Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फोटो ‘चोर्दा’ भएको लफडा : ‘रातोपाटी’ले क्षमा माग्दै दियो क्षतिपूर्ति

Posted on August 5, 2020January 22, 2022 by Salokya

फोटोग्राफरलाई थाहा नै नभई फोटो कुनै मिडियाले छापिदिने, एउटा मिडियाको फोटो लोगो र फोटो क्रेडिट हटाएर अर्को मिडियाले हाल्ने गरेको धेरै उदाहरण तपाईँ-हामीले देख्दै आएका हौँ। तर आज त्यस्तो गर्नेहरु सचेत हुनुपर्ने गरी एउटा नयाँ नजिर बसेको छ।

यसको लागि पहल गरेकी हुन्- फोटो पत्रकार वर्षा शाहले। वर्षा हाल देशसञ्चार डट कममा आवद्ध छिन्। प्रेस काउन्सिलको पहलमा उजुरीकर्ता र  फोटो प्रकाशन गर्ने मिडियाबीच आज अर्थात् २०७७ साउन २१ गते सहमति भएको हो। 

भएको के थियो?

रातोपाटी डट कममा २०७७ जेठ २७ गते ‘एमसिसीको विरोधमा माइतीघरमा प्रदर्शन, प्रदर्शनकारीमाथि लाठी प्रहार’ शीर्षकको समाचार छापियो। समाचारमा तीन वटा फोटो प्रयोग गरिएका थिए। ती तीन वटै फोटो देशसञ्चारमा सोही दिन एमसिसीको विरोधमा प्रदर्शन, प्रहरीको हस्तक्षेप, प्रहरीकाे कुटाईबाट एकजना घाइते (तस्बिरसहित) शीर्षकको समाचारमा प्रयोग भएका फोटो थिए। देशसञ्चारमा राखिएका फोटोहरुमा तल्लोतर्फ बायाँ कुनामा देशसञ्चारको लोगो पनि राखिएको थियो। तर फट्याइँ हेर्नुस् त, लोगोमात्र ठ्याक्क काटेर फोटो अर्को मिडियामा प्रयोग भएको रहेछ।

कुनै पनि फोटोग्राफरका लागि आफूले खिचेको फोटो आफ्ना सन्तान सरह हुन्छ। सानोठूलो, काट्ने छाँट्ने जे गरे पनि आफ्नो सिर्जना थाहा भइहाल्छ। वर्षालाई पनि थाहा भइहाल्यो।

अनि उनले प्रेस काउन्सिलमा उजुरी गरिन्। उजुरीमा लेखिएको थियो, ‘मैले खिचेका तस्विरहरु बिना स्वीकृति, बिना जानकारी चोरी गरी आफ्नो समाचार सामग्रीमा रातोपाटी डट कमले प्रयोग गरको छ। म कार्यरत संस्थामा लोगो राखी सामाजिक सञ्जालमा पोष्ट गरेका तस्विरहरु रातोपाटीले लोगो नदेखिने गरी काटेर अनधिकृतरुपमा प्रयोग गरेको छ। यसअघि पनि दुई पटकसम्म रातोपाटीले फोटो चोरी गरेको थियो। त्यस बेला व्यक्तिगत रुपमा जानकारी गराएको भए पनि अहिले फेरि घटना दोहोरिएकाले कानुनअनुसार कारवाही तथा क्षतिपूतिको माग गर्दछु।’

उनले यो उजुरी काउन्सिलको अनलाइन उजुरी प्रणालीमार्फत् जेठ ३० गते दर्ता गराइन्। अचेल काउन्सिलले अनलाइनबाट पनि उजुरी संकलन गर्ने गरेको छ।

उजुरी आएपछि प्रेस काउन्सिलले यो सम्बन्धमा के कसरी त्यस्तो हुन गएको हो स्पष्ट खुलाई ७ दिनभित्र जवाफ पेश गर्न पत्राचार गर्‍यो।

त्यसको जवाफमा रातोपाटीले पत्र पठाउँदै भन्यो, “मूल श्रोत उद्धृत गरी पुनः प्रकाशन, प्रसारण वा वितरण गर्नुपर्ने तथा मूल श्रोतसँग सहमति लिएरमात्र प्रकाशन गर्नपर्ने आचारसंहिताका व्यवस्थाका उल्लङ्घनको कुरा हामी क्षमायाचनासहित स्वीकार गर्दछौं। साथसाथै उक्त कार्य नियोजित, नियतवश र गलत उद्देश्यका साथ गरिएको नभई समाचार पठाउने श्रोतले समाचारसंगै पठाएका फोटाहरुको आधिकारिकता र श्रोतको बारे गम्भीर जाँचपड्ताल नगर्दा असावधानीवश हाम्रोतर्फबाट मानवीय भूल हुन गएको पनि यहाँलाई विनम्रतापूर्वक जानकारी गराउँदछौँ। मूल स्रोतसँग सहमति लिएरमात्र प्रकाशन प्रसारण गर्नुपर्ने प्रावधान बारे उचित ख्याल गर्नुपर्ने सन्दर्भमा हाम्रो पक्षबाट गल्ती भएको स्वीकार्दै क्षमायाचना गर्दछौं।”

काउन्सिलले यस्तो जवाफ आएको भनी उजुरीकर्ता वर्षा शाहलाई जानकारी गरायो। तर उनले “क्षमायाचना गरिए पनि मलाई सो जवाफ चित्त नबुझेको” जवाफ फर्काइन्। उनले भनिन्, “मैले उजुरी गर्दा नै उल्लेख गरेबमोजिम पहिलो पटक नभई पटक-पटक यस्तो भएकोले मलाई चित्त नबुझेको हो। यो विषयमा काउन्सिलले सञ्चार संस्था वा त्यसको संचालकको मात्रै नभई म जस्ता श्रमजीवी पत्रकारका हितमा हुने गरी कारबाही प्रक्रिया अघि बढाउने छ भन्ने अपेक्षासहित सोहीअनसार होस् भन्ने माग छ। यो विषय केही फोटो वा क्षमाको मात्रै होइन, यो श्रमको सम्मान र इज्जत गर्ने विषयसँग जोडिएकोले मैले व्यक्तिगत मात्र नभई पत्रकारहरुको श्रमको सम्मानका लागि थप कारबाहीका लागि यो निवेदन दिएको हुँ।”

त्यसपछि काउन्सिलले आज मध्याह्न काउन्सिलका पदाधिकारी तथा कर्मचारीको रोहवरमा द्विपक्षीय छलफल गर्‍यो। रातोपाटी डट कमका कार्यकारी सम्पादक चन्द्र खाकीले एउटा प्रस्ताव ल्याए- रातोपाटीको नियम अनुसार प्रति फोटो एक हजार रुपैयाँ पारिश्रमिक दिने र प्रयोग भएको फोटोको क्रेडिट उल्लेख नगरी असावधानीवश प्रकाशन हुन गएको प्रति क्षमायाचनासहित तस्वीरको श्रोत उल्लेख गर्ने।

यो प्रस्तावमा उजुरीकर्ता पनि सहमत भएपछि द्विपक्षीय सहमतिमा हस्ताक्षर भयो।

यो तीन हजार रुपैयाँ फोटो खिच्नेले पाउने/नपाउने विषयसँग मात्र सम्बन्धित कुरा होइन। वर्षाले भने अनुसार नै यो श्रमको सम्मान र इज्जत गर्नेसँग जोडिएको विषय हो। फोटो पत्रकार अथवा सर्जकको विजय हो, सांकेतिकै भए पनि। यसले अब फोटो यसरी अर्काको फोटो लोगो हटाएर क्रप गरी चोर्न हुन्न रहेछ भन्ने पनि सबैको दिमागमा घुसे हुने हो। त्यसैगरी कसैले इमेलमा फोटो पठायो भन्दैमा त्यो कसले खिचेको, अरुको फोटो हो कि होइन भन्ने ध्यान दिएर मात्रै प्रकाशन गर्नुपर्छ भन्ने कुरा पनि दिमागमा घुसे हुने हो।

चार वर्षअघि यस्तै खालको घटना मलाई पनि भएको थियो। मैले खिचेको फोटो क्रप गरी राससले प्रयोग गरेको थियो। तर वर्षा शाहले जस्तो प्रेस काउन्सिलमा उजुरी गर्ने बुद्धि भने मेरो त्यति बेला आएन। हेर्नुस् त्यतिबेलाका दुई ब्लग

सरकारी समाचार एजेन्सी ‘रासस’ले समेत फोटो चोर्न थालेछ, मेरो फोटो यसरी चोरी भयो

कूतर्क गर्दै ‘फोटो चोरी’ बारे रासस सार्वजनिक बहसमा उत्रियो, यस्ता छन् ५ कूतर्क

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme