दुई वर्षअघि आजकै दिन (साउन ११ गते) कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको लाश उखुबारीमा फेला परेको थियो। त्यो दिनदेखि हत्यारा खोज्न प्रहरीले थालेको अनुसन्धान अहिलेसम्म सफल हुन सकेको छैन। सुरुमा स्थानीय प्रहरीले देखाएको उदासिनता र लापरवाही अनि तत्कालीन प्रहरी नेतृत्वको असक्षमता मात्र होइन, हल्ला र ‘रे’को आधारमा सामाजिक सञ्जालमा फैलिएका अफवाह र त्यसैका आधारमा मिडियामा आएका समाचारहरुले पनि यो घटनालाई गिजोल्नु गिजोल्यो। दुई वर्षपछि परिस्थिति अलि फरक भएको छ। के-के परिवर्तन भएका छन् त यो बीचमा?
१) बम दिदीबहिनीप्रतिको दृष्टिकोण
घटनालगत्तै बम दिदीबहिनीको संलग्नताका विषयमा हल्ला फैलिए। तर त्यसको आधार भने थिएन। हल्लैका आधारमा नेपाल मानवअधिकार संगठन ह्युरोनको स्थलगत प्रतिवेदनमा दिदी बमलाई ओपेरा होटलको डान्सबारमा काम गर्ने उल्लेख गरियो।
उनको छिमेकीको घरमा ब्याउँदै नब्याएको भैँसीलाई ब्याएको बनाएर मान्छे जम्मा भएको र बमको घरमा लाश/शव भन्ने सुनेको, बिहान ४ बजे त्यो घरमा ट्याम्पु/टुकटुक आएको जस्ता हल्ला प्रतिवेदनमा उल्लेख थियो।
दुई वर्षपछि अहिले ह्युरोनको नेतृत्व परिवर्तन भइसकेको छ। अहिले अध्यक्षमा महामुनीश्वर आचार्य छन् जसले यो प्रतिवेदन त्यतिबेला पत्रकार सम्मेलनमा वाचन गरेका थिए।
दिदी बमको बारेमा सत्य बाहिर आएपछि ह्युरोनले अनलाइनमा राखिएको प्रतिवेदन सुटुक्क सच्याएर उनी ओपेरा होटलमा कार्यरत लेखिएको ठाउँमा आवतजावत गर्ने बनाइएको थियो।
बम दिदीबहिनीहरुको घरमा नेता, आर्मी, पुलिस लगायत भिआइपीहरुको आवतजावत हुन्थ्यो। त्यो घरमा दिदीबहिनीमात्र बस्थे। उनीहरुको चरित्र ठीक छैन भन्दै सामाजिक सञ्जालमा बिना आधार र प्रमाण उनीहरुलाई तथानाम गाली गरियो।
आफ्नो चरित्र हत्या गरेको भन्दै दिदी बमले ह्युरोनका तत्कालीन अध्यक्ष इन्द्र अर्याल, कञ्चनपुरका पत्रकार खेम भण्डारी र भक्ति फूलाराविरुद्ध हुँदै नभएका कुराहरु सिलसिलावद्ध रुपमा प्रकाशित प्रसारित गरेर आफूहरुको बेइज्जती गरेको, ब्यक्तिगत गोपनियता, मान प्रतिष्ठा र मानवीय मर्यादाको अधिकारको समेत हनन् गरेको भन्दै कञ्चनपुर जिल्ला अदालतमा दायर गरेको मुद्दा अझै चल्दैछ।
२) अम्बाको रुख
अम्बाको रुखमा निर्मलालाई झुण्ड्याएर मारिएको, अम्बाको रुख जरैसमेत काटिएको, बम दिदीबहिनीको घरमा नयाँ रङ लगाइएको जस्ता हल्ला पनि त्यतिबेला निकै चलेका थिए। अम्बाको रुख जरासमेत काटिएको होइन रहेछ भनेर हल्ला चलाउनेले नै स्वीकार गरिसकेको स्थिति छ। न त्यो घरमा नयाँ रङ नै लगाइएको थियो। गृह मन्त्रालयले गठन गरेको सहसचिव नेतृत्वको छानबिन समितिले चिरेको एउटै मात्र हल्ला रङ नलगाइएको भन्ने नै थियो। तर रङ लगाएको/नलगाएकोसित यो घटनाको केही सम्बन्ध छैन भन्ने सामान्य लजिकसमेत कसैले प्रयोग गरेन। घाँटी अँठ्याएर मृत्यु भएको भन्ने पोस्टमार्टमको रिपोर्ट छ- शरीरमा काटेको चोट केही छैन। खुकुरीले काटेर रगत भित्तामा परेको भए पो घरमा रङ लगाएर छोप्यो होला भन्नु! अम्बाको रुखमा झुण्ड्याएर मारेको भए निर्मलाको घाँटीमा लिगायचर मार्क हुनुपर्थ्यो, त्यो पनि देखिएको थिएन। कोही मान्छे त्यो घर बाहिर यसो गयो भने मात्रै पनि देख्छ कि अम्बाको रुख त सडक छेउमै छ। त्यस्तो खुल्ला ठाउँमा कसैलाई झुण्ड्याउन कसरी सम्भव छ?
३) एसपीका छोरा र मेयरका भतिजा
कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरण विष्ट र मेयर सुरेन्द्र विष्टका भतिज आयुष विष्टप्रति लक्षित गरी पनि थुप्रै हल्ला फैलाइए। अनलाइनखबरले बम दिदीबहिनीको घरमा बारम्बार जानेमा एसपीका छोरा र मेयरका भतिज रहेको समाचारै लेख्यो। हल्लाकै कारण अनुसन्धानले नदेखाए पनि उनीहरुको डिएनए परीक्षण गरियो। नेपालको अपराध इतिहासमा पहिलो पटक रेप एन्ड मर्डर केसमा बाउछोराको डिएनए परीक्षण गरिएको हुनुपर्छ। आफूहरुविरुद्ध बिना आधार र प्रमाण अफवाह फैलाएको भन्दै किरण र आयुष दुवैले कञ्चनपुर जिल्ला अदालतमा खेम भण्डारीविरुद्ध दायर गरेको मुद्दा अझै चल्दैछ। अहिले उनीहरुमाथि शंकाको बादल पनि हटेको छ।
४) भिआइपी अपराधी
यो घटनामा भिआइपी अपराधी रहेको र त्यसलाई जोगाउन प्रहरीले सबै गरेको हल्ला फैलाइयो। तर कहिले भिआइपी, कहिले भिभिआइपी अपराधी रहेको र नाम खुलाउँछु भन्दै घटनालाई ट्विस्ट एन्ड टर्न गराउने पत्रकार खेम भण्डारीले अहिलेसम्म भिआइपी अपराधीको नाम खुलाउन सकेका छैनन्। उनी अपराधी फलानो हो भन्नेतर्फ भन्दा पनि आफ्नो नातेदार पर्ने दिलिपसिंह विष्ट चाहिँ अपराधी हुँदै होइन भन्दै बचाउमा लागेका छन्। अदालतको मानहानी गरेको अभियोग प्रमाणित भएर कञ्चनपुर जिल्ला अदालतले उनलाई एक रुपैयाँ जरिवाना र एक घण्टा जेलको ‘तुच्छ सजाय’ दिएको थियो जुन उनले भुक्तान पनि गरिसके। यसविरुद्ध न्याय परिषद्माा उजुरी दिन्छु भनेर मिडियाबाजी गरे पनि हुलाकबाट पठाइएको उनको उजुरीलाई न्याय परिषद्ले वास्ता गरेको छैन। किनभने अदालतको मानहानी भनेको उसको विशेषाधिकार हो।
५) होटल ओपेरा
बम दिदीबहिनीले निर्मलालाई होटल ओपेरा पुर्याएको र त्यहीँ बलात्कार र हत्या भएको हल्ला पनि फैलिएको थियो। सिसिटिभी फुटेज नभेटिएकोले पनि यो शंका बढेको थियो। तर दुई वर्षपछि यो हल्ला मत्थर भइसकेको छ। होटल ओपेरामा यस्तो घटना भएको भए लाश फाल्न उखुबारीसम्म लगेर थप जोखिम किन मोल्ने भन्ने प्रश्नको उत्तर कतैबाट आएन। निर्मला र बम दिदीबहिनी ओपेरा होटलसम्म पुगेको कुनै प्रमाण भेटिएन, एसपीका छोरासित त्यो दिन फोटोसुटका लागि होटलमा को को थिए भन्ने पनि अनुसन्धानले देखाइसकेको थियो। त्यसैले अब होटल ओपेरामा घटना भएको भन्ने शंका पनि धेरैको मनबाट हटिसकेको छ।
६) डिएनए
डिएनएको विषयमा पनि यो दुई वर्षमा धेरै क्लियर भइसकेको छ। पहिले डिएनए नै सबैथोक हो भनेर यसमा गल्ती भएको हुनसक्ला भन्ने थोरै शंका पनि नगरी प्रहरीले झण्डै ७०/७५ जनाको डिएनए परीक्षण गराउँदै हिँडेको थियो। तर कसैको डिएनए मिलेन। यो बीचमा राष्ट्रिय मानवअधिकार आयोगको विज्ञ टोली र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व प्रमुख जीवन रिजाल, सोही प्रयोगशालाका डिएनए प्रमुख डा. दिनेश झा र फरेन्सिक डाक्टर तुलसी कँडेलसहितको टोलीको प्रतिवेदनले त्यो डिएनए रिपोर्ट सही थिएन भन्ने प्रमाणित गरिसकेको छ।
नेपाल प्रहरीको सामाखुसीस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालाको ल्याबले निर्मलाको भेजिनल स्वाबको नमूना परीक्षण गर्दा मानव वीर्य भेटिएको बताएको थियो। तर रिजाल नेतृत्वको प्रतिवेदनले त्यसमा भेटिएको male component DNA वीर्यको नै हो भन्न नसकिएको ठहर गरेको छ। त्यतिबेला निकालिएको Y-STR अपराधीको नभएर दूषित भएको हुनसक्ने प्रतिवेदनले भनेको छ। डिएनएबारे थप यसमा पढ्नुस्।
७) दिलिपसिंह विष्ट
यो प्रकरणमा सुरुमा प्रहरीले गरेका सबै काम नकारात्मक भएको छाप जनमानसमा परेको थियो। प्रहरीले दुई वर्षअघि भदौ ४ गते सार्वजनिक गरेका अभियुक्त दिलिपसिंह विष्टका बारेमा पनि पहिले जसरी यो अपराधी हुनै सक्दैन भन्ने बनाइएको थियो, त्यो बिस्तारै हट्दै गएको छ। अहिले विशेष स्वार्थ भएका केही व्यक्तिले मात्रै त्यस्तो जिकिर गरिरहेका छन्। सुरुमा दिलिपको बारेमा छवि नै त्यस्तै बनाइएको थियो। सार्वजनिक गरिएको भोलिपल्टै उनी दोषी हुँदै होइनन्, भिआइपी अपराधी जोगाउनका लागि नक्कली अपराधी खडा गरिएको हो भन्ने प्रचार गरियो।
भदौ ५ गते मानसखण्डमा प्रकाशित समाचारमा ‘उनकी छिमेकी खेमा सुवेदीलाई उद्धृथत गर्दै लेखिएको थियो ‘प्रहरीले भनेजस्तो बलात्कार र हत्या गर्न सक्ने शारिरीक क्षमता नै दिलिपसँग थिएन।’ सुवेदीका अनुसार दिलिप शारिरीक भार पर्ने कुनै पनि काम गर्न सक्षम समेत थिएनन् । ‘एक अंगाल दाउरा पनि बोक्न सक्दैन थियो’, सुवेदीले भनिन्, ‘सानो काम गर्दा पनि स्वाँ स्वाँ हुन्थ्यो ।’ उनको यो समाचार त्यतिबेला सर्वाधिक चासोको विषय भएकोले थुप्रै कपिपेस्ट वेबसाइट र फेसबुक-युट्युबमा आए। त्यतिमात्र होइन, मूलधारका मिडियासमेत त्यसैमा बहकिए। काठमाडौँबाट प्रकाशित हुने राष्ट्रिय दैनिकहरुमा पनि यस्तै समाचार आए। यही बनाइएको छवि भएभरका सबै मिडिया (सोसल मिडिया, अनलाइन, मूलधारे मिडिया) मा व्यापक भएपछि सामान्य पाठकले विश्वास नगर्नुपर्ने कारण हुन्थेन। त्यसैले धेरैलाई यो मान्छे बलात्कार र हत्या गर्नै नसक्ने खालको थियो र नक्कली अपराधी बनाइएको भन्ने नै लाग्यो।
दिलिपका दाजुले आफ्ना भाइलाई ‘केटीको मामिलामा गौतम बुद्ध जस्तो’ भने पनि यो सही नभएको प्रष्ट भइसक्यो। मैले दिलिपसित गरेको कुराकानीको भिडियोमा दिलिपले आफ्नै परिवारका महिला सदस्यप्रति आपत्तिजनक कुराहरु भनेको, यौन अङ्गका बारेमा पनि कुरा गरेकोबाट ऊ यौन कुण्ठाले ग्रसित रहेछ भन्ने प्रष्ट हुन्छ।
नेपाल प्रहरीका थुप्रै अनुसन्धान टोली खटिसकेको यो केसमा किन कसैले अरु अपराधी भेट्टाउन सकेन? किन तत्कालीन सिआइबीका डिएसपी अंगुर जिसीले गरेकै अनुसन्धानभन्दा थप कुनै प्रगति गर्न सकेको देखिएन? भएभरका सबै कोणबाट अनुसन्धान गर्दा पनि केही सीप नलागेपछि फेरि अनुसन्धान पुरानै अवस्थामा फर्कनुपर्ने स्थिति भएको छ। तर त्यसरी चटक्कै फर्कन सक्ने स्थिति पनि छैन।
त्यसैले अरु केसमा भए किटानी जाहेरी परेपछि अनुसन्धान हुने गर्छ। यो केसमा भने निर्मलाकी आमा दुर्गादेवी पन्तले नै दिलिपविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले दिलिपसिंह विष्टमाथि फेरि अनुसन्धान गर्न सक्ने स्थिति छैन। पूर्व आइजी सर्वेन्द्र खनालको पालामा अपराध सकारेका भनेर समाचार लिक गराइए पनि पछि छाडिएका विशाल चौधरीलाई पछिल्लो समयमा पुनः कञ्चनपुर प्रहरीले ल्याएर सोधपूछ गरेको थियो। दिलिपको विषयमा भने यस्तै सोधपूछ मात्र गर्न पनि प्रहरीले सकिरहेको छैन। पूर्व आइजी सर्वेन्द्र खनालले तीन पटकसम्म कोशिश गर्दा पनि दिलिपलाई पक्रने प्रयास असफल भएको थियो।
प्रमाण नष्ट भनेर सामाजिक न्यायविरुद्धको कसुर र यातना दिएको गरी दुई वटा मुद्दा आठ जना प्रहरीविरुद्ध कन्चनपुर जिल्ला अदालतमा चलिरहेको छ। जसलाई यातना दिएर बयान दिन लगाइएको भन्ने आरोप छ, उसैलाई फेरि अभियुक्त भनेर कसरी सरकारी वकिलले मुद्दा अदालतमा लग्ने- शायद यही द्विविधामा यो पूरै केस अड्किएको छ।
2 thoughts on “निर्मला प्रकरण : दुई वर्षमा परिवर्तन भएका सात विषय”