असार ३, २०७७ मा कान्तिपुर दैनिकको दोस्रो पेजमा ‘क्वारेन्टाइन व्यवस्थापनमा अनियमितता : औषधि नै नखाई ७४ लाखको बिल’ शीर्षकको समाचार छापिएको छ। सामाजिक सञ्जालमा निकै चर्चाको विषय भएको यो समाचारमा सेनाको अनियमितताको हिसाब निकाल्दा ‘कान्तिपुर’को हिसाब पनि गडबड भएर पाठकलाई भ्रमित पारिएको छ। त्यसो त समाचारको मुख्य चासो ‘क्वारेन्टाइन व्यवस्थापनमा अनियमितता’ हो र ‘चीनको वुहानबाट ल्याएर खरिपाटी क्वारेन्टाइनमा १७ दिन १ सय ७५ जनालाई राख्दा खाना र औषधि खर्च भन्दै सेनाले १ करोड २८ लाख ९९ हजार ४ सय ३३ रूपैयाँको बिल बनाएको’ तथ्यमा आधारित छ। औषधी नै नखाई ७४ लाखको बिल बनाइएको दावी समाचारमा छ। तर पूरै समाचार हिसाबमा आधारित हुँदा पनि समाचारको अंशमा कम्तिमा दुई ठाउँमा हिसाब गडबड देखिन्छ।
कान्तिपुरमा प्रकाशित समाचार।
कान्तिपुरको समाचारमा प्रकाशित सेनाले सार्वजनिक गरेको खर्च विवरण।
समाचारमा लेखिएको छ- ‘१७ दिनमा प्रतिव्यक्ति ३१ हजार ४ सय ३६ रुपैयाँ ७६ पैसा र दिनको १८ हजार ४९ रुपैयाँ २२ पैसा खाना खर्च भएको सेनाले जनाएको छ।’
माथि राखिएको सेनाले सार्वजनिक गरेको खर्च विवरणको आधारमा प्रति व्यक्ति कूल खर्च र प्रति व्यक्ति प्रति दिनको खर्च कान्तिपुरले समाचारमा निकालेको छ।
अब यसलाई हिसाब गरी हेरौँ-
कूल खाना खर्च = रु ५५,०१,४३३
प्रति व्यक्ति खाना खर्च= रु ५५,०१,४३३/१७५ जना (हिसाब निस्कन्छ- रु ३१,४३६)
प्रति दिन प्रति व्यक्ति खाना खर्च= रु ३१,४३६/१७ दिन (हिसाब निस्कन्छ- रु १८४९.१७)
अर्थात् कान्तिपुरको समाचारमा जस्तो दिनको १८ हजार ४९ रुपैयाँ २२ पैसा होइन, खर्च १ हजार ८ सय ४९ रुपैयाँ १७ पैसा भएको हो। अर्थात् कान्तिपुरको समाचारमा उल्लेख भएको रकम १६ हजार २ सय रुपैयाँले बढी छ।
त्यसैगरी समाचारको अर्को लाइनमा लेखिएको छ- एक युवाले आफ्ना लागि क्वारेन्टाइनमा बस्दा दिनको ७३ हजार खाना र औषधि उपचारमा खर्च भएको सुन्दा आश्चर्य लागेको बताए ।
यसमा खाना र औषधी उपचारको एकमुष्ट रकमको हिसाब गरिएको छ। यसलाई पनि हिसाब गरी हेरौँ-
खाद्यान्न र औषधी खरिद गरी कूल खर्च = रु १,२८,९९,४३३
प्रति व्यक्ति कूल खर्च= रु १,२८,९९,४३३/१७५ जना (हिसाब निस्कन्छ- रु ७३ हजार ७ सय ११)
प्रति दिन प्रति व्यक्ति खर्च = रु ७३७११/१७ दिन (हिसाब निस्कन्छ- रु ४ हजार ३ सय ३५ रुपैयाँ)
अर्थात् समाचारमा उल्लेख एक युवालाई उद्धृत गर्दै ‘क्वारेन्टाइनमा बस्दा दिनको ७३ हजार खाना र औषधि उपचारमा खर्च भएको’ लेखिनु भ्रामक छ। खासमा यो दिनको नभई कूल खर्च हो। प्रति दिन खर्च त ४ हजार ३ सय ३५ रुपैयाँ चानचुन भएको हो।
निश्कर्ष : कान्तिपुरमा प्रकाशित समाचार भ्रामक छ। समाचारमा उल्लेख भएको ‘दिनको १८ हजार ४९ रुपैयाँ २२ पैसा खाना खर्च भएको’ र ‘दिनको ७३ हजार खाना र औषधि उपचारमा खर्च भएको’ जानकारी गलत छ। यद्यपि खाद्यान्न र औषधीमा कसरी त्यति धेरै कूल खर्च भयो भन्ने समाचारको मूल चासो सेनाले नै सार्वजनिक गरेको खर्च विवरणको आधारमा भएकोले सही छ।
तर कान्तिपुरले आजको अङ्कमा त्यसलाई सच्याएको छैन, न अनलाइन संस्करणमा राखिएको समाचार नै सच्याएको छ।
अपडेट : यो फ्याक्टचेक प्रकाशन भएपछि कान्तिपुरले आफ्नो अनलाइन संस्करणमा गल्ती भएकोमा सच्याएको कुनै सूचना र संकेतसम्म नदिई सुटुक्क समाचार सच्याएको छ। अनलाइन संस्करणमा सच्याइएको समाचारको हिसाब पनि पैसामा गडबड छ। सच्याउँदा दिनको १ हजार ८ सय ४९ रुपैयाँ २२ पैसा लेखिएको छ। तर हिसाब गर्दा १ हजार ८ सय ४९ रुपैयाँ १७ पैसा आउँछ। समाचार सच्याउँदा ‘एक युवाले बताएको’ कुरा पनि परिवर्तन भएछ। फेरि बताएको हो कि पहिले बताएको कुरा गलत हालिएको (Misquote भएको) हो खुलाइएको छैन। अन्तर्राष्ट्रिय मिडियाले गल्ती भएको समाचार सच्याउँदा के लेखिएको थियो र के हुनुपर्ने हो स्पष्ट रुपमा खुलाउने प्रचलन छ। कान्तिपुर मिडिया ग्रुप मै पनि अनुप काफ्ले सम्पादक हुँदा काठमान्डु पोस्टमा यस्तो सुरुवात गरिएको थियो। एउटै मिडिया हाउसमा पनि गल्ती सच्याउँदा एउटा पारदर्शी हुने अर्को गुपचुप गर्ने किन होला?
अपडेट २ : यो विषयमा आजै साँझ ६ बजेर १५ मिनेटमा सेनाले विज्ञप्ति निकाल्दै प्रष्ट पारेको छ। विज्ञप्तिमा क्वारेन्टिनमा रहने १७५ जना स्वदेश फर्किएका नेपाली विद्यार्थीहरुमात्र नभएर नेपाल वायुसेवा निगमका १८ (अठार) जना, चिकित्सक समूह, सफाईकर्मी तथा एम्बुलेन्स टोली सहित गरि जम्मा ९ (नौ) गरि जम्मा २०२ (दुई सय दुई) जना रहेको स्पष्ट गरेको छ। विज्ञप्तिमा लेखिएको छ- ‘स्तरीय प्याकिङ्ग सहितको स्वस्थकर खाना खुवाउनको लागि ४ (चार) प्रकारका मेनु (शाकाहारी र तीन प्रकारका मांसाहारी) अनुसार दिनको ४ (चार) छाक (ब्रेकफाष्ट, लञ्ज, टिफिन र डिनर) को व्यवस्था गरिएको थियो। कोभिडको त्रासका कारण अन्य केटरिङ्ग अनिच्छुक भएको अवस्थामा दैनिक खानाको लागि कार्की केटरिङ्गसँग प्रति व्यक्ति प्रति दिन भ्याट वाहेक रु.१३५०।०० (एक हजार तीन सय पचास) मा सम्झौता भएको थियो। साथै उक्त क्वारेन्टिनमा सुरक्षार्थ खट्टिएका ३० (तीस) जना सुरक्षाकर्मीहरुलाई खाजाको व्यवस्था गरिएको थियो भने सोहि भित्रबाट पानी, कफि र चियाको छुट्टै प्रबन्ध समेत गरिएको थियो।’
नेपाली सेनाको ध्यानाकर्षण pic.twitter.com/iTn52FQrx9
— Nepali Army (@thenepalesearmy) June 18, 2020
औषधी खरिद बारे सार्वजनिक सूचनामा केही प्रष्ट नभए पनि विज्ञप्तिमा भने यसरी प्रष्ट पारिएको छ-
‘औषधी खरीदमा रु.३,३३,०१०।०० (तीन लाख तेत्तिस हजार दश), औषधीजन्य सामग्री खरिदमा रु.६३,३७,४८१।०५ (त्रिसाठ्ठी लाख सैतिस हजार चार सय एकासी रुपैया र पैसा पाँच) र बाकि रु.७,२८,०४८।९६ (सात लाख अठ्ठाइस हजार अठ्चालिस र पैसा छयानब्बे) श्री कोष तथा लेखा नियन्त्रण कार्यालय, सुन्धारा काठमाडौंमा मौज्दात रहेको जानकारी गराइन्छ।
तसर्थ, औषधी खरिदतर्फ रु.३,३३,०१०।०५ (तीन लाख तेत्तिस हजार दश र पैसा पाँच) रकम मात्र भएको र सो औषधीहरु मध्ये रु.१३,१७९।८९ (तेह्र हजार एक सय उनासी र पैसा उनाननब्बे) बरावरको औषधी खर्च भई बाकिं रु.३,१९,८३०।१६ (तीन लाख उन्नाइस हजार आठ सय तीस र पैसा सोह्र) बरावरको औषधी पुनः प्रयोगमा ल्याउने गरि स्टोर मौज्दात भएको जानकारी गराईन्छ । प्रयोग भईसकेको केहि औषधीहरु सोहि क्वारेन्टिन स्थलमा नै प्रयोग गर्ने गरि छोडिएको र केहि औषधी पुनः प्रयोगमा ल्याउने गरि स्टोर दाखिला भएको समेत जानकारी गराइन्छ।
रु.६३,३७,४८१।०५ (त्रिसाठ्ठी लाख सैतिस हजार चार सय एकासी र पैसा पाँच) बाट खरीद गरिएको औषधी र औषधीजन्य सामग्रीहरु मुख्यतया स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, फोहोर व्यवस्थापन तथा अन्य हवाई यात्रामा आते/जाते कार्यमा खट्टिएका व्यक्तिहरु, क्वारेन्टिनमा नियमित कार्यमा प्रयोग गरिने Personal Protective Equipment (PPE), Digital/Infrared Thermometer, मास्क र पञ्जाहरु, Sanitizer र Disinfectant हरु, Waste Transportation Trolley सहित सफाईका सामग्री र Fogger Machine हरु खरीद गरिएको थियो। उक्त स्वास्थ्य सामग्रीहरु मध्ये प्रयोग पछाडि डिस्पोज गरिने र Consumable हरु बाहेक रु.२३,३०,५६२/२१ (तेइस लाख तीस हजार पाँच सय बैसाठ्ठी र पैसा एक्काईस) बरावरको औषधीजन्य सामग्रीहरु पुनः प्रयोगमा ल्याउने गरि स्टोर दाखिला भएको जानकारी गराइन्छ।
त्यसैगरी विज्ञप्तिमा ‘वास्तविकतालाई तोडमोड गरि गहन अध्ययन वेगर रु.३,३३,०१०।०५ (तीन लाख तेत्तिस हजार दश र पैसा पाँच) औषधी खरिद भएकोमा रु.७३,९८,०००।०० (त्रिहत्तर लाख अन्ठानब्बे हजार) भनि एउटै मात्र आधार लिई हचुवाको भरमा पाठक वर्गलाई दिग्भ्रमित (Misleading) गर्ने अभिप्राय’ भएको आरोप पनि लगाइएको छ।
धन्यवाद शत्यतथ्य कुरा बाहिर ल्याइदिनुभएकोमा ।
Thank You Sabin ji.
Please fix endless advertisement loading when we scroll to comment section. We can not even go to comment section a lot of times as advertisement keeps on loading as we scroll down infinitely.
Because this will generate some income to mysansar. Where else could we find this type of investigative journalism in Nepal?? So scrolling through the ads may be the least we could do to support. I hope you understand..