Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नर्भिक हस्पिटलको भन्दै फेसबुकमा फैलाइएको अडियो यसकारण गलत

Posted on March 21, 2020March 21, 2020 by Salokya

“अँ हिमाल,
तिमीलाई एउटा एकदम इम्पोर्टेन्ट कुरा सुनाउन फोन गरेको है”

यी वाक्यबाट सुरु हुने पुरुष आवाज रहेको अडियो तपाईँले पनि फेसबुकको मेसेन्जरमा पाउनु भयो होला। त्यो मेसेजमा नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ जनालाई कोरोना भाइरस देखाएको र नेपालमा एकदमै फैलिसकेको भन्दै आतंक मच्चाउन खोजिएको छ।

उसले यो कुरा फेक हैन है भनेर सुन्नेहरुको दिमाग भुट्न खोजिएको छ। तर फेक हैन भन्दैमा त्यो फेक नहुने सर्टिफिकेट हैन। यस्ता कुरामा आँखा चिम्लेर विश्वास गर्नुभन्दा पनि यी तथ्यमा ध्यान दिएर त्यो अडियो गलत भएको बुझौँ र यसलाई फैलनबाट रोकौँ।

१) नर्भिक अस्पताल पुल्चोकमा छैन

अडियोमा नर्भिक अस्पतालमा काम गर्ने घर नजिकै बस्ने स्टाफले भनेको भनिएको छ। तर बिचरालाई नर्भिक अस्पताल कहाँ छ भन्ने नै थाहा रहेनछ। उसले पुल्चोकमा रहेको नर्भिक अस्पताल भनेको छ। नर्भिक पुल्चोकमा हैन थापाथलीमा छ। बिचरा नर्भिकमा कहिले गएको पनि छैन होला। त्यसैले उसलाई थापाथलीको प्रसुति गृह नजिकै नर्भिक अस्पताल रहेछ भन्ने नै थाहा रहेनछ। अस्पताल कहाँ छ भन्ने नै थाहा नभएको मान्छेले फेक हैन है यो खबर भन्यो भन्दैमा साँच्चैको हो भनी विश्वास गर्ने तपाईँ ?

२) फोन वार्ता रे एक जनाको मात्र आवाज

अडियोमा हिमाललाई फोन गरेर कुरा सुनाउन खोजेको जस्तो बनाइएको छ। तर यो फोन वार्ता भने हैन। किनभने फोनमा एकतर्फी कुरा मात्र छ। ‘अँ हिमाल’ भनेपछि ‘हजुर भन न’ वा त्यस्तै केही भन्नु पर्ने हो। तर यसमा त फोनमा कुरा गरेको नाटक मात्र गरिएको हो। फोन वार्ता हो भने एउटा कुरा भनिसकेपछि अर्को तर्फबाट केही जवाफ आउँछ त्यसका लागि पनि केही खाली ठाउँ हुनुपर्ने हो। तर एकोहोरो बोलेको छ बोलेको। यस्तो पनि फोन वार्ता हुन्छ कहीँ।

३) फोन नगरेको जस्तो अर्को अडियो

शायद फोन गरेको जस्तो गरे पनि त्यस्तो नसुनिएको जस्तो लागेर होला। अर्को खालको एउटा अडियो पनि फेसबुकमा फैलिएको छ। त्यही आवाज रहेको त्यो मान्छेले त्यही कुराहरु भन्छ। तर त्यसमा भने फोनमा कुरा गरेको जस्तो बनाइएको छैन। आफ्नो गल्ती पत्ता लाग्यो भनेर नै उसले अर्को अडियो पनि बनाएको हुनुपर्छ।

४) लुकाउन सम्भव छैन

के कोरोना भाइरस लागेर मान्छे मरिसकेको, ९ जनालाई चेक गर्दा ६ जनालाई लागेको टेस्टमा देखिसकेको जस्ता कुरा सत्य होलान् ? के सरकारले यो कुरा लुकाएको होला ? के मिडियाले पनि यो कुरा लुकाएको होला ?

यो सम्भव छैन। ६/६ जनालाई कोरोना लागेको टेस्टबाट देखिसक्दा पनि लुकाउन सकिँदैन। नेपालभित्रको कुनै मामिला भएको भए यस्तो गरियो होला भनेर शंका गर्न सकिएला। तर कोरोना त विश्वको ध्यानमा भएको कुरा हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा भइरहेका परीक्षणहरुको पनि निरन्तर निगरानी गरिरहेको छ। टेस्ट पोजिटिभ भयो भने उता पनि रिपोर्ट पठाउनु पर्छ।

त्यस्तै कोरोना लागेर मृत्यु भएको भए अरुमा फैलिन नदिन झन् सावधानी अपनाउनु पर्छ। यस्तो अवस्थामा शवको अन्त्येष्टि गर्न पनि कठिन हुनसक्छ। त्यसैले लुकाएर पनि यस्ता कुरा लुक्ने हैनन्। विश्व स्वास्थ्य संगठनको आधिकारिक सिचुएसन रिपोर्ट यहाँ क्लिक गरी हेर्नुस्।

५) नर्भिकमा कोरोना टेस्ट हुँदैन

नर्भिक अस्पतालमा कोरोना पोजेटिभ छ कि नेगेटिभ छ भन्ने टेस्ट हुँदैन। अहिलेसम्म यस्तो टेस्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्र हुने गरेको छ।

किन फैलाइन्छ यस्तो हल्ला ?

यो अडियोमा आवाज भएको कारण प्रहरीले चाह्यो भने धेरै समय लाग्दैन यो रेकर्ड गर्नेसम्म पुग्न। समाजलाई त्रसित पार्ने मनस्थिति नै उसको देखिन्छ। नत्र यस्तो हल्ला फैलाएर फाइदा हुने केही हैन। अरुलाई आतंकित बनाएर रमाउन चाहने परपीडक प्रवृत्ति भएकोले नै यस्तो हल्ला फैलाएको हुनुपर्छ।

मुलुकी अपराध संहिता अनुसार यसरी झुठा अफवाह फैलाए एक वर्षसम्म कैद हुनसक्छ। यस्तो छ प्रावधान-

७०. झुठ्ठा अफबाह फैलाउन नहुनेः (१) कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हूलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुश गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

अपडेट :
नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीले पनि भाइरल भएको खबर गलत रहेको बताएका छन्

सालोक्यजी स्पष्ट गरी दिनुभएकोमा आभार ! यो अत्यन्तै भ्रामक न्यूज हो र नियतवस गरिएको हो । नर्भिकमा यस्ता कुनै पनि बिरामीहरु नभएको जानकारी गराउन चाहन्छु । यस विषयलाई हामिले Cyber Crime Cell तथा स्वास्थ्य मन्त्रालयमा जानकारी गराएका छौं । हामी सबैलाई भ्रममा नपर्न अनुरोध गर्दछौं ।

— Basant Chaudhary (@basant_cg) March 21, 2020

त्यसैगरी नर्भिकले विज्ञप्ति नै निकालेर यो खबर गलत रहेको बताएको छ-

अपडेट १ : प्रहरीले अडियो रेकर्ड गरेर हल्ला फैलाउनेलाई पक्राउ गरेको छ

तपाईँ हामीले के गर्न सक्छौँ ?

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन्। एउटा अर्को उदाहरणमा राति १२ बजे विमानले कोरोना विरुद्ध आकाशबाट स्प्रे गर्ने भएकोले घरैमा बस्न भनिएको रहेछ।

यो पनि कोरोना भाइरस जस्तै संक्रमण हो। सूचना संक्रमण। इन्फोडेमिक। जसरी कोरोना फैलिन नदिन हात धुनुपर्छ, त्यसैगरी यस्तो सूचना संक्रमण फैलन नदिन पनि तपाईँ आफै जागरुक हुनुपर्छ। यस्ता अडियो तपाईँको मेसेन्जरमा आयो भने अरुलाई फरवार्ड गर्ने काम गर्नुहुन्न। बरु यस्तो हावा कुरा नपठाउ भनेर पठाउनेलाई भन्नुपर्छ।

फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला। तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ। एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस्।

(कोरोना भाइरससम्बन्धी तपाईँले पनि यस्ता गलत वा शंकास्पद जानकारीहरु पाउनु भएको छ भने हामीलाई [email protected] मा अथवा माइसंसारको फेसबुकमा पठाउन सक्नुहुन्छ। हामी त्यसबारे लेखेर अरुलाई सचेत बनाउने कोशिश गर्नेछौँ)

7 thoughts on “नर्भिक हस्पिटलको भन्दै फेसबुकमा फैलाइएको अडियो यसकारण गलत”

  1. Pingback: हुँदै नभएको भुटानको लकडाउनको खबर अझै फैलँदै, सरकारी एजेन्सी नै फेकन्युज फैलाउँदै « Mysansar
  2. Pingback: भुटानमा लकडाउन भएको छैन, गलत खबर नपत्याउनुस् – Mysansar
  3. Pingback: नझुक्किनुस्, कोरोना संक्रमितको जुम्ल्याहा बच्चाको नाम कोरोना र भाइरस राखिएको समाचार सही होइन « Mysansar
  4. Pingback: नपत्याउनुस्, इटालीका प्रधानमन्त्रीले आत्मसमर्पण गरेका छैनन् – Mysansar
  5. Pingback: नझुक्किनुस्, अन्नपूर्ण पोस्टको समाचारमा लेखे जस्तै कोरोना भगाउन डिटोल पिलाइएको होइन – Mysansar
  6. Pingback: नझुक्किनुस्, मान्छेहरु ढलेको यो फोटो इटालीको होइन « Mysansar
  7. रविन थेबे says:
    March 21, 2020 at 11:43 am

    यस्तो हल्ला कस्ताले फैलाउँछन थाहा छ ? हीन भावना ले ग्रसित एकल काट्टे साँचो साथी वा शुभचिन्तक भनेको कोहि पनि नभएका मानसिक रुपले अत्यन्त कमजोर , कायर काथर चामिकने ले यस्ता हल्ला फैलाउँछन / धेरै जसो दुइ चार वटा यस्ता loser हरु ले मिलेर यस्तो गर्छन /

    कुनै हुति र सामर्थ भएको भए यसरी लुकेर फेक छद्म नाम राखेर कम्प्युटर पछाडी लुकेर किन गर्थे ? हिम्मत भए सामुने आएर गर्थे / लुकेर यौटा बिघ्न आगो लगाउने अनि मजा लुट्ने ?

    यसरी लुकेर, नामर्द ले जस्तो गरेर अरु लाइ तर्साएर मजा लिने यो काथर चामिकने लाइ राम्रै थाहा छ कि अगाडी आएर केहि गर्ने हिम्मत त्यसको छैन /

    शायद यो चामिकने ले आफ्नो जिन्दगी मा सारै नै ठोकर खाएको जस्तो छ / यस्ता लाइ बाल मतलब नराख्नु नै असल / एउटा बिघ्न लगाएर अनि अरु को प्रतिक्रिया कुरेर बस्छ यो चामिकने तर ऐना मा आफ्नो अनुहार हेरेर हरेक दिन आफै लाइ धिक्कार्छ यो चामिकने /

    अर्को कुरा इन्टरनेट मा गरेको कुरा कुनै न कुनै दिन कुन चामिकने ले गरेको हो भन्ने कुरा पत्ता लगाउन सकिन्छ भन्ने कुरा यो चामिकने लाइ थाहा छैन होला / कुन दिन चिप्लन्छ र कि त् राम धुलाई खाएर हस्पिटल यो कि त जेल पुग्छ यो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme