Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अब जो पीडित उही पो अपराधीसरह, आमाविरुद्ध बोल्दा प्रमाण नचाहिने, आमाले बोल्दा प्रमाण चाहिने

Posted on December 2, 2019February 10, 2020 by Salokya

दुःखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझ दुःख दे बालकृष्ण समले लेखे जस्तै साँच्चै हुने हो भने अब निर्मलाकी आमा दुर्गादेवीको घरमा ईश्वरको बास हुन हतार भइसक्यो। उनले धेरै दुःख पाइसकिन्। दुःख पाउने क्रम अझै जारी छ।

१६ महिना नाघिसक्दा पनि टुङ्गो नलागेको निर्मला प्रकरणमा सबैभन्दा पीडित आमालाई झन् पीडा दिने काम अझै जारी छ। हुँदाहुँदा केही अधिकारकर्मीहरु अब निर्मलाकी आमामाथि नै अनुसन्धान हुनुपर्ने माग गर्न थालेका छन्। हल्ला र आशंका फैलाएर यो प्रकरणलाई ट्विस्ट एन्ड टर्न गराउने र अदालतको मानहानी गरेको फौजदारी अभियोग ठहर भएर एक घण्टा कैदको सजाय भोगिसकेका खेम भण्डारीको मानसखण्ड दैनिकमा सोमबार ‘आमा विशेष’ समाचार छ। पहिलो पेजको पूरै समाचार आमाकेन्द्रित छ।

आमा विरुद्ध यो समूह लाग्न थालेको भर्खर हैन, गत वर्षको चैतदेखि नै हो। जब अधिकारकर्मीहरुको स्वार्थ विपरीत उनीहरुले सिकाएको कुराभन्दा विपरीत उनले बोल्न थालिन्, त्यसपछि उनीविरुद्ध प्रहार हुन थालेर गाउँ निकालासम्मको धम्की दिइएको थियो। यो विषयमा मैले पहिलोपोस्टको #WhoKilledNirmala को शृङ्खला २१ मा लेखेको थिएँ। पढ्नुस्- बरु एक्लै रुन सजिलो : निर्मलाकी आमा

त्यसभित्रका केही प्रमुख बूँदा-

-डोटीको बुडरमा जन्मिएकी उनले सानैमा साथीहरुबाट ‘टुहुरी’ भन्दै अपमान खेप्नुपर्‍यो। धन्न ठूलो बुबा थिए। उनकै घरमा दुर्गादेवी र उनका भाइबहिनी हुर्किए।

-दाजुभाइ, जेठानी देउरानी भएको घरमा पर्‍यो भने यो सोझी छे, दुःख पाउँछे भन्ने भएर एक्लो छोरा भएको परिवार खोजेर यज्ञराज पन्तसित बिहे गरिदिएका थिए ठूलो बुबाले।

-जेठी छोरी मनीषा जन्मेदेखि नै लोग्नेले दुःख दिन थालेका थिए दुर्गालाई। त्यसपछि निर्मलाको जन्म भयो। फेरि छोरी नै जन्मिएपछि यज्ञराजको व्यवहार झन् कडा हुन थाल्यो। ग्यालेनमा लगेर रक्सी बेच्ने काम गर्थे, यज्ञराज। त्यहीँबाट रक्सी पनि खाएर आउने। त्यसपछि उपद्रो मच्चाउने। तेस्रो सन्तान पेटमा नहुँदै साली नाता पर्ने लक्ष्मीसित यज्ञराजको ‘अफेयर’ चल्यो। कान्छी छोरी सरस्वती पेटमै हुँदा हो, लोग्ने सौता लिएर हिँडे।

-मर्नुअघि ससुराले आफूले खोजेर विवाह गरीदिएकी बुहारीले दु:ख नपावस् भनेर २८ धूर जग्गामध्ये १४ धूर दुर्गाको नाममा पास गरिदिए। र, बाँकी १४ धूर छोरालाई छाडे। त्यही साँधको जग्गा बेचेर लोग्ने यज्ञराजले भासीमा जग्गा किनेर घर बनाए, अलग्गै बस्न थाले। छोरीहरुको वास्ता गर्दैन थिए यज्ञराज।

– माहिली छोरी निर्मलाको त्यो घटना भएपछि यज्ञराज देखा परे। ती दुईलाई अधिकारकर्मीहरुले यो यो भन भनेर सिकाएर बोल्न लगाए। मोबाइल फोनसमेत कब्जामा लिए।

-राहत रकम आफूले पनि नपाउने भएपछि यज्ञराजले राहत रकम नबुझ्ने भन्न थाले। उनले निर्मलाकी आमालाई घरैमा गएर कुटेर दुर्व्यवहार गरेको भिडियो नै सार्वजनिक भयो।

-आफ्नो नाममा लेखिएको जाहेरीमा के लेखियो, आफैलाई थाहा नदिई अधिकारकर्मीहरुले लेखेको उनको आरोप थियो, ‘मैले लेखिएको कुरा थाहा पाउनु पर्ने हो नि। उनले जाहेरी सुधार्न निवेदन दिइन्। त्यसपछि उनी तारो बनिन्।

– आफ्नो स्वार्थमा बोल्दासम्म आमा ठीक, आफ्नो स्वार्थ विपरीत जान थालेपछि आमा नै अपराधी जस्तो। निर्मलाकी आमालाई त्यसपछि बल्ल मेरी छोरीको न्यायका लागि त यिनीहरुले बोलिरहेका हैन रहेछन्, राजनीति रहेछ भन्ने थाहा भएको थियो।

कञ्चनपुरमा त्यतिबेला उठेको आन्दोलनमा एक जनाको ज्यान समेत गएको थियो। आन्दोलन कसरी उठ्यो र त्यसमा कसरी फुट आयो भन्ने विषयमा #WhoKilledNirmala को शृङ्खला २८ मा लेखिसकेको छु। पढ्नुस्- ‘आन्दोलन नगरे ३५ लाख, मर्ने मार्ने गरी गरे सुविधा’ : निर्मलाको नाममा घिनलाग्दो राजनीति

सुरुका दिनमा आन्दोलन हुँदा माया नेगी र हेलेन श्रेष्ठको छुट्टाछुट्टै नेतृत्व थियो। पछि शारदा चन्द र मीना भण्डारीको इन्ट्री भयो। अहिले शारदा र मीना एकातिर माया र हेलेन अर्कोतिर भइसकिन्। अहिले नागरिक संघर्ष समितिमा मीना र शारदाको नेतृत्व कायमै छ।

त्यही समितिको मंसिर १३ गते बसेको बैठकले आमामाथि नै ‘आवश्यक छानबिन गरी प्रचलित कानुन बमोजिम छानबिन गर्न’ प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई माग पठाउने निर्णय गरेको थियो।

त्यही विषयमा आज ‘मानसखण्ड’ले समाचार छापेको हो। समाचारमा निर्मलाकी आमाले प्रहरी चोखो भनेर बताइरहेकी भनेकी छिन्। मलाई त त्यस्तो लाग्दैन। हामीसँगको कुराकानीमा त उनले ‘प्रहरी पनि राम्रा छन् भन्दिनँ’ भनेकी थिइन्। दिलिप नै अपराधी हो भनेर दावी गरेको भनिएको छ समाचारमा। तर उनले हामीसँगको भेटमा भने मलाई ऊ माथि यो यो कारणले शंका लाग्यो, हुन पनि सक्छ मात्रै भनेकी थिइन्।

समाचारको एक लाइनमा ‘उनले पत्रकार भेट्न पनि अन्त कतैबाट स्वीकृति लिने गरेको कञ्चनपुरका पत्रकार बताउँछन्’ भनेर लेखिएको छ। कुन चाहिँ पत्रकारले बताएको भनेर चाहिँ लेखिएको छैन। यति जाबो कुरा पनि स्रोत लुकाएर लेख्नु पर्ने त होइन।

अधिकारकर्मी माया नेगीसित निर्मलाकी आमाको सम्बन्ध अहिले हैन पहिलेदेखि नै हो। तेस्रो छोरी पेटमा हुँदा निर्मलाका बुबाले सौता ल्याएर घर झगडा हुँदादेखि नै मिलाउने काम मायाले गरेकी थिइन्। त्यसैले निर्मलाकी आमा ‘माया दिदी’सँग नजिक छिन् र सल्लाह माग्छिन्। माया आफै पनि निर्मलाको न्यायका लागि सुरुमा मच्चिएर आन्दोलन गर्ने र पुलिसको भाटा खाने पात्र हुन्। पछि उनी आफै पनि बजारमा चलेका हल्लालाई आफै परीक्षण गर्न थालिन्, मान्छेहरुलाई भेट्न थालिन् र खास कुरा के हो थाहा पाइन्। त्यसपछि उनी वास्तविक अपराधी खोज्ने मिसनमा लागेकी हुन्। केन्द्र, प्रदेश र स्थानीय सरकारले घोषणा गरेको राहत रकममा जमानामै कान्छी लिएर छाडेर जाने, छोरीहरुलाई माया नगर्ने बाबुको नाममा हैन, आमाको नाममा मात्र हुनुपर्छ भनेर लबिङ गर्ने अनि आमालाई मात्र दिलाउने उनै माया हुन्।

बरु प्रहरीले उतिबेला यो प्रकरणमा अभियुक्तका रुपमा खडा गरेका दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले चाहिँ हामीसँग कुरा गर्नुअघि अर्कैसँग अनुमति लिएका थिए। कोसँग लिएका थिए चाहिँ थाहा भएन। तर अनुमति लिएपछि बल्ल उनी हामी दोस्रो पटक कञ्चनपुर जाँदा कुरा गर्न राजी भएका थिए।

‘मानसखण्ड’को समाचारको सार चाहिँ दिलिपसिंह विष्ट अपराधी हुनै नसक्ने भन्ने खालको छ। दिलिपसिंह विष्टमाथि शंका गर्‍यो र किटानी जाहेरी दियो भनेर निर्मलाकी आमामाथि आक्रोश पोखिएको छ। दिलिपसिंह विष्ट पनि हुन सक्ने खालका थुप्रै आधारहरु भेटिए पछि त्यसमाथि छानबिन गरेर अदालतलाई फैसला गर्न दिए के बिग्रन्छ? खाली मानसिक रोग लागेकोले हत्या गर्न नसक्ने कूतर्क गरिरहेका छन्। पहिले कै नजिर हेरौँ न, आफ्नै भिनाजुलाई चिर्पटले हानेर मारेको तीन वटै तहका अदालतले ठहर गरिसकेका व्यक्ति हुन् त उनी। त्यतिबेला पनि मानसिक रोगी भएको तर्कलाई अदालतले पत्याएको थिएन त।

‘जहाँसम्म मानसिक अवस्था सन्तुलन थिएन भनी प्रतिवादीले लिएको पुनरावेदन जिकिर छ, सो सम्बन्धमा घटनाको सविस्तार वर्णन गरी निजले बयान व्यहोरा लेखाएको देखिँदा जिकिर लिए अनुसार मानसिक अवस्था सन्तुलित थिएन भनी भन्न मिल्ने अवस्था देखिँदैन। अर्को कुरा अधिकारप्राप्त अधिकारी समक्ष प्रतिवादीले आफ्नो मानसिक अवस्था ठीक भनी लेखाएको र निजको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट पनि मानसिक अवस्था ठीक नभएको असन्तुलन भएको कुरा देखिँदैन’, २०६७ साल चैत ४ गते सर्वोच्चका न्यायाधीशद्वय मोहनप्रकाश सिटौला र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले सर्वस्वसहित जन्मकैदको सजाय दिँदाको फैसलाको ठहर खण्डमा लेखिएको छ।

तर मानसखण्ड भने आरोप गृहमन्त्री पुत्रमाथि, फसाउन खोजिँदै मानसिक रोगीलाई भनेर समाचार लेख्दै बसेको छ।

गृहमन्त्री र गृहमन्त्री पुत्र पनि अचम्मका छन्। गृहमन्त्रीले भन्दिए हुने नि, मैले मेरै भाइलाई त थुनामा राखी अनुसन्धान गर्न लगाएँ, जे पायो त्यही आरोप लगाउने,  के आधारमा मेरो छोरालाई  आरोप लगाएको हो, आधार देखाउनुस् र गर्नुस् अनुसन्धान।

गृहमन्त्री पुत्रले पनि हल्लाको आधारमा आरोप लगाइयो भन्दै एसपी विष्टका छोरा किरण विष्ट र मेयरका भतिजा आयुष विष्टले जस्तै मुद्दा हालिदिए हुने हो।

यो प्रकरणमा मानसखण्डका सम्पादक खेम भण्डारीले के के गरी ट्विस्ट एन्ड टर्न गरे भन्ने विषयमा #WhoKilledNirmala को शृङ्खला २६ मा लेखेका थियौँ। छुटाउनु भएको भए पढ्नुस्- निर्मला प्रकरणलाई ‘ट्विस्ट एन्ड टर्न’ गराउने ती शक्तिशाली व्यक्ति

आजको मानसखण्डको समाचारमा सबभन्दा रमाइलो चाहिँ समाचारको अन्तिम लाइन छ- दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले दुर्गादेवीलाई आफूले बोलिरहेको कुरा प्रमाणित हुने प्रमाण संकलन गर्न सुझाव दिएका छन्।

किन रमाइलो भने, खड्ग विष्ट आफैले चाहिँ निर्मलाकी आमा दुर्गादेवीले एक करोड रुपैयाँ र एक बिघा जग्गाको लोभमा बिकेको आरोप लगाउँछन्। आफूले बोल्दा चाहिँ  जे बोले पनि हुने, प्रमाण नचाहिने रहेछ। अरुले बोलेको कुरामा चाहिँ प्रमाण चाहिने रहेछ।

एक करोड रुपैयाँ र एक बिघा जग्गा खाएको भए प्रमाण देखाइदेऊ, कसैले दिन्छु मात्र भनेको भए पनि त्यसो भनेको भिडियो देखाइदेऊ भनेर निर्मलाकी आमाले भनेकै छिन्। हेर्नुस् यो भिडियो-

मानसिक रोगीलाई फँसाउन खोजियो मात्र भनेर दिलिपलाई मात्र बचाउ गर्न खोज्नु निर्मलाको बलात्कार र हत्या गर्ने वास्तविक अपराधी खोज्ने काममा अवरोध गर्नु हुन जान्छ। सम्भावित सबै अपराधीको बारेमा पो अनुसन्धान गर्न भन्नु पर्छ त।

दिलिपको आपराधिक पृष्ठभूमि, उसको यौन कुण्ठाका अभिव्यक्ति, अनुसन्धानकर्मीहरुसित बयानका क्रममा उनले बताएका घटनाका ससाना डिटेलहरु ठ्याक्कै मिल्नु आदि कुराले उनीमाथि शंका बढाएको हो, जसको अनुसन्धान हुनु जरुरी छ। दिलिपले मैले नै गरेको हो भनेर अरुलाई भन्दै हिँडेको र त्यसको पनि भिडियो प्रमाण बनाइएको पनि सुनिएको छ। तर अस्ति नै तेस्रो पटक महेन्द्रनगर जाँदा दिलिपले मसितको कुराकानीमा सीधै मैले नै गरेको हुँ चाहिँ भनेको थिएन। तर अप्रत्यक्ष रुपमा शायरी सुनाउन लगाई लगाई बीचबीचमा प्रश्न सोध्दा भने उसले निर्मलालाई पारी कसरी लगेको भन्ने समेत सुनायो। अनि दिलिपका दाजुले केटीको मामिलामा ‘गौतम बुद्ध’ जस्तो, मतलबै नभएको भने पनि यौनका प्रशस्त अश्लील कुरा पनि गर्‍यो। घाँटी थिचेर कसरी मार्न सकिन्छ भन्ने पनि सुनायो।

मैले दिलिपसँग कुरा गरेको यो भिडियो हेर्न छुटाएको भए हेर्नुस् (एक्लै हेर्नुहोला, उनको बोली कस्तो हुन्छ भन्ने सुनाउन अश्लील शब्दहरु जस्ताको तस्तै राखिएको छ)

दिलिपलाई अपराधी हुनै नसक्ने भनी आफै न्यायाधीश भई बचाउ गर्नुभन्दा हुन सक्ने आधारहरुका कारण अनुसन्धानको दायरामा ल्याई अनुसन्धान गरी निर्क्यौल गर्न अदालतलाई नै छाडिदिनु पर्ने हो। हैन, परिस्थितिजन्य प्रमाणले हुँदैन भन्न थाल्यो भने त हरेक बलात्कार र हत्या भएको घटनामा सिसिटिभी फुटेज नै कहाँबाट पाउने होला ! भगवानले सबै हेरिरहेका हुन्छन् भनिन्छ, अब भगवानलाई नै बोलाउनु पर्ने पो हो कि। कि उही मान्छेले अर्को एउटा अपराध नगरेसम्म कुरेर बस्नुपर्ने हो?

2 thoughts on “अब जो पीडित उही पो अपराधीसरह, आमाविरुद्ध बोल्दा प्रमाण नचाहिने, आमाले बोल्दा प्रमाण चाहिने”

  1. Shankar says:
    December 2, 2019 at 6:02 pm

    स्वस्थ बिसेस्ग्य राखेर , मानो चिकित्सिक को सल्लाह मा दिलिप बिस्ट माथि अनुसन्धान गरिनु पर्छ |
    ब्यबाहार निर्मलाको बाउ को पनि गतिलो छैन , कान्छी स्वास्नी हरु प्राय जेठी को रिस गर्छन सौता सौता को रिस , तेता पनि अनुसन्धान गरिनु उपयुक्त होला |
    ग्रिह मन्त्रीको छोरा यो घटना मा कसरि जोडियो , राम्ररि छन् बिन गर्न पर्यो | यो चै जनता जान्न चाहन्छन |

    Reply
  2. देबेन्द्र बश्नेत says:
    December 2, 2019 at 3:40 pm

    यो खेम भन्डारी नै मानसिक रोगी हो जस्तो लाग्छ । येस्को काइते तर्कहरु सुनेर अझपनी हो मा हो मिलाउनेहरु प्रसस्तै छन। तेसैले येस्ता बकबास लेख्न नछाडेको हो।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme