Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विश्वकप छनौट : भुटानमा नेपालको ‘होम म्याच’, हराउला त कुवेतलाई?

Posted on November 18, 2019 by Salokya

-गोविन्दराज नेपाल/थिम्पु,भुटान-

नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको भनिने दशरथ रंगशाला पूर्ण रुपमा फुटबल खेलाउन लायक भएको भए अहिले म काठमाडौंमै बसेर यो ब्लग लेखिरहेको हुन्थे, सायद। तर २०७२ सालको विनाशकारी भूकम्पपछि चार वर्षसम्म पूनर्निर्माणमै सीमित भएको रंगशालाको काम अझै पनि सकिएको छैन। मंसिर तेस्रो साता त्यही दशरथ रंगशालमा १३औं दक्षिण एसियाली खेलकद (साग) उद्घाटन र समापन गर्ने कार्यक्रम छ। साथै साग अन्तर्गत फुटबल खेल पनि त्यही हुने तय छ। तर मंसिर ३ को लागि दशरथ रंगशालमा कुवेत विरुद्ध तय भएको विश्वकप छनोट अन्तर्गतको होम म्याच भने त्यहाँ हुन असम्भव भयो। र अहिले नेपालले आफ्नै होम ग्राउण्डमा खेल्नु पर्ने म्याच भुटानको थिम्पुमा खेल्दैछ।

दशरथ रंगशालमा पुनर्निर्माणको काम नसिकएकोले र खेलाउन लायक नभएको भन्दै एएफसीले काठमाडौंमा खेल नहुने निर्णय गर्‍यो। त्यसपछि एन्फाले भुटानमा खेलाउने प्रस्ताव गर्‍यो। यसमा कुवेतले आनाकानी समेत गर्‍यो। धेरै लबिङ गर्‍यो। तर एन्फाले पनि विभिन्न प्रयास मार्फत् कुवेत विरुद्धको खेल जसरी पनि भुटानमै खेलाउने निर्णय गरेरै छाड्यो।

भुटान आउने टोलीलाई बिदाई गर्ने बेला एन्फा महासचिव इन्द्रमान तुलाधरले भनेका थिए, ‘हाम्रो लागि यो नौलो अनुभव हो। आफ्नो होम म्याच भुटानमा खेल्नुपरेको छ।’

यसले पनि प्रष्ट पार्छ नेपाली खेलाडी र फुटबल समर्थकलाई यसले पक्कै न्याय गरेको छैन।

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा एएफसी एसियन कपको संयुक्त छनोटको रुपमा रहेको एसियाको दोस्रो चरणको छनोटको समूह बी मा नेपालले चार वटा अवे म्याच खेलिसकेको छ। अब चार होम म्याच काठमाडौंमै खेलाउन प्रयास भइरहेको थियो। तर पहिलो होम म्याच नहुने भयो।

यो खेल नेपालले मंसिर ३ (मंगलबार) भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा खेल्दैछ। खेल दिउँसो ३ बजे (नेपाली समय पौने २ बजे) शुरु हुनेछ। खेलको लाइभ टेलिकास्ट एनटिभी प्लसले गर्नेछ। त्यस्तै यहाँ पनि हेर्न सकिनेछ-

मंसिर २ मा भएको प्रिम्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक र कप्तानले कुवेत विरुद्धको खेल महत्वपूर्ण भएको र अंक जोड्नकै लागि खेल्ने बताए। कति अंक जोड्ने भने भनेनन्।

दशरथ रंगशालामै खेल्न पाएको भए नेपाललाई १२औं खेलाडीको रुपमा दर्शकको साथ हुने थियो। तर भुटानमा त्यस्तै दर्शक नहुन सक्छ। तैपनि प्रशिक्षक र कप्तान भने कुवेत विरुद्ध कन्फिडेन्ट भएर खेल्ने बताउँछन्। ‘हाम्रो लागि यो खेल महत्वपूर्ण छ। हामी कडा टक्कर दिनेछौँ।’ कलिनले भनेका छन्। कप्तान किरण चेम्जोङले पनि कुवेतलाई ‘टफ फाइट’ दिने बताए।

उता कुवेतका प्रशिक्षक थोमर एनाडले भने नेपाललाई हल्का रुपमा नलिने तर ३ अंककै लागि खेल्ने स्पष्ट रुपमा भनेका छन्।

समूह बी अन्तर्गत नेपालले पहिलो खेल कुवेतसंगै खेलेको थियो। र कुवेतमा भएको उक्त खेल नेपालले ७-० ले गुमाएको थियो। त्यसैले पनि नेपाल कुवेत विरुद्ध बदला लिन चाहन्छ। र त्यो हारलाई बिर्साउन चाहन्छ।

त्यो केही पुरानो भएपनि नेपाललाई यस पटक अर्को नयाँ समस्याले नि सतायो। कुवेत आउनु अघिल्लो रात टोलीमा रहेका ४ खेलाडी क्लबमा गएर नियम तोडेपछि एन्फाले चार खेलाडीलाई बर्खास्त गर्दै टिमलाई भुटान पठाएको हो। विमल घर्तिमगर, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङ भुटान आउने अघिल्लो दिन होटलबाट बाहिर निस्केका थिए। भोलिपल्टको ३० कात्तिकमा बिदाई कार्यक्रममा आउँदा उनीहरुबाट मादक पदार्थको दुर्गन्ध आएको भेटिएको थियो। त्यसपछि एन्फा पदाधिकारी, व्यवस्थापन र प्रशिक्षकको छलफलपछि चार खेलाडीलाई काठमाडौंमा छाड्दै नेपाली टोली भुटान आएको हो। त्यसपछि सुभास गुरुङलाई टिममा राख्दै २० सदस्यीय टोली भुटान आएको हो।

प्रशिक्षक कलिनले यहाँ उपलब्ध भएका खेलाडीहरुमा केन्द्रित रहेर नै भोलिको खेल खेल्ने बताए।

मैदान परिवर्तन हुनु, भुटान आउनुअघि चार खेलाडीले अनुशासन तोड्नु अनि थिम्पुमा नेपाली दर्शक बिना नै खेल्नु नेपाली टोलीका लागि पक्कै सजिलो भने हुने छैन। तर भुटानमा केही खेलाडीले खेलिसकेको, नेपालको जस्तै एस्टो टर्फमा खेलिसकेको र कुवेतलाई भुटानको मौसममा घुलमिल हुन समय लागेकोले नेपालले केही एड्भान्डेज पक्कै पाएको छ। अब यसलाई सदुपयोग गर्दै नेपालले चाङ्लिमिथाङमा कुवेत विरुद्ध खेल्नु पर्छ।

विश्वकपको लागि मात्र नभएर एसियन कपको छनोट भएकोले पनि दुवै टोली समूहमा अगाडि रहन चाहन्छन्। अहिलेसम्म खेलेको चारवटै खेल जित्दै अष्ट्रेलिया यस समूहमा शीर्ष स्थानमा छ। कुवेत र जोर्डनको समान ७ अंक छ र कुवेत गोलअन्तरमा अगाडि छ। नेपालको ३ अंक छ। चारवटै खेल हारेको चाइनिज ताइपेई अंकविहिन हुँदै पूछारमा छ।

कुवेतका प्रशिक्षक एनाडले नेपाल विरुद्ध ३ अंक जोड्दै दोस्रो स्थानमा पकड राख्ने बताइसकेका छन्।

अहिले एसियाका ४० राष्ट्रले यो छनोट खेलिरहेका छन्। उनीहरुलाई ८ समूहमा विभाजन गरिएको छ। ८ समूहको विजेता र उत्कृष्ट ४ उपविजेता गरी टोली विश्वकपको तेस्रो चरणको छनोटमा प्रवेश गर्नेछन्। छनोटमा अनतिम चारमा रहने ४ टोली बाहिरिनेछ। बाँकी २४ टिमले एसियन कपको लागि पुन: छनोट खेल्न पाउनेछ।

नेपाल VS कुवेत : विश्वकप/एसियाकप छनोट

स्थान : चाङ्लिमिथाङ स्टेडियम, थिम्पु भुटान

समय : दिउँसो ३ बजे (नेपाली समय २: ४५ बजे)

मिति : १९ नोभेम्बर २०१९ (३ मंसिर २०७६)

वरीयता

कुवेत : १५६

नेपाल : १६७

अंक तालिका : समूह बी

अष्ट्रेलिया : १२

कुवेत : ७

जोर्डन : ७

नेपाल : ३

चाइनिज ताइपेई : ०

हेड टु हेड

१९८२ कुवेत ३-१ नेपाल

१९८६ कुवेत ५-० नेपाल

१९९४ कुवेत ८-० नेपाल

२००० कुवेत ५-० नेपाल

२०१९ कुवेत ०-० नेपाल

२०१९ कुवेत १-० नेपाल

२०१९ कुवेत ७-० नेपाल

नेपालले गरेको गोल : १, खाएको गोल : २९

(खेल पत्रकार गोविन्दराज नेपाल GRN Sports मा ब्लग गर्छन्)

1 thought on “विश्वकप छनौट : भुटानमा नेपालको ‘होम म्याच’, हराउला त कुवेतलाई?”

  1. Gopal Gurung says:
    November 20, 2019 at 1:56 am

    what a shame….. four years on yet here we are!I bet the money spent on hiring a stadium would have done half the work to make the Dasharath playable…..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme