केही दिनदेखि सामाजिक सञ्जालमा एउटा फोटो निकै भाइरल भएको छ। फोटोमा एक जना ज्येष्ठ नागरिक महिला मुख बाएर बसेकी छिन्। उनलाई चारैतिरबाट शिकारले झैँ घेरेका छन् माला लगाएकाहरुले। सेतो पञ्जा लगाएका उनीहरुले ती वृद्धाको दाँत ठेलिरहेका छन्। कम्तिमा तीन वटा हात उनको मुखतिर देखिन्छ। मुख बाहिर पनि सेता पञ्जा लगाएका हातहरु छन्। सबै हाँसिरहेका छन्। दन्त शिविरको उद्घाटन यस्तो, पाइल्स उपचारको शिविर भए के गर्ने होला? शल्यक्रियाको भए झन् के गर्ने होला भन्दै सामाजिक सञ्जालमा व्यङ्ग्य प्रशस्त छन्। कुन ठाउँको हो त यो फोटो ? फोटोमा देखिएका को को हुन्?
यो चैत ३ गतेदेखि ६ गतेसम्म ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा आयोजना भएको कार्यक्रमको उद्घाटनको फोटो हो। कार्यक्रम थियो- ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रम तथा नोबेल कोरोना भाइरस सम्बन्धी जनचेतनामूलक कार्यक्रम।
दाँत बिग्रेका ज्येष्ठ नागरिकका लागि नयाँ दाँत राखिएको थियो। फोटोमा देखिएकी एक वृद्धाको नयाँ दाँत राखिएको थियो।
फोटोमा देखिएकी महिला प्रदेश नम्बर १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर हुन्। यो कार्यक्रमका प्रमुख अतिथि। उनैलाई ट्याग गरी कसैले हालिदिएको फोटो नै सामाजिक सञ्जालमा फैलिएको हो।
फोटोमा देखिएका कालो टोपी लगाउने चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसी हुन् भने अरु दुई जनामा प्रदेश सांसद मोहन खड्का, र वडा अध्यक्ष अजय लुइँटेल हुन्।
पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालिको प्राविधिक सहयोग तथा प्रदेश नंं १ सामाजिक विकास मन्त्रालय र हेल्पिङ युथ इटहरीसँगको सहकार्यमा चम्पादेवी गाउँपालिकाले आयोजना गरेको शिविरमा ६० वर्ष माथिका दाँत झरेका वृद्धवृद्धाहरुलाई नि:शुल्क दाँत सेट लगाइदिने, सबै उमेर समूहका नागरिकलाई निशुल्क खुद्रा दाँत लगाइदिने, दाँत निकाल्ने तथा परामर्श दिने काम गरिएको थियो।
काम त ठीकै हो तर उद्घाटनमा चाहिँ त्यसरी दाँतै ठेलेर फोटो खिच्ने आइडिया चाहिँ कसको होला? आइडिया जसको भए पनि त्यसरी उद्घाटन गर भन्दा खुरुक्क मान्ने जनप्रतिनिधिहरुको ताल हेर्नुस् न। गज्जबै छैन त।