Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

युट्युबर र मूलधारे टेलिभिजन पत्रकारिताको लक्ष्मणरेखा मेटाउने त्यो ‘टक शो’

Posted on September 14, 2020September 20, 2020 by Salokya

“अमेरिकामा कोरोनाभाइरसबाट मरेको भनिएकाहरुमध्ये ६ % मात्रै खासमा त्यही कारणले मरेका हुन्, बाँकी ९४ प्रतिशत अर्कै कारणले मरेका हुन्”

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समेत रिट्विट गरेको ट्विट थियो यो। अहिले खोज्नुभो भने त्यो ट्विट तपाईँ देख्नुहुन्न। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) को तथ्याङ्कलाई यसरी गलत व्याख्या गर्दै गरिएको ट्विटलाई ट्विटरले अगस्त ३०, २०२० मा हटाइदियो। राष्ट्रपतिबाटै मिथ्या सूचना आए पनि त्यहाँको मूलधारे मिडियाले त्यसलाई जस्तातस्तै नराखी ‘सही कुरा यस्तो’ भनेर जानकारी दिए।

त्यसको १३ दिनपछि अस्ति शनिबार यही दावी नेपालको एउटा मूलधारको टेलिभिजन कार्यक्रमका अतिथिले मच्चिमच्ची गरिरहेका थिए। दर्शकहरुलाई उत्तेजित गर्ने गरी यस्तै मिथ्याङ्क राख्दै सोध्दै थिए- के हो यो?

चर्चित कार्यक्रम प्रस्तोता टीकाराम यात्री खुबै नयाँ तथ्य खुले जस्तो गरी आफ्नो अगाडि रहेको कागजमा ‘नोट’ टिप्दै थिए। उनको मुखबाट ‘हुम् हुम्’ बाहेक अरु निस्किरहेको थिएन। ‘जनस्वास्थ्य वैज्ञानिक’ भनेर सोही कार्यक्रममा बहसका लागि डाकिएका डा. समिरमणि दीक्षित दुई हात बाँधेर टाउकोमात्र हल्लाउँदै थिए।

अमेरिकाको मूलधारे मिडियाले उतिबेला नै ९४ प्रतिशतको मृत्युको मूल कारण पनि कोरोनाभाइरसले नै भएको हो भनेर समाचार दिइसक्दा पनि यता त्यो भ्रम ‘बिक्यो’।

त्यो कार्यक्रममा उनले अरु विभिन्न गलत दावीहरु गरे जसको फ्याक्टचेक तपाईँ यहाँ हेर्न सक्नुहुन्छ- कोरोनाभाइरसबारे एपीवान टिभीको बहसमा गरिएका पाँच भ्रामक दावी।

भ्रामक र उत्तेजक हेडलाइन र ‘थम्बनेल’ (भिडियो क्लिक गर्नुअघि देखिने फोटो) हरु राखेर सनसनी फैलाउन खप्पिस युट्युब च्यानलहरुसहित सोसल मिडियामा पहिलेदेखि नै यस्ता स्वघोषित ‘कोरोनाविद्‍’हरुले समाजमा ‘सूचना संक्रमण’ फैलाएकै थिए। मूलधारको टेलिभिजन च्यानल र यस्ता युट्युब च्यानलहरुबीच एउटा मसिनो लक्ष्मण रेखा भने कायम थियो। गत शनिबार एपी वान टेलिभिजनमा प्रसारित कार्यक्रमले त्यो रेखा पनि मेटिदियो।

जनता जान्न चाहन्छ, योहो कि यो होइन नामै कन्फ्युज भएका टिभीहरु वा भर्खर टिभीमा कार्यक्रम चलाउन थालेका अरु सामान्य प्रस्तोता जस्ता मात्रै थिएनन् टीकाराम यात्री। यिनको कार्यक्रम चाहिँ अरु भन्दा फरक हुन्छ भनेर धेरै दर्शकहरुको विश्वास जितेका प्रस्तोता थिए। विषयमा ज्ञान नभएका, खाली अन्तबाट हल्ला सुनेको भरमा कूतर्क गर्दै हल्ला फैलाइरहेका व्यक्तिलाई आफ्नो कार्यक्रममा अतिथि बनाएर मञ्च दिएकोमा आलोचना हुन थालेपछि उनले बचाउ गर्दै ट्विटरमा लेखेका थिए-

धेरै नागरिक यस्ता विचारबाट मिसगाइडेड/गाइडेड छन् भने सञ्चार माध्यमले त्यसमा फ्याक्ट चेक गर्नु कुनै अन्यथा हुँदैन होला ! हामी जनमानसको चासोबाट पन्छिन त मिल्दैन होला नि!! थप कुरा त अन्तर्वार्ताले बोल्छ !!!

— Tika Ram Yatri (@theyatriji) September 12, 2020

तर के कार्यक्रममा उनको प्रस्तुति मिसगाइडेड छन् भने फ्याक्टचेक गर्ने खालको थियो?

केही उदाहरण हेरौँ-

– राजनीतिज्ञ भनेर चिनाइएका भूपू विद्यार्थी नेताले कोरोना भाइरस रोग महामारी होइन भनेर दावी गरे। महामारी हो कि होइन भन्ने बहस विद्यार्थी नेतासित गरिन्छ कि रोगका बारेमा ज्ञान भएका विज्ञहरुसित। यस्तो बहस एमबिबिएस डाक्टर वा अन्य विषेज्ञता भएका डाक्टरसित पनि गर्ने होइन, खासमा संक्रामक रोग विशेषज्ञ, भाइरोलोजिस्ट वा एपिडिमियोलोजिस्टसित गर्नुपर्ने हो। हो, राजनीतिज्ञसित कोरोनाभाइरसको नाममा भएका भ्रष्टाचारको विषयमा कुरा गर्न सकिन्छ, स्वास्थ्य सामग्री खरिदमा भएका अनियमितता, सरकार वा प्रतिपक्षी दलको अकर्मण्यताको विषयमा बहस गर्न सकिन्छ। जसलाई भाइरस भनेको के हो, संक्रामक रोग र अरु रोगको फरक के हो भन्ने नै थाहा छैन, उसित महामारीको विषयमा बहस गर्नुको तुक के?

– उनले कार्यक्रमको सुरुमै ‘अहिले तपाईँ र हामी बोल्दै गर्दा चार करोड १० लाख मानिसहरुको मृत्यु २०२० मा भयो’ भनेर तथ्याङ्क प्रस्तुत गरे। २०१९ मा पाँच करोड ७५ लाख/८० लाखको हाराहारीमा मृत्यु भयो भन्ने पनि तथ्याङ्क दिए। अनि अबको तीन महिनामा त्यो संख्या १९ (गत वर्ष) मा पृथ्वीभरीमा मरेका मानिसहरुको संख्याभन्दा बढ्ने वाला छैन भन्ने ठोकुवा गर्दै निश्कर्ष दिए- त्यसकारण मृत्यु दर कम भएका कारण यसलाई महामारी वा प्राणघातक रोग भन्न मिल्दैन। यो तथ्याङ्क कहाँबाट लिनुभएको भनेर सामान्य क्रस क्वेसन समेत उनले गरेनन्। आफ्नो फेसबुकमा समेत ती अतिथिले स्पष्टीकरण दिने क्रममा यहाँबाट यो तथ्याङ्क लिएको भनेर भन्न सकेका छैनन्।

-इटालीको डेटाले भन्दै ९९.२ प्रतिशत मानिस कोभिड-१९ ले गर्दा मरेका छैनन् भनेर मिथ्याङ्क प्रस्तुत गर्दैगर्दा उनले ‘त्यो सरकारको आधिकारिक?’ भनेर मात्र सोधे, कहिलेको डेटा, कति जनाको डेटा केही सोधखोज गरेनन्। खासमा त्यो डेटाले भनेको के हो, त्यसलाई उनले सही रुपमा प्रस्तुत गरे कि गलत रुपमा भनेर पनि सोधखोज गरेनन्। त्यो त पुरानो डेटा भयो, त्यो भन्दा नयाँ डेटा आइसकेको छ। जुलाई १६, २०२० मा प्रकाशित रोयटर्सको यो रिपोर्टमा इटालीमा मरेका मध्ये ८९ प्रतिशतको मृत्युको सीधा कारण भाइरस भनिएको छ नि भनेर सोधेको भए पो वास्तविक टीकाराम यात्री शैली झल्कन्थ्यो।

–  डिफेन्डर हात बाँधेर बसेको र गोलकिपरले समेत पोस्ट खुला छाडेपछि के गाह्रो भो र ? अतिथि झन् हौसिए र हास्यास्पद दावीसमेत गरेर ड्याङ ड्याङ गोल ठोक्न थाले यो भन्दा नि रोचक तथ्य छ भन्दै।  उनले भने, अस्ति भर्खर (अमेरिकाको) सिडिसीको वेबसाइटमा एउटा नयाँ नाम लेखियो कोरोना भाइरसको बारेमा।

यति भन्दा यात्रीजी हुम् हुम् गर्दै थिए। उनी थप्दै गए,  ‘आजसम्म, सात महिनादेखि कोभिड-१९ प्यान्डेमिक भनेर लेखिन्थ्यो। अस्तिबाट सिडिसीको वेबसाइटमा कोरोना भाइरस डिजिज भनेर लेखियो। यो के हो ?’

यात्रीजीले हल्ला फैलाउनेलाई नै सहयोग हुने गरी पो थपे, ‘उल्ले आफ्नै मूल्याङ्कनलाई आफ्नै शब्दावलीलाई पुनरावलोकन गर्‍यो’

‘महामारीलाई उसले डिजिज भनेर लेख्यो। यो के हो ?’

यही प्रश्नसँगै नेपालमा टेलिभिजन पत्रकारिताको बचेखुचेको हैसियत मलामी गयो।

एपी वान टेलिभिजनका प्रधान सम्पादक होस्ट र अतिथिलाई यति सामान्य तथ्यसम्म पनि थाहा रहेनछ कि कोभिड-१९ को पूरा नाम ‘कोरोना भाइरस डिजिज २०१९’ हो। डिजिजलाई डिजिज लेख्दा केको के हो ?

अतिथिले विदेशका हल्ला आयात गर्दा होस नपुर्‍याई आयात गरेछन्।  पहिले कोभिड-१९ प्यान्डेमिक भनेर लेखिन्थ्यो, अहिले आउटब्रेक लेखियो भन्ने खास हल्ला थियो विदेशको। तर उनले त बिर्सेर हो कि के हो ‘डिजिज’ पो भन्न पुगे।

फ्याक्ट चेक गर्न कार्यक्रम गरेको भनेर यात्रीजीले गरेको दावी सही हुन्थ्यो भने त उनले अहिले पनि सिडिसीको वेबसाइटमा प्यान्डेमिक लेखिएको छ कि छैन हेरे हुन्थ्यो नि, हेर्न लगाए हुन्थ्यो नि।

उति नै खेरै यो के हो त भनेर सोध्न मिल्थ्यो सिडिसीको वेबसाइटमा प्यान्डेमिक लेखेको देखाएर

जोकोही पनि सिडिसीको वेबसाइटमा गएर प्यान्डेमिक लेखेको हेर्न सक्नुहुन्छ- यहाँ क्लिक गर्नुस्। 

जोकोही पनि सिडिसीको वेबसाइटमा गएर प्यान्डेमिक लेखेको हेर्न सक्नुहुन्छ- यहाँ क्लिक गर्नुस्। 

पत्रकारिताको मृत्यु, दावीकारिताको जन्म

यति सजिलो कुरामा पनि कसैले कताबाट प्रिन्ट गरेर ल्याएको एउटा कागजको भरमा भ्रम फैलाउन पाइने र त्यसलाई प्रस्तोताले अनुमति दिइरहने हो भने पत्रकारिताको मृत्यु त्यहीँनिर भयो।  दावीकारिता र अनुमानकारिता जन्मियो। जसले जे दावी गरे पनि पाइने, जसले जे अनुमान गरे पनि पाइने। तथ्यको त्यसमा कुनै भूमिका नै नहुने ! तथ्य जे भए पनि भ्रमले जित्ने।

फरक मत राख्न दिनु पर्ने भन्ने पनि तर्क उठ्ने गर्छ। हो, मिडियाले फरक मतलाई स्थान दिनै पर्छ। तर त्यसको अर्थ तथ्यगत रुपमै गलत भएका, कूतर्क गरिएका र समाजमा भ्रम छर्ने र जनस्वास्थ्यमा नै असर पार्ने खालका विचारलाई स्थान दिनु पटक्कै होइन।

गर्व गर्ने नाममा भ्याक्सिन भनेको के हो नै नबुझी फाइटोकेमेस्ट्रीका प्राध्यापकले कोरोनाभाइरसविरुद्ध भ्याक्सिन आविस्कार गरे, अझ डब्लुएचओले समेत त्यसलाई चासो दियो भनेर टेलिभिजनका सीधा कुराबाट गोरखापत्रसम्म समाचार छापेर हौवा फैलाउनु र अन्त्यमा फुस्सा हुनुले विश्वास गुम्ने मिडिया र पत्रकारहरुकै हो।

पत्रकारिताको बारेमा ज्ञानै नभएका, ज्ञान भए पनि पैसाको लोभमा भ्युजको मात्र चिन्ता भएका ‘युट्युबे’ नामले बदनाम भएकाहरुले यो पेशाको एबिसी (एक्युरेसी, ब्यालेन्स र क्रेडिबिलिटी)लाई बुझेका हुन्नन् र उनीहरुले नै यो पेशामा ठूलो चुनौति दिनहुँ थपिरहेका छन्। यो पेशाको विश्वसनीयता नै गुम्दै जाने स्थिति निम्त्याएका छन्। यस्तै बेला हो, हाम्रो भूमिका देखिनु पर्ने। यस्तै बेला हो भ्रम र तथ्य के हो छुट्याएर सही सूचना सम्प्रेषण गर्ने, चाहे गलत सूचना पाइरहेका भिडले त्यसलाई गलतै किन नठानोस्।

तर युट्युबेकै पछि पछि लागेर नेपालको मूलधारे टेलिभिजन पत्रकारिता पनि बदनाम हुने क्रममा छ। हामी नेपालीहरुलाई भारतीय न्युज च्यानलहरु हेर्दा एउटा सन्तोष हुन्थ्यो- अहो, नेपाली न्युज च्यानलहरु कम्तिमा यस्ता छैनन्। तर अब के हामी पनि त्यही बाटोमा लाग्न लागेका हौँ?

टेलिभिजनमात्र हैन, भिडभन्दा अलग मानिएका पत्रिका र अनलाइनहरुले पनि यो महामारीको समयमा हल्ला र भ्रमलाई बढाउने काम गरे। एउटा सकारात्मक खबर भने आज आयो- यस्तै अपुष्ट षड्यन्त्र सिद्धान्त भएका मिथ्या जानकारी भएका पुराना दुई लेख शिलापत्रले हटायो। यी दुई लेख सबैभन्दा पहिला शिलापत्रमा छापिएका थिए जुन निकै सेयर भयो र पछि तिनै व्यक्तिहरु भाइरल हुन पुगे। यसबाट अरुले पनि पाठ सिके राम्रो हुन्थ्यो-

काेराेनाभाइरस सम्बन्धी misinformation फैलाउने दुई वटा लेख @shilapatra ले आज retract गरेछ। जिम्मेवार पत्रकारिताका लागि @basantabasnet लाई धन्यवाद। #counterdisinfo https://t.co/Hbyg0HvOPHhttps://t.co/mwvFPp47vw pic.twitter.com/elzIWRLsgk

— salokya (@salokya) September 14, 2020

13 thoughts on “युट्युबर र मूलधारे टेलिभिजन पत्रकारिताको लक्ष्मणरेखा मेटाउने त्यो ‘टक शो’”

  1. मुकेश यादव says:
    September 18, 2020 at 8:31 am

    अघोर गुण्डा यो जागृत ले उसको बिरोध करेमा गुन्डागर्दी करेर मान्छे लाइ तर्साउन खोज्छ र यहि कारण बुद्धि जीवि हरु यो अनपढ गुण्डा संग कुरा गर्न चाह दैनन्

    यसको गुण्डागिरि को त् इतिहास नै छ मित्र हरू हेरी लिनु होला

    यस्ता को अवसान पनि यस्तै तरिका ले हुन्छ / यो पटमुर्ख अहिले बडो चम्की रहेको छ / जब जनता ले चालपाउँछन र यस माथि खनिन्छन तब यसलाई पैसा खुवाएर परिचालित गर्ने हरु ले यस लाइ बाल दिन्दैन्न अनि यो जागृत अपने आप सेलाउन्छ / आज यसको मुख बाट निकलेको सबै कुरा रिकर्ड करी लिनुस / यो टिभी मा आउने लायक छैन र यस ले समय मा सिखने छ / टाईम टाईम को कुरा छ बन्धु हेर्दै जानुस यस जगृत को के हविगत होने वाला छ

    Reply
  2. rashmi chaulagain says:
    September 18, 2020 at 8:07 am

    नांगा नाच गर्ने निर्लज्ज हरु ले आफु कति नांगा छन् भन्ने कुरा को हेक्का नै राख्दैनन्

    हाम्रा जागृत कमरेड ले कस कस को पैसा लिएका छन , कुन्नि ? जब मानिस लाइ म कति अनभिज्ञ छु भन्ने स्वविवेक हुँदैन र जब पैसा र छाडा पन ले हावी हुन्छ मान्छे, यस्तै गरि बकम्फुसे कुरा बडो आत्मविश्वाश का साथ कुर्लने गर्छन

    यहि बिरामी बाट पिडित हुनुभएको छ हाम्रा जागृत सर्वहारा / हिन भावना ले ग्रसित व्यक्ति हरु यसै गरि जिन्दगि भर झुट को खेति गरेर बाँचछन /

    कुनै सिप, कला, ज्ञान छैन, जे मुख मा आयो त्यहि बोल्यो अनि आफुलाई के के न हिरो ठान्ने यी महा पुरुष लाइ यौटै सुझाव छ – कृपया ऐना मा मुख हेर्नुस – एक , र दुइ, यदि तपाईं को मुख बाट तपाईं ले पस्किनु भएको मल कति गनौन्छ

    Reply
  3. anmol giri says:
    September 17, 2020 at 6:32 pm

    जागृत रायमाझी भित्र कति बर्ष देखि पाकेर रहेको “सुषुप्त भाँडा माझी ” को कुरुप रुप आज युत्युब बाट प्रमोशन भएर टेलिभिजन मा पुगेछ

    यस्ता पट मुर्ख लाइ टिभी को मन्च दिनु र त्यस्ता ले बोलेका आधारहीन बकम्फुसे कुरा लाइ यहाँ धेरै महत्व न दिउँ

    यस्ता “सुषुप्त भाँडा माझी ” हरु यस्तै जेपीटी बोलेर अरुको reaction प्रतिक्रिया बटुलेर रमाउने गर्छन

    जनता लाइ उत्तेजित गराएर सडक मा होहल्ला तोडफोड मचाउने ऋतिक रोशन काण्ड जस्ता कुरा यस्तै “सुषुप्त भाँडा माझी ” ले गर्छन

    Reply
  4. sisir says:
    September 16, 2020 at 10:40 pm

    Sontosh je, i also saw that program.. you should respect Sameer jee for his reaction in that program.. He was like a true gentle man not be engaged with a layman for all the information that the other guy was presenting.. Sameer je is the one whose research proved that the disease that spread in Haiti was not from Nepal Army who were there as a peace keeper.. So try to respect others..

    Reply
  5. Dhruba Kumar says:
    September 16, 2020 at 1:08 pm

    ‘योहो कि होइन नामै कन्फ्युज भएका टिभीहरु’======‘योहो’ मात्रै हो । ‘यो होइन’ होइन । यो टिभीले आफ्नो नाम दर्शकलाई भ्रममा पार्ने गरी प्रस्तुत गर्दैन, सुरुदेखि ‘योहो’ मात्रै भनिरहेको छ । ब्लगर कन्फ्युज हुनु टिभीको दोष होइन, बजारमा नयाँ आएका टिभी बारे कसैले थाहा पाएका छैन भने त्यसमा टिभीको के दोष ? तपाईंले लेख्नु पथ्र्यो, ‘योहो भन्ने नामले म कन्फ्युज भएँ ।’ तर लेख्नु भयो ‘योहो कि होइन नामै कन्फ्युज भएका टिभीहरु’ । फेरि टेलिभिजनको नाम कुनै हिमालको नामबाट, गल्लीको नामबाट, सहर वा देशको नामबाट नै हुनुपर्ने कुनै मानक पनि छैन ।

    Reply
    1. Salokya says:
      September 16, 2020 at 3:44 pm

      मलाई नामै कन्फ्युज भएकोले मैले लेखेको हुँ। टिभीको दोष कहाँ देखाएको छु भन्या मैले? किन तात्तिनु भा यसरी ? अब मैले के लेख्नुपर्छ भनेर तपाईँलाई देखाएर पास गरेर बल्ल लेख्नुपर्ने त होइन होला नि, हो भने भन्नुस् है 🙂

      Reply
  6. Hari Sedhai says:
    September 16, 2020 at 9:38 am

    दुइ कौडीको अफ़्रीकी तानाशाह को तस्वीर लाइ “प्रमाण” भनेर प्रस्तुत गर्ने यस्ता चार्तिकाले पनि देख्न पाइयो / यी नटवर लाल हरु सबै ले यस्तै गर्छन – तुक न बेतुक को फोटो देखाउने, आफ्नो फोटो खिचाउने / कुनै विज्ञान, तर्क को ज्ञान छैन खाली वाक्य को जाल बुनेर फेसबुक र युत्युब मा भ्रम को खेतु गरेर पैसा कमाउने
    भोलि यी महाशय ले भनेको कुरा यदी गलत रैछ भने के छ र ? निर्लज्ज , नाङ्गो तवर ले अझ झुट बोल्ने , फरक्क फर्केर अनि अर्को विषय समात्ने र त्यसै गरि गरिब र निमुखा जनता लाइ मुर्ख बनाएर पैसा र मजा लुट्ने
    त्यो अफ्रिकी तानाशाह को बारेमा सबैले पढ्नुस – कस्तो हो त्यो भनेर। त्यसको फोटो देखाएर प्रमाण यो हो भन्ने कुतर्क गर्ने महाशय चाहिं को को र – कहाँ कहाँ बाट प्रायोजित गरिएका छन सबैलाई थाहा नै छ

    Reply
  7. santosh says:
    September 16, 2020 at 9:01 am

    So called scientist of Nepal Dr. Sameer Mani Dixit do not have basic information on COVID-19 to defend the false acquisition . I request Dr. Sameer need study peer reviewed articles rather than the news feed that pop up in the website.

    Reply
  8. Prakash says:
    September 15, 2020 at 4:13 pm

    Umesh Ji, excellent job at busting the BS the other media try to sell as news. I have been a loyal reader of your blog since 2008 after a friend introduced me to your website and you have always maintained the highest level of journalistic integrity. In fact, it is getting even better. Your job of policing the missteps of “big” publications may lead you to getting threats, but please understand that you have the backing of thousands like me and that number will only grow bigger. Please continue to do what you are really great at. You may want to consider inviting aspiring journalism students to internship with you. That way, you will get helping hands and the satisfaction of teaching, and they will get to learn from the best out there. Your well wisher.

    Reply
  9. Sridhar Rana says:
    September 15, 2020 at 10:30 am

    Is this guy for real? What a shameless ass

    He is obviously getting paid to say this.

    Remember, this jagrit rayamajhi idiot was the one who padlocked colleges,

    “Jagrit Rayamajhi, Vice-president, ANNISU-R, said some students might have torched Rector Neupane’s vehicle for not paying attention to them regarding changing the date of Free Students Union election”

    “Jagrit Rayamajhi, Vice-president, UCPN-Maoist-aligned All Nepal National Independent Students Union-Revolutionary, said that they were forced to padlock the colleges after the concerned authorities failed to address their demand of probe”

    Maybe he is jealous that many of his fellow communists who looted the nation during the 10 years of insurgency have taken their looted money and emigrated to other countries to live in the lap of luxury, Jagrit wants to make this COVID phase his payday.

    CAreful of these pathetic opportunists

    Reply
  10. Sameer Bogati says:
    September 15, 2020 at 10:23 am

    This pathetic idiot is using Tanzania’s human rights violator, extreme right wing nut president to prove his point. He is obviously getting paid to mouth all the nonsense he is mouthing without any understanding of the situation.
    Just observe how the doctor, a professionally trained man of science is so humble and, in contrast, how this pathetic idiot is full of fake confidence like he is some kind of expert.
    What is worse than a stupid person? A stupid idiot who is also a sociopath who will say anything to make some money

    Reply
  11. Rashmi Tamang says:
    September 15, 2020 at 10:07 am

    Ram Thapa jyu, I seriously doubt that this idiot has any agenda than letting himself be used by someone for a few thousand rupees.
    Idiots like this guy are parasites. They do not have any morals or values. They will say anything, they will do anything for 10 minutes of fame and a few rupees.
    Biggest thing people like this idiot lack is basic humanity. People like him are sociopaths who only think about themselves. In addition to being a sociopath, this dumbtard has no self awareness. When he is spewing his nonsense on camera, he has no idea what an idiot he is making out of himself.

    If anyone has any additional information about this sociopath, they are encouraged to come forward and share.

    Reply
  12. Ram thapa says:
    September 15, 2020 at 7:05 am

    This person is carrier of hindu agenda and he does mission journalism [email protected] that. He has some words in his nepali vocabulary and uses it and think that he is most intellectual person in nepal. Rather than presenter if you see closely he has clear agenda and tries to establish that. Sometimes tends to teach even guest. Most of his guest are someone he knows and helping his agenda rather than discussion so maybe this time his relative was bit amateur.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme