Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

न मोडालिटीमा गयो, न तयारीमा : अलमलमा परेको सरकारले थप्यो लकडाउनको ७ औँ किस्ता

Posted on May 17, 2020 by Salokya

अन्ततः सरकारले सबैले सोचे जस्तै लकडाउनको सातौँ संस्करण जेठ २० सम्मका  लागि ‘उपहार’ दिएको छ।  हिजोअस्तिसम्म कसैको मृत्यु भएको छैन, सरकारले गरेको कामको कारण कसैको ज्यान नगएको हो भनेर गर्व गर्ने सरकारले हिजो र आज लगातार दुई दिन दुई जनाको कोरोनाबाट मृत्यु भएको देख्यो। यस्तो अवस्थामा अलमलमा परेको सरकारले लकडाउन बढाउने नै अपेक्षा थियो। मात्र कति दिनको भन्ने जिज्ञासा थियो- १५ दिनको जवाफ पाइयो आजको मन्त्रिपरिषद् बैठकपछि। 

नभए भोलि जेठ ५ गते मध्यरातमा सकिने लकडाउन अब जेठ २० गतेसम्म लम्बिएको छ। र, त्यो दिन पनि लकडाउन खुल्ने निश्चित छैन।

छिमेकी देश भारतले आजै चौथो पटक मे ३१ अर्थात् जेठ १८ गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ। नेपालमा भने लगभग उस्तै अवधिमा सुरु भएको लकडाउनको सातौँ संस्करण भइसक्यो। सरकारले एकै पटक लामो लकडाउन घोषणा नगरेर खुद्रा व्यापारीले जस्तो कहिले सात, कहिले १०, कहिले १५ दिनको अवधि थप्दैछ। सरकारको पारा हेर्दा त अर्को सूचना नहुन्जेल लकडाउन भनेर घोषणा गरे पनि हुने देखिन्छ। सरकारले त्यो पनि गर्दैन।

अहिले सरकारले गर्नुपर्ने काम जोखिमका क्षेत्रहरु छुट्याएर त्यस अनुसार विभिन्न गतिविधिहरुमा आंशिक छुट दिने र शंकास्पद ठाउँमा र र्‍यान्डम रुपमा पनि व्यापक परीक्षण गरी संक्रमणको स्थिति पहिल्याउनु पर्ने हो। तर अलमलमा परेको सरकारका लागि संक्रमण देखिएको जिल्ला, संक्रमण फैलिन सक्ने जिल्ला र संक्रमण नदेखिएको जिल्ला उही वर्गीकरणमा परेको छ। उस्तै लकडाउन छ सबैतिर। कम्तिमा छिमेकी मुलुकहरुको मोडलसमेत पछ्याउन नसकेको देखियो।

कोरोनाको संक्रमण नेपालमा अहिले होइन चार महिना अघि नै पहिलो पटक देखिएको थियो। तयारीका लागि पर्याप्त अवधि थियो हामीसित। तर हामी कोरोना फ्री देश र इम्युनिटी पावर बलियो भन्दै भ्रममा रमाएर बस्यौँ। संक्रमण देखिन्छ र मृत्यु पनि हुन्छ। विश्वका अधिकांश मुलुकमा यस्तै छ स्थिति। तर कोरोनासँगै सावधानीपूर्वक न्यूनतम गतिविधि सञ्चालन भइरहेका छन् अरु धेरै देशमा। पाकिस्तानमा ४० हजार संक्रमित, ८ सयभन्दा बढीको ज्यान गइसक्यो। तर त्यहाँ यही हप्तादेखि विशेष सावधानी अपनाएर आन्तरिक हवाई सेवा सुरु भइसक्यो। भारतमा पनि संक्रमण भएको स्थान र त्यहाँको जोखिम हेरेर विभिन्न गतिविधि खुकुलो गरिएको छ। हामीले त्यतातिर ध्यान नदिएर सीधै लकडाउन ठोकिरहेका छौँ, यसबाट परिरहेको नकारात्मक असरतर्फ ध्यान नदिई। फेरि हामीहरुको लकडाउन कस्तो पनि भयो भने सकेकोले जे पनि गर्ने, नसकेकोले केही गर्न नसक्ने। सीमा बन्द भनेका छन् तर भारतबाट प्रवेश गरेका व्यक्ति कोरोना संक्रमणका कारण क्वारेन्टिनमै मृत्यु भइरहेको छ। लकडाउन भनिएको छ तर बाहिर जिल्लाबाट काठमाडौँ आएर रिपोर्टमा संक्रमण देखिरहेको छ।

तयारी त कस्तो भन्ने शव व्यवस्थापन मै देखियो। फागुन ११ मा पहिलो संक्रमण देखा परेको, चैतको अन्तिममा बल्ल शव व्यवस्थापन कार्यविधि बन्यो। त्यो पनि कस्तो भयो भनेर हिजो धुलिखेलमा ज्यान गुमाएकी महिलाको शव व्यवस्थापनमा देखियो। शव लिन गएका स्वयंसेवकहरुले  शवबाट रगत बगिरहेको थियो, हामीले सफा गऱ्यौं भनेको मिडियामा आएको छ। तर व्यवस्थापन कार्यविधिमा त्यस्तो भएको भए होसियारीपूर्वक बन्द गर्नुपर्ने लेखिएको छ।

त्यसैगरी आज कान्तिपुर टिभीमा बाँकेमा मृत्यु भएका काेराेना संक्रमितकाे अन्त्येष्टि गर्न काेही नमानेकाे, अन्त्यमा तल्लाे तहका कर्मचारी लगाएर खाेलातिर लाँदा बाटाेमा स्थानीयले विराेध गरेपछि अर्कै बाटाे लान परेकाे रिपाेर्ट थियो। यही हाे छ भनेकाे तयारी ?

तयारी त लकडाउन घोषणामा पनि देखिएन। कहिले कति दिन, कहिले कति।

नेपालमा लकडाउन चैत ११ गते बिहान ६ बजेदेखि सुरु भएको हो। पहिलो लकडाउन चैत १८ बिहान ६ बजेसम्मका लागि थियो। दोस्रो लकडाउन चैत २५ सम्म थपियो। तेस्रो लकडाउन वैशाख ३ गतेसम्म थपियो।

चौथो लकडाउन भने एकैचोटी वैशाख १५ गते मध्यरातसम्म थपियो। त्यसैगरी पाँचौँ लकडाउन अलि कम अवधिका लागि वैशाख २५ गतेसम्म थपियो। छैटौँ लकडाउन जेठ ५ गतेसम्म थपियो। सातौँ लकडाउन भने जेठ २० गतेसम्म हुने भनिएको छ।

 

1 thought on “न मोडालिटीमा गयो, न तयारीमा : अलमलमा परेको सरकारले थप्यो लकडाउनको ७ औँ किस्ता”

  1. madan bajracharya says:
    May 18, 2020 at 8:26 am

    जुन हिसावले नेपालको राजनीतिमा कोरोना भाईरस बनेको भारतमा अहिले कोरोना माहामारीको रुपमा फैलेको छ्। भारतले त्यहा रोअजगारी गर्दै गरेका लाखौं नेपालीहरु नेपालको सिमानामा थुपार्दैछ नेपाल जा भनेर। भारतले ती नेपालीहरुलाई कोरोना लागेको छ् बा छैन भनेर मेदिकल गरेको पनि छैन। ती मध्य् केही नेपाल पसेका छन र् तिनिहरुमा धेरैलाई कोरोना लागेको र् तिनिहरुकै कारनले नेपालमा अहिले कोरोना फैलिन्दै छ्। भारतले नेपाल जा भनेर दस गजामा थुपारेको नेपालीहरुलाई कोरोना बाट सन्क्रमित नहुने केही ब्यबस्था गरेको छैन। अनी नेपालको ओलिकारले भारत बाट फर्केकालाई नेपाल भित्र भरतले जस्तै कोरोना लागेको नलागेको सबैलाई बोरामा कोचे जस्तै कोचेर राखेको छ्। नेपाल फर्कने नेपालीलाई भारतको मोदिकार र् नेपालको ओलिकरको यस्तो कुब्यब्स्थाको कारनले गर्दा भारत बाट फर्कन्दा केहीलाई मात्रै कोरोना लागेको थियो भने भरतले उनिहरुलाई जसरी नेपालको सिमानामा राखेको छ् तेसले आधा नेपालीहरु त् नेपाल पस्नु अघिनै कोरोना बाट सन्क्रमित भैसक्छ् अनि तिनिहरुलाई समयमै नफर्काउने र् फर्कायकालाई क्वेरन्ताइन मा राखेको भनेर कोरोना लागेको नलागेको सबैलाई जसरी नेपालको ओलिकारले राखेको छ् तेसले तिनिहरु सबैनै कोरोना बाट सन्क्रमित हुने लगभग निस्चित नै देखिन्छ।

    केही दिन बा केही हप्ता पछी भारतमा जस्तै कोरोना फैलिन्दै गयको अरव आदी देसहरु बाट पनि दसौ बिसौ लाख नेपालीहरु नेपाल फर्कनेनै छन। तिनिहरु पनि भारत बाट फर्काईयकै जस्तै कोही कोही पक्कै पनि कोरोना लागेकै हुन्छ र् तिनिहरुलाई नेपाल फर्के पछी नेपालको ओलिकारले तिनिहरुलाई भरत बाट फर्केकालाई राखेकै जस्तो क्वेर्व्न्ताइन मा राख्ने त् हो नि। त् सोच्नुस् र् भगवानमा विश्वाश गर्ने हुनु हुन्छ भने ओलिकारको दुई तिहाई बहुमतको सरकारको कोरोना लागेको नलागेको सबैलाई यकै घ्याम्पोमा कोच्याउने जस्तै को क्वेरन्ताइन र् अश्वासनको त्याब्लेत मात्रै खुवाउने उपचारले दुई तिहाई नेपालीहरुलाई कोरोना बाट सन्क्रमित नबनाई देवस भनि यमराजकोमा प्रर्थना गर्नुस्। तर यदी भगवानमा विश्वाश गर्नु हुन्न भने ओलिकारलाई यदी उस्को कुब्यब्स्था बाट कुनै पनि नेपालीलाई कोरोना लागेमा तेस्को लागि “जिम्मेवार” बनाउने कसमा खानुस्।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme