Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्रकारितामा कोरोना कहर : अर्को ठूलो मिडिया हाउसमा पत्रकारहरुलाई बेतलबी विदा बस्‍न दबाब

Posted on May 5, 2020May 5, 2020 by Salokya

कोरोना भाइरसका कारण निम्तिएको संकटको मार श्रमजीवी पत्रकारहरुलाई पर्न थालेको छ। ठूला मिडिया कै पत्रकारहरु यसबाट पीडित हुन पुगेका छन्। केही अघि कान्तिपुरले केही पत्रकारहरुलाई बेतलबी विदामा बस्‍न भनेको समाचार आएका थिए। तर पत्रकार महासंघलाई कान्तिपुर व्यवस्थापनले लेखेको आधिकारिक पत्रमा पनि बेतलबी विदामा नबसाएको दावी गरिएको छ।

यता, कान्तिपुरबाटै १२ वर्षअघि अलग्गिएर बनेको नेपाल रिपब्लिक मिडियाले पनि पत्रकारहरुलाई बेतलबी विदामा बस्न दबाब दिएको छ। नेपाल रिपब्लिक मिडियाका दुई प्रकाशन ‘नागरिक परिवार’ मासिक र ‘शुक्रबार’ साप्ताहिकमा कार्यरत पत्रकारहरुलाई केही दिनअघि मोबाइलमा एसएमएस गरी भनिएको थियो, ‘नागरिकको अफिसमा मंगलबार बिहान ११ बजे मिटिङ डाकिएको छ। तपाईँहरुलाई पिक एन्ड ड्रपको व्यवस्था एडमिनले गर्नेछ। सबै जना मिटिङमा उपस्थित हुनुहोला।’

विनोदराज ज्ञवाली प्रबन्ध निर्देशक रहेको नेपाल रिपब्लिक मिडियाले नागरिक नेपाली दैनिक, रिपब्लिका अङ्ग्रेजी दैनिक, शुक्रवार साप्ताहिक र परिवार मासिक प्रकाशन गर्ने गर्छ। तीमध्ये हाल नागरिक दैनिक बाहेक सबैको प्रकाशन स्थगित छ।

परिवार र शुक्रबारका पत्रकारहरुलाई डाकेर आज गरिएको मिटिङमा व्यवस्थापनले बेतलबी विदामा बस्न दबाब दिएको थियो।

उनीहरुले सामूहिक मिटिङ हुन्छ होला भन्ठानेका थिए। तर एक्लाएक्लै बोलाएछन्। थाहा भए अनुसार एचआरका चिफ र वकिल बसेर अहिलेलाई बेतलबी विदामा बस्नुस्, अवस्था सामान्य भएपछि बोलाउँछौँ भनेका थिए।

जवाफमा उनीहरुले ‘कम्पनीलाई गाह्रोसाह्रो परेको भए कानुन अनुसार विदा गर्नुस्। एक हातमा चेक लिएर एक हातमा राजीनामा गर्न हामी तयार छौँ’ भने।

परिवार र शुक्रबारका पत्रकारहरुले फागुन महिनादेखिको तलब पाउन बाँकी रहेको बुझिएको छ।

परिवारको वैशाख अङ्क डिजिटल प्रकाशन गरिएको थियो। शुक्रबार भने चैत ७ को अङ्कपछि बन्द छ।

पुरानो तलब मागेपछि ‘रिपब्लिका’ बन्द

नेपाल रिपब्लिक मिडियाबाटै प्रकाशन हुने अङ्ग्रेजी दैनिक रिपब्लिकाको प्रकाशन भने अप्रिल १५ अर्थात् वैशाख ३, २०७७ देखि बन्द छ। अन्तिम अंकमा प्रबन्ध निर्देशक ज्ञवालीले कोरोना भाइरस महामारीका कारण विश्वभरीकै न्युजरुम प्रभावित भएको भन्दै रिपब्लिकाको प्रकाशन अर्को सूचना नभएसम्मका लागि बन्द गरिने  घोषणा गरेका थिए।

रिपब्लिकामा कार्यरत एक पत्रकारका अनुसार कोरोना बहाना मात्र हो। रिपब्लिकाका पत्रकारहरुले कोरोना संकट देखिनुभन्दा अघि गत वर्षको माघ महिनादेखि नै तलब पाएका थिएनन्।

‘हामी पनि संस्थालाई माया गर्छौँ। लकडाउनको बेला संस्थालाई अप्ठेरो परेको हो भने हामी पनि यो अवधिको तलबको बारेमा कन्सिडर गर्न सकौँला। तर पुरानो तलब त चुक्ता गर्न पर्‍यो नि’, उनले भने, ‘त्यसैले हामीले माघ र फागुन महिनाको तलब दिने हो भने काम गर्छौँ भनेका थियौँ। हामीले वैशाख २ गते मंगलबार त्यसो भनेका थियौँ। तर भोलिपल्ट त पत्रिकामा प्रकाशन अनिश्चितकालका लागि स्थगित गरेको सूचना पो आयो।’

रिपब्लिकाका पत्रकारहरुलाई आफूहरुको हालको स्टायटस के हो भन्ने नै थाहा छैन। उनीहरुलाई न बेतलबी विदा भनिएको छ, न पुरानो बक्यौता तलब नै भुक्तान गरिएको छ। ‘यो अवधिमा म्यानेजमेन्टले हामीलाई कुनै सम्पर्क गरेको छैन’, ती पत्रकार भन्छन्, ‘सम्पादकले हामीलाई काम गर्न भनेका छन्। तर हामीले पुरानो तलब बिना काम नगर्ने भनेका छौँ।’

कम्पनी छाडेर गइसकेका पत्रकारहरुले समेत आफ्नो तलब पाएका छैनन्।

पत्रकारहरुले आफूहरुलाई तलब नदिएको विषयमा पत्रकार महासंघमार्फत् प्रेस रजिस्ट्रारलाई जानकारी गराएका छन्। रजिस्ट्रारले पनि कम्पनीलाई चिट्ठी लेखेर के भएको हो जानकारी दिन भनेको छ।

प्रकाशन जारी रहेको ‘नागरिक’का पत्रकारहरुले भने वैशाखमा बल्ल माघ महिनाको पूरा तलब र फागुन महिनाको ‘बेसिक स्यालरी’ पाएका छन्। तर काठमाडौँ बाहिरका पत्रकारहरुले मंसिर महिनादेखि नै तलब नपाएको गुनासो गरेका छन्। नागरिकमा चैत १७ गतेदेखि बिक्री मूल्य नराखी निःशुल्क प्रति बाँड्ने गरिएको छ।

नेपालन्युजमा समस्या

त्यसैगरी यति ग्रुपको लगानी रहेको नेपालन्युज डट कमले आफ्ना धेरै पत्रकारहरुलाई वैशाख २० गतेसम्मको तलब र थप दुई महिनाको तलबसहित विदा गरेको छ। त्यसरी विदा हुने पत्रकारहरुले नेपालन्युज बन्द भयो भने पनि अनलाइनमा यसअघि मर्कन्टायल कम्युनिकेसन्सको स्वामित्वमा भए जस्तो सूचना नै राखी बन्द गरिएको छैन। त्यसमा नयाँ समाचारहरु अपडेट भइ नै रहेका छन्।

उता, अर्को राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्टमा पनि आधा तलबमा काम गर्नुपर्ने प्रस्ताव व्यवस्थापनले राखेको बुझिएको छ। यस विषयमा निर्णय हुन भने बाँकी छ।

1 thought on “पत्रकारितामा कोरोना कहर : अर्को ठूलो मिडिया हाउसमा पत्रकारहरुलाई बेतलबी विदा बस्‍न दबाब”

  1. Pingback: पत्रकार महासंघको पत्र ‘नागरिक’मा अस्वीकार, कारण हेर्नुस् त कस्तो ! « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme