Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के प्रम ओलीले भने जस्तै स्वीडेनका राजा साइकलमा हिँड्छन्?

Posted on June 28, 2020June 28, 2020 by Salokya

प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको जन्मजयन्तीमा आइतबार बालुवाटारमा भएको कार्यक्रममा राष्ट्रपतिले महँगो गाडी चढ्यो भनेर भइरहेको आलोचनाको जवाफ दिए। यस क्रममा उनले ‘मदन भण्डारीकी धर्मपत्नीलाई साइकल चलाउन जान्नु हुन्न’ मात्र भनेनन्, उच्च पदस्थहरु साइकलमा नहिँड्ने बताए। यसै क्रममा उनले भने, ‘राष्ट्रपति साइकलमा हिँड्दैनन्। हो, स्वीडेनका राजा साइकलमा हिँड्छन्। बडो चर्चा छ। मैले पनि कहिले कहिले गर्छु चर्चा। …दरबार नजिकैको रेलवे स्टेसनमा कहिले-कहिले उनी साइकल लिएर जान्छन्।’

उनको यही भनाईलाई उद्‍धृत गर्दै थुप्रै मिडियामा समाचार आए।

तर प्रधानमन्त्री ओलीको यो दावी गलत छ। स्वीडेनका राजाले साइकल चढेको चर्चा उनले भने जसरी भएको देखिन्न।

सेतोपाटीको यो भिडियोमा प्रधानमन्त्रीले स्वीडेनका राजाबारे गरेको दावी सुन्न सकिन्छ।

यो फोटो स्वीडेनका राजा कार्ल गुस्ताफको हो। आफ्नो ७४ औँ जन्मदिन अगाडि यो फोटो उनको इन्स्टाग्रामबाट सार्वजनिक गरिएको हो। ४७ वर्षदेखि उनी यहाँको गद्दीमा छन्।

यी राजा स्वीडेनको राजपरिवारका अरु सदस्य जस्तै गाडीमा निकै रुचि राख्ने हुन्। उनीसित Porsche 911 का कयौँ मोडल रहेको स्वीडिश मिडियामा समाचार छ। उनीसित Volvo PV444, Ferrari 456M GT, AC Cobra र अरु थुप्रै कारहरु रहेको यो मिडियाले लेखेको छ।

प्रधानमन्त्री ओलीले भने जस्तो स्वीडेनका राजा साइकलमा हिँडेको बडो चर्चा भएको भेटिन्न, न उनले भने जस्तै ‘दरबार नजिकैको रेलवे स्टेसनमा कहिले-कहिले उनी साइकल लिएर गएको’ समाचार नै देख्न पाइन्छ।

बाइसाइकल मोनार्की वा बाइसाइक्लिङ मोनार्की शब्द चाहिँ स्क्यान्डिनेभिया र लो कन्ट्रीका राजपरिवारहरु अझ विशेष गरी नेदरल्यान्ड्सको राजपरिवारलाई जनाउने बेलायती शब्द हो।

संयुक्त राष्ट्र संघमा नेदरल्यान्ड्सका स्थायी प्रतिनिधिले गरेको यो ट्विटमा नेदरल्यान्ड्सका राजपरिवारको साइकल मोह देख्न सकिन्छ।

Kingdom of monarchs on bicycle: Queen Juliana, Queen Beatrix, Queen Máxima, King Willem-Alexander. pic.twitter.com/HtXua97Tly

— Karel van Oosterom (@KvanOosterom) July 26, 2017

महारानी बिट्रिक्सको त साइकल चलाउँदै गरेको शालिक पनि छ। फोटो : बाइसाइकलडच

त्यसैगरी बाइसाइक्लिङ मोनार्की शब्द प्रयोग हुने अर्को देश भने डेनमार्क हो। दोस्रो विश्वयुद्धका क्रममा डेनमार्कमा नाजीहरुले आधिपत्य जमाउँदा डेनिस जनताप्रति ऐक्यवद्धता जनाउन भावी राजा फ्रेडरिक नवम् र उनकी पत्नी इन्ग्रिडले कोपनहेगन वरपर साइकल यात्रा गरेका थिए।

स्वीडेनका राजाले साइकल चलाएको गलत उदाहरण दिए पनि स्वीडेन नेताहरुले सामान्य जीवनयापन गर्ने मामिलामा भने उदाहरण नै हो। भ्रष्टाचार कम हुने देशमध्येमा पर्ने यो देशका नेताहरु बारे Sweden – The Untold Story पुस्तक लेखेका क्लाउडिया वालिनको यो लेखमा त्यहाँका मन्त्री र सांसदहरु सामान्य जनता जस्तै भिडभाड हुने बस र रेलमा चढ्ने, सांसद भएकै कारण केहीमा छुट नहुने, निजी सचिव नहुने, ट्याक्सी चढ्ने नेताको बारेमा समाचार बन्ने, सभामुखले समेत सार्वजनिक सवारी साधन चढ्ने र प्रधानमन्त्रीले मात्रै स्थायी रुपमा कार चढ्ने अधिकार पाउने लेखिएको छ।

यो पुस्तकको कभरमै साइकल चलाइरहेका एक पुरुषको फोटो छ।

तर यो फोटो स्वीडेनका राजाको नभएर पूर्व प्रधानमन्त्री Carl Bildt को हो।

राष्ट्रपतिको महँगो गाडीको बचाउमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले स्वीडेनको उदाहरण दिँदा त्यहाँका राजाबारे गलत उदाहरण मात्रै दिएनन्, त्यहाँका नेताहरुको सादा जीवनशैलीबारे पनि भन्न भुले। उनको यो अभिव्यक्ति भ्रामक छ।

3 thoughts on “के प्रम ओलीले भने जस्तै स्वीडेनका राजा साइकलमा हिँड्छन्?”

  1. Sanumaya says:
    June 29, 2020 at 4:31 pm

    जसरी नि कमाएपछि वा हातमा अलिकतिपैसा भएपछि चारचक्के नै खोज्ने, कुनै ओहोदामा पुगेको मान्छेको आड लिएर अनधिकृत व्यक्तिले पनि सरकारी गाडीमा सयर गर्नैपर्ने, त्यसो नगरे मूर्ख वा लाछी ठहरिने हाम्रो संस्कारमा राष्ट्रपतिले चाहिँ साईकल चढुन भन्नु हदै दर्जाको पाखण्ड मात्र हो। राष्ट्रपति ट्रम्पको आलोचना गर्ने नाममा सिएनएनले जसरी खोईरो खन्छ नि, त्यस्तै खालको काम हिजोआज माईसंसारले प्रधानमन्त्रीलाई लक्षित गरी गर्न थालेको छ । यो खोईरो खन्ने काममा त अरू निपुणहरूलाई लगाए हुन्न। तपाईबाट त हामीले अलिक गम्भीर विचारमन्थनको आशा गरेका छौैं ।

    Reply
    1. Salokya says:
      June 30, 2020 at 2:07 am

      हस् हजुर, प्रमलाई पनि साँचो कुरा मात्र बोल्न भन्दिनुहोला। गलत बोल्नुभो भने त फ्याक्टचेक गरी हालिन्छ। तपाईँले खोइरो खनेको भने पनि नभने पनि 😛

      Reply
  2. प्रशाद says:
    June 29, 2020 at 12:55 am

    ओलीजी नम्बरवानका गफाडी हुन|शासकीय नेत्रीत्वमा न उनको कुनै दक्षता छ, न चासो| अहिले सम्म गफले चुनाव जिते, गफले देश हाँक्ने जिम्मेवारी पाए|तर यस्तो सुनौलो मौकामा उनी नराम्रो सँग चुकेका छन, त्यसको मुल कारण भनेको उनमा शासकीय नेत्रित्वको दुभिक्षले हो| भ्रष्टचार निर्मुल वा नियन्त्रणलाई लिऔ|उनी पूर्णत असफल मात्र होइन, उनी आँफै असफलताका कारण हुन| ओलीको अढाई बर्ष हेरियो, उनले मुलुकलाई दुर्गतिमा लगेको छ|
    सर्बहाराको परिभाषा ओली र प्रचन्ड मिलेर परिवर्तन गरेका छन| राजसी बसाई, लुवाई खुवाई ल भनौ ठिकै छ् जब देश ठीक दिशामा गएको भए| तर त्यस्तो छैन| ओलीले अहिले नै सुधारिएन भने सर्बअसक्षम शेरबहादुर भन्दा पनि असक्षम प्रधानमन्त्री भएर ईतिहासमा नाउ लेख्नेछन|
    प्रधानमन्त्री बिरामी भए भन्दैमा देशलाई पनि बिरामी अवस्थामा पुर्याउन मिलेन|
    आजभोली ओलिको तात्तो न छारोको गफले देशलाई नै बिथोली रहेको छ|बेसार र बेसुर दुवै छ| आफ्नो खुट्टामा आधा घण्टा उभिन नसक्नेले घन्टौ लाएर बेसारको महात्म्य सुनाउनको मतलब के हो जब जनता लकडाउनमा खान नपाएर मर्ने अवस्थामा छन|
    ब्यवस्थापन र थीती कुन चरीको नाउ हो न प्रधानमन्त्रिलाई चासो छ, न उनका मन्त्रीहरुलाई|जे पायो त्यही बोल्ने हो? भारतको कोरोना झन बिषालु भनेर कटाक्ष गर्नुपरे कुनै कारण थिएन| त्यस्ता मान्छे पनि कुनै दिन नेपालको परराष्ट्र मन्त्री थिए| विडम्बना|
    समावेशीपन बारे ओली पूर्णत चुकेका छन|नियुक्तिमा नातेदार र पार्टिका कार्यकर्ता भए पुग्यो|
    सुरेन्द्र यादव प्रकारणमा ओली किन लाजमर्नु तरिकामा आँफै मुछिए?
    होली वाईन, बर्थ डे व्याश हेलिकोप्तर उडान, प्रिन्टिङ प्रेस, यती समुह, ओम्नी प्रकरण आदि सबै ओलीका उपज र थपना हुन|
    अन्तमा, ओलीलाई (उनको पार्टिलाई) भोट्हालियो तर अब चाँही हालिन्न भन्नेहरुको संख्या दिनहु बढदो छ्|
    ओलिले अर्को कुन वितन्डा मचाउने हुन र जनतालाई अलमलमा पार्ने हुन थाहा छैन| महाकाली बारे त उनकै
    परराष्ट्र मन्त्रिले भनिसके यो गल्ती थियो| महेन्द्रबहादुर पाण्डेले राजा महेन्द्रले दुई बाकस सुनमा कालापानी
    साटे भनेर गैरजिम्मेवारी बक्तब्य दिँदा पनि त्यस्ता अकर्मण्यलाई राजदुत हतारोमा नियुक्ती गर्न के चटारो परेको थियो?
    जे होस्, जजस्ले बिदेशी पावरको ईशारामा पदको लोभ र धनमा परेर देश लाई हानी गरेका छन, कुनै दिन त्यस्ता हस्ती आउँला जसले आफ्नो सन्समरणमा सबैको नाउ प्रमाण सहित उजागर गर्ने नै छ| त्यसबेला नेपाल जनताले उनीहरुको चिहान खोदेर भए पनि कोररा लाउने समय पनि नआउँला भन्न् सकिन्न|
    ओलीजी, enuf is enuf.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme