Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेरि लकडाउनमा जस्तै घरबाहिर निस्कन नपाइने आदेश, के के गर्न पाइन्न?

Posted on August 18, 2020August 19, 2020 by Salokya

अघिल्लो पटक लकडाउन हुँदा असनबाट इन्द्रचोक जाने सुनसान बाटो। 

लकडाउन औपचारिक रुपमा अन्त्य भएको घोषणा गरेको एक महिना नपुग्दै काठमाडौँ उपत्यकामा फेरि लकडाउनमा जस्तै अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन नपाइने आदेश जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेका छन्। मन्त्रिपरिषद्ले स्थानीय प्रशासनलाई दिएको अधिकार अनुसार देशभर संक्रमितको संख्या २४ घण्टामा हजार नाघेको र उपत्यकामा मात्रै पनि २ सय नाघेको दिन २४ घण्टाको समय दिएर यस्तो आदेश जारी गरेको हो। यो आदेश भदौ ३ गतेको राति १२ बजे अर्थात् (भदौ ४ सुरु हुने समय) देखि भदौ १० गतेसम्म अर्थात् एक हप्ताका लागि जारी भएको छ। 

यस्तो छ सूचना :

विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को संक्रमण काठमाडौं उपत्यका भित्र निरन्तर बढिरहेको छ । यस जिल्लामा सोको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरुरी देखिएकोले संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम हाल मिति २०७७। ०५।०३ गते राती १२:००बजेदेखि २०७७।०५।१० गते राती १२:०० बजे सम्म काठमाडौ उपत्यकाभर लागू हुने गरी देहाय बमोजिमका गतिविधिहरू गर्न/गराउन निषेध गर्ने ।

१. औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन ।

२. अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न ।

३. अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यका भित्र सवारी साधन प्रवेश गर्न ।

४. जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न ।

५. कोभिड-१९ को संक्रमणको जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा विहान ९:०० बजेदेखि १०:३० बजे र बेलुकी ३:०० बजे देखि ५:३० बजेसम्म आवागमन गर्ने समय बाहेकको समयमा सवारी सञ्चालन गर्न ।

६. सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइशोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न ।

७. कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न ।

८. परम्परागत रूपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन तथा जमघट गर्न । ९. शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, टियूशन सेन्टर, भाषा कक्षा लगाएतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न ।

१०. सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, व्यूटीपार्लर, स्पा, स्वीमिङ्गपुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न ।

११. फूटपाथ वा खुल्ला ठाउँमा र ठेलागाडा वा साईकलमा सञ्चालन हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन गर्न ।

१२. होटेल, रेष्टुरा सञ्चालन गर्न ।

तर,

१३. बैकिङ्ग सेवा लगायत विभिन्न निकायहरूले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने  व्यवस्था मिलाई सो सम्भव नभएमा न्यूनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गराउने गरी आवश्यक सेवा प्रवाह गर्नुपर्ने छ ।

१४. अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नु पर्नेछ ।

१५. हवाई उडानबाट विदेश जानेहरूको हकमा पासपोर्ट, भिषा, कन्फर्म हवाई टिकट हुनेहरू सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिनेछ ।

साथै,

१६. अत्यावश्यक उपभोग्यवस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने जम्माखोरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरू उपर कानूनबमोजिम कारबाही हुनेछ ।

१७. यस आदेशको उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानूनबमोजिम कारबाही हुनेछ ।

पहिलो पटक २०७६ चैत ११ गते सरकारले देश भर  लागू गरेको आदेश र अहिलेको आदेशमा के फरक छ त?

हेर्नुस् त्यतिबेलाको आदेश-

अहिलेको आदेश

3 thoughts on “फेरि लकडाउनमा जस्तै घरबाहिर निस्कन नपाइने आदेश, के के गर्न पाइन्न?”

  1. Pingback: तथ्याङ्क हेर्दा : तीन साता किन लकडाउन गरेको किन, खोलेको किन- थाहै भएन ! « Mysansar
  2. shyam says:
    August 19, 2020 at 6:25 am

    17 no ko buda lagu bayema karwahima parne ta nyayadhis, neta ra ucha taha ka karmachari matra hune ta ho ni ki kaso ?

    Reply
  3. निर्मल says:
    August 18, 2020 at 11:49 pm

    किन यो यो समाचार मेनस्ट्रिम न्युज भनाउदामा देखा परेन? यो त हदै भएन र भन्या?
    स्वास्थ्य मन्त्रालय, आपुर्ती महाशाखा र दात्री संस्थाहरुबाट सन्चालन भएका परियोजनाहरुले नियम मिचेर राती वास बस्ने गरेर गोष्टी गरेछ|virtual गरेको भए पनि हुन्थ्यो| पालकले नै मिचे पछी आम जनतालाई कसरी बुझाउने? आपुर्ती महाशाखाको निरन्तर निकम्मापनले कोरोना सामाग्री खरिदमा अब्यवस्था भएको छ| यो बेला होटलमा बेलुकी मदिरा सेवन गरेर गोष्टी गर्नु अपराध हो| दोषीहरुलाई कडा से कडा सजाय दिनपर्छ|सरकारी कर्मचारीहरुलाई कोरोनाको कहरमा पनि काम भन्दा खामको लोभ रहेछ| गोष्टीमा उपस्थित सरकारी कर्मचारीले भत्ता र खाने खर्च कती कुम्ल्याए त्यसबारे पनि छानबीन गरिन पर्छ|कोरोनाको महामारीको बेला यस्तो काम गर्ने हो?
    https://www.nepalihealth.com/2020/08/18/52276/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme