Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हजारको नोटबाट गलहत्याइएको हात्तीको अनौठो कथा

Posted on July 29, 2020July 29, 2020 by Salokya

हजारको नोटमा भएको हात्ती। 

‘तपाईँ जेसुकै भन्नुस्, म यो अफ्रिकन हात्ती भन्ने त मान्दै मान्दिनँ’

साथी कुञ्जनले एकोहोरो जिद्दी गरिरह्यो मसित। उसले मलाई अनलाइनखबरको एउटा लिङ्क पठाएको थियो जसको शीर्षकमा थियो, हजारको नोटबाट हट्यो अफ्रिकन हात्तीको फोटो। समाचारमा २०६९ सालमा नोट तथा सिक्का डिजाइन समितिको बैठकमा तत्कालीन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु व्यवस्थापन विभागका महानिर्देशक मेघबहादुर पाण्डेले अहिले प्रचलनमा रहेको हजार रुपैयाँको नोटमा अफ्रिकी हात्ती प्रयोग भएको दावी गरेको उल्लेख थियो। त्यतिबेला नै यो हात्तीलाई हटाएर नेपालमा जन्मिएको हात्ती प्रयोग गर्ने निर्णय भएको थियो।

‘मैले धेरै हात्तीका फोटोहरु, डकुमेन्ट्रीहरु हेरेको छु। हजारको नोटमा भएको हात्ती अफ्रिकी होइन, एसियाली नै हो,’ कुञ्जन आत्मविश्वासी सुनिन्थे। तर उनलाई लाग्दैमा हुने कुरा भएन। विज्ञहरुको विचार नसुनी के निश्कर्षमा पुग्नु!

अफ्रिकी हात्ती

वन्यजन्तुसम्बन्धी केही कुरा आयो कि मैले सबैभन्दा पहिले सम्झिने व्यक्ति ‘प्रकृतिका साथीहरु’ संस्थाका राजु आचार्य हुन्। एक पटक यही संस्थाले अमलटारीमा एक हप्ताभन्दा लामो समय ‘थुनेर’ हामीलाई वन्यजन्तु चिनाएको थियो।

व्यस्त भए पनि उनले यस विषयमा धेरैसँग कुरा गरे, मलाई पनि केही विज्ञहरुको नम्बर दिए। सबैभन्दा पहिले मैले चितवनमा हात्तीहरुसँगै हुर्किएको बताउने वन्यजन्तु पथप्रदर्शक सोम जिसीसित कुरा गरेँ।

उनले यो अफ्रिकी हात्ती नभई एसियाली नै भएको ठोकुवा गरे। एसियाली नै हो भन्नुको आधार के त?

उनले अफ्रिकी र एसियाली हात्तीका प्रमुख भिन्नता चार वटा हुने बताए- पहिलो, टाउको। अफ्रिकी हात्तीको टाउको गोलो हुन्छ भने एसियालीको डबल डोम हुन्छ। हजारको नोटमा भएको हात्तीको टाउकोमा डबल डोम छ।

दोस्रो, ढाड। अफ्रिकी हात्तीको कन्केभ ढाड हुन्छ। अर्थात् ढाड तल गएको हुन्छ। एसियालीको माथि उठेको हुन्छ। हजारको नोटको फोटोमा त्यसरी ढाड तल गएको देखिन्न।

तेस्रो, कान। नोटमा भएको हात्तीको कानको माथिल्लो रिम/एज अगाडितिर फर्केको छ। अफ्रिकी हात्तीहरुको त्यस्तो कान पछाडि फर्केको हुन्छ।

चौथो, खुट्टा। एसियाली हात्तीको खुट्टाको नङ अगाडि ५ वटा, पछाडि ४ वटा हुन्छ। अफ्रिकीको भने अगाडि ४, पछाडि ४ हुन्छ। तर नोटमा हात्तीको खुट्टा नदेखिएकोले यसले कुनै अर्थ राखेन।

सोमका अनुसार सुँड भने अलि  मुजा मुजा परेको देखिएको छ, जुन अफ्रिकी हात्तीमा हुन्छ।

एसियाली हात्ती र अफ्रिकी हात्तीको फरक

त्यसपछि मैले नरेन्द्रमान बाबु प्रधानसित कुरा गरेँ। उनले हात्ती विषयमा नै पिएचडी गरेका छन्। उनले नोटको हात्ती बारे आफूले धेरै वर्षदेखि धेरै मिडियामा आफ्नो कुरा राखिसकेको बताए।

‘त्यो हात्ती अफ्रिकी हैन, एसियाली नै हो’, उनको कारण उस्तै दिए- टाउको, ढाड र कान। तर अलि अन्यौल बनाउने किसिमको भएको उनले स्वीकारे। पेन्टिङबाट यो हात्ती बनाइएको हुनाले ठ्याक्कै एसियाली हात्तीको विशेषतासँग नमिलेको हुनसक्ने उनको अनुमान छ।

त्यसपछि मेरो कुरा भयो अर्का विज्ञ अशोक रामसित। उनी पर्सामा सहायक वार्डेन छन् र हात्तीमा लामो समय काम गरेको अनुभव छ। उनलाई पनि हजारको नोटको हात्ती अफ्रिकी जस्तो नभई एसियाली नै जस्तो लाग्छ। ठूलो कान, उठेको ढाड र टाउकोले उनलाई यो हात्ती एसियाली भएको निश्कर्षमा पुर्‍याउँछ।

दाह्रा चाहिँ अलि नमिले जस्तो लाग्छ उनलाई। तर उनलाई पनि नरेन्द्रमानलाई जस्तै हात्तीको फोटो नभई पेन्टिङबाट चित्र कोरेको जस्तो लाग्छ।

त्यसपछि मेरो कुरा भयो प्राणीशास्त्री एवं प्राध्यापक करण शाहसित। उनले त हजारको नोटलाई म्याग्निफाइङ ग्लासबाट हेरी-हेरी निश्कर्ष सुनाए, ‘त्यो हात्ती अफ्रिकनै हो भनेर त म भन्दिनँ, तर अफ्रिकी जस्तो बढी देखिन्छ।’

यसो भन्नुको आधार के त ?

उनका अनुसार हात्तीको चित्रमा टाउकोको डोम क्लियर छैन। कानको पोजिसन र सेप पनि अफ्रिकीसँग मिल्छ। सुँड पनि अफ्रिकीसित मिल्छ। हात्ती जायन्ट खालको देखिन्छ। ओभरअल सेप नै अफ्रिकी जस्तो लागेको छ उनलाई।

नयाँ नोटमा नयाँ हात्ती, कतिको उचित?

सोम जिसीलाई नयाँ नोट भनेर सार्वजनिक भएको फोटो पटक्कै चित्त बुझेको छैन। ‘पुरानोलाई हटाएर नयाँ राख्दा पुरानोभन्दा राम्रो हुनुपर्‍यो नि’, उनले अनलाइनखबरमा प्रकाशित फोटोको आधारमा भने, ‘अहिलेको नोट त त्यो भन्दा नराम्रो देखिएको छ।’

चितवनमै जन्मिएको जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र नोटमा राखिएको भनिए पनि फोटोमा जुम्ल्याहा हात्ती उस्तै आकार प्रकारको हुनुपर्नेमा नभएको उनको गुनासो छ।

माथिको मिडियामा आएको नोट, तलको बजारमा आएको नयाँ नोट। 

नरेन्द्रमान प्रधानलाई पनि वर्षै पिच्छे नोटको हात्तीमा हुने विवाद चित्त बुझिराखेको छैन। विवादमा परेको हात्तीको चित्र नै फेरिदिनु सबैभन्दा सजिलो उपाय हुने उनले सुझाए। हात्ती फेरिएको नोट आयो भन्ने समाचार सुने पनि नयाँ नोट आफूले नदेखेको उनले बताए।

करण सरको भने फरक राय छ। पुराना नोटका वन्यजन्तुहरुमा नेपाली अपनत्व हुने केही कुरा थिएन। नेपालकै हो वा नेपालमै पाइन्छ भन्ने केही नभएको कारण नोटहरुमा वन्यजन्तु फेरिएको उनले बताए।

अहिले नोटहरुमा राखिएका हिमचितुवा, चौरी, गैँडा नेपाल भूमिको भन्न सकिने गरी अपनत्व हुने हिसाबले राखिएको तर्क उनको छ।

‘अहिले हजारको नोटमा भएका जुम्ल्याहा हात्ती (राम र लक्ष्मण) पनि यहीँ जन्मिएको भन्न पाउने भएका छौँ हामीले’, उनी बताउँछन्।

उनको भनाई ठीक लाग्यो मलाई पनि। हात्ती एसियाली वा अफ्रिकी भन्ने विवाद गरिरहनु भन्दा नेपाली भूमिमै जन्मिएको हात्तीलाई राखेर नेपालको अपनत्व कायम गर्न सकिने भयो। फेरि नोट मिडियामा पहिले आए जस्तो नराम्रो पनि रहेनछ।

अब अलिकति  बोलीमा भने परिवर्तन गर्नुपर्‍यो हामीले, दुइटा हात्ती भन्नुको अर्थ दुई हजार रुपैयाँ होइन, एक हजार भनेर बुझ्ने दिन आयो।

तर सन् ७० को दशकदेखि बजारमा रहेको नोटमा रहेको त्यो बिचरा हात्ती आफू के हो भन्ने थाहै नपाई गलहत्याइनुु पर्‍यो। कतिले अफ्रिकी भने, कतिले एसियाली। चित्र कसले कोरेको हो भन्ने समेत थाहा भएन। नयाँ नोटमा नरहे पनि पुराना प्रचलनमा रहेका नोट एकै पटक बजारबाट हट्ने भने छैन। केही समय यो हात्ती अझै हामीमाझ रहिरहनेछ।

तपाईँलाई के लाग्छ नयाँ नोटमा राखिएको हात्ती ठीक हो कि बेठिक? आफ्नो विचार तल कमेन्टमा राख्न सक्नुहुन्छ वा पोलमा भोट गर्न सक्नुहुन्छ।

 

अफ्रिकी देश कंगोको हजारको नोटमा अफ्रिकी हात्ती

जिम्बाब्वेको हजारको नोटमा अफ्रिकी हात्ती

5 thoughts on “हजारको नोटबाट गलहत्याइएको हात्तीको अनौठो कथा”

  1. सुवस says:
    August 1, 2020 at 4:46 am

    पहिलो त हात्ती एउटा प्राणी हो अफ्रिकी र एशियाली वा मेरो तेरो भन्नू गलत । दोस्रो दुईवटा राख्नु गलत । तेस्रो फोटो नै अस्प्रस्ट छ।चौथो कुनै नोट मा दुई जनाबर कुनैमा एक किन? नोट को क्वालिटी छैन त्यो पनि गलत ।

    Reply
  2. पवन भण्डारी says:
    July 30, 2020 at 7:53 am

    यस भाग्यमानी हात्तीको तस्वीर खिच्ने अबसर DNPWC को तर्फबाट मलाई जुरेको थियो ।

    Reply
  3. Raju Acharya Sharma says:
    July 29, 2020 at 10:48 am

    जानकारीको लागि उमेश सरलाई धेरै धेरै धन्यवाद

    Reply
  4. madan bajracharya says:
    July 29, 2020 at 8:28 am

    नोतमा हातिनै तस्विर किन त्यो पनि चित्रकारले लेखेको? हातिकै तस्विर राख्ने बा राख्नै पर्ने हो भने नेपालकाइ कुनै जिउन्दो र् नामा भयको हातिको तस्विर राखे राम्रो हुने थियो।

    नोतले मात्रा नगद जनाउन्दैन; देसको स्वतन्त्रता र् देसको मौलिकता बिशेषता पनि चिन्हाउन्छ बुझाउन्छ बिदेशमा पनि। अझ नट छाप्ने को सुद्धी नहरायको भय नेपालको नोतले नेपालको ईतिहास भुगोल पनि चिन्हाउन्छ। त् अहिले छापेको नोतमा हातिको तस्विर राख्नुको सत्ता भारतले कब्ज्यायको लिपियाधुरा कालापानि समेतेको नेपालको नक्सानै राखे नेपालको भुमी कब्ज्याउने भारतको लङौती विश्वाको सामु खुस्कने थियो। यती गर्न हुति नभय krisha समेत थर्किने krisha लेनै हत्या गरियको नेपालको पहिलो किराती राजा यलम्बर जस्ले अहिले कथामान्दु उपत्यकामा शहर पनि बसायको थियो; तेसैको तस्विर राखे पनि हुन्थ्यो नेपालको नयाँ नोतमा। यलम्बरले बसायको शहर भयरै नेवारहरुले अहिले पनि काठमाडौंलाई यँ भन्छ ललितपुरलाई यल भन्छ।
    उहिले नेपाल चिन्हाउने यलम्बरको तस्विर नोतमा राख्न नचाहे अहिलेको नेपाल चिन्हाउने बहादुर शाहको तस्विर त् राख्न सक्थ्यो। तर इतिहासमा उल्लेख हुने गौरव गर्न लायकको कुनै काम गर्न नसकेकाहरुले नेपालको नोतमा नेपालको ईतिहासको गौरव बनेकालाई सम्झाउने ऐतिहासिक तस्विर राख्नुको सत्ता पसुको तस्विर राख्छन। कति कुन्थ्तित कति हिन बोध भयका हाम्रा नोत छपाउनेहरु?

    Reply
  5. Annomous says:
    July 29, 2020 at 2:01 am

    हात्ति बरु ५ वटा राखौ तर ईन्डिएन हजार र नेपालि हजारको भ्यालु बराबरि भयो भने त्यसको अर्थ रहला हैन भने त्यसको कुनै अर्थ रहन्न । त्यो त बकबास बहस भन्दा अरु हुन्न आखिर सामान किन्दा नया ले बडि आउने होईन ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme