Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कान्तिपुरमा छापिँदै नछापिएको ‘फेक न्युज’ बनाई महिलाको ‘चरित्र हत्या’

Posted on July 28, 2020July 28, 2020 by Salokya


सोसल मिडियामा अहिले ‘कान्तिपुर’ दैनिकको फ्रन्टपेजको दावी गरिएको एउटा स्क्रिनसट भाइरल भएको छ। ६ लाखभन्दा बढीले फलो गर्ने हाल अमेरिकामा रहेकी तिर्सना बुढाथोकीको फेसबुक पेजमा राखिएको पोस्ट र उनैले बनाएको टिकटकबाट यो विषय भाइरल भएको हो। ती पोस्टमा जापानमा रहेकी फेसबुकमा झण्डै डेढ लाख फलोअर भएकी ज्वाला संग्रौलाको विषयमा आपत्तिजनक शीर्षकसहितको समाचार देखिन्छ। के हो यो समाचारको सत्य? हामीले फ्याक्टचेक गरेका छौँ।

तिर्सना बुढाथोकीले ‘अस्ति मैले फ्ल्यागले छोप्यो भन्ने नानीको नि देखियो चुरिफुरी’ लेख्दै सोमबार बिहान दुई वटा पत्रिकाको फ्रन्टपेज पोस्ट गरेकी छिन्। यो पोस्टमा मंगलबार बिहानसम्म ३१४ कमेन्ट  २२ सेयर छन्। यसमा राखिएका दुई पत्रिकामध्ये एउटा भारतको सिलगढीबाट प्रकाशित हुने ‘हिमालय दर्पण’ हो भने अर्को नेपालबाट प्रकाशित हुने ‘कान्तिपुर’ दैनिक हो। उनको स्टायटसको अर्काइभ लिङ्क।  पहिलो फोटोको अर्काइभ लिङ्क। दोस्रो फोटोको अर्काइभ लिङ्क।

तिर्सनाले टिकटकमामा अपलोड गरेको कान्तिपुरको स्क्रिनसट राखिएको भिडियोमा पनि २८ जुलाई, मंगलबार बिहानसम्म १ लाख २० हजारभन्दा बढी भ्युज पुगेको छ।

 

अब पालैपालो यी दुई पत्रिकामा छापिएका विषय सक्कली हुन् कि नक्कली, तथ्य जाँच गरौँ।

कान्तिपुरको यो फ्रन्ट पेजलाई गुगलमा रिभर्स इमेज सर्च गर्दा हामीले अनलाइनखबरको ‘पत्रपत्रिकाबाट’ स्तम्भबाट यो समाचार फेला पार्‍यौँ, जसमा २०७६ पुस २ गते प्रकाशित विभिन्न पत्रपत्रिकाहरुको फ्रन्टपेजको फोटो राखिएको छ। त्यसैमा हामीले कान्तिपुरको फ्रन्टपेज पनि भेटायौँ।

यसमा मुसर्रफलाई मृत्युदण्डको फैसला, छोरीलाई बैँक खाता, सगरमाथा तारा, लालिगुँरास ग्रह शीर्षकका समाचार हुबहु छन् तर दायाँ छेउको मुख्य समाचार ‘एमसीसी नेपालकै पहलमा’ शीर्षकको समाचार भने हटाइएको छ। सो शीर्षकको ठाउँमा जुन हेडलाइन राखिएको छ, त्यसको फन्टको आकारप्रकार पनि सँगैका अरु हेडलाइनहरुसित मिल्दैन। सो समाचारको बीचमा रहेको फोटो र हाइलाइटलाई हटाई त्यसमा ज्वाला संग्रौलाको फोटो राखिएको छ।

त्यसैगरी रिभर्स इमेज सर्च गर्ने क्रममै नेपाल एस्ट्रोनोमिक सोसाइटी (नासो)को ट्विटरबाट गरिएको ट्विट पनि फेला पर्‍यो, जसमा कान्तिपुरको यही दिनको फ्रन्टपेज राखिएको छ।

Thank you The The Himalayan Times and Kantipur Daily for giving space in their front pages for the result of IAU100 NameExoWorlds Campaign held in Nepal! #Astronomy #Outreach #Nepal #NASONepal #NOCNepal #IAU100 #IAUOutreach #NameExoWorlds pic.twitter.com/nWSflj3iid

— NASO (@NASONepal) December 18, 2019

कान्तिपुरकै २०१९ डिसेम्बर १८ को इपेपरमा हेर्दा पनि यही फ्रन्टपेज देखिन्छ।

त्यसैगरी तिर्सना बुढाथोकीले अपलोड गरेको अर्को पत्रिका हिमालय दर्पणको फ्रन्टपेजको फोटोलाई गुगलमा रिभर्स इमेज सर्च गर्दा इपेपर्सहबको यो पेजमा हामी पुग्यौँ। यसमा भएको हिमालय दर्पणको फोटो र उनले अपलोड गरेको समाचारको एउटा मुख्य हेडलाइन बाहेक अरु सबै साजसज्जा हुबहु छ।

निश्कर्ष : तिर्सना बुढाथोकी लगायतले सामाजिक सञ्जालमा सेयर गरेका हिमालय दर्पण र कान्तिपुर दैनिकका फ्रन्टपेजका फोटोहरु मिथ्या हुन्। ती पत्रिकाको फोटोलाई सम्पादन गरेर ज्वाला संग्रौलाको चरित्र हत्या हुने गरेर आपत्तिजनक शीर्षक बनाइएको हो।

त्यसो त यी पत्रिकाका फोटो राम्रोसँग हेर्ने हो भने अरु शीर्षकका अक्षर (फन्ट) को आकारप्रकार र त्यो शीर्षकको आकार प्रकार फरक प्रष्ट देखिन्छ। तर धेरैले यो कुरा बुझेका हुन्नन्। फेसबुकमा आएका कुरा सबै सही हुन्छ भन्ने धारणा पनि धेरैको पाइन्छ, त्यसमा पनि यसमा त पत्रिकामै छापिएको झैँ देखाइएको छ। अरु त के, स्वयं ज्वाला संग्रौलालाई नै कसैले गलत कुरा सुनाएर साँच्चै नै यो समाचार कान्तिपुरमा छापिएको हो कि भन्ने भएको थियो। त्यही भएर उनले कान्तिपुरमा फोन गरेर यो बारे जानकारी दिएकी थिइन्। कान्तिपुरले पनि सोसल मिडिया प्रयोगकर्ता माझ आफ्नो गलत रुपमा गरिएको प्रचारलाई गम्भीर रुपमा लिएको र मुद्दा हाल्ने तयारी गरेको भनेर आफूलाई बताएको ज्वालाले बताइन्। कान्तिपुर प्रशासनले सोमबार साइबर ब्युरोमा यस विषयमा औपचारिक रुपमा उजुरीसमेत दर्ता गरिसकेको छ।

यो प्रसंगले फेसबुकमा कसैले कुनै कुरा राख्दैमा त्यसलाई विश्वास गरिहाल्ने र त्यसका आधारमा विचार बनाइहाल्नु गलत हुन्छ भन्ने शिक्षा सबैले लिनुपर्छ। त्यसैगरी यसले चरित्र हत्याको एउटा सरल उपाय तर त्यसको सामाना गर्न हुने जटिल परिस्थिति पनि देखाउँछ। विदेशमा बसेका एक नेपालीले विदेशमै बसेका अर्का नेपालीको विरुद्धमा यस्तो कुप्रचार गरेको छ र त्यस क्रममा नेपालको एक मूलधारको मिडियालाई समेत बदनाम गर्ने प्रयास गरेको छ।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेज अथवा नेपालफ्याक्टचेकको वेबसाइट मार्फत् पठाउन सक्नुहुन्छ। हाम्रो भाइबर ग्रुपमा जोडिएर पनि तपाईँ यस्ता लिङ्क पठाउन सक्नुहुन्छ। भाइबर ग्रुपमा जोडिन यहाँ क्लिक गर्नुस्। तथ्य जाँच सामाग्री माइसंसार र नेपालफ्याक्टचेकमा प्रकाशन हुन्छ।)

2 thoughts on “कान्तिपुरमा छापिँदै नछापिएको ‘फेक न्युज’ बनाई महिलाको ‘चरित्र हत्या’”

  1. Rishikesh Adhikari says:
    July 28, 2020 at 6:38 pm

    Madan Bajracharya Jyu, Namaskar! I do not ever want to miss your comment. You are one of the realistic news/political/social analyst.

    Reply
  2. madan bajracharya says:
    July 28, 2020 at 6:36 am

    अमेरिकामा बसेकिले अमेरिकाको सरकारले उपलब्ध गरेको इन्तरनेतको दुरुपायोग गरेर कसैको चरित्र हत्या गरेकोमा सम्भन्दित ब्यक्तिले अमेरिकाको सम्भन्दित स्तेतको प्रहरिमा अनलाइन बाट उजुरी गरे तेस्को बज्ये को ब्याहा देख्छ। उजुरी देउन।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme