Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तथ्याङ्क हेर्दा : तीन साता लकडाउन गरेको किन, खोलेको किन- थाहै भएन !

Posted on September 10, 2020September 10, 2020 by Salokya
दोस्रो लकडाउनका बीच काठमाडौँमा इन्द्रजात्रा परेको थियो। यस पटक यहाँ इन्द्रजात्रा मनाइएन।

काठमाडौँ उपत्यकामा तीन साता निषेधाज्ञा नाम दिइएको लकडाउनको अर्को स्वरुप आज भदौ २५ गतेदेखि खुला भयो। भदौ ३ गते एक साताको म्याद राखी सुरु भएको यो निषेधाज्ञा दुई पटक म्याद थपी २४ गते मध्यरातसम्म कायम रह्यो। काठमाडौँ उपत्यकामा टोल टोलमा कोरोना संक्रमितहरु भेटिन थालेपछि संक्रमण झन् बढ्न सक्ने भन्दै नियन्त्रणका लागि फेरि लकडाउन गरिएको तर्क सुनिएको थियो। लकडाउनको असर पर्‍यो कि परेन भनेर हेर्ने कुरा खासमा संक्रमितको तथ्याङ्क हो। तर तथ्याङ्क हेर्दा यो तीन सातामा सङ्क्रमण घटेको देखिएन।

Made with Flourish

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटमा रहेको तथ्याङ्क अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लाहरु मध्ये सबैभन्दा बढी काठमाडौँमा संक्रमित यो अवधिमा भेटिए। माथिको चार्टमा नीलो रङ्गको रेखा काठमाडौँ जिल्लामा भेटिएका संक्रमितहरुको हो। त्यसैगरी हरियो ललितपुरको र पहेँलो भक्तपुरको हो।

लकडाउन सुरु भएको दिनमा काठमाडौँमा १३४, भक्तपुरमा ८ र ललितपुरमा १७ जना संक्रमित भेटिएका थिए। त्यसपछि निरन्तर यो संख्या बढ्दै गयो। काठमाडौँ पहिलो नम्बर मै रह्यो भने दोस्रोमा कहिले भक्तपुर कहिले ललितपुर भइरह्यो।

काठमाडौँमा लकडाउन सुरु भएको पहिलो दिनको संख्याभन्दा कम २३ अगस्तमा एक दिन मात्र संक्रमित भेटिए। त्यसपछिका कुनै पनि दिनमा संक्रमितको संख्या त्यो संख्याभन्दा घटेन।  अझ आज लकडाउन खुलेको दिन अहिलेसम्मकै सबैभन्दा बढी ४९५ जना काठमाडौँमा मात्र संक्रमित भेटिए।

लकडाउन आफैमा संक्रमण नियन्त्रण गर्ने साधन होइन, योसँगै धेरै परीक्षण अनि संक्रमितको पहिचान र उनीहरुलाई छुट्टै राख्नु पर्ने काम गर्नुपर्थ्यो। तर यो अवधिमा परीक्षण पनि धेरै हुन सकेन। क्षमता यति हजारको छ भन्ने गफैमात्र भयो। प्रयोगमा नआउने क्षमताको के काम।

प्रधानमन्त्रीले ऋषि धमलासितको अन्तर्वार्तामा दैनिक २३ हजार पिसिआर परीक्षण भइरहेको दावी गरे। तर एकै दिन त्यति संख्यामा परीक्षण अहिलेसम्म भएकै छैन। लकडाउनको अवधिमा पनि दैनिक १२/१३ हजारको हाराहारीमा मात्रै परीक्षण भइरह्यो। यो देशभरको परीक्षणको संख्या हो। जबकि काठमाडौँमा समुदायमा संक्रमण फैलिसकेको कि नसकेको हेर्नलाई व्यापक परीक्षण जरुरी थियो।

५०/६० हजारको कन्ट्याक्ट ट्रेसिङ गर्न जरुरी थियो। त्यो पनि खासै भएन। न काठमाडौँका संक्रमितहरुको स्रोत पत्ता लाग्यो, न उनीहरुले सार्न सक्ने सम्भावित सबै मान्छेहरुलाई पछ्याएर परीक्षण गरियो।

फलस्वरुप लकडाउन खुलेको दिन तथ्याङ्क हेर्दा काठमाडौँका अस्पतालहरु भरिभराउ छन्। आइसोलेसनको के कुरा, आइसियुमा पनि ८६ जना र भेन्टिलेटरमा १९ जना छन्। नयाँ कोही संक्रमित भए अथवा अर्कै रोगका कारण पनि कोही सिकिस्त भए भने आइसियु र भेन्टिलेटर पाउन गाह्रो हुने स्थिति छ।

 

यो सब हेर्दा काठमाडौँमा लकडाउन किन गरियो र किन खोलियो भन्ने नै देखिएन। संक्रमितको संख्या बढ्ने क्रममै छ। लकडाउन नगर्दा किन नगरेको भनेर सरकारलाई गाली गर्ने र खोलेपछि किन खोलेको भनेर गाली गर्नुको तुक छैन। कोरोना केही होइन हावा हो भन्नेहरुले अस्पताल भरिभराउ भएको र दिनदिनै मृत्युको संख्या बढिरहेको सत्य लुकाइरहेका छन्। यो आतंकै हो भन्नेहरुले संक्रमित मध्ये एकदमै थोरै संख्या मात्र अस्पतालमा भर्ना हुनुपर्ने गरी बिरामी हुने र त्यसमध्ये थोरै संख्या आइसियु र भेन्टिलेटरमा पुग्ने तथ्य लुकाइरहेका छन्।

स्वस्थ मान्छेहरु बिना उपचार, अस्पताल नगइकनै कोरोनाबाट मुक्त हुन्छन्। तर त्यसो भन्दैमा कोरोना केही होइन हौवा मात्र हो भन्नु गल्ती हो। जब घरका बढी उमेरका सदस्य र दीर्घरोगीहरुलाई यसले छुन्छ, उनीहरु खतरामा पर्छन्। नेपालीको इम्युनिटी पावरै खतरा, उनीहरुलाई केही हुन्न, कोरोनालाई पचाइदिन्छ भन्ने कुरा दिनदिनै मर्नेको संख्या र अस्पतालमा सिकिस्त भएर पुग्नेहरुको संख्या बढेपछि गफमात्रै हो भन्ने पुष्टि भइसक्यो।

अब अहिले लकडाउन खुलेको छ। त्यसको अर्थ कोरोनाको जोखिम हराएको होइन। कोरोना सँगसँगै बाँच्नका लागि हामीले अब आफैँ पनि आफ्नो सुरक्षा गर्नुपर्छ। बाहिर निस्कँदा मास्क लगाउने, दूरी राखेर भेटघाट गर्ने, स्यानिटाइजर वा साबुन पानीले हात धुने, बाहिर जाँदा हातले बाहिरी सतह नछुने, आँखा, नाक र मुखमा हात नलाने जस्ता सतर्कताका उपाय धेरैभन्दा धेरै बाँडौँ।

यस पटकको निषेधाज्ञा खुकुलो गर्ने आदेशमा विभिन्न पसलहरु निश्चित बारमात्र खोल्न पाइने, अत्यावश्यक पसलहरु बिहान ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म खोल्न पाइने भनिएको छ। सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ।

पसलहरु निश्चित समयमा मात्र  खोल्दा झन् त्यो समयमा धेरै मान्छेको भिड हुनसक्ने सम्भावनाको तर्क पनि ठीकै देखिन्छ। दिउँसोको समयमा राखिएको बन्देज आवश्यक देखिन्न। त्यो भन्दा खुलेका पसलहरुमा मापदण्ड लागू गराउँदा राम्रो हुने हो। १६ सिटभन्दा माथिका सार्वजनिक सवारी साधन पनि खुला गरिएको छ। अब त्यसमा स्वास्थ्य मापदण्डहरु पनि कडाइका साथ पालना गराउनु पर्छ। चढ्नेहरु आफै पनि सतर्क हुनुपर्छ।

यो सब मापदण्डका अतिरिक्त परीक्षणको संख्या एकदमै बढाएर संक्रमितहरुलाई पहिचान गरी छुट्टै राख्न सक्नुपर्छ। नत्र बढी जनघनत्व भएको काठमाडौँमा यो महामारीले अझ ठूलो रुप लिनसक्छ। बलियाहरु त बाँच्लान् तर सिकिस्त हुने र ज्यान गुमाउनेहरुको थोरै प्रतिशतको संख्या हेर्दा सानो अङ्क जस्तो मात्र लाग्न सक्छ, तर आफ्नै परिवारमा जब त्यो आइपर्छ, त्यही सानो अङ्क निकै ठूलो हुनपुग्ने सत्य बिर्सनु हुन्न।

 

7 thoughts on “तथ्याङ्क हेर्दा : तीन साता लकडाउन गरेको किन, खोलेको किन- थाहै भएन !”

  1. Ishanbikram says:
    September 13, 2020 at 8:24 pm

    It is upto the author how they want to present their findings. If they want to put apples and oranges that would work too. This is a blog, not a scientific journal. Learn to respect the author’s boundaries. Normal readers understand what the blogger is trying to relay. Do not be looking London and talking Tokyo.

    Reply
  2. madan bajracharya says:
    September 12, 2020 at 2:29 pm

    देसको सरकारले आफ्नो जिम्मेवारि निभायको भय् कोरोना नियन्त्रित हुन सक्छ भन्ने उदाहरण चिनले गतिलाई सित दियको छ् बिस्वलाई। आफुलाई हरयक कुरामा चिन् भन्दा उत्कृष्ट थान्ने मुलुकहरुका करोडौ नागरिकहरु कोरोना बाट सन्क्रमित भयकोमा कोरोना रोग निको पार्ने कुनै औषधी नै नभयकोले भनाइलाई पनि बिस्वमै सबै भन्दा ठुलो जनसंख्या भयको र् कोरोना रोग उद्गम भयको चिनले कोरोनाको महामारिलाई लगभग निमित्यान्न नै पारेर कोरोना रोग निको बनाउने उपचार् नभयको भनाइइ सत्य नभयको देखाईदियको छ्। त्यस्तो चिनले नेपालले चाहेमा नेपालमा कोरोना सन्क्रमन हुन नदिन मदत् दिन तयार छु भन्दै आयको छ् तर ओलिलो-जवाहर कोटे मात्रैको राजाई हुने नेपालले चिनले दिन्छु भनेको लियनन किन होला?

    चिनमा कोरोनाको सन्क्रमन हुने देख्ना साथ त्याहा पढ्न गयकालाई चाँही हावाईजहाजनै पथायर नेपाल ल्याउने तर भारतमा कोरोना भयानक तवरले कोरोना फैलिन थालेकोले भारतमा रोजगारी गर्न गयका लाखौं नेपालीलाई चाँही नेपालको सिमाना सम्म आइपुग्दा पनि नेपाल आउन नदिने, आफ्नै सरकार टिकाउन चलाऊन अरव मलेसियामा अघोसित कमारो जस्तै बनेर दलर कमायार तक्राउने लाखौं नेपालीहरु अहिले ती मुलुकहरुमा कोरोना फैलियको र् बेरोजगार समेत् भयकोले नेपाल फर्कन प्रयास गर्दै छन तर तिनिहरुलाई फर्कन दीरहेको छैन। राज्यको कोस बाट सबै थोक निशुल्क मोजगर्नेहरु rajaaii hune उपत्यकामा बेघर बेरोजगार भयकोले भोक मेटाउन मागी खाने पनि जेल सजाय हुने अपराध हुने कानुन बनाउनेहरुको लकदाउनको कारनले बिहान मजदुरु नगरे आफु र् आफ्नो परिवार भोकै हुने भोकले मर्दै छन। यस्ता नेपालीमाराहरुको राजाई अव नहोस् भनि अव किन कसम नखाने?

    Reply
  3. Decapentaplagic Bundesatag says:
    September 11, 2020 at 9:37 pm

    Try to make sense out of my comment. I am not commenting on what is in your blog. My only concern is the way the X-axis is presented. In my opinion, you should remove 1st Sept in the in the X-axis legend, but not the data itself. You may consult with others.

    Reply
    1. Salokya says:
      September 11, 2020 at 11:38 pm

      यो मैले गर्ने होइन हजुर, flourish ले आफै present गर्ने हो data हरु सबै हालेपछि। मेरो त्यसमा केही हात हुन्न। यसो flourish चलाएर हेर्न परो हजुरले अनि त्यहाँका डिजाइनरलाई गएर गाली गर्नुपरो के बनाएको यस्तो भनेर 😛

      Reply
  4. Decapentaplagic Bundesatag says:
    September 11, 2020 at 9:26 pm

    No matter whatever you write in the blog, graph is a graph, it has to be drawn in a manner that follows and meets scientific standards and this is a basic science.

    Reply
  5. Decapentaplagic Bundesatag says:
    September 11, 2020 at 12:28 am

    The scales in X-and Y- axis of your graph should be consistient. Since you plotted the graph at the interval of one day till the end of August, it should be consistient for the month of September. This means that you should plot from 2nd September for the month of September so that X-axis interval is consistient throughout the graph. But good work.

    Reply
    1. Salokya says:
      September 11, 2020 at 12:50 am

      पहिला ब्लगमा के लेखेको छ राम्रोसँग पढ्नु न। यो दोस्रो पटक लकडाउन गरिएको तीन साताको तथ्याङ्क हो। त्यो भनेको १९ अगस्तदेखि ९ सेप्टेम्बरसम्मको। अनि इन्टरभल छैन, माउस होभर गरेर हेर्नुभो भने १९ अगस्तदेखि प्रत्येक दिनको छ लकडाउनको तीन सातासम्मको।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme