Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के रक्षामन्त्रीको घरमा काम गर्ने ४ फुटको नाबालकलाई सेनामा भर्ना गरिएको हो?

Posted on July 9, 2020July 9, 2020 by Salokya

सामाजिक सञ्जालमा अहिले एउटा पोस्ट चर्चामा छ। पोस्टमा सेनाको बर्दी लगाएका दुई जना फूलमालासहित देखिएका छन्। त्यसको विवरणमा रक्षामन्त्रीको घरमा काम गर्ने चार फुटको नाबालकलाई नेपाली सेनामा भर्ना गरिएको दावी गरिएको छ। कल्यान सिंह महता नामको फेसबुकबाट सेयर  भएको यो पोस्टलाई बिहीबार मध्याह्नसम्म ३४ जनाले सेयर गरेका छन्।  

 

महताले फेसबुकमा पोस्ट गरेको फोटो र स्टायटस।

स्टायटसमा उनले गणतन्त्रको रक्षामन्त्री भनेको यही हो त भन्ने प्रश्न गर्दै गणतन्त्रको आलोचना गरिएको छ। सोही स्टायटसमा एक जनाले यो भाइ रक्षामन्त्रीको घरमा काम गर्ने मान्छे हो भनेर सोधेको प्रश्नमा महताले ‘मिडियामा आइराछ यही कुरा’ जवाफ दिएका छन्।

तर यो बारे कुनै मिडियामा समाचार आएको देखिन्न।

उनको प्रोफाइल सर्सर्ती हेर्दा उनले आफूलाई राजावादीका रुपमा चिनाएका छन्। राजतन्त्र समर्थक पोस्टहरु उनलाई ट्याग गरिएका छन् भने उनले आफ्नो प्रोफाइल पिक्चरमा नै ‘राजालाई समर्थन गर्छु’ लेखेर पूर्वराजा ज्ञानेन्द्रको फोटो राखेका छन्।

के हो सत्य ?

नेपाली सेनाका अनुसार फेसबुकमा राखिएको यो फोटो भक्तपुर जिल्लाको सूर्यविनायक स्थित श्री वीरदल गणमा सञ्चालन भएको सैन्य आधार तालिम पूरा भएपछि खिचिएको हो। फोटोमा चार फुटे नाबालक भनी दावी गरिएका व्यक्ति पुरुष नभएर महिला हुन्। उनको नाम सम्झना थारु हो। उनीसँगै देखिएका व्यक्ति सुवास थारु हुन्।

सम्झनाको उचाइ ५ फिट १ इञ्च छ भने सुवासको उचाइ ५ फिट १० इञ्च छ। झण्डै ६ फुट अग्लोसित ५ फुट उचाइ भएको व्यक्ति सँगै बसेर फोटो खिच्दा तुलनात्मक रुपमा उचाइ सानो जस्तो देखिएको हो।

नेपाली सेनाको भर्ना छनौट कार्यविधि र तोकिएको मापदण्ड बमोजिम महिला भए फाल्वर्सका लागि ४ फिट १० इञ्च उचाइ भए पनि मान्य हुन्छ। बन्दोबस्ती कार्य सिपाही, सैन्य, अधिकृत हुनका लागि भने ५ फिट उचाइ अनिवार्य छ। पाइलट अधिकृतका लागि भने ५ फिट ३ इञ्च उचाइ आवश्यक हुन्छ।

तर पुरुष उम्मेदवार हो भने कम्तिमा ५ फिट २ इञ्च उचाइ हुन आवश्यक छ। त्यो फाल्वर्सका लागि तोकिएको मापदण्ड हो। अरु सबै पदका लागि न्यूनतम ५ फिट ३ इञ्चको मापदण्ड छ।

नेपाली सेनाले विज्ञापन नम्बर ०७६/७७/०१ (खुला तथा समावेशी), सैन्य पदको लागि मध्य पश्चिम पृतना हेडक्वार्टर, योगीकुटी, रूपन्देहीबाट शारीरिक तन्दुरूस्ती परीक्षा गरेको थियो। सुवास र सम्झना थारुले सो परीक्षा उत्तीर्ण गरी २०७६ असोज ११ गते बुटवलमा सञ्चालन भएको लिखित परीक्षा पनि उत्तीर्ण गरेका थिए। यससम्बन्धी लोक सेवा आयोगले असोज १५ गते राखेको सूचनामा ती दुवैको नाम देखिन्छ।

लिखित उत्तीर्ण गरेपछि भक्तपुरको श्री वीरदल गणमा २०७६ पुस १ गतेदेखि २०७७ असार १९ गतेसम्म सैन्य आधार तालिम भएको थियो। त्यसपछि अहिले सम्झना श्री नम्बर २ वन तथा पर्यावरण सुरक्षा गणमा र सुवास रणभैरव गणमा नियुक्त भइसकेका छन्। यो बारे नेपाली सेनाले विज्ञप्ति पनि जारी गरेको छ।

निश्कर्ष : अतः फेसबुक पोस्टमा दावी गरिएको रक्षा मन्त्रीको घरमा काम गर्ने नाबालकलाई सेनामा भर्ती गरिएको दावी गलत छ। फोटोमा देखिएका दुवै व्यक्ति विज्ञापन खुलाएर शारीरिक तन्दुरुस्ती र लिखित परीक्षा उत्तीर्ण गरी सैन्य आधार तालिमसमेत पास गरी नियुक्त भएका हुन्। यो फोटोलाई प्रचार गर्ने व्यक्तिको पृष्ठभूमि हेर्दा आफ्नो स्वार्थका लागि नियोजित दुष्प्रचार गरेको देखिन्छ। यसलाई हामीले फेक न्युजको Mal-information वर्गमा राखेका छौँ।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेज अथवा नेपालफ्याक्टचेकको वेबसाइट मार्फत् पठाउन सक्नुहुन्छ। हाम्रो भाइबर ग्रुपमा जोडिएर पनि तपाईँ यस्ता लिङ्क पठाउन सक्नुहुन्छ। भाइबर ग्रुपमा जोडिन यहाँ क्लिक गर्नुस्। तथ्य जाँच सामाग्री माइसंसार र नेपालफ्याक्टचेकमा प्रकाशन हुन्छ।)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme