Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोरोनाको उकालो यात्रा : २७ दिनमा १ हजारबाट १० हजार पार

Posted on June 23, 2020 by Salokya

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पार गरेको छ। पहिलो कोरोना संक्रमित फेला परेदेखि तीन अङ्कको संख्या अर्थात् सय पार गर्नका लागि १०७ दिन लागेको थियो। तीन अङ्कबाट चार अङ्क पार गर्न अर्थात् सयबाट हजार पुग्न २१ दिन लागेको थियो भने पाँच अङ्क पुग्न अर्थात् हजारबाट १० हजार पुग्न २७ दिन लाग्यो। 

योसँगै सरकारले गत मे महिनामा जारी गरेको हेल्थ सेक्टर इमर्जेन्सी रेस्पन्स प्लानको चौथो तथा अन्तिम चरणमा नेपाल प्रवेश गरेको छ।

उक्त प्लानमा १० हजारभन्दा बढी केस भएमा लेभल ४ सुरु हुने उल्लेख थियो।

यो स्थिति आइपरे सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२.१ लागू गर्ने योजना बनाएको थियो।

यो दफामा विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा सरकारले त्यस्तो घोषणा गर्ने प्रावधान छ।

३२.   विपद् सङ्कटग्रस्त क्षेत्रको घोषणा : (१) नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएकोले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सिमाना र अवधि तोकी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेछ।

(२) उपदफा (१) बमोजिमको अवधिभित्र विपद्‍बाट उत्पन्न स्थिति नियन्त्रण हुन नसकेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो घोषणाको अवधि बढाउन सक्नेछ।

(३) उपदफा (१) वा (२) बमोजिम विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको सूचना राष्ट्रियस्तरको सञ्चार माध्यमबाट प्रकाशन र प्रसारण समेत गर्नु, गराउनु पर्नेछ।

(४) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिमको अवस्था नरहेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी जुनसुकै बखत त्यस्तो घोषणा फिर्ता लिन सक्नेछ।

तर सरकारले अहिले नै यस्तो घोषणा नगर्न सक्छ। किनभने लेभल २ अर्थात् २ हजार केस नाघ्ने बित्तिकै जनस्वास्थ्य विपद् घोषणा गर्ने योजना पनि थियो। त्यसको तयारी भएको समाचारहरु आए पनि सरकारले घोषणा भने अहिलेसम्म गरिसकेको छैन।

योजनामा ऐनको दफा ३६.१ अनुसार अन्तर्राष्ट्रिय मानवीय तथा अन्य सहायता लिन सक्ने पनि उल्लेख छ।

३६.   अन्तर्राष्ट्रिय मानवीय तथा अन्य सहायता लिन सक्ने : (१) नेपाल सरकारले मुलुकमा भएको विपद्को अवस्थालाई तत्काल सामना गर्न आन्तरिक स्रोत र साधनबाट नभ्याउने भई अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ भन्ने लागेमा अन्तर्राष्ट्रिय मानवीय तथा अन्य सहयोग लिन सक्नेछ ।

(२) विपद्‍बाट उत्पन्न स्थिति नियन्त्रण भई थप अन्तर्राष्ट्रिय सहयोग आवश्यक नपर्ने भएमा नेपाल सरकारले उपदफा (१) बमोजिमको सहयोग आवश्यक नभएको घोषणा गर्न  सक्नेछ ।

नेपाल भर कोरोना संक्रमितको संख्या १० हजार नाघ्दा निको हुनेको संख्या पनि २ हजार नाघेको छ। नेपालका ७७ जिल्लामध्ये रसुवा एउटा मात्र अहिलेसम्म ग्रिन जोनमा छ। अर्थात् त्यहाँका कसैलाई पनि संक्रमण भएको छैन।

मृत्युको संख्या २४ पुगेको छ।

संक्रमितको संख्या अनुसार निको हुनेको प्रतिशत २२.०२ छ भने मृत्युको प्रतिशत ०.२३ मात्र छ। त्यसैले स्थिति डरलाग्दो भइसकेको छैन। धेरै आत्तिनु पर्ने कारण छैन। सावधानी अपनाएर जीविका चलाउँदा हुन्छ।

संक्रमितको धेरै संख्या क्वारेन्टिनबाट छ। अधिकांश भारतबाट आएकाहरुमा संक्रमण देखिएको छ। संक्रमितको संख्या युवा उमेरका भएकाले र त्यो उमेर समूहमा विश्वमै मृत्युको संख्या कम भएकोले पनि अहिलेसम्म आत्तिनु पर्ने स्थिति छैन। तर यो समूहबाट जोखिम उमेर समूहमा संक्रमण नफैलियोस् भन्नेतर्फ भने हामी सचेत हुनुपर्छ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme