Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के ‘जी न्युज’ले साँच्चिकै नेपालीसित माफी मागेको हो?

Posted on July 12, 2020 by Salokya


केही दिनदेखि भारतीय मिडियाको सामग्रीलाई लिएर नेपालमा बहस चलेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतको बारेमा बिना आधार ‘बलिउड गसिप’ जस्तो समाचार बनाएर जी न्युजको बिहार झारखण्ड च्यानलले सामग्री तयार पारेको थियो। त्यो पत्रकारिता थिएन, समाचार थिएन, घृणा फैलाउन बनाइएको वाहियात सामग्री थियो। त्यो सामग्री सोसल मिडियामार्फत् फैलिएपछि नेपालमा चर्को आलोचना भयो। मल्टी सिस्टम अपरेटरहरुले केही भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गरिदिए। यत्तिकैमा शुक्रबार नेपाली मिडियाहरुमा समाचार आयो- ‘भारतीय च्यानल जी न्यूजले नेपालसँग माफी माग्यो।’

ट्विटरमा नेपालफ्याक्टचेकलाई मेन्सन गरी यो भिडियो फेक रहेको दावी गर्दै फ्याक्टचेकका लागि अनुरोध पनि आयो। के हो त यसको सत्य? हामीले खोतलेका छौँ।

भारतका धनाढ्य सुभाष चन्द्रको कम्पनी एस्सेल ग्रुपले सञ्चालन गर्ने जी नेटवर्क अन्तर्गत समाचारमूलक कार्यक्रमहरुका लागि ‘जी न्युज’ रहेको छ। जी न्युजका विभिन्न क्षेत्र र भाषालाई समेट्ने गरी १४ वटा च्यानल रहेका छन्। तीमध्ये बिहार र झारखण्ड राज्यलाई समेट्ने गरी हिन्दी र भोजपुरी भाषामा समाचारमूलक कार्यक्रम बनाउने च्यानलको नाम हो जी बिहार झारखण्ड। यो च्यानलको नाम पहिला जी पूर्वैया थियो।

यही जी बिहार झारखण्ड च्यानलमा ‘ओलीकी इश्किया’ भन्दै नेपालका प्रधानमन्त्री र चिनियाँ राजदूतलाई आक्षेप लगाउने गरी काल्पनिक संवादहरु राखेर गसिप समाचार तयार पारिएको थियो। यो च्यानल काठमाडौँका कतिपय मल्टी सिस्टम अपरेटरहरुले प्रसारण गर्ने गर्दैनन्।

सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमा राखिएको दुई वर्ष पुरानो मितिको डाउनलिङ्क अनुमति पाएका च्यानलहरुको सूचीमा ‘जी बिहार झारखण्ड’ टिभी रहेको छैन। त्यसैले धेरैले यो आपत्तिजनक सामग्री इन्टरनेटकै माध्यमबाट हेरे। नेपालीहरुले नै यो सामग्री सेयर गरी फैलाउनमा सहयोग गरे।

शुक्रबार १० जुलाई, २०२० का दिन यो सामग्री प्रसारण भएकोमा जी न्युजले माफी माग्यो भन्दै समाचार नेपाली मिडियामा आए। इन्टरनेटबाटै भिडियो पनि सेयर हुन थाल्यो।

इन्टरनेटमा दुई किसिमका भिडियो सेयर भएका छन्। ट्विटरमा सेयर भएको भिडियो ४५ सेकेन्डको छ। यसमा न्युज एङ्करको ‘लिप सिङ्क’ पनि मिलेको छैन। अर्थात् आवाज अनुसार दृश्य छैन। बोली र ओठ चलेको मिलेको छैन। त्यसैले पनि यो भिडियो फेक हो कि भन्ने शंका भएको हो।

आखिर क्षमायाचना नगरी सुख्खै भएन । जि न्यूजले नेपालीहरुको चित्त दुखाएकोमा क्षमा मागेको छ । दृढता भयो भने नेपाल सानो देश भनेर हेपिरहनु पर्दैन भन्ने दृष्टान्त यो प्रकरणले प्रष्ट पारेको छ । @theyatriji pic.twitter.com/wXZdb8S3wz

— Sarose Gautam (@gautam_sarose) July 10, 2020

तर फेसबुकमा भेटिएको भिडियो भने ५३ सेकेन्डको रहेको छ। यसमा भने ट्विटरको भिडियोमा जस्तो लिप सिङ्क त्यति धेरै नमिलेको छैन।

भिडियोमा देखिएका एङ्कर राजेश कुमारको अरु भिडियो हेर्दा पनि आवाज उस्तै सुनिन्छ।

यो भिडियोमा ‘नेपालका जनताको भावनाको आदर गर्ने’ भन्दै ‘हाम्रो च्यानलमा त्रुटिले प्रसारित कार्यक्रम ‘ओलीकी इश्कियां’ बाट यदि नेपालका जनता आहत भएको भए हामी खेद जनाउँछौँ। जीले त्रुटिले प्रसारित भएको कार्यक्रम भनेर स्वीकारेको त छ, तर यसमा माफी माग्ने, क्षमायाचना जस्ता शब्द प्रयोग भएका छैनन्।

भिडियो जुलाई १० को भारतीय समय अनुसार साँझ ६ बजेर २० मिनेटको भएको दृश्यमा देखिन्छ। तर यो भिडियो वा च्यानलले त्रुटि स्वीकार गरेको विज्ञप्ति यो फ्याक्टचेक तयार पार्दाको समय जुलाई ११ मध्यरातसम्म न उक्त च्यानलको फेसबुक पेजमा रहेको छ, न ट्विटरमा, न त युट्युबमा नै।

यो च्यानलको आपत्तिजनक कार्यक्रमबारे सबैभन्दा पहिला आवाज उठाउने मध्ये एक पत्रकार वीरेन्द्र केएमले पनि ‘च्यानलले नेपालीसँग माफी मागेको’ लेख्दै भिडियो आफ्नो फेसबुकमा राखेका थिए। उनले आफूले पनि यो भिडियो अर्कै स्रोतबाट प्राप्त गरेको स्वीकारे। उनका अनुसार उनलाई सो भिडियो जी न्युजका बिहार प्रमुख ब्रजेश मिश्राले ह्वाट्सएपमा पठाएका थिए। उनले भिडियो स्क्रिन रेकर्ड गरेर मोबाइलमा पठाइएको दावी गरे।

हामीले ह्वाट्सएपमा फरवार्ड भएको त्यो भिडियो पनि हेर्‍यौँ। त्यसमा पनि दृश्यको बायाँ छेउको माथिल्लो भागमा टाइम कोड रन भएको देखिन्छ। टेलिभिजनको फिडमा यस्तो कोड हुने गर्दैन।

च्यानलका आधिकारिक सामाजिक सञ्जालहरु वा वेबसाइटमा यो भिडियो वा यो वक्तव्य नराखिनु, उक्त च्यानलको अर्काइभ सार्वजनिक रुपमा उपलब्ध नहुनुले यो भिडियो उक्त टेलिभिजनमा प्रसारण भएको हो कि हैन भन्ने छुट्याउन हामी असमर्थ छौँ। टेलिभिजनमा प्रसारण भएकै भिडियो रेकर्ड गरेर सामाजिक सञ्जालमार्फत पठाइएको हो कि टेलिभिजनमा प्रसारण नगरी भिडियोमात्र बनाएर सामाजिक सञ्जालमा पठाइएको हो पनि पुष्टि गर्न हामीले सकेनौँ। यस विषयमा जिज्ञासा राख्दै जी बिहार झारखण्डलाई हामीले पठाएको इमेलको पनि जवाफ आएको छैन।

जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले भने नेपालमा भारतीय च्यानलको प्रसारण रोकिएपछि सेना पठाउनै परेन, यो देश न्युज एङ्कर देखेरै तर्सियो भनेर गरेको ट्विटमा खेद जनाउँदै हटाएका थिए।

मेरे इस ट्वीट से नेपाल के हमारे दर्शक आहत हुए हैं।यहाँ भारत में भी बहुत से लोगों ने मुझे लिखा कि ये विचार सही नहीं है।सम्भव है कि मैंने ये खबर आने के बाद आवेश में अनावश्यक प्रतिक्रिया कर दी हो।ये मंच अभिव्यक्ति का है,आहत करने का नहीं।इसलिए खेद जताते हुए इस ट्वीट को हटा रहा हूँ।? https://t.co/mqTL652uOe

— Sudhir Chaudhary (@sudhirchaudhary) July 10, 2020

निश्कर्ष : जी बिहार झारखण्डले नेपालीसित माफी माग्यो भनी नेपाली मिडियामा मात्र समाचार आएका छन्, भारतीय मिडियामा छैनन्। स्वयं उक्त च्यानलले पनि आफ्नो वेबसाइट वा सामाजिक सञ्जालहरुमा यो भिडियो र विज्ञप्ति राखेको छैन। युट्युब र फेसबुकबाट उक्त आपत्तिजनक भिडियो भने हटाइएको छ। नेपालीहरुले सामाजिक सञ्जालमा भाइरल गरेको भिडियो भने उक्त टेलिभिजनमा नै प्रसारण भएको हो कि हैन हामीले पुष्टि गर्न सकेनौँ।

1 thought on “के ‘जी न्युज’ले साँच्चिकै नेपालीसित माफी मागेको हो?”

  1. उपेन्द्र गौतम says:
    July 12, 2020 at 1:43 pm

    गहिरिएर यस्तो खोजबिन जारी रहोस।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme