हुँदै पनि प्रधानमन्त्रीले केही काम गर्न सकेनन| केपीको यस्तो तालले नेपालको राजनैतीक ईतिहासमा अर्का असक्षम र हुतिहारा शेरबहादुरलाई अर्को सरकार हस्तान्तरण गर्ने निस्चित छ|राजावादीहरु मुख आँ.. गरेर बसिरहेका छन| बिदेशीहरु धमिलो पानीमा माछा मार्न र चलखेल बढाउन लागेका छन|
    अरिंगालहरु प्रति दया जागेर आयो, गलल हाँसेका छन जब देशै रोएको छ| आफ्नै आमालाई रुवाएर हाँस्न मिल्छ त?
    ओली सन्किर्ण, महापदलोलुपी, बिभाजनकारी र काम गर्न सामर्थ्य नभएका र सानो सांघुरो घेरामा बसेर गुटबन्दी चलाऊने ब्यक्ति हुन|
    भोली ओली हटाईए पछी नागरिक आयोग गठन गरेर बालकोट सम्पत्ति, ताप्लेजुङ् बर्थडे केक बोकाई हेलिकप्टर खर्च, यती समुह, ओम्नी , सेक्युरिटी प्रिन्टिङ प्रेस, ललितानिवास, वाइडबडी, सुनकान्ड, राजदुत र अन्य पद नियुक्ती बारे छानबीन गरेर कठघरामा उभ्याईनु पर्छ| त्यसैबेला प्रचन्ड र घरबेटी कान्डको पनि छिनाफाना गरिनपर्छ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme