Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्वदेशीदेखि विदेशी नेताहरु झुक्किए, तपाईँ नझुक्किनुस् : कार्ड भिरेर भाइरस भाग्दैन

Posted on June 28, 2020June 28, 2020 by Salokya


नेकपाको स्थायी समितिको बैठकमा आइडी कार्ड जस्तो नेताहरुको घाँटीमा ‘भाइरस भगाउने कार्ड’ झुण्डिएको देखियो। त्यहाँमात्र होइन, संसदमा समेत नेकपाका नेताहरु त्यही कार्ड घाँटीमा झुण्ड्याएर बैठकमा सहभागी भएको देखियो। कान्तिपुरको समाचार अनुसार सांसद कल्याणी खड्काको छोरा विप्लव केसीको बियोन्ड द वाल ट्रेडिङ कम्पनीले चीनबाट १० हजार थान यो कार्ड नेपाल ल्याएका र नेकपा पार्टीले नै किनेर नेताहरुलाई बाँडेका हुन्। यो लाएपछि भाइरस छेउछाउ नआउने भनिए पनि वैज्ञानिकहरुले यसको प्रयोग नगर्न चेतावनी दिएका छन्। अमेरिका लगायतका केही देशमा यसलाई प्रतिबन्ध पनि लगाइएको छ। 

स्वास्थ्य मन्त्रालयले पनि शनिबारको मिडिया ब्रिफिङमा यो कार्डले भाइरसन नभाग्ने र यसको बिक्रीका लागि अनुमति नदिइएको बतायो।

तर सत्तारुढ दलका नेताहरुको घाँटीमा भिराएर यसले गर्न खोजेको मार्केटिङबाट सतर्क हुनुस्। अनि के पनि ढुक्क हुनुस् भने यस्तो कार्ड भिर्दैमा भाइरस भाग्दैन।

नेपालमा जस्तै अरु देशमा पनि नेताहरुको घाँटीमा कार्ड भिराएर मार्केटिङ गर्न खोजिएको छ। एएफपीको फ्याक्टचेकका अनुसार विगतका केही दिनहरुमा साउथ सुडानका राष्ट्रपति र वरिष्ठ मन्त्रीहरु यस्ता कार्ड भिरेर सार्वजनिक रुपमा देखा परेका छन्।


साउथ सुडानका राष्ट्रपति भाइरस ब्लकिङ कार्ड लगाउँदै।

कार्डले कसरी काम गर्ने दावी गरिएको छ?

बेच्नेले मच्छर धूपले १ मिटर आसपासमा मच्छर भगाएजस्तो गरी यो कार्डले कोरोना भगाउँछ भनेको नेकपा सांसद मोहन बानियाँ बताउँछन्।  नेकपाकै सांसद लक्ष्मी चौधरीले भाइरस रिमुभिङ कार्डले एन्टिबायोटिकको जस्तै काम गर्छ भन्ने सुनिछिन्।

नेकपा नेताको घाटीमा 'कोरोना जन्तर'
के भन्छ्न स्थायी समिति सदस्य मुकुन्द न्यौपाने pic.twitter.com/qW92U47f9F

— सन्जिव बगाले (@sanjib_bagale) June 26, 2020

बनाउने कम्पनीहरुले भने यसमा प्रयोग हुने मुख्य तत्व क्लोरिन डाइअक्साइडले ब्याक्टेरिया र भाइरसहरु मर्ने दावी गर्छन्। यो पिउने पानी र मेडिकल उपकरण स्टेरिलाइज गर्न प्रयोग हुने डिसइन्फेक्टेन्ट हो।

यो एयर डक्टर, भाइरस सट आउट र क्लोरिन कार्ड नामले बजारमा बेचिएको एएफपी फ्याक्टचेकले उल्लेख गरेको छ।

यो कार्ड १८ देखि २५ डलरमा अनलाइनमा बिक्रीमा राखिएको छ। ५ वर्षअघि जापानमा फ्लुको उपचारका लागि भन्दै एयर डक्टर बजारमा मार्केटिङ गरिएको थियो। त्यतिबेला कोरोना भाइरस देखापरिसकेको थिएन। तर जापानको कन्जुमर अफेयर्स एजेन्सीले मे १५, २०२० मा नै यसले कोभिड-१९ बाट बचाउँदैन भनेर चेतावनी दिइसकेको छ।

यस्तो कार्डलाई यो वर्ष अमेरिका, थाइल्यान्ड र फिलिपिन्स लगायत धेरै देशले प्रतिबन्ध लगाइसकेका छन्।


अमेरिकाले ‘भाइरस सट आउट’ नामको कार्ड प्रयोगमा प्रतिबन्ध लगाएको सूचना

‘जाली’ प्रोडक्ट

एएफपी फ्याक्टचेकले विभिन्न वैज्ञानिकहरुसँग कुरा गर्दा उनीहरुले यस्ता कार्डहरुले कोभिड-१९ वा अरु कुनै रोगका विरुद्ध सुरक्षा नदिने बताए।

लन्डनको बार्टस हेल्थ हस्पिटलका संक्रामक रोग र माइक्रोबायोलोजी सम्बन्धी कन्सलट्यान्ट रबर्ट साराफिनोले यस्ता कार्ड अप्रभावकारी हुने बताउँदै यस्तो जाली उत्पादनलाई प्रयोग गर्न विश्वभर प्रतिबन्ध लगाउनु पर्ने सुझाव दिए।

सार्स-कोभ २ लाई निश्चित समयसम्म सतहमा रहँदा डिसइन्फेक्टेन्टले निस्क्रिय बनाउने हो तर यो कार्डले हावामा भाइरसलाई निष्क्रिय बनाउने दावी गर्छ।

युनिभर्सिटी अफ एडिनबराका संक्रामक रोग र माइक्रोबायोलोजी विज्ञ चार्ल्स ओचेरो पनि यस्ता कार्डले न भाइरस न ब्याक्टेरिया केहीमा पनि प्रभावकारी हुने वैज्ञानिक प्रमाण नभएकोले प्रयोग गर्न सुझाव दिँदैनन्।

विश्व स्वास्थ्य संगठनले पनि परीक्षण नभएका उत्पादनहरुले कोभिड-१९ को उपचार गर्ने वा रोक्ने भनेर भइरहेका मार्केटिङ विरुद्ध सचेत गराएको छ।

नेपालमा पनि विज्ञ डा. शेरबहादुर पुनले यस्तो भाइरस ब्लकर कार्डको आधिकारिक मान्यता नभएको बताएका छन्।

भाइरस ब्लकर झुन्डाउनेहरु देखिन्छन।कुन भाइरस,कहाँ छिर्नबाट ब्लक गर्ने हो जानकारी छैन।ब्याक्टेरिया पनि हटाउने भनेकोछ तर कुन ब्याक्टेरिया कहाँबाट जानकारी छैन।अधिकारिक मान्यता छैन।तर अरुले पनि अनुसरण गर्दा ढुक्क भै व्यक्तिगत दुरी,मास्क लगाउने,साबुनपानीले हातधुन बेवास्ता हुने त होइन?

— Dr.Sher Bahadur Pun (@drsherbdr3) June 27, 2020

‘हानी गर्न सक्छ’

नेताहरुले आफ्नो बचाउका लागि घाँटीमा भिर्ने गरेको यो कार्डले उल्टै हानी गर्नसक्ने पनि केही विज्ञले बताएका छन्। एएफपी फ्याक्टचेकसित कुरा गर्दै युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका संक्रामक रोग सम्बन्धी अनुसन्धानकर्ता मार्क अजाकले कोरोनाभाइरस यो कार्डले क्याप्चर गर्न नसक्ने गरी साह्रै सानो हुने हुनाले यो कोभिड-१९ का लागि उपयोगी नहुने बताए।

उनका अनुसार यस्तो कार्डको अवधारणा हावालाई स्वच्छ बनाउने एयर प्युरिफायरमा आधारित रहेको हुन्छ। तर भाइरसको आकारका कारण यस्ता प्युरिफायरहरुले भाइरसलाई मार्न सक्दैन। यस्तो कार्डमा क्लोरिन अक्साइड हुन्छ जुन सतहमा प्रभावकारी हुन्छन् तर यो श्वासप्रश्वास प्रणालीका लागि निकै हानिकारक हुनसक्ने उनी बताउँछन्। ‘यसले श्वासमा कठिनाइ, आँखा चिलाउने र छाला पोल्ने हुनसक्छ’, उनी भन्छन्।

चीनका विज्ञहरुले पनि यस्ता कार्डले भाइरस नमार्ने बताइसकेका छन्।

सिजिटिएनमा प्रकाशित रिपोर्ट अनुसार Shanxi University का वातावरण विज्ञान संस्थानका निर्देशक डङ चुआनले क्लोरिन डाइअक्साइडलाई लामो समय सुरक्षित राख्न नसकिने बताएका छन्। अझ यस्ता कार्डमा क्लोरिन डाइअक्साइड ग्यास जेनेरेट र रिलिज गर्न क्लोराइट थपिएको हुनसक्छ। यस्तो कार्ड प्रयोग गर्दा बिग्रियो भने क्लोराइट चुहिन सक्छ। क्लोराइट छाला वा पसिनासित सम्पर्कमा आयो भने क्लोरिन रिलिज हुनसक्छ र छाला पोल्नेदेखि रेस्पिरेटरी प्वाइनजिङसमेत हुनसक्छ।

‘यस किसिमका कार्डहरुमा प्रयोग भएका भनिएका रसायनहरुले मुटु, फोक्सो, कलेजो लगायतका अंगहरुमा असर गरी स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गर्दछ’ , स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पनि शनिबारको मिडिया ब्रिफिङमा बताए।

निश्कर्ष : भाइरस रिमुभिङ कार्ड साउथ सुडानमा जस्तै नेपालमा पनि नेताहरुको गलामा भिडाएर मार्केटिङ गर्न खोजिएको छ। तर यसको प्रयोग कोरोना वा अन्य कुनै भाइरस वा ब्याक्टेरिया रोक्न अप्रभावकारी छ। 

2 thoughts on “स्वदेशीदेखि विदेशी नेताहरु झुक्किए, तपाईँ नझुक्किनुस् : कार्ड भिरेर भाइरस भाग्दैन”

  1. Prashant says:
    June 28, 2020 at 10:30 pm

    Number 1 snake oil master – Patanjali (Ram dev)
    Number 2 snake oil seller – Biplob KC
    God Bless us.

    Reply
  2. Kshitij Shrestha says:
    June 28, 2020 at 2:06 pm

    Salokyaji, Thanks for nice article.
    I have added a material safety data sheet of the sodium chlorite in my blog. Might be relevant. have a look.
    https://foodsafetyscience.blogspot.com/2020/06/safety-and-effectiveness-of.html

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme