Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के हो प्रचण्डलाई कोरोनाको आशंका भन्दै फैलाइएको समाचारको सत्य?

Posted on April 12, 2020 by Salokya


फेसबुकका केही ग्रुपहरुमा अहिले प्रचण्ड अस्वस्थ्य भएको र कोरोनाको आशंका भएको समाचार भाइरल भएको छ। समाचारमा गरिएको दावी अनुसार प्रचण्ड केही दिनदेखि बिरामी छन्, उनलाई रुघाखोकीले सताएको छ, अनि कोरोनाको आशंका पनि गरिएको छ।

के साँच्चिकै यस्तो हो त? हामीले फ्याक्टचेक गरेका छौँ।

खासमा यो समाचार एक महिनाअघिको हो। त्यतिबेला प्रचण्ड सामान्य बिरामी भएका थिए। उनलाई मौसमी रुघाखोकी लागेको थियो। यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भर्ना हुँदाको समय थियो। यस सम्बन्धमा फागुन २० गते अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित थियो। समाचारमा लेखिएको थियो, ‘प्रचण्ड स्वयम् मौसमी रुघाखोकी लागेपछि अहिले खुमलटार निवासमै आराम गरिरहेका छन् । राजनीतिक भेटघाट घटाएका प्रचण्ड प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न भने अस्पताल पुगेका हुन् । प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार उनले केही दिन सार्वजनिक कार्यक्रम र भेटघाटको कार्यक्रम नराख्न आग्रह गरेका छन् ।’

त्यसैगरी लोकान्तरले पनि ‘प्रचण्ड अस्वस्थ, निको नहुन्जेलसम्म राजनीतिक भेटघाट बन्द’ शीर्षकमा समाचार फागुन २० गते नै प्रकाशन गरेको छ।

एक महिनाअघि पनि सामान्य रुघाखोकी लागेका प्रचण्डलाई कोरोनाको आशंका भन्दै सनसनीपूर्ण समाचार शीर्षक केही अनलाइनले बनाएका थिए।

उदाहरणका लागि फागुन २६ गते सूचना विभागमा दर्ता भएको अनलाइनपाना डट कमले राखेको समाचार शीर्षक हेर्नुस्-

त्यसैगरी अलटपहियरनेपाल डट कमले पनि यस्तै समाचार राखेको थियो मार्च ९ तारिखमा।

यही समाचार कपिपेस्ट गर्दै सूचना विभागमा दर्ता नभएको द टाइम्स नेपाल डट कमले आज अर्थात् अप्रिल १२ मा नयाँ समाचार जस्तो गरी पोस्ट गरेको छ।

यही फेक र भ्रामक समाचार राख्ने साइटहरुका समाचार विभिन्न ग्रुपहरुमा अहिले भाइरल बनाइएको हो।

बीबीसी न्युज नेपाली नामको बीबीसीको लोगो प्रयोग गरिएको भ्रामक फेसबुक ग्रुपमा यो समाचार आज राखिएको छ। यहाँ क्लिक गरी हेर्न सकिन्छ।

त्यसैगरी शैक्षिक सरोकार मन्च नामको ग्रुपमा पनि द टाइम्स नेपालको समाचार सेयर गरिएको छ।

प्रचण्ड अहिले बिरामी छैनन्। प्रचण्ड एक महिनाअघि सामान्य रुघाखोकी लागेर अस्वस्थ भएका थिए। त्यति बेला पनि कोरोनाको कुरा थिएन। त्यसैले फेसबुकमा फैलिएका यी समाचारहरु मिथ्या र भ्रामक हुन्।

तपाईँ हामीले के गर्न सक्छौँ ?

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन्। यो पनि कोरोना भाइरस जस्तै संक्रमण हो। सूचना संक्रमण। इन्फोडेमिक। जसरी कोरोना फैलिन नदिन हात धुनुपर्छ, त्यसैगरी यस्तो सूचना संक्रमण फैलन नदिन पनि तपाईँ आफै जागरुक हुनुपर्छ। यस्ता समाचार तपाईँको मेसेन्जरमा आयो भने अरुलाई फरवार्ड गर्ने काम नगर्नुस्।

फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला। तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ। एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस्।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेजमार्फत् पठाउन सक्नुहुन्छ। तथ्य जाँच सामाग्री माइसंसार र नेपालफ्याक्टचेकमा प्रकाशन हुन्छ।)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme